घटनामा हामी संलग्न छैनौँ : नेकपा

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको गोलीकाण्डमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएको छ ।

चौधरी गोलीकाण्डको विषयलाई लिएर प्रहरीले आफ्ना तीन नेतालाई रातमा घरमा सुतिरहेकै अवस्थामा गिरफ्तार गरेको भन्दै नेकपा कैलालीका इन्चार्ज महानले आपत्ति जनाएका छन् ।

इन्चार्ज महानले घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको प्रष्ट पार्दै मध्यरातमा अपहरणशैलीमा आफ्ना जिल्ला स्तरीय नेताहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनले तीनै जनालाई तत्काल रिहा गर्नसमेत माग गरेका छन् ।

मेयर ममताप्रसद चौधरीमाथि सोमबार साँझ उनकै घरमा अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको थियो । गोली र खुकुरी प्रहारबाट घाइते चौधरीलाई सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ । विश्वभर र नेपालमा पनि नारी दिवसकै समयमा कैलालीमा कक्षा ११ मा अध्ययनरत राधा चौधरीमाथि बोक्सीको आरोपमा सार्वजनिक रूपमा निर्घात कुटपिट गरिएको थियो ।

उक्त घटनामा जनप्रतिनिधिको हैसियतमा रहेर पनि मूकदर्शक बनेको र गैर–जिम्मेवार रहेको भन्ने मेयर चौधरीलाई आरोप लागेको छ । संचार माध्यममा अन्तर्वार्ता दिंदै मेयर चौधरीले त्यो आफ्नो काम नभएको प्रतिक्रियासमेत दिएका थिए ।

प्रहरीले ममताप्रसाद चौधरीमाथि गोली प्रहारमा संलग्नको आशंकामा नेकपा कैलालीका तीन नेतालाई गिरफ्तार गरेको हो । सुख्खडस्थित आफ्नै घरमा सुतिरहेका कमल क्षेत्री, भरत शाहलाई टिकापुरस्थित घरैबाट सोमबार राती ३ बजेतिर गिरफ्तार गरेको थियो ।
२०७४ फागुन २९ गते अपरान्ह ४ :०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :