महासंघले प्रतिरोध दिवस अनेकोटमा सम्झदै

काठमाडौं : अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समितिले काभ्रेको अनेकोट पुगेर प्रतिरोध सांस्कृतिक दिवस मनाएको छ । महासंघका महासचिव खेम थपलियाका अनुसार २०औं प्रतिरोध सांस्कृतिक दिवस ७ जना कलाकारहरु सहादत भएको स्थानमा पुगेर मनाएको जानकारी दिएका छन् । महासङ्घले हरेक वर्ष चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । २०५५ साल, चैत ५ गते तत्कालीन बर्बर र अमानवीय सत्ताले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध भएका कारण निःशस्त्र ७ जना जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो । देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले काभ्रेको अनेकोटमा ७ जना जनकलाकारले बलिदान दिनुभयो ।

जनताको गीत गाउँदै हिँड्नेक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिएर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवसको रूपमा हरेक वर्ष मनाउँदै आइरहेको छ । महासङ्घले रोल्पाको भाबाङलगायतका सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूले देखेको सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा पनि यो दिवसलाई मनाउँदै आएको हो । जनताका कलाकारहरू च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरेका थिए ।

त्यसैगरी, जनताको महान् सङ्घर्षको प्रक्रियामा अछामको डुङ्गालामा नौ जनाको सहादत भएको थियो भने रोल्पाको भबाङ्गमा ११ जना जनकलाकारहरू तथा डोटीको मुडभरा, अछामकै विनायकमा पनि कलाकारको सामूहिक सहादत भएको थियो । हाम्रो जनसांस्कृतिक आन्दोलनमा कृष्ण सेन ‘इच्छुक’ सहित १७० भन्दा बढीले सहादत प्राप्त गरेका छन् । 

२०७४ चैत ५ गते मध्यान्न १२ : ३२ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :