एमाले र माके कम्युनिस्टको खोल ओढेका अवसरवादी हुन् : मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमाले र माके कम्युनिस्ट र वामको खोल ओढेका अवसरवादी गद्दारहरु भएको कताएका छन् । पार्टीको युवा संगठन क्रान्तिकारी युवा लिगको ‘युवा जागरण तथा प्रशिक्षण कार्यक्रम’को मकवानपुरमा उद्घाटन गर्दै यस्तो कुरा बताएका हुन् । महासचिव किरणले नेपालमा कम्युनिस्ट तथा वाम जनमत ठूलो रहेकोले त्यसलाई भ्रमित तुल्याएर आफ्नो स्वार्थसिद्ध गर्न कम्युनिस्ट वा वाम भएको उनीहरुले नौटंकी गरिरहेको पनि बताए । माकेको एमालेकरणलाई विडम्बनायुक्त परिघटना भन्दै महासचिव किरणले “साम्राज्यवादको डलरमा बिकेका र विस्तारवादको चाकडी गर्नेहरुले, नवउदारवादलाई स्वीकार गर्नेवालाहरुले र देशभित्र दलाल पुँजीपति, नोकरशाह पुँजीपति र सामन्तवर्गको प्रतिनिधित्व गर्नेहरुले नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्दैनन् । ” भन्दै , “अहिलको समय भनेको क्रान्तिको महान सम्भावना बोकेको समय हो । चुनौतीहरुको सामना गर्दै जनयुद्धको ओझ र गरिमालाई गहिरोगरी आत्मसात गर्न जरुरी छ र क्रान्तिको नयाँ शिराबाट तयारी थाल्नुपर्दछ ।” उनले मुलुकमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्घोषका भएको महान जनयुद्धमाथि गम्भीर धोका र गद्दारी गरेर भूतपूर्व कमरेडहरु पुरानै पश्चगामी संसदीय व्यवस्थाको मतियार बनेर जनयुद्धकालमा ‘गद्दार संशोधनवादी, प्रतिक्रियावादी एमाले गुट’ भन्ने प्रचण्डहरु अहिले लाजै नमानी एमालेमा विलय हुन पुगेको पनि टिप्पणी गरे । पुरानो राज्यसत्तालाई ध्वंश गरेर नयाँ राज्यसत्ता स्थापना गर्नु नै क्रान्ति हो भन्दै उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु एमाले माकेहरुबाट समाधान हुन नसक्ने दावी गरे । एक अर्को प्रसंगमा महासचिव किरणले भने , “संघर्षको प्रक्रियामा नै एकता र ध्रुवीकरण हुँदै जान्छ । विना संघर्ष एकता हुनेवाला छैन । अब हामीले जुझारु संघर्षको विकास गर्नुपर्दछ । नयाँ क्रान्तिको तयारी गर्न युवाहरुले भूमिका खेल्नुपर्छ । क्रान्तिका लागि सशस्त्र संघर्षको भूमिका आवश्यक पर्छ ।”
२०७४ फागुन २९ गते बिहान ११ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :