महान् सांस्कृतिक सहिद च्याङ्बा लामा ‘पर्वत’ र सहिदीमूल्य – खेम थपलिया

आमुख
व्यक्तिगत स्वार्थबिना काम गर्ने एवम् देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्तिलाई सहिद मानिन्छन् । जुन–जुन देशमा सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति भएका छन्; त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना–स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदानी दिएका छन् । बलिदानको जगमा महान् परिवर्तन हुँदै आएका छन् । त्यसैले यो बलिदानी–मूल्यलाई हामीले बिर्सनुहुँदैन । नेपालमा प्रामाणिक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ । लाहुरे लखन थापालाई जङ्गबहादुरको विरुद्धमा प्रचारबाजी गरेको आरोपमा १९३३ सालमा गोरखाको मनकामना मन्दिरअगाडि रूखमा झुन्ड्याएर मारिएको थियो । नेपालका प्रायः सबै सङ्घर्ष–आन्दोलनमा थुप्रै सहिदले सहादत प्राप्त गरेका छन् । यद्यपि, प्वाँखभन्दा हलुका मृत्यु रोजेका संशोधानवादी–नवसंशोधनवादीहरूको औचित्य छैन । नयाँ लालसेना (संस्कृतिकर्मीसमेत) का साथ सहिद र जनताका सपना पूरा गर्ने दिशामा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अघि बढिसकेको छ । जनता महान् सपनाका साथ बाँचिरहेका छन् भने संशोधनवादी–नवसंशोधनवादीहरू बाँचेर पनि मरिरहेका छन् । सहदीमूल्यसित सबै किसिमका संशोधनवाद र दलालीकरणका विरुद्ध आन्दोलित भावना अन्तर्सम्बन्धित छन् । विचार, बलिदान, विश्वास अनि रूपान्तरणका निम्ति सांस्कृतिक प्रतिरोध सांस्कृतिक क्रान्तिको एक भाग हो ।

जनताको गीत गाउँदै हिँड्ने क्रममा अखिल नेपाल जनसांस्कृतिक सङ्घ (हाल अखिल नेपाल जनसांस्कृतिक महासङ्घ) का केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते संशोधनवादीहरूको सुराकीमा प्रहरीको एक समूहले जनताका कलाकारहरू च्याङ्बा लामा निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनीमाया लामालाई जिउँदै जलाएर हत्या गरेको थियो । यो कृत्य तत्कालीन सत्तापक्षको कायरतापूर्ण पराकाष्ठा थियो । जनताका होनाहार छोराछोरी ७–७ जनाको हत्या हुनु सामान्य कुरा थिएन । नेपालको जनसांस्कृतिक आन्दोलनमा यो अपूरणीय क्षति थियो नै तर पनि यसलाई शक्तिमा बदल्नुको कुनै विकल्प पनि थिएन । नेपालमा जति–जति वर्गसङ्घर्ष तीब्र हुँदै गयो, उति–उति बलिदानका कोटा पनि चुक्ता हुँदै गएका छन् । जनयुद्धमा सांस्कृतिक क्षेत्रबाट मात्रै १७० भन्दा बढी सांस्कृतिक योद्धाले बलिदान दिएका छन् । यो सांस्कृतिक बलिदानको मूल्य निकै उच्च छ । यसको सपनाको क्षितिज पनि निकै उच्च रहेको छ । यसको आकाङ्कक्षा–छाती निकै फराकिलो छ तर पनि जनताका घर–आँगनमा फेरि दुश्मन मार्चपास गरिरहेको छ । हामीले नयाँ उचाइबाट अर्को युद्ध लड्नुपर्ने भएको छ । जनताका उच्च बलिदान, साहस, सौर्य र सपनाको भावधारामा लतपतिँदै नेपालमा सहिदहरूले अपूर्व कीर्तिमान कायम गरेका छन् । त्यस्ता असङ्ख्य कीर्तिमानी सहिदहरूमध्ये च्याङ्बा लामा ‘पर्वत’ पनि एक हुनुहुन्छ । हो, यही बेलामा सबै महान् सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै च्याङ्बा लामा ‘पर्वत’ बारे सङ्क्षिप्त चर्चा गर्नु उपयुक्त नै हुनेछ :

महान् सांस्कृतिक सहिद च्याङ्बा लामा ‘पर्वत’ : एक परिचय

मानिसले जीवनमा कस्तो उद्देश्य लिनुपर्छ ? संसारमा जन्म लिएर मानिसले गर्नुपर्ने काम के हो ? उसले आपूmले पाएको जीवनलाई कसरी बिताउनुपर्छ ? उसको जीवनको सार्थकता केमा रहेको हुन्छ ? यी यस्ता प्रश्नहरू हुन्, जसमा प्रत्येक मानिसले सोच्नैपर्छ र सबैले आ–आफ्नो ढङ्ले सोच्ने पनि गर्छन् । यो मानिस मात्रको लागि एउटा निकै चासोको विषय हो । साँचो रूपमा भन्ने हो भने जीवनमा मानिसले कुन बाटो लिनुपर्छ भन्ने कुरा उसको जीवनको सबैभन्दा महत्वपूर्ण र आधारभूत सवाल हो । यही आधारभूत प्रश्नको वरिपरि रहेर च्याङ्बा लामा ‘पर्वत’ खोजिनुपर्दछ । आज ‘अरूको दुःखप्रति आँखा चिम्लेर आपूmले सुखभोग गर’ भन्ने मानवता–विरोधी विचार व्यापक रूपमा फैलिएको छ र ठूलो पङ्क्ति सो विचारअनुसार चलिरहेका पनि छन् । त्यसैले त कार्ल माक्र्सले एक प्रसङ्गमा भन्नुभएको छ, “तथाकथित व्यावहारिक मान्छेहरू र तिनीहरूको बुद्धि देखेर मलाई हाँसो उठ्छ । अवश्य पनि, सुँगुर बन्न चाहेमा नै मानिसले मानवजातिको दुःखकष्टबाट मुन्टो फर्काएर आफ्नै स्वार्थको मात्र चासो लिन सक्छ ।”

जनसांस्कृतिक आन्दोलनका भर्भराउँदा योद्धा तथा महान् सांस्कृतिक सहिद च्याङ्बा लामा ‘पर्वत’ २०३० सालको साउन महिनामा काभ्रेपलान्चोक जिल्लाको अत्यन्त दुर्गम गाविस मेच्छे ९, मुक्पा, तिमालमा निम्नवर्गीय परिवारमा जन्मिनुभएको थियो । बुबा सुब्बासिं लामा र आमा ठूलीमाया लामाका कोखबाट जन्मनुभएका च्याङ्बाका धर्मसिं लामा, कर्मसिं लामा र पेम्बा दोर्जे लामा गरी ३ दाइहरू हुनुहुन्छ । च्याङ्बाका बुद्धिमाया लामा र लमिन डोल्मा लामा दिदी–बहिनी हुनुहुन्छ । च्याङ्बाका जीवनसाथी हसनी लामा हुनुहुन्छ । दुई छोरीहरू मसली लामा र रामसली लामाका पिता च्याङ्बाले गाउँको विद्यालयबाट ७ कक्षा उत्रीर्ण गर्नुभएको थियो । सुवदसिं तामाङको नामबाट पनि च्याङ्बा चिनिनुहुन्थ्यो । सहादतको क्षण च्याङ्बा अखिल नेपाल जनसांस्कृतिक सङ्घ (हाल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ) को केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

सानैदेखि कला–साहित्यको क्षेत्रमा गहिरो अभिरुची राख्नुहुने च्याङ्बाले गाउँको सभा, सममेलन र कार्यक्रमहरूमा कुनै न कुनै प्रस्तुति दिनुहुन्थ्यो । गोठालो जाँदा, मेलापात गर्दा वा साथीभाइसित घुम्न जाँदा उहाँ गीत गाउनुहुन्थ्यो । उहाँ नृत्यमा पनि खप्पीस हुनुहुन्थ्यो । आफ्नो कलाको माध्यमबाट साथीभाइसित सजिलै घुलमिल हुन सक्ने मिलनसार व्यक्तित्व उहाँको गायन, वाद्यवादन, नृत्यमा विशेष दख्खल थियो । साथै, उहाँ राम्रो अभिनयमा पनि गर्नुहुन्थ्यो । नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनको राम्रो जानकारी राख्नुहुने च्याङ्बाले तत्कालीन वर्गसङ्घर्षमा जनकारबाहीमा परेको सामन्त दौलतसिंह दोङको उत्पीडनले उहाँको राजनीतिक दृष्टिकोण निर्माणमा निकै ठूलो प्रभाव पारेको थियो । यसकारण पनि उहाँको सामन्ती उत्पीडन र शोषण विरोधी चेतना अभिवृद्धिमा राम्रो वातावरण तयार भएको थियो । उहाँ २०५० सालमा ‘अगुल्टो जनसांस्कृतिक परिवार’ को जिल्ला अध्यक्ष पनि हुनुहुन्थ्यो । जनयुद्धकै क्रममा २०५३ सालमा उहाँ गिरफ्तार पर्नुभयो । हिरासतको लामो प्रक्रियाबाट गुज्रेर कठोर यातनाको सामना गर्दै उहाँ जेल पर्नुभयो । २०५५ सालमा जेलबाट निस्किएर फेरि जनयुद्धकै प्रक्रियामा अघि बढ्नुभयो । यसरी अघि बढ्ने क्रममा उहाँ पार्टीको एसीएम र तत्कालीन पूर्वाञ्चल क्षेत्रीय टोलीको क्षेत्रीय संयोजक पनि बन्नुभयो ।

सहिदीमूल्यका विभिन्न पक्ष

यतिबेला हामी महान् सांस्कृतिक सहिदहरूको स्मरण र सम्झना गरिरहेका छौँ । यो आलेखको नायक हुनुहुन्छ, महान् सांस्कृतिक सहिद च्याङ्बा लामा ‘पर्वत’ । देश र जनताका मुक्तिका लागि क्रान्तिकारी धाराबाट हुने विद्रोह, आन्दोलन, प्रतिरोधहरू सांस्कृतिक प्रतिरोध हुन् । जबसम्म नेपालमा क्रान्ति सम्पन्न हुँदैन, तबसम्म जनताको मुक्ति हुँदैन । जबसम्म जनताको मुक्ति हुँदैन, तबसम्म हामी निरन्तर क्रान्तिकारी दिशामा अघि बढिरहन आवश्यक हुन्छ । सहिदीमूल्यको अर्थ देश र जनताका निम्ति सहिद भएर मर्न चाहन्छु, कहिल्यै पनि गद्दार हुनेछैन भन्ने प्रतिवद्धता व्यक्त गर्ने सन्दर्भ पनि हो । यही भावधारामा डुबुल्किँदै नेपालका क्रान्तिकारी कम्युनिस्टहरू आवेग र विवेकको द्वन्द्वात्मक स्थितिको ख्याल गरेर आफ्नो लक्ष्यमा पुग्न सक्छन् र पुग्नु पनि पर्दछ । सहिदीमूल्यलाई आत्मसात् नगरीकन हामीले महान् सहिदले देखेको सपना पूरा गर्न सक्तैनौँ । क्रान्तिकारी विचार, क्रान्तिकारी कार्यदिशा र क्रान्तिलाई केन्द्रमा राखेर अघि बढ्नु आजको आवश्यकता हो । नेपालमा सबै किसिमका वर्गसङ्घर्षमा सहादत प्राप्त गरेका सहिदहरूका मूल्य महान् जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरूको मूल्यमा सङ्केन्द्रित भएका छन् । यही सन्दर्भमा महान् सांस्कृतिक सहिद च्याङ्बा लामा ‘पर्वत’ सँगै समग्र सहिदीमूल्यका बारेमा सङ्क्षिप्त चर्चा गरौँ :

(क) सहिदका सहिदी मूल्य

बलिदानीपूर्ण उद्दात्तताको भावमा सहिदमूल्यको रातो फूल फुल्छ । विश्व इतिहास नै वर्गसङ्घर्षको इतिहास हो । वर्गसङ्घर्षमा बलिदान हुन्छ । महान् सहिदअङ्कित तारा आकाशमा झलमलाउँछन् तर पनि सहिदका सपना पूरा नहुन पनि सकछन् । उनका सपना अधुरा र अपूरा पनि हुन सक्छन् । महान् क्रान्तिमा केही नेताले धोका दिन सक्छन्, धोका दिएका पनि छन् तर पनि क्रान्तिको प्रवाह रोकिँदैन र रोकिनु पनि हुन्न । हामीले क्रान्तिको सामूहिकीकरणको चरित्रमा सहिदीमूल्यको ऊध्र्वगामी दिशा पक्रनुपर्दछ । यसको अर्थ क्रान्तिको ऊध्र्वगामितामा सहिदीमूल्य रहेको हुन्छ भन्ने नै हो । सहिद कुनै एक्लो व्यक्ति होइन; त्यो मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि रूप हो । साथै, यो हरेक गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जनविरुद्धको खबरदारी पनि हो । त्यो त्याग, बलिदान, समर्पण, उदात्तता, मानिसको सुन्दर भविष्य र जनकल्याणको प्रतिबिम्बन पनि हो ।

आज पनि महान् सहिदहरूले औँला ठड्याएर हामीलाई सचेतना दिइरहेका छन्– वैज्ञानिक समाजवाद स्थापनाको सपना नभुल्नू, सर्वहारावर्गको राज्यव्यवस्था स्थापनाको सङ्कल्प नछोड्नू, सामनता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू, सामन्ती र साम्राज्यवादी उत्पीडन, दमन र शोषणका विरुद्ध सधैँ जागिरहने निष्ठा र समर्मणलाई नछोड्नू आदि । तिनले हामीलाई प्रतिरोध संस्कृति, त्याग, बलिदानको संस्कृति र वर्गसङ्घर्षको संस्कृतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् । यी हाम्रा सांस्कृतिक बलिदानका अमूल्य निधि हुन् । सहिद मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ अनि परिवर्तनको अविरल धारा छ । मानवमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिद बाँचेको हुन्छ । सहिदको आदर्श ओझेलमा पार्नु भनेको अधोगति हुनु हो । ऐतिहासिक क्रममा सहिदका उद्देश्य र आदर्शहरू प्रगतिशील भए पनि सर्वकालिक रूपमा ती समान हुन्छन् । इतिहासको यही कडीमै जनयुद्धका सहिदहरूसँग विगतका सहिदहरू जोडिएका छन् । महान् सांस्कृतिक सहिद च्याङ्बा लामा ‘पर्वत’ को बलिदान र सहिदीमूल्यलाई पनि यही आधार हेरिनुपर्दछ ।

(ख) जनयुद्ध अपूर्व कीर्तिमानी

जनयुद्ध नेपालका सबै किसिमका वर्गसङ्घर्षका अपूर्व कीर्तिमानी थियो । जनयुद्धमा देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि माओवादी अगुवाईमा सचेतन ढङ्गले आफूलाई अघि बढाए । थुप्रैले महान् सहिद बन्ने अवसर प्राप्त गरे । जनयुद्धको समयमा बलिदानको सौन्दर्यचेतना निकै आदर्शपरक थियो र छ पनि । यसक्रममा जनताले अपूर्व कीर्तिमानी कायम गरेका छन् । असचेत मृत्यु सहिदी मृत्युमा पर्दैन । आजकल उद्देश्यहीन र असचेत मृत्युलाई पनि सहिदी मृत्युमा गणना गर्न थालिएकाले सहिदको अवमूल्यन हुँदै गएको हो । सामन्तवादले खडा गरेका विभेद, दासता, शोषण र दमनका पर्खालहरू भत्काउन नेपालमा विभिन्न समयमा थुपै्र सपूतहरूले रगत बगाएका छन् । तिनीहरूमध्ये च्याङ्बा लामा ‘पर्वत’ पनि पर्नुहुन्छ ।

सबै किसिमका मानवता विरोधी देशी, विदेशी, उत्पीडित र शोषणबाट मुक्त भएर सुन्दर समाज, सुन्दर जीवन अनि सभ्य र उच्च समाजको निर्माण नहुँदासम्म सहिद हुने प्रक्रिया (नियमतः वर्गसङ्घर्ष) रोकिँदैन । इतिहासको प्रत्येक चरणमा सहिदहरूको बलिदानले अन्याय र उत्पीडनका काला पर्खाल भत्काउँछ र अग्रगामी परिवर्तनको ढोका खोल्छ । तर, नेपालमा दुःखद् कुरा यो छ कि परिवर्तनकारी जनताले परिवर्तनलाई संस्थागत गर्न नपाउँदै सहिदी उद्देश्यलाई कुल्चने काम हुँदै आएको छ । यो दुःखद् शृङ्खलाको अन्त्यका निम्ति निर्णायक क्रान्तिको आवश्यकता खट्किएको छ । हाम्रा अगाडि महान् सहिदहरूका रगतले लेखेको इतिहास, उनको जीवनोत्सर्ग, आस्था, उनका बलिदानको सपना र विचारको निष्ठाले अग्रगामी परिवर्तन र मानवमुक्ति यात्राकै एउटा हिस्साद्वारा जनयुद्धीय यथार्थलाई विद्रूपीकृत गर्न थालिएको छ । सबै किसिमका दासता र पराधीनतालाई अस्वीकार गरेको जनयुद्धमा हजारौँ जनता र योद्धाले बलिदान गरेका छन् । नेपालको इतिहासमा बलिदानको यो गाथा अद्वितीय छ । यो अद्वितीय गाथामा सांस्कृतिक सहिद च्याङ्बा लामा ‘पर्वत’ को बलिदान र सहिदीमूल्य पनि सङ्केन्द्रित छन् ।

(ग) सामन्ती राजतन्त्रको अन्त्य

नेपालमा कुनै बेला राजतन्त्रको अन्त्यको कल्पना पनि नगर्ने मानिसहरू पनि थिए । जनताको वैकल्पिक सत्ताबारे त झन् उनीहरू सोच्नै सक्तैनथे । तर, जनयुद्ध यस्तो युद्ध भइदियो, जसको त्याग र समर्पणको लपेटाले अढाईसय वर्षसम्म एकछत्र रजाइँ गर्दै आएको सामन्ती राजतन्त्रको गजुरलाई धुलोमा सुताइदियो । सहिदहरूले आफूलाई बलिदानको कोटाका नराखेको भए यो कुरा यति चाँडै सम्भव हुन्नथ्यो । सामन्तवादको नाइके ढले पनि संसद्वादी राजनीतिक पार्टीहरूले अग्रगामी परिवर्तनका ढोका फेरि पनि अवरुद्ध पार्न गरेका कैंयन् हर्कतले यो कुरालाई शानदार ढङ्गले प्रमाणित गर्दै आएको छ । राज्यसत्तामा प्रतिगामी चिन्तन हावी भएपछि देशमा दुःखद् शृङ्लाको पुनरावृत्ति हुनु कुनै अनौठो कुरा भएन ।

अहिले केही मानिसहरू ‘मण्डले राष्ट्रवाद’ लाई उछालिरहेका छन् । उनीहरूले एकताका प्रतीक राजा–महाराजा हुन् भनेजस्तै गरी आफूलाई पेश गरिरहेका छन् । निःसन्देह पनि एकताका प्रतीक जनता हुन् । आदिम साम्यवादी युगबाहेक आजसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो । यसमा जनताले ठूलो मूल्य चुकाउँदै आएका छन् तर तिनको श्रेय राजा–महाराजाले खोस्दै आएको अन्तिम सत्य यही हो । विश्व–इतिहासमा जस्तै नेपालको इतिहास पनि कुरा यही हो । अहिले केही मानिस पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको निर्माता भन्दै एकताका प्रतीकका रूपमा उछाल्नुपछाडि भयानक षड्यन्त्र लुकेको छ । कम्युनिस्ट भएर ‘राजाको सालिकमा गाईको दूध चढाउने संस्कृति’ कहाँबाट आयो ? यसले महान् सहिदहरूको ठूलो अपमान भएको छ । नेपालको राष्ट्रियता खतरा परेको यतिबेला केही मानिसलाई पृथ्वीनारायण शाहको सम्झनाले एकछिन राहत त देला तर यो सर्वथा अवैज्ञानिक र अवस्तुवादी कुरा हो । दलाल संसदीय व्यवस्था र तिनका नेताको असफलताको दोष जनतालाई दिन मिल्दैन । अब पनि राजा–महाराजातिर फर्कनुले जनताको ठूलो अपमान हुन्छ । खबरदार ! कसैले पनि जनताको अपमान नगरोस् । देश र जनताका विरुद्ध भइरहेका अनेकन् षड्यन्त्रका विरुद्ध फेरि पनि जनताको महान् सङ्घर्षको आवश्यकता देखापर्दैछ, परिवर्तित समयले पनि यही कासन गरिरहेछ । नेपालमा नयाँ क्रान्तिको नायकत्व एकीकृत जनक्रान्तिले गरिरहेको यतिबेला महान् सांस्कृतिक सहिद च्याङ्बा ‘पर्वत’ को सारङ्गीका तारसँगै चुँडे पनि, उनको भौतिक जीवन छिनाएर लगे पनि उनले लिएको बाटो र उद्देश्य कुनै पनि हालतमा भुलिँदैन र भुल्नु पनि हुँदैन । फेरि पनि सबै किसिमका चालबाजीका विरुद्ध सङ्घर्ष गर्न तयार रहनु नै सांस्कृतिक सहिद च्याङ्बाको बलिदान र सहिदीमूल्यको सम्मान हुनेछ ।

(घ) सांस्कृतिक प्रतिरोध

जनयुद्ध सांस्कृतिक युद्ध पनि थियो । शौर्य, साहस र वीरतापूर्ण जनयुद्ध वर्गसंस्कृतिको पर्याय पनि थियो । अनेकोट यस्तो महान् भूमि हो जहाँ ७ जना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन बर्बर र अमानवीय तानाशाही सत्ताले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिबद्ध भएका कारण निःशस्त्र जनकलाकारलाई ज्यूँदै आगो लगाएर मारेको थियो । उक्त स्थानमा ७ जना संस्कृतिकर्मीले सहादत प्राप्त गरेका थिए । अछामको डुङ्गलामा ९ जनाको सहादत भएको थियो भने रोल्पाको भाबाङमा ११ जना जनकलाकार तथा डोटीको मुडभरा, अछामकै विनायकमा पनि जनकलाकारको सामूहिक सहादत भएको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले रोल्पाको भाबाङलगायत सामूहिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूका सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा यो सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । सांस्कृतिक क्षेत्रबाट प्रतिक्रियावादी सत्ताका विरुद्धको प्रतिरोध र प्रतिरोधी संस्कृति जनसंस्कृतिका अमूल्य निधि हुन् । सांस्कृतिक सहिद च्याङ्बा लामाले यही सांस्कृतिक प्रतिरोधमा आफूलाई खरो रूपमा उतार्नुभएको थियो । हामीले प्रत्येक वर्षको चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएका छौँ । सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको अर्थ निरन्तर सङ्घर्षको सन्देश दिनु पनि हो । सहिदको स्मृति भनेको तिनको त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणको प्रक्रिया पनि हो । तिनका सपना पूरा गर्ने वाचा र प्रतिबद्धता हो । सहिदका रगतले लेखेको इतिहास कसैले मेट्न नदिने जुझारु सङ्घर्ष जारी राख्नु पनि हो । यो वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादको युगसम्म जीवित राख्ने र वर्गसङ्घर्षलाई लगातार अघि बढाउँदै सर्वहारावर्गलाई अन्तिम विजय नुहुँदासम्म निरन्तर सङ्घर्ष गर्ने सन्दर्भ पनि हो ।

सांस्कृतिक सहिद च्याङ्बा लामाको बलिदान र उनको सहिदीमूल्यको सन्दर्भमा यतिबेला तत्कालीन अखिल नेपाल जनसांस्कृतिक सङ्घ, केन्द्रीय समितिले २०६० साल चैत ५ गते जारी गरेको अपिलको स्मरण पनि गरिरहेका छौँ । उक्त अपिलमा भनिएको थियो, “२०५५ साल चैत ५ गते काभ्रे जिल्लाको अनेकोटमा प्रतिक्रियावादीहरूका विरुद्ध प्रतिरोध गर्दागर्दै सहादत प्राप्त गर्ने हाम्रो सङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जनाको स्मृतिको सन्दर्भ पारेर सङ्घले हरेक वर्ष चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवसको रूपमा मनाउँदै आएको छ । … नयाँ र सुन्दर भूगोलको इतिहास–निर्माणमा हामी संस्कृतिकर्मीहरू पनि आत्मिक र भौतिक दुवै किसिमले समर्पित हँुदै आइरहेका छौँ । विचार अभिव्यक्तिका विविध कला–रूपहरूका साथै, आवश्यक पर्दा एक हातमा कलम र बाजा र अर्को हातमा बन्दुक लिएर र युद्ध मोर्चामै डटेर पनि हामीले हाम्रो उपस्थिति जनाउँदै आएका छौँ । आवश्यकताअनुसार जुनसुकै रूपमा पनि हामीले हाम्रो भूमिकालाई सार्थक तुल्याउने प्रयास ग¥यौँ र गरिरहेका छौँ पनि । यसक्रममा सङ्घर्ष, प्रतिरोध, बलिदान र आत्मोत्सर्गका थुप्रै–थुप्रै कथा र गाथा निर्माण भएका छन् । अनेकोट, भाबाङ, अछाम, डुङ्गला र मुडभरालगायतका कैयौँ घटनाहरू सङ्घर्ष र बलिदानका महागाथा बनेर इतिहासमा अङ्कित भएका छन् । हाम्रा महान् साथीहरूको सहादतले हामीलाई दुःखित तुल्याए पनि यसबाट अलिकति पनि विचलित नभई हामीले हाम्रो यात्रालाई निरन्तर गतिवान् बनाइरह्यौँ । … हाम्रो सांस्कृतिक पल्टनले २१ औँ शताब्दीको सांस्कृतिक पल्टनको रूपमा आफूलाई विकसित गर्न सक्तछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

(ङ) एकीकृत जनक्रान्ति र सांस्कृतिक बलिदान

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनले नेतृत्व गरेका पार्टी एमालेमा विलयन भएपछि नेपालको क्रान्तिकारी राजनीतिले नयाँ आयाम लिन पुगेको छ । हिजो जसको नेतृत्वमा क्रान्ति भएको थियो, आज तिनैका विरुद्ध क्रान्ति गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तथापि नेपाली विशेषताका आधारमा नयाँ क्रान्ति अघि बढिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण गरिसकेको छ । अमेरिकी साम्राज्यवाद इतिहास नै सबैभन्दा अहङ्कारी र उन्मत्त आक्रमणकारी हो । अति महत्वाकाङ्क्षी साम्राज्यवादका हातहरू टाढा–टाढासम्म फैलिरहेका छन् । यसले समाजवादी देशहरूको शीरोच्छेदन गर्न र एसिया अफ्रिका र दक्षिण अमेरिकाको विशाल क्षेत्र कब्जा गर्न मात्र होइन; बरु पश्चिमी युरोप, उत्तर अमेरिकामा रहेका यसका सहयोगीहरूतिर पनि ‘जङ्गली कानुन’ जारी राखेको छ । अमेरिकी साम्राज्यवाद सतहमा भयङ्कर र अपराजेय देखिनु एउटा भ्रम हो । अन्य प्रतिक्रियावादीहरूजस्तै, यसलाई पनि आफ्नै कूकृत्यहरूले आफैँलाई चिहानमा पु¥याउनेछ । अहिले यो आफ्नै चिहानमा धसिइँदैछ । यो साम्राज्यवादीहरूको भूलहरूलाई केवल दोहो¥याइरहनु मात्र होइन, बरु अझ बढी भूलहरू गर्दै जानु पनि हो । यसको पागलपन र कमजोरीको सबैभन्दा बढी केन्द्रित अभिव्यक्ति भियतनामविरुद्धको आक्रामक युद्धमा पाइएको छ । यी तथ्यहरूलाई एकीकृत जनक्रान्तिले राम्ररी अध्ययन गरेको छ ।

नेपालका दलाल संसदीय राजनीतिक दलहरूसित मात्रै नभएर नेपाल कम्युनिस्ट पार्टी यतिखेर विश्व साम्राज्यवादसित पनि एकैसाथ लडिरहेको छ । नेपालमा महान् सहिदका सपना अझै पूरा भइसकेको छैन । क्रान्ति पूरा गर्नुको कुनै विकल्प छैन । त्यसको नेतृत्व गर्ने दायित्व क्रान्तिकारीहरूकै काँधमा आएको छ । एकीकृत जनक्रान्ति र सांस्कृतिक बलिदानको मूल्य एक–आपसमा परिपूरक रहेका छन् । यसको सौन्दर्यचैतनालाई अझै माथि उठाउन आवश्यक छ । सांस्कृतिक सहिद च्याङ्बा लामाको बलिदान र उनको सहिदीमूल्य अब एकीकृत जनक्रान्ति र सांस्कृतिक बलिदानको मूल्यमा रूपान्तरित भएको छ । च्याङ्बाले गरेको बलिदानको जगमा हजारौँ च्याङ्बाहरू जन्मिरहेका छन् । देश र जनताको सेवामा समर्पित च्याङ्बाको बलिदानको स्मरण गर्दा विश्वप्रसिद्ध लेखक निकोलाई अस्त्रोब्स्कीको निम्नलिखित भनाइलाई सम्झना हुन्छ, “मानिसको सबभन्दा प्यारो सम्पत्ति जीवन हो । मानिसलाई जीवन एकपल्ट मात्र दिइन्छ । उसले जीवनलाई कसरी बिताउनुपर्छ भने उसले खेर गएका वर्षहरूका लागि यातनापूर्ण पश्चात्ताप गर्न नपरोस्, उसले नीच तथा क्षुद्र अतीतका लागि भत्भती पोल्ने लाजको अनुभव गर्न नपरोस् । उसले जीवनलाई कसरी बिताउनुपर्छ भने मर्ने बेलामा उसले यसो भन्न सकोस्– संसारमा सबभन्दा उच्च लक्ष्य रहेको मानवजातिको मुक्तिको लागि मेरो सारा जीवन, मेरो सारा तागत लगाइएको छ ।”

टुङ्ग्याउनी

स्वार्थीहरूले महान् सहिदहरूलाई सम्झनु गलत हुन्छ । सच्चा क्रान्तिकारीहरूले सहिदलाई साँझ–बिहान सम्झने प्रतिबद्धता जाहेर गर्नुपर्दछ । सहिदको सपना क्रान्ति थियो, वर्गीय मुक्ति थियो । झन् कलाकारहरूको प्रभाव विशिष्ट हुन्छ । कलाकारको आवाज समयको आवाज हुन्छ, वर्गको आवाज हुन्छ । त्यसैले त समाजवादी यथार्थवादका संस्थापक म्याक्सिम गोर्कीले भन्नुभएको छ, “कलाकार, उसको देश र उसको वर्गमाथि पर्ने सम्पूर्ण प्रभावहरूको संवेदनशील ग्रहणकर्ता हो । ऊ आफ्नो वर्गको आँखा, कान र हृदय हो । उसको आवाज उसको समयको आवाज हो । ऊ कर्तव्यले नै जति सकिन्छ । त्यति जान्न बाध्य छ र विगतलाई उसले जति बढी जान्दछ, त्यति नै बढी वर्तमानलाई उसले बुझ्नेछ र त्यति नै बढी गहन रूपमा र उत्सुकतापूर्वक हाम्रो समयको शाश्वत् क्रान्तिकारीपनलाई र समयले सामना गर्नुपरेका कार्यभारहरूको क्षेत्रलाई बोध गर्नेछ ।” वर्गीय सङ्घर्षमा प्रतिभाहरू र तिनका वैचारिक आधारलाई जोगाउनु ठूलो कुरा हो । हामीले त्यो प्रतिबद्धता जाहेर गर्नुपर्छ । हस्तक्षेपकारी बन्दुकका विरुद्धमा बन्दुक उठ्नु सामान्य कुरा हुन्छ । सीआईए, ‘रअ’ का कथित मास्टर–माइन्डमाथि बम हान्न आवश्यक छ । संशोधनवाद संशोधनवाद नै हो, यसबाट जनअपेक्षा गर्नु र दर्शनढुङ्गाबाट चल्ला कोरल्न खोज्नुजस्तै असम्भव कुरा हुन् ।

आज महान् सहिदहरूका सपनाको साम्यवादी बगैँचा सहरका आलिसान महलहरूमा ढकमक्क भएर फुल्न थालेको छ । सहिद परिवार अनेकन् समस्या झेल्न बाध्य छन् । हामीलाई थाहा छ, साम्यवादमा पुग्न कैयौँ महान् सांस्कृतिक क्रान्ति, बलिदान र कठिनाइहरू पार गर्नुपर्नेछ । महान् सहिदहरूको स्पिरिट कायम गरेर मात्र कम्युनिस्ट क्रान्तिकारीहरू साम्यवादमा पुग्न सक्नेछन् । इतिहासको पाठ र वर्तमानको भोगाइबाट देखिएका सपना कोरा कल्पना हुनै सक्तैनन् । जनताका महान् सपनाको हत्या गर्ने दुस्प्रयत्नकारीहरू एक दिन इतिहासको गर्तमा पुरिनेछन् । नेपालमा क्रान्तिको सफलताका साथै, जनताको समृद्ध सत्ताको स्थापना नै महान् बलिदानका सहिदीमूल्य हुन् । जसको जीवन, जसले आफ्नो सारा सामथ्र्य र बुद्धि मानव–मुक्तिको महान् तथा उच्च लक्ष्यमा लगाएर, आफ्नो सम्पूर्ण जीवन त्यसको हेतु सङ्घर्षमा बिताएर आखिरमा बडो सन्तोषका साथ मृत्युलाई अङ्गीकार गर्छ । वास्तवमा यस्तो मृत्यु मृत्यु होइन, बरु अमरताको प्राप्ति हो । च्याङ्बा लामाको जीवनमा पनि त्यही अमरताको प्राप्ति भएको बुझ्नुपर्दछ । त्यसैले महान् सांस्कृतिक सहिद च्याङ्बा लामा अजर–अमर हुनुहुन्छ ।

१ चैत, २०७४
२०७४ चैत ५ गते मध्यान्न १२ : १८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :