दमनको विरोधमा जनता सडकमा, वारेन्ट पुर्जी खारेज गर : चन्द

अम्बिका चन्द / काठमाडौं : नेकपाका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ ले सरकार निरंकुश शैलीमा दमनमा उत्रिएको र आफ्ना नेता–कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् । आइतबार कपिलवस्तुको जितपुरमा आयोजित विशालसभालाई सम्बोधन गर्दै नेता वीरजंगले सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ताको नाममा जारी गरेको वारेन्ट पुर्जी तत्काल खारेज गर्नुपर्ने बताएका थिए ।

सभामा केन्द्रीय सदस्य भेषराज भुसालले राज्यका सबै किसिमका दमनको सामना गर्न आफ्नो पार्टी तयार रहेको बताए । कार्यक्रममा नेकपा अर्घाखाँचीका इन्चार्ज कमल केसी, उद्योग वाणिज्य संघ कपिलवस्तुका उपाध्यक्ष छबि रेश्मी मगर, मानवअधिकारकर्मी रामदयाल ठाकुरलगायतले बोलेका थिए । सोही सभाबाट माओवादी केन्द्रका दुई जना जिल्ला सदस्यसहित २७ जना नेकपामा प्रवेश गरेका छन् । सभामा सहभागी हजारौँ स्थानीयहरूले सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि गरिएको प्रहरी दमन र हस्तक्षेपविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले नेकपाका महासचिव विप्लवसहितका नेताहरूलाई जारी गरेको वारेन्ट खारेज गरिनुपर्ने, जारी धरपकड र गिरफ्तारी तत्काल बन्द गरेर शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउनुपर्ने मागसमेत गरे ।
नेकपा रूपन्देहीले पनि बुटवलमा बृहद् जनप्रदर्शन गरेको छ । राजमार्ग चौराहदेखि सुरु भएको विशाल प्रदर्शन ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष संजीवकुमारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा आफूहरू जीवनपर्यन्त लडिरहने बताए । उनले देश भ्रष्टाचारीहरूको अखडा भएको भन्दै त्यसका विरुद्ध पार्टीले एकीकृत जनक्रान्तिको माध्यमद्वारा आन्दोलन गरिरहेको बताए । कार्यक्रममा नेकपा रूपन्देहीका इन्चार्ज शरद ओलीले संसदीय व्यवस्था जनतालाई भोट बैंक बनाउने र जनताको पसिना चुस्ने व्यवस्था भएकोले यसबाट जनताको मुक्ति सम्भव नभएको बताए । सेक्रेटरी अमरले दलाल संसदीय राज्यसत्ताका विरुद्ध पार्टीले निरन्तर क्रान्तिका अगाडि बताएको बताए । क्रान्तिकारी जनपरिषद् रूपन्देहीका प्रमुख शिशिरले कथित चुनावपछि देश भ्रष्टाचारको रसातालमा पुगेको भन्दै कथित जनप्रतिनिधिहरूले तत्काल राजीनामा दिनुपर्ने बताए । अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक कल्पना सुवेदीले एक्काइसौँ शताब्दीको युगमा पनि महिलाहरूमाथि निर्मम दमन र हिंसा हुनु दलाल राज्यसत्ताको उपज भएको भएको बताए । कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी अमरले गरेका थिए । नाथु थारुले संचालन र जीतबहादुर रसाइलीले स्वागत भाषण गरेका थिए । त्यसैगरी नेकपा नवलपरासीले पनि जनप्रदर्शन गरेको खबर छ । प्रदर्शनपछिको सभालाई जिल्ला इन्चार्ज सुमन, नेताहरू डा. शिवशंकर बस्याल, रामप्रित हरिजन, पृथ्वी ढकालले सम्बोधन गरेका थिए ।
स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन ३० गते दिउँसो १ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :