प्रम केपी ओलीको ६ बुँदे / जनविरोधी र भ्रष्टाचारीको संरक्षण

काठमाडौँ : भारतको भ्रमणको तयारीमा रहेका खड्गप्रसाद ओलीले मंगलबार दिउँसो कुटनीतिक नियोगका प्रमुख र विकास साझेदारहरूलाई बालुवाटारमा बोलाएर दिवाभोज दिएका थिए । ओलीले उनीहरूलाई बोलाएर भोज मात्र दिएनन् कि उनको सरकारका प्राथमिकता विषय भनेर ६ वटा बुँदा पेश गरेका थिए । उनले सार्वभौमसत्ता, लोकतन्त्रप्रति प्रतिबद्धता, सामाजिक न्याय र समानता, स्थिरता, सुशासन र जनताको आकांक्षा सम्बोधनलाई यो सरकारले प्राथमिकता दिने बताएका थिए । अंग्रेजी भाषामा तयार पारिएको १५ पृष्ठ लामो उनको भाषणका शब्दहरू जनप्रिय लाग्दछन् ।

केपी ओलीले सरकार रोहण गरेको ४५ दिन पुग्दैछ । उनको मन्त्रीमण्डलको बैठक धेरैपटक बसिसकेको छ । ओलीको मन्त्रीमण्डलको बैठकले जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने कुनै पनि निर्णय गरेका छैनन् । उनी, उनका सहयात्री प्रचण्ड र उनीहरूका मन्त्रीहरूले दिनदिनैजसो भाषण गर्ने गरेका छन् । उनीहरूका भाषण र केपी ओलीको प्रतिबद्धता प्रतिलिपिहरू मात्र हुन् ।

ओली भारतबाट फर्किएर आएपछि दिल्लीमा तयार भएको ड्राफ्टको आधारमा यिनीहरूले नै बनाएको संविधान संशोधन गरिँदैछ । यदि उनीहरूले सोचेअनुसार संविधान संशोधन भयो भनें त्यसमा समावेश गरिएका प्रावधानहरू राष्ट्रघाती रहेका छन् । त्यसमा राखिएका प्रावधानले लाखौं गैर–नेपालीले नागरिकता पाउनेछन् । सिमाङ्कन र नामाङ्कनको नाममा नेपालमाथिको भारतीय प्रभाव अझ बढेर जानेछ । आफूलाई खाँटी राष्ट्रवादी भनाइएका ओलीको राष्ट्रवादको मुखुटो खोलिँदै गएको छ ।

दिनदिनै उपभोग्य वस्तुको मूल्य बढेको बढैछ । राष्ट्रबैंकले मूल्य घटेको जानकारी गराएता पनि उपभोग्यवस्तुको मूल्य ४ प्रतिशतले वृद्धि भइसकेको छ । यो अझ बढेर जाने निश्चित छ । जहाँसम्म केपी ओलीले लोकतन्त्रको कुरा गरेका छन्, उनको सरकारले कैयौँ संघ–संगठनहरूमाथि अघोषित प्रतिबन्ध लगाइएको छ । सामान्य सभा, जुलुस गर्न पूर्ण रोक लगाइएको छ । गिरफ्तारी र धरपकडलाई तीब्र बनाइएको छ । नेताहरूको नाममा वारेन्ट जारी गर्ने, घर–घरमा छापा मार्ने गरिराखेका छन् । उनीहरूको यो हर्कतलाई कसरी लोकतान्त्रिक भन्न सकिन्छ !

सञ्चार माध्यमहरूले भ्ष्टाचार भनेर प्रमाण नै पेश गर्दा पनि यो राज्यले कार्वाही गरेको छैन । बरु उल्टै संरक्षण गरिरहेका छन् । केपी–पीकेको गठबन्धनले जे गरिराखेको छ, ती सबै उनीहरूले बनाएको संविधान र मंगलबार केपीले कुटनीतिक नियोग र विकास साझेदारहरूका बीचमा दिएको भाषणको ठीक उल्टो छ । स्रोत : रातो खबर साप्ताहिक
२०७४ चैत १६ गते बिहान ११ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :