‘बोक्सी’ र संसदीय व्यवस्था

फागुन २४ गतेका दिन कैलालीको घोडाघोडी नगरपालिकास्थित देउकलिया गाउँ निवासी २० वर्षीय राधा चौधरीलाई बोक्सीको आरोप लगाएर ६ घन्टासम्म निर्घात कुटियो । त्यो दिन विश्वभरि १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइराखिएको थियो । राधालाई बोक्सीको आरोपमा भोले बाबा भनिने रामबहादुर चौधरी र पार्वतीको नामले चिनिने स्मारिका चौधरीले निर्घात कुटिरहँदा उक्त घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीलगायतका सयौँको संख्यामा ताली पिट्ने र मूकदर्शक हुने काम गरेका थिए । यसरी मरणासन्न हुनेगरी कुटाइ खाएपछि राधाका आफन्तले नजिकको प्रहरी कार्यालयमा जुरुरी दिँदा प्रहरीद्वारा उजुरी लिइएन । साथै, कुटपिट गर्ने रामबहादुर चौधरी र स्मारिका चौधरीलाई छुटाउन मेयर ममता चौधरी पुगे र छुटाएका थिए । मेयर ममता चौधरीलाई फागुन २८ गते राती अज्ञात समूहले खुकुरी र गोली प्रहार गरी घाइते बनाएको खबर पनि आएको छ ।

राधा चौधरीलाई बोक्सीको आरोपमा पिटाइ खाएको जस्ता घटना नेपालमा पहिलोपटक र अन्तिम होइन । यस्ता घटना दिनदिनै हुने गरेका छन् । बोक्सीको आरोपमा दिसा ख्वाइएका घटना छन् । कैयौँ वृद्ध महिलाहरू बोक्सीको मारिएका पनि छन् । एक्काइसौँ शताब्दीमा पनि अन्धविश्वासमा लागेर महिलामाथि गरिएका यस्ता जघन्य अपराध हुने गरेका छन् । पछिल्लो क्रममा बालिकाहरू बलात्कारको सिकार हुने गरेका छन् । नेपालका महिलाहरू घरेलु–हिंसा, राज्य–हिंसामा परिरहेका छन् ।

अहिले नेपालमा महिला राष्ट्रपति छिन् । लामो समय महिला आन्दोलनमा लागेकी विद्या भण्डारी दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको अवस्था हो । यसअघि नेपालको व्यवस्थापिका र न्यायपालिका र राष्ट्रप्रमुखमा महिला नै थिए । तर नेपालका महिलामाथिको शोषण, दमन र उत्पीडनबाट उनीहरू मुक्त हुन सकेनन् । बरु उनीहरूको कार्यकालमा सबैभन्दा बढी महिलाहरूले उत्पीडन खेप्नुपरेको थियो ।

गएको चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली प्रधानमन्त्री छन् । राष्ट्रपति त्यसै पार्टीकी पूर्व उपाध्यक्ष विद्या भण्डारी दोस्रो पटक राष्ट्रपति बनेकी छन् । यसैगरी राष्ट्रिय सभा र संसद्को उपप्रमुख पनि महिला नै बन्दैछन् । स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको भनिएको छ । तर पनि किन महिलाहरू संसदीय व्यवस्थाको पुनस्र्थापना भएपछि महिलाहरू झनै उत्पीडनमा परेका छन् त !

नेपाली महिलाहरू त्यसमा पनि श्रमिक महिलाहरूले यस्तो परिस्थिति व्यहोर्नुपर्नाका कारण यहाँ काम गर्ने एनजीओ–आईएनजीओ, महिलावादी संघ–संस्थाहरूले पुरुषप्रधान समाज भएको भन्ने गरेका छन् । उनीहरूको यो भनाइमा केही सत्यता रहेको छ । तर त्योभन्दा मुख्य कुरा वर्तमान राज्यव्यवस्था हो भनेर बुझ्नुपर्दछ ।

यो दलाल संसदीय पुँजीवादी व्यवस्था हो । यसको दर्शन भनेका आदर्शवाद हो । आदर्शवादी दर्शनमा भूतप्रेत, धामी, झाक्री, बोक्सीप्रति विश्वास रहेको हुन्छ । यो देशका शासक–प्रशासकहरू मन्दिरतिर पूजापाठ गर्न पुग्दछन् । सरकारको कुर्सीमा आसीन हुन पुग्दा कालो बोको काट्ने गर्दछन् ।

यसैगरी, यो राज्यप्रणाली विभेदको खानी हो । त्यसैले यो व्यवस्थामा गरिब, निर्धन महिला बोक्सी कहलाउँछे । यो सत्ताभित्र जति ठूलो तहमा महिला पुगे पनि उनीहरूमाथिको दमन, शोषण र उत्पीडन कम हुँदैन । बरु सत्तारोहणमा पुगेका केही महिलाको नाम भजाएर थप शोषण गरिन्छ । यहाँ महिला मात्र होइन, दलितहरूले अहिलेसम्म मन्दिर प्रवेश पाएका छैनन् । पँधेराबाट पानी ल्याउन प्रतिबन्ध छ । पञ्चायतकालमा मुलुकी ऐन लागू गरिएको भएता पनि नेपालमा वर्गीय त छँदैछ, लैङ्गिक, जातीय, क्षेत्रीय उत्पीडन झनै बढेर गएको छ ।

अझ यसमा पनि अहिलेको यो संसदीय व्यवस्था दलाल पुँजीवादी भएको र यसको सञ्चालनमा पुगेको वाम–गठबन्धन भनिएका एमाले र माओवादी केन्द्र सामाजिक दलाल पुँजीवादीमा रूपान्तरित भएका छन् । त्यसैले यो सत्ता र त्यसका सञ्चालकहरूको सरकारबाट नेपालका शोषित, पीडितहरूको भलो हुँदैन । बरु तावाको माछो भुङ्ग्रोमा परेको जस्तो मात्र हुन्छ ।  सम्पदकीय 
२०७४ फागुन ३० गते दिउँसो २ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :