के यो अन्तिम लडाइँ हो ?

सन् १९२१ मा लेनिनको नेतृत्वमा तत्कालिक सोभियत संघमा नयाँ आर्थिक नीति (The new economic police-NEP) लागु भएको थियो । उक्त नयाँ आर्थिक नीतिका बारेमा कमरेड लेनिनले १९२१ अक्टोवर २७ का दिन अखिल रसिया राजनीतिक शिक्षा विभागहरुको दोस्रो महाधिवेशनमा लामो प्रवचन दिनुभएको थियो । यसै नयाँ आर्थिक नीतिलाई सोभियत संघको समाजवादी अर्थनीतिका रुपमा बुझिने गरिएको छ । नेपालमा अहिले समाजवादी राज्य प्रणालीको बहस भइरहेको छ । यसै सन्दर्भमा समाजवादी अर्थ व्यवस्थाभित्र आर्थिक नीति कस्तो हुन्छ भन्ने बारेमा जानकारी राख्नका लागि उपयुक्त ठहरिएकाले डा.भगवानचन्द्र ज्ञवालीद्वारा नेपालीमा भाषान्तरण गरिएको उक्त भाषणलाई नियमित रुपमा प्रकाशन गर्ने भएका छौ । – सम्पादक
अनुवादक : भगवानचन्द्र ज्ञवाली
सर्वहारवर्गको अधिनायकत्व एक भयानक युद्ध हो । सर्वहारावर्ग एउटा देशमा विजयी भएको छ तर यो अझै पनि अन्तर्राष्ट्रिय रूपमा कमजोर छ । युद्ध अझै समाप्त भइसकेको छैन भन्ने ज्ञानमा यसले आफ्ना वरिपरिका किसान र मजदुरहरूलाई सङ्गठित गर्नैपर्छ । यद्यपि हामी हाम्रो राष्ट्रगीतमा हामी गाउँछौँ : हामी अन्तिम युद्ध लडौँ । दुर्भाग्यले यो एकदम सत्य हैन । यो हाम्रो अन्तिम युद्ध होइन । यस लडाइँमा तिमी या त किसान र मजदुरहरूलाई सङ्गठित गर्न सफल हुन्छौ या तिमी विजय हासिल गर्न असफल हुन्छौ ।

इतिहासमा पहिले कहिल्यै अहिले हामीले देखेको जस्तो सङ्घर्ष भएको थिएन, परन्तु इतिहासमा दासताको प्रारम्भिक समयदेखि नै कैयौँपटक किसानहरू र भूमिपतिहरूका बीच युद्धहरू भएका छन् । यस्ता युद्ध एकभन्दा बढी पटक भएका छन् तर आफ्नै देशका बुर्जुवावर्गका विरुद्ध र विश्वका सङ्गठित बुर्जुवा वर्गका विरुद्ध सरकारी तबरबाट यस प्रकारको एउटा पनि युद्ध भएको छैन ।

यस प्रगतिका लागि सर्वहारावर्गीय राज्यका सहयोगमा तिनका उत्पादनशक्तिको विकासका आधारमा या त हामी साना किसानहरूलाई सङ्गठित गर्न सफल हुन्छौँ वा पुँजीपतिहरूले त्यसलाई नियन्त्रणमा लिन्छन् भन्ने कुरामा सङ्घर्ष निर्भर गर्छ । गत क्रान्तिकालमा त्यही कुरा उठेको थियो तर संसारले हामीले अहिले सञ्चालन गरेको जस्तो सङ्घर्ष कहिल्यै देखेको थिएन । जनतासँग यसप्रकारका युद्धको अनुभव प्राप्त गर्नेबाहेक अर्काे विकल्प छैन । हामी आफैँले यस अनुभवको सिर्जना गर्नुपर्छ अनि हामी किसान र मजदुरहरूको वर्ग सचेततामा मात्र निर्भर गर्नसक्छौँ । यही नै यस कामको मूल सूत्र र अनेक कठिनाइ हो ।

हामीले सिधै साम्यवादमा जाने कुरामा भर पर्नुहुँदैन

हामीले सिधै साम्यवादमा जाने विश्वास गर्नुहुँदैन । हामीले किसानको व्यक्तिगत प्रोत्साहनमा आधार निर्माण गर्नुपर्छ । किसानको व्यक्तिगत प्रोत्साहनको अर्थ निजी सम्पत्ति पुनस्र्थापित गर्नु हो भनेर हामीलाई भनिएको छ तर जहाँसम्म किसानहरूको कुरा छ हामीले व्यक्तिगत स्वामित्वमा रहेका उपभोग्य वस्तुहरू र उत्पादनको प्रयोगसम्बन्धी कुरामा हस्तक्षेप गरेका छैनौँ । हामीले भूमिमाथि निजी स्वामित्वको उन्मूलन गरेका छौँ । उदाहरणका लागि किसानका अधिकारमा नभएकोे उनीहरूको खेती गरेको भाडाको जमीन । यो पद्धति धेरै देशमा अस्तित्वमा रहेको छ । अर्थशास्त्रका दृष्टिकोणले यसबारे असम्भव कुरा केही छैन । समस्या निजी प्रोत्साहन सिर्जनामा नै रहेको छ । हामीले हाम्रो उद्योग विकास गर्नमा प्रत्येक विशेषज्ञलाई प्रोत्साहन दिनुपर्छ । त्यसो गर्न के हामी सक्षम छौँ ? अहँ, छैनौँ । हामीले वर्गविहीन गरिएका सर्वहाराका साथ एउटै देशमा उत्पादन र वितरण कम्युनिस्ट आदेशमा चल्छ भन्ने सोच्यौँ । अहिले हामीले त्यसलाई बदल्नु छ अथवा हामी सङ्क्रमणको यस प्रक्रियालाई सर्वहारालाई बुझाउन सक्षम हुनेछैनौँ । इतिहासमा पहिले यस्ता समस्या कहिल्यै पनि देखिएका छैनन् । हामीले यस्ता समस्यालाई जस्ताको त्यस्तै अगाडिको आक्रमणबाट सिधै समाधान गर्ने कोसिस ग¥यौँ, परन्तु हामीले हार खायौँ । यस्ता त्रुटि हरेक युद्धमा देखिए र तिनलाई त्रुटिका रूपमा स्वीकारिएको पनि छैन । अग्रीम आक्रमण असफल भएपछि हामीले आसपासको गतिविधि चलाउनुपर्छ र घेरा हाल र कमजोर पार भन्ने विधि अपनाउनुपर्छ ।

व्यक्तिगत प्रोत्साहन र दायित्वको सिद्धान्त

अर्थतन्त्रको हरेक महत्त्वपूर्ण शाखाको निर्माण व्यक्तिगत प्रोत्साहनको सिद्धान्तका आधारमा गरिनुपर्छ । छलफल सामूहिक र दायित्व व्यक्तिगत हुनुपर्छ । हरेक पाइलामा हामी यस सिद्धान्तलाई लागू गर्नमा अक्षम हुन्छौँ । नयाँ आर्थिक नीतिले पूर्ण तीक्ष्णता र श्रेष्ठताका साथ यस्तो सीमारेखा खिचिनुपर्ने माग गर्दछ । जब जनताले आफैँलाई नयाँ आर्थिक अवस्थामुनि पाउनेछन्, यसबाट के प्राप्ति हुन्छ र वस्तुहरूको कसरी पहिचान गर्नुपर्छ भन्नेबारेमा तुरुन्त छलफल गर्न सुरु गर्नेछन् । यस सामान्य छलफलबिना हामीले कुनै कुरा सुरु नगरेको भएहुन्थ्यो किनभने दशकौँ र शताब्दीऔँदेखि जनतालाई कुनै कुरामा छलफल गर्नबाट निषेध गरियो अनि तबसम्म क्रान्ति विकसित हुन सक्दैन जबसम्म जनतालाई जहाँसुकै सबै किसिमका प्रश्नहरूमा तर्कवितर्क गर्न बैठक बस्ने समय दिइँदैन ।

यसले ठूलो सन्देह पैदा गरेका छ । जे भयो, त्यो अपरिहार्य थियो तर त्यो त्यति खतरनाक थिएन भनिनुपर्छ । यदि यथासमय बैठकका लागि के उपयुक्त छ भन्ने कुरा प्रशासनका लागि के उपयुक्त छ भन्ने कुराबाट छुट्टयाउन सिक्यौँ भने हामी सोभियत गणतन्त्रको अवस्थालाई उपयुक्तस्तरमा उठाउन सक्षम हुनेछौँ । दुर्भाग्यवश त्यसो गर्न हामीले अझै सिकेका छैनौँ र धेरैजसो अधिवेशनहरू यस्ता कुराबाट धेरै टाढा छन् । हाम्रा अधिवेशनका सङ्ख्यामा हामीले संसारका सबै देशहरूलाई उछिनेको छौँ । हामीले जति धेरै केन्द्रीय बैठकहरू डाकेका छौँ त्यति कुनै अर्काे जनवादी गणतन्त्रले डाकेको छैन, न त्यसले अनुमति नै दिन सक्छ ।

हामीले याद गर्नैपर्छ हाम्रो त्यो देश हो जसले ठूला हानी र दरिद्रीकरणको पीडा भोगेका छ र हामीले, जस्तो मैले भने, प्रशासनका लागि उपयुक्तताका साथै बैठकमा उपयुक्त के हो भन्ने सन्देह नै नहुनेगरी मिटिङ्ग डाक्न सिकाउनुपर्छ । बैठक बोलाऊँ तर अतिकति पनि हिचकिचाहटबिना सञ्चालन गर । तिमीभन्दा पहिले पुँजीवादीहरूले सञ्चालन गरेको भन्दा दृढतापूर्वक सञ्चालन गर । यदि तिमी त्यसो गर्न सक्दैनौँ भने तिमी उसलाई हराउन पनि सक्दैनौँ । तिमीले के याद गर्नुपर्छ भने सरकार पहिलेको भन्दा दृढ र कठोर हुनुपर्छ ।

बैठकहरूका थुप्रै महिनापछि लालसेनाको अनुशासन पुरानो सेनाको अनुशासनभन्दा कमजोर थिएन । मृत्युदण्डलगायतका कठोर, ठोस विधिहरू प्रयोग गरिएका थिए जुन विधि पुरानो सरकारले पनि प्रयोग गरेको थिएन । फिलिस्ताइन्सले यसो लेखे र चर्काे गरी भने ः बोल्सेभिकहरूले नै मृत्युदण्ड सुरु गरेको हुन् । हाम्रो उत्तर छ : हो हामीले नै त्यसलाई प्रवेश गराएका हौँ र एकदमै सावधानीपूर्वक प्रयोग गरेका छौँ ।

हामीले भन्नैपर्छ : या त तिनीहरू जो हामीलाई कुल्चिन चाहन्छन् र ती जसलाई हामी नष्ट होऊन् भन्ने सोच्छौँ नास हुनैपर्छ, जस विषयमा हाम्रो सोभियत गणतन्त्र जीवित रहँला वा ती पुँजीपतिहरू जीवित रहलान्, त्यस कुरामा गणतन्त्र नै नष्ट हुनेछ । दरिद्र बनाइएका एउटा देशमा या त तिनीहरू नष्ट हुनेछन्, जो हिंडाइको चाल मिलाउन सक्दैनन् या किसान मजदुरहरूको गणतन्त्र नष्ट हुनेछ । यसमा भावुकताका लागि कुनै अवसर वा स्थान छैन र हुन पनि सक्दैन । युद्धकालमा भावुकता कायरताभन्दा कम अपराध हुँदैन । त्यसबेला आदेश र अनुशासनबाट जो अलग हुन्छ, उसले सत्रुलाई हाम्राबीचमा घुस्ने अनुमति दिइरहेको हुन्छ ।

त्यसैले म भन्छु, त्यो नयाँ आर्थिक नीतिको पनि आफ्नै शैक्षिक पक्ष छ । तिमी यहाँ शिक्षाका विधिहरूबारे छलफल गर्दैछौ । जहाँसम्म तिमीले भन्दै जानुपर्छ कि अद्र्धशिक्षितका लागि हामीसँग कुनै स्थान छैन । जब साम्यवाद आउनेछ शिक्षाका विधिहरू बढी नरम हुनेछन् । म भन्छु, अहिले शिक्षा कठोर हुनेछ अन्यथा हामी नष्ट हुनेछौँ ।

के हामी हाम्रो आफ्नै लाभका लागि काम गर्न सक्षम हुनेछौँ ?

हामीसँग सेना वा श्रमिक मोर्चाबाट भागेर जानेहरू थिए । हामीले भन्नैपर्छ तिमीले विगतमा पुँजीपतिहरूका, शोषकहरूका हितमा काम ग¥यौँ र वास्तवमा तिमीले आफ्नो हित गरेनौ तर अहिले तिमी आफ्नै लागि, किसान र मजदूरहरूका राज्यका लागि काम गरिरहेका छौ । याद राख तत्कालको प्रश्न हो के हामी हाम्रै लागि काम गर्न सक्षम हुनेछौँ किनभने म दोहो¥याउँछु यदि हामीले सकेनौँ भने हाम्रो गणतन्त्र नष्ट हुनेछ र हामी भन्छौँ जस्तो सेनाका बीच भनेका छौँ, या तिनीहरू नष्ट हुनुपर्छ जो हाम्रा विनासको कारण बन्छन् अथवा हामीले कठोरतम अनुशासनको विधि ग्रहण गर्नुपर्छ र त्यसद्वारा हाम्रा देशलाई रक्षा गर्नुपर्छ र बल्ल हाम्रो गणतन्त्र जीवित रहनेछ ।

त्यही हाम्रो लाइन हुनुपर्छ । त्यसैकारण (अन्य कुराका बीच) हामीलाई नयाँ आर्थिक नीतिको आवश्यकता छ ।
तिमीहरू सबै व्यापारमा उत्र, त्यहाँ तिम्रा छेउमा पुँजीपतिहरू, विदेशी पुँजीपतिहरू, सुविधा भोगीहरू र लिजमा लिनेहरू हुनेछन् । तिनीहरूले तिमीबाट शतप्रतिशतका हिसाबले नाफा निचोर्नेछन् । तिनीहरूले तिमी सँगसँगै काम गर्दै आफैँलाई धनी बनाउनेछन् । हुन देऊ । त्यसैबीचमा तिमीले तिनीहरूबाट अर्थतन्त्रलाई दौडाउने व्यापार सिक्नेछौ, तब तिमीले त्यति गरेपछि मात्र कम्युनिष्ट गणतन्त्रको निर्माण गर्न तिमी सक्षम हुनेछौ किनभने हामीले अपरिहार्य रूपमा छिटै सिक्नुपर्छ यस कुरामा कुनै लापर्वाही एउटा गम्भीर अपराध हो । अतः हामीले यो गहन, कठोर र कहिलेकाहीँ त त्रूmर पनि तालिममा सहभागी हुनैपर्छ किनभने हामीसँग अर्काे कुनै विकल्प छैन ।

तिमीले के अवश्य सम्झनुपर्छ भने हाम्रो सोभियत भूमि कैयौँ वर्षदेखि मुद्दा र यातनाबाट दरिद्र बनाइएको छ र छिमेकीका रूपमा फ्रान्स र इङ्गल्यान्ड समाजवादी छैनन्, जसले हामीलाई उच्च विकसित प्रविधि र आफ्ना उच्च विकसित उद्योगहरूबाट हामीलाई मद्दत गर्न सकून् । त्यसलाई मनमा लेऊ ! हामीले याद गर्नैपर्छ वर्तमानमा तिनीहरूको उच्च विकसित प्रविधि र तिनीहरूका उच्च विकसित उद्योगहरूको स्वामित्व पुँजीपतिहरूका हातमा छ, जो हामीसँग लडिरहेका छन् ।

हामीले याद गर्नैपर्छ कि हामीले या त दैनिक श्रममा आफ्ना नसाहरू तन्काउनैपर्छ या हामी अनिवार्यतः पराधीनतामा जानैपर्छ ।
वर्तमान परिस्थितिका कारण सिङ्गो विश्व हामीभन्दा तीव्र गतिमा विकसित हुँदैछ । विकसित हुँदै गर्दा पुँजीवादी दुनियाँ आफ्नो समग्र शक्ति हाम्राविरुद्ध निर्देशित गर्दैछ । कामको तरिका त्यस्तै हुन्छ । त्यसैकारण हामीले सङ्घर्षमा विशेष ध्यान दिनुपर्छ । सांस्कृतिक पछौटेपनका कारण अग्रिम आक्रमणबाट मात्र हामी पुँजीवादलाई नास गर्नसक्दैनौँ । यदि हामी भिन्न सांस्कृतिक तहमा भएको भए समस्यासँग हाम्रो बढी प्रत्यक्ष ढङ्गले पहुँच हुने थियो । सायद अरू देशहरू त्यसलाई कम्युनिस्ट गणतन्त्र निर्माणको आफ्नो पालो आउँदा त्यसरी नै गर्नेछन् तर हामी यसलाई सोझो माध्यमले गर्न सक्दैनौँ । राज्यले यसरी व्यापार गर्न सिक्नुपर्छ कि उद्योगले किसान वर्गका आवश्यकताको पूर्ति गरोस् । त्यसरी किसान वर्गले पनि व्यापारका माध्यमबाट आफ्ना आवश्यकता पूरा गर्न सकोस् । हामीले के हेर्नुपर्छ भने हरेक जसले काम गर्छ, उसले किसान र मजदुरहरूको राज्यलाई बलियो पार्नमा आपूmलाई समर्पित गर्नुपर्छ । तब मात्र हामी ठूला परिमाणका उद्योगहरू निर्माण गर्न सक्नेछौँ ।

जनसमूह यसबाट सचेत हुनुपर्छ, सचेत हुने मात्र हैन, बरु यसलाई व्यवहारमा लागू पनि गर्नुपर्छ । म भन्छु, यसले केन्द्रीय राजनीतिक शिक्षा विभागको काम के हुनुपर्छ भन्ने सुझाव दिन्छ । हरेक गहन राजनीतिक क्रान्तिपछि जनतालाई परिवर्तनलाई पचाउनका लागि पर्याप्त समय आवश्यक हुन्छ । यो प्रश्न हो के जनताले आपूmले प्राप्त गरेका शिक्षालाई पचाउन सके त । मेरो गम्भीर चिन्ताको विषय हो यो प्रश्नको उत्तर अवश्य नकारात्मक हुनेछ । यदि तिनीहरूले शिक्षलाई पचाएको भए हामीले ठूला आकारका उद्योगहरू निर्माण गर्न पहिले नै धेरै चाँडै सुरु गरिसकेका हुने थियौँ ।

हामीले इतिहासमै महान् राजनीतिक क्रान्तिको समस्या समाधान गरिसकेपछि अरू समस्याहरू सांस्कृतिक समस्या जसलाई तुच्छ काम भन्नसकिन्छ हामीसँग भिड्न आए । यस राजनीतिक क्रान्तिलाई अवश्य पचाउनुपर्छ । हामीले जनसमूहलाई यो कुरा बुझ्न सहयोग गर्नुपर्छ । हामी के हेर्नुपर्छ भने घोषणा मात्र भन्दा पनि राजनीतिक क्रान्ति केही बढी नै कुरा हुन्छ । क्रमश
स्रोत : रातो खबर साप्ताहिक
२०७४ चैत १८ गते अपरान्ह २ : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :