सुदखोरलाई कारबाही गर्ने नेकपाको चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले गरिब किसानलाई उठिबास लगाउने कार्यप्रति घोर विरोध एवम् भत्र्सना गरेको छ । राज्यलाई यस्तो कार्य सुदखोर महाजनलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि आग्रह गरिएको छ । बेवास्ता गरे किसानको साथमा कम्युनिस्ट पार्टी सङ्घर्षमा उत्रन बाध्य हुने बताएका छन् । नेकपा धनुषाका इन्चार्ज राजु कार्की र सेक्रेटरी अमर क्षेत्रीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अभावमा परेका गरिब किसानलाई यहाँका महाजनले महँगो चक्रवृत्ति ब्याज लगाउने, राज्यलाई कर छली, कालो धन्दा गर्ने, पैसा तिर्न नसक्ने गरिब किसानको घरजग्गा नै हडप्ने, ग्यारेन्टीका नाममा जग्गाजमिन नै आफ्नो नामसारी गर्न लगाउने, विभिन्न किसिमका जाली तमसुक बनाएर अदालतजस्तो सम्मानित संस्थालाई भ्रमित पार्ने काम यिनै महाजनले गरिरहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै सामन्तवादका विरुद्ध लड्दै आएको मुद्दा जगजाहेरै छ । किसानको साथमा गाउँगाउँबाट सुदखोरलाई लखेट्ने, जाली तमसुक च्यात्ने, फटाहा र सामन्तको भकारी फोरेर किसानलाई बाँड्ने, सामन्त जमिनदारको जमिन कब्जा गर्ने र भूमिहीन सुकुमबासीलाई बाँड्ने जनप्रिय काम कम्युनिस्ट पार्टीको नेतृत्वमा नै सम्पन्न भयो । आज सामन्तको नाइके परास्त भएको छ तर त्यसको अवशेषका रूपमा रहेको सामन्त तथा जमिनदारी प्रथा अझै पनि गरिब किसानलाई आफ्नो थातलोमा नै छोड्नुपर्ने गरी कथित महाजनका नाममा पुरानै प्रथाले निरन्तरता पाइरहेको छ ।’
२०७४ चैत ९ गते अपरान्ह  ४ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :