सलमान खान सम्मिलित कार्यक्रमको विरोध गर्नुपर्नाका कारणहरू – खेम थपलिया

आमुख
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले फागुन १५ गते प्रेस विज्ञप्तिद्वारा नेपालको राजधानीमा अवस्थित सैनिक मञ्चमा फागुन २६ गते अर्थात् मार्च १० मा आयोजना गरिएको भारतीय अभिनेता सलमान खान सम्मिलित ‘दबंग द टुर नेपाल’ कार्यक्रमको सशक्त विरोध ग¥यो । महासङ्घको आधिकारिक विज्ञप्ति सार्वजनिक भएपछि नेपाल, भारत तथा पाकिस्तानी सञ्चार–माध्यमहरूमा यसले महत्वका साथ प्राथमिकता पायो । सलमान खान सम्मिलित ‘दबंग द टुर नेपाल’ कार्यक्रमका विरुद्ध नेपाल र नेपाली जनता एकढिक्का भएर उभियो । अन्ततः फाुगुन १८ गते उक्त कार्यक्रमका आयोजक ‘ओडीसी इन्टरटेनमेन्ट’ सो कार्यक्रम स्थगित गर्न बाध्य भयो । नेपालको मौलिक सांस्कृतिक मूल्यको उत्खनन् तथा भारतीय साम्राज्यवादी संस्कृतिका प्रतिरोधस्वरूप उठेको यो अभियानले नेपालमा मात्र नभएर भारतीय तथा चिनियाँ बौद्धिक तथा प्राज्ञिकवृत्तमा पनि मनग्गै छलफलको आयातन विस्तारित भएको छ । मूलतः त्रिदेशीय (नेपाल, भारत र चीन) बहसको रूपमा उठेको यो विषय नेपालको सांस्कृतिक आन्दोलनको नयाँ र गुणात्मक उचाइ हो । नेपालमा भारतीय कलाकार सलमान खान सम्मिलित ‘द बंग द टुर’ कार्यक्रमको सशक्त विरोध र प्रतिरोध गर्नुपर्नाका निम्न कारणहरू रहेका छन् :

१. नेपालमाथि भारतीय सांस्कृतिक हस्तक्षेप

नेपालमा भारतीयहरूको हस्तक्षेपको विविध आयम रहेका छन् । नेपालमा निकै लामो समयदेखि भारतीय सांस्कृतिक हस्तक्षेप हुँदै आएको कुरा जगजाहेरै छ । नेपाली जनताले त्यसको आ–आफ्नै सोपक्षतामा विरोध र प्रतिरोध गर्दै आएका पनि छन् । नेपालको समकालीन राजनीतिक परिस्थिति गम्भीर परिस्थितिका बीचबाट गुज्रिरहेको बेला, अत्यासलाग्दो नेपाली राजनीतिले जीवनका अनगिन्ती क्षेत्रमा पनि गम्भीर असर पु¥याएकै सन्दर्भमा जनताका लेखक–कलाकारहरू आ–आफ्ना विचारधारात्मक क्षेत्रमा अहोरात्र खटिरहेका छन् । नेपालमाथि बढ्दो वैदेशिक सांस्कृतिक अतिक्रण रोक्न राष्ट्रभक्त, जनसंस्कृतिप्रेमीहरू एकजुट भइरहेका छन् । लामो समयदेखि नेपालमा पश्चिम तथा दक्षिण क्षेत्रबाट (मूलतः भारतीय) भइरहेको राजनीतिक अतिक्रमणका साथै, समय–समय सांस्कृति अतिक्रमण हुँदा आम सर्वसाधारणले त्यसलाई डटेर विरोध गरेको र आवश्यक पर्दा सडकमै आएर बलिदान दिएको समेत विगतको इतिहास जीवितै छ । यो बलिदानको इतिहास हाम्रा लागि अमूल्य प्रेरणा हुन् । नेपाली संस्कृतिको अपमान हुनेगरी गर्न लागिएको सो कार्यक्रमको विरोध र सशक्त प्रतिरोधको गर्नुको कुनै विकल्प थिएन । त्यसैले यसको सशक्त विरोध र प्रतिरोध भयो । ‘बलिउड सुपरस्टार दबंग द टुर’ भारतीय शासक वर्गले विश्वभर ‘भारतीय कलाकार श्रेष्ठ र भारतीय कला श्रेष्ठ हो’ भन्ने कुरा स्थापित गराउन विकास गरिएको कार्यक्रम हो । यो कार्यक्रम अन्य देशमा पनि देखाइएको छ र देखाउँदै जाने योजना पनि उनीहरूको देखिन्छ । नेपालमा पनि ‘भारतीय कलाकार श्रेष्ठ र भारतीय संस्कृति (कला) श्रेष्ठ’ भन्ने जबर्जस्ती मनोविज्ञान फैलाउनु भनेको सिधा–सिधा नेपाल र नेपाली जनतामाथिको आक्रमण गर्नु हो । भारतीयहरू उनीहरूका ठाउँमा ‘श्रेष्ठ’ होलान् र तर नेपाली कलाकार र नेपाली कला नेपालमा श्रेष्ठ छन् । यसको प्रमाण कोही कसैले दिइरहनुपर्दैन । भारतीय साम्राज्यवादको यसप्रकारको सांस्कृतिक अतिक्रमणका विरुद्ध नलड्ने त नेपाली नै हुन सक्तैन । त्यसैले, भारतीय अभिनेता सलमान खान सम्मिलित कार्यक्रम ‘बलिउड सुपरस्टार दबंग द टुर’ कार्यक्रमको विरोध गर्नुपरेको हो ।

२. नेपाली कला, कलाकार र राष्ट्रियतामाथि ठाडो हस्तक्षेप

काठमाडौंमा अवस्थित नेपाली सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्ने विषय सामान्य परिघटना थिएन, यो असमान्य परिघटनाले हाम्रो सांस्कृतिक सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भयो पनि । नेपालमाथि भारतीय राजनीतिक मात्रै होइन, सांस्कृतिक अतिक्रमण समेत तीव्र पारिएको बेला नेपाली जनता आफ्नो राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजनाअन्तर्गत हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजनाअन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्नुको कुनै विकल्प नै थिएन । यो कार्यक्रममा सहभागी नहुने र गीत पनि नगाउने भनेर कतिपय नेपाली कलाकारहरूले विरोध पनि जनाउनुभयो । यो कार्यक्रमले स्वाभामिनी नेपाली कलाकारमाथि गहिरो चोट पु¥यायो । सो कार्यक्रम रोकिएपछि नेपाली कलाकारहरूले सार्वजनिक गरेका टिप्पणीबाट पनि यो कुरा प्रमाणित भएको छ । यो कार्यक्रमको विरोध गरेर हामी नबोलेको भए, सो कार्यक्रम नरोकिएको भए फेरि एकपटक नेपाल र नेपाली जनताको शिर निहुरिने थियो । एकपटक फेरि हामीले नेपाल र नेपाली जनताको शिर ठाडो पार्ने अभियानमा एक चरणको सफलता प्राप्त गरेका छौँ । यसमा द्विविधा मान्नुपर्ने कुनै कारण छैन । त्यसैले नेपाली कला, नेपाली कलाकार र नेपाली राष्ट्रियता गम्भीर हस्तक्षेप भएकोले यो कार्यक्रमको विरोध गर्नुपरेको हो ।

४. मातृभूमिको छाती (टुँडीखेल) मा विदेशी कलाकारको नाङ्गो नाच

नेपाली कलाकारहरू पनि विदेशमा गएर गरेको विभिन्न सांस्कृतिक कार्यक्रम गरिरहेका हुन्छन् । आजको विश्वमा कुनै पनि राष्ट्रमा मानिसहरू विभिन्न कारण पुगेका हुन्छन् । भारतीय कलाकार मात्र होइन, नेपाली कलाकार पनि विश्वका विभिन्न देशमा गएर सांस्कृतिक कार्यक्रम गरेका छन् । तर, नेपाली कलाकारहरू जहाँ–जहाँ गएर सांस्कृतिक कार्यक्रम गर्दछन्, त्यहाँ–त्यहाँ अधिकांश नेपाली दर्शकले मात्र कार्यक्रम हेर्ने गरेका छन् । विदेशबाट कलाकारहरूले ल्याउने पैसा नेपाली दर्शकहरूबाटै हो, अन्यबाट होइन । तर सलमान खान नेपालमा आउँदा उनको कार्यक्रम हेर्ने दर्शक अधिकांश नेपाली नागरिक हुन् । उनले नेपाली दर्शकको पैसा लैजाने हुन् । यो कुरा सामान्य छैन । कला, साहित्य, संस्कृतिको भूगोल हुँदैन भन्ने कुरा गर्नेहरूलाई ययो तथ्यले सटिक जवाफ दिएको छ । यो कुरा पनि सही हो कि नेपालमा विईङ ह्युमनको नामबाट सामानहरू बिक्री गर्दै भारतीय जनताको लागि सहयोग गर्दै आएको संस्था हो । यो कुरा पनि सही हो कि भारतीय अभिनेता खान नेपाली जनताका लागि समेत प्रिय कलाकार हुन् । कलाको हिसाबले उनी निकै लोकप्रिय छन् तर त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र संवद्र्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण हामीलाई स्वीकार्य छैन । सो कार्यक्रमका आयोजकले कतिपय वैधानिक प्रावधान पनि पूरा गरेका थिएनन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको स्वीकृति नै नलिई, जङ्गीअड्डा, भद्रकालीबाट टुँडीखेलमा कार्यक्रम गर्ने इजाजत नै नलिई देशव्यापी उक्त स्थानको प्रचार–प्रचार गरिनु उनीहरूको नितान्त जबर्जस्ती र हेपाहा प्रवृत्ति हो । हामी नेपाली गरिब हुन सकौँला तर हाम्रो स्वाभिमान सगरमाथाजत्तिकै उच्च छ । त्यसैले मातृभूमिको छातीमा विदेशी नग्ननृत्य हामीलाई सर्वथा अमान्य थियो र हामीले यसको सशक्त विरोध गर्‍यौँ ।


४. अत्यासलाग्दो भारतीय सांस्कृतिक बजारीकरण

भारतीय कलाकार मात्र होइन, विश्वका कुनै पनि देशका कलाकारहरूलाई नेपाल आऊ–जाऊमा हाम्रो कुनै अवरोधको नीति छैन । आज नेपाली चाडपर्व, संस्कृतिको तीव्र बजारीकरण गरिएको छ । तीज, दसैं, तिहारलगायत सबै सन्दर्भमा बजारको उत्पात मच्चिन्छ । चाडपर्व, सांस्कृतिक कार्यक्रम आदि इत्यादिमा धनी वर्गको बर्चस्व ह्वात्तै बढेको छ । यसले आर्थिक रूपमा पछाडि रहेका नागरिकको स्वाभिानमा गम्भीर असर पुर्‍याएको छ । आज संस्कृतिलाई नाफा गर्ने, व्यापार गर्ने साधन बनाइएको छ । हामी यसप्रकारको चिन्तन–व्यवहारको विरोध र प्रतिरोध गर्दछौँ । सलमान खान विशुद्ध मदिराको प्रवद्र्धनको लागि (भन्नलाई त पर्यटन प्रवद्र्धनका लागि भनिएको) नेपाल आएर प्रतिव्यक्ति २० हजार रूपैयाँको टिकट कटाउने कार्य नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित थियो । नेपालका सहरमा मात्र होइन, गाउँ–गाउँमा ठूलठूला होर्डिङ बोर्ड राखिएको छ । राजमार्गमा पूरै होर्डिङ बोर्डैबोर्डले छोपिएको छ । यत्रो पैसा कहाँबाट आयो ? काठमाडौंलगायत देशका ठूला सहरहरूमा सयौँ महङ्गा होटेल बुकिङ गरेर टुबोर्ग वियर खाने प्रतिस्पर्धा गराएर आयोजकले गर्न खोजेको के हो ? यतिवटा वियर खाएपछि यति हजारको टिकट फ्री भनेर सहरमा उत्पात मच्चाइएको छ । यसले हाम्रो युवापुस्तालाई कहाँ पुर्‍याउँछ ? यो कार्यक्रमले नेपाली जनताका घर–घरमा झगडा सुरु गरायो । छोरोछारीले महङ्गो टिकट किन्ने पैसा आ–आफ्ना अभिभावकसित माग्दा घर–झगडा सिर्जना भयो । सो कार्यक्रम रोकिएपछि सयौँ अभिभावकले हामीलाई फोन गरेर धन्यवाद दिनुभएको छ । त्यसकारण हामीले ‘ओडिसी इन्टरटेनमेन्ट’ को आयोजनामा हुन लागेको उक्त कार्यक्रम तत्काल रोक्न सरोकारवाला सबैलाई आग्रह गर्‍यौँ र कार्यक्रम स्थगन हुन पुग्यो । विनासकारी भूकम्पले सिङ्गो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि नेपाली जनताबाट करोडौं रकम खर्चनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारमाथिको ठूलो अपमान पनि हो । नेपालको स्वाभिमानको रक्षार्थ एवम् भारीय सांस्कृतिक बजारीकरणका विरुद्ध सलमान खानसहित भारतीय कलाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य थियो । हामीलाई यो कुरा पनि थाहा छ कि कलाकार सलमान नेपालको असाध्यै माया लागेर आउन लागेका थिएनन्, उनको एक मात्र मूल उद्देश्य नेपाली सांस्कृतिक बजारीकरण गर्नु थियो । त्यसकारण हामीले यो कार्यक्रमको विरोध गर्‍यौँ ।

५. मदिराजन्य वस्तुको व्यापक प्रचार–प्रसार

आज संसारभर रक्सीको साम्राज्य छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपाल कृषिप्रधान देश भएर पनि यहाँ गाई–भैंसीको दूधको खोलो होइन, यहाँ रक्सीको खोलो बग्छ, बगाइन्छ । नेपाली समाजमा घटेका अधिकांश हिंसाजन्य–अपराधजन्य घटनाको मूल कारण रक्सी–मदिरा नै रहेको कुरा विभिन्न तथ्यले पुष्टि गरेकै छ । के यो कुराले नेपालीको मन दुख्दैन ? हाम्रो समाज कता जान लागिरहेको छ ? हामी कहाँ छौँ ? विघटित हुँदै गएको नेपाली समाजलाई अझै तीब्र रूपमा विघटन गराउने गरी फेरि पनि भारतीय कलाकार सलमान आफ्ना केही भारतीय कलाकारहरूका साथ रक्सीको प्रमोसनका लागि नेपाल आउँदा जनता खुसी हुने कुरै थिएन । रक्सी (टुबोर्ग वियर) को प्रोमोसनका लागि बीसौं हजारको टिकट बेचेर कार्यक्रम गर्ने कुरा हामीलाई सर्वथा अमान्य थियो र छ । नेपाल राष्ट्रलाई ७० करोड राजस्व ठगी गरेको प्रचार भइरहेको सन्दर्भमा फेरि यही वियर कम्पनीले यत्रो र यस्तो कार्यक्रमको प्रायोजन गर्नु उदेकलाग्दो कुरा हो । नेपाली कलाकारहरूलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा रक्सीको लोगो छापिएको गन्जी लगाएर उन्मत्त ढङ्गले नेपाली युवा–युवतीलाई नचाउने कुरा कुनै पनि हालतमा मान्य हुन सक्तैन । मदिराजन्य वस्तुको व्यापक प्रचार–प्रसार गरेर नेपाली समाज र नेपाली युवा–मनोविज्ञानलाई ध्वस्त पार्ने उद्देश्यका साथ हुन लागेको उक्त कार्यक्रमको हामीले विरोध गर्नुपरेको हो ।

६. नेपाली र नेपाली जनताप्रति असहिष्णु सलमान

कतिपय सन्दर्भमा व्यक्तिका व्यक्तिगत गुण वा स्वभावले पनि काम गरिरहेको हुन्छ । सलमान खानको स्वभाव नेपाल र नेपाली जनतामैत्री देखिएन । २०७२ वैशाख १२ गतेको भूकम्पमा परेर हजारौं नेपालीले ज्यान गुमाए । भौतिक सम्पत्ति नोक्सानको लेखाजोखा गर्न कठीन भयो । नेपाल र नेपाली जनतामाथि आइपरेको त्यस्तो भयानक विपत्तिका बीच विश्वप्रसिद्ध फुटबलर मेस्सीदेखि रोनाल्डोसम्मले सहयोगको घोषणा गरे नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध रट लगाइरहने भारतीय कलाकार सलमान खान भने त्यतिबेला नेपाल र नेपाली जनताका विरुद्ध खनिए । भारतीय सरकारले नेपालमाथि उल्टै नाकाबन्दी लगाएर नेपाल र नेपाली जनताका पीडामाथि नुन–चुक थप्ने काम ग¥यो । संसारभरबाट नेपाल र नेपाली जनताको दुःख र पीडामा साथ सहयोग प्राप्त भइरहेका बेला भारतीय कलाकार सलमान खानले आफ्नो सामाजिक सञ्जालमा यतिसम्म लेख्न भ्याए– ‘हामीले भूकम्प पीडित नेपालीलाई सहयोग गरेका छैनौँ र सहयोग गर्ने तत्काल कुनै कार्यक्रम पनि छैन ।’ उनले सहानुभूतिका दुई शब्दसमेत खर्चने प्रयास गरेनन् । अहिले उनै सलमान खान नेपाल र नेपाली जनताको आर्थिक र सांस्कृतिक समृद्धिका लागि नेपाल आउन लागेको भन्ने कुरा जत्ति हास्यास्पद र नौटङ्की अरू के हुन सक्छ ! हामी यस्ता नौटङ्कीको विरोधी हौँ, निरन्तर विरोध र प्रतिकार गरिरहन्छौँ ।

७. भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको प्रतिरोध

समकालीन विश्वमा संस्कृति साम्राज्यवादको महत्वपूर्ण हतियार बनेर आएको छ । उनीहरूले विश्वव्यापी रूपमा आफ्नो पकड जमाउन तथा आफ्नो शोषण–दोहनको अविच्छिन्न प्रक्रिया कायम गर्न सांस्कृतिक भूमण्डलीकरण गरेका हुन्छन् । अहिले पनि विश्वभर विभिन्न रूपमा ‘अघिअघि बाइबल पछिपछि सेना’ साम्राज्यवादी नीति कायमै देखिन्छ । धर्म, भाषा, विचार, कला–साहित्य, शिक्षा आदि संरचनाका माध्यमबाट मानिसको सांस्कृतिक सत्ता कब्जा गर्नुपर्छ भन्ने यसको अन्तर्य हो । यो दार्शनिक रूपमा उत्तर आधुनिकतावादी चिन्तनधारा–व्यवहारधारासित सम्बन्धित छ । भारतीय साम्राज्यवादको कुरा पनि यही हो, उसले पनि नेपालको भाषा, धर्म, विचार, शिक्षा, संस्कृति आदिलाई भारतीयकरण गर्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । फलस्वरूप भारतले आफ्नो टीभी च्यानल, फिल्म, सञ्चार माध्यममार्फत् नेपालमा सांस्कृतिक सत्ता कब्जा गर्न खोजिरहेको छ । भारतीयहरू नेपालमा भारतीय नायक–नायिका, भारतीय सभ्यता र परम्परा, भारतीय नेता, भारतीय व्यवस्था महान् हुन् भन्ने मनोविज्ञान निर्माण गर्न तल्लीन छन् । सलमान खान सम्मिलित कार्यक्रम यसैको पछिल्लो कडी हो । भारतीयहरूको यसप्रकारको कुटिल चालबाजीका विरुद्ध तथा राष्ट्रिय संस्कृतिको पक्षमा सामूहिक रूपमा सङ्घर्ष गर्नु आवश्यक छ । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको प्रतिरोधी हुनुको शक्तिको नाताले भारतीय सांस्कृतिक साम्राज्यवादको पनि सशक्त विरोध र प्रतिरोध गर्नु हाम्रो कर्तव्य हो । जनसंस्कृति हाम्रो आदर्श भएको र यही आदर्शका खातिर कृष्ण सेन ‘इच्छुक’ सहित १७० भन्दा बढी संस्कृतिकर्मीले बलिदान दिएको तथा भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद हाम्रो प्रहारको निशाना भएकोले पनि हामीले यो कार्यक्रमको विरोध गरेका हौँ ।

अन्त्यमा,

भारतीय अभिनेता सलमान खान सम्मिलित ‘दबंग द टुर नेपाल’ कार्यक्रममा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली किशोर–किशोरीलाई उफार्ने दुष्प्रयासप्रति हाम्रो मात्र होइन, सिङ्गो देशको गम्भीर आपत्तिको कुरा थियो र हो । हाम्रो सङ्गठन भारतीयहरूको यसप्रकारको गलत नियत तथा नीतिको निरन्तर तीव्र विरोध, भत्र्सना एवम् प्रतिरोध गर्दै आएको छ र गरिरहनेछ । हाम्रो सङ्गठन यसप्रकारको भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको जस्तोसुकै तरिकाले पनि प्रतिरोध गर्न तयार छ । हामी यो वा त्यो वहानामा फेरि पनि भारतीय कलाकार सलमान खानलाई यही र यस्तै गलत कार्यक्रमको वहाना बनाएर नेपाल नआउन, उनको कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टलाई उक्त कार्यक्रम नगर्न तथा आम नेपाली जनतालाई महङ्गो मूल्य तिरेर सो कार्यक्रमको टिकट नकिन्न हार्दिक अपील गर्न चाहन्छौँ । जबर्जस्ती गर्न खोजिए त्यसको प्रतिकार पनि सोहीअनुरूप जबर्जस्ती नै हुनेछ । नेपाली राजनीतिक दलहरूलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सधैँ मञ्च खुल्ला गर्ने नेपाली सेनाको सैनिक मञ्चमा विदेशी कलाकार नचाउने परम्पराको अब सदाका लागि अन्त्य हुनैपर्दछ ।स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन ३० गते बिहान ९ : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :