एकीकृत जनक्रान्तिको आवश्यकता – डा. भगवानचन्द्र ज्ञवाली

पुरानो रक्सी नयाँ बोतलमा हाल्दैमा वा पुरानै बोतलमा नयाँ लेबल चढाउँदैमा रक्सी नयाँ हुँदैन । जनआन्दोलनले राजतन्त्रलाई जनअलदातमा उभ्याएर निलम्बन गर्दैमा न राजतन्त्रको अन्त्य भएको मानिन्छ न ब्वाँसाहरूलाई धपाएर मृगचर्म ओढेर आउने स्यालले राजतन्त्रको प्रतिस्थापन गर्दैमा क्रान्ति सम्पन्न भएको गुड्डी हाँक्नु आत्मश्लाघाभन्दा बढी केही हुन सक्दैन । जनताले चाहेको क्रान्ति अझै सम्पन्न हुन सकेको छैन ।

क्रान्ति र परिवर्तनको आशा गर्ने नेपाली जनता त्यसका संवाहक र परिणामका भोका पनि हुन् । अतः कुनै पनि जनविद्रोह वा जनसङ्घर्ष क्रान्ति हो वा होइन अथवा सफल भयो वा असफल भन्ने कुरा जनताका भोगाइ र तिनका सचेतन अभिव्यक्तिले पुष्टि गर्दछ ।

माओवादीका नेतृत्वमा सञ्चालित दसबर्से जनयुद्ध र त्यसका पृष्ठभूमिमा २०६२–६३ मा भएको १९ दिने अपूर्व जनआन्दोलनलाई अहिले क्रान्ति मान्न सकिन्छ वा सकिंदैन भन्ने कुरा त्यसका आरम्भमा उद्घोषित उद्देश्यअनुसार परिणामको अनुभूति गर्न जनताले आजसम्म पाए वा पाएनन् भन्ने वस्तुगत तथ्यले पुष्टि गर्दछ । तत्कालीन नेकपा माओवादी र सातदलका बीच शान्तिवार्ता र शान्तिसम्झौता भएको पनि दिव्य बाह्र वर्ष र दुई–दुईपटक निर्वाचित संविधानसभाबाट निर्मित संविधान कार्यान्वयन भएको पनि ३ वर्ष भइसकेको छ । अन्तर्राष्ट्रिय अनुभव र समाज विकासको गतिअनुसार सशस्त्र विद्रोहको परिणाम पुष्टिका लागि यो समय खासै पर्याप्त होइन तथापि कर्मवीरका लागि कुनै कुराले छेकबार लाउँदैन भन्ने कुरा पनि अन्तर्राष्ट्रिय अनुभवले देखाइसकेको छ । हिजो जुँगाका रेखीसमेत नबसेका मुलुकहरू आज नौजवान भएर विश्वशक्ति सामु प्रतिस्पर्धामा उभिइसकेका छन् । विकृति र विसङ्तिलाई छोड्ने हो भने हामी यस बाह्र–तेह्र वर्षमा एक पाइला पनि अघि बढेका छैनौँ । नेपाली शान्तिप्रक्रिया अन्त्य भएको घोषणा भइसकेको छ तर घरभित्रका कलहले छिमेकी हँसाउने कुरामा बाहेक कत्ति प्रगति गर्न नसकेका कुराले फेरि जनताले २००७ सालकै चाहनाअनुकूल परिवर्तनका लागि नयाँ शक्तिको पछि लाग्नुपर्ने परिस्थिति बन्दै गएको त होइन भन्ने आशङ्का उब्जनु सचेत बौद्धिकवर्गमा चियापसलको गफको विषय बन्न थालेको देखिन्छ । नेताहरूका विचारको ध्रुबीकरण मात्र पनि अझै पूरा भएको छैन भने कथित वाम एकता त शङ्काका घेराभित्र छ । जनचाहना मुताबिक परिवर्तन भनी कान फुक्नेहरूका मतमा लाग्नेहरू र नेताहरूको जुङ्गे लडाइँ सदाका लागि नत्यागेसम्म कसैबाट केही माखो नमर्ने निश्चित छ । सामूहिक रूपान्तरणका लागि या त सामाजिक सांस्कृतिक सङ्घर्षको थालनी हुनुप¥यो या आमूल आर्थिक संरचनाको स्थापना हुनुप¥यो । गणतन्त्रका समयमा पनि जनताका नेताले जनचाहनाको उपेक्षा गर्नु र अद्यापि ‘राजाको काम कहिले जाला घाम’ उखान चरितार्थ गर्न उद्यत कर्मचारीतन्त्र र अन्य प्रशासनिक एकाइहरूमा समेत यथास्थितिवादी, परमुखापेक्षी प्रवृत्ति र जनतालाई आफ्नो लैनो गाई ठान्ने प्रवृत्ति कायम रहँदासम्म परिवर्तनको खासै ठूलो उपलब्धि हासिल हुनु असम्भव छ । जनआन्दोलन २ ले सडकबाट नै सामन्ती निरङ्कुश राजतन्त्रको अन्त्य गरी देशमा विद्यमान सबैखाले असमानता अन्त्य र पारस्परिक सम्मानसहित सम्पूर्ण नागरिकलाई राष्ट्रको मालिक बनाउने गणतन्त्रात्मक व्यवस्थाको उद्घोष गरेको थियो । जनताले जनयुद्ध नै मानेर दिएको समर्थन र १७ हजार होनहार जनताले गरेको बलिदानीको अपमान गर्दै नेताहरू संविधानमा त्यसको नाम निशानसम्म राख्न तयार भएनन् । राजा हटेर मात्र राजतन्त्रको अन्त्य भएको मानिंदैन किनभने कर्मचारीतन्त्रमा उही मनोवृत्ति हाबी छ भने नेताहरूमा सामन्तवादको अमूर्त तत्त्व अन्तः विन्यस्त छ । नेताहरू आफैँलाई जन्मँदै नेता भएर जन्मेको र जनतामाथि जे पनि गर्न पाउने अधिकार पाएको ठान्दछन् । माओले भनेझैँ सधैँ सबैलाई ढाँटिरहन सकिँदैन भन्ने कुरा बुझेर नेताहरूले कमसेकम पद्य शम्सेर राणाको बोली म जनताको नोकर हुँ भन्ने आँट गर्न र त्यसलाई व्यवहारमा उतार्न तयार हुनुपर्छ नत्र जुन जोगी आए पनि कानै चिरेको भए भने जनताले समग्र हितका लागि अर्काे विकल्प किन नरोज्ने भन्ने प्रश्न सहजै उठ्न थालेको छ । जनयुद्धकालमा नेताहरूले सामन्ती अधिनायकवादी हैकमवादी व्यवस्थाको अन्त्य गर्दै नयाँ जनवाद (प्रगतिशील पुँजीवाद) मार्फत् समाजवादको स्थापना क्रान्तिपछि जादूले झैँ सबै कुरा जनताका हितानुकूल हुने अभिमत जाहेर गरेका थिए । त्यो कुरा माओवादीले पहिलो संविधानसभाको निर्वाचनमा ल्याएको मतले प्रस्ट पार्छ तर हुतिहाराका हातमा शक्ति गयो भने त्यसले आफ्नै घात गर्छ भनेझैँ भयो । स्वावलम्बी स्वाभिमानी नागरिक नभएसम्म देशले काँचुली फेर्दैन भन्ने कुरा प्रवासी नेपालीहरूबाट सिके हुन्छ र त्यस अवस्थामा मुलुकले अपेक्षित विकास पनि गर्न सक्दैन । साम्प्रदायिक मित्रता र जातीय एकता पनि राष्ट्रिय अखण्डताका लागि अनिवार्य हुन्छ ।

प्रत्येक नेपाली पहाड, हिमाल, तराई जहाँसुकै बसोबास गर्ने भए पनि सबै प्रकारका शोषण र अन्यायबाट मुक्त भएर आत्मगौरवले शिर ठाडो पार्दै एकीकृत समृद्ध नेपालको नागरिक भएर बाँच्न चाहन्छ । माल्थसका भनाइअनुसार प्राकृतिक सम्पदाको यथोचित उपयोग गर्न पर्याप्त जनसङ्ख्या चाहिन्छ अर्थात् जनसङ्ख्याको चाप कम वा बेसी भएमा देशले उपयुक्त विकास गर्न सक्दैन । हाम्रो उब्जनीयोग्य जमीनका उपलब्धतालाई ध्यान दिने हो भने हाम्रो जनसङ्ख्या पर्याप्त भए पनि दक्ष जनशक्तिको भने तलदेखि नै अभाव रहेको देखिन्छ । जबदेखि नेपाली युवा–रगतलाई विदेशी साम्राज्यवादी विस्तारवादी शक्तिराष्ट्रका पोल्टामा हालिदिने परम्पराको थालनी भएको हो तबदेखि नै आफ्ना जन्मभूमिप्रति अगाध माया भएर पनि युवाहरूले अप्रत्यक्ष पराधीनताका दबदबे हिलामा घाँटघाँटी डुबेर आत्म–लघुताभासमा थच्चिनुपरेको छ । शतकौँदेखि एउटै विधिमा गतिशील हाम्रो सामाजिक संरचना र अर्थतन्त्रले गर्दा चेतना र स्वाभिमानका अभावले हामीले समाजभित्रै मौलाउँदो विकृति, आपसीद्वेष, कलह, द्वन्द्व र हिंसा सहँदै र सत्को हार असत्को जित भएको टुलुटुलु हेरिरहनुपरेको छ । तत्काल सचेत र विवेकपूर्ण समाधानको द्वन्द्ववादी बाटो नखोजिएमा समाज र राष्ट्र नै विखण्डनका भासमा जाकिन सक्ने निश्चितप्रायः छ । विस्तारवादी दलालहरू त्यसमा मलजल गर्ने प्रयास बेलाबेला गरिरहन्छन् तापनि सतकौँदेखि अविच्छिन्न रहेको नेपालको विभाजन कुनै पनि नेपालीले चाहँदैन र चाहनेलाई सहन पनि सक्दैन । एकातिर राजतन्त्रले वर्षाैंदेखि जनतालाई प्रजा (दास) बनाइराख्यो भने अर्कातिर जनताका नेता भनिनेहरूले पनि सत्तालिप्सामा डुबेर युवाहरूलाई ‘आफ्नो राष्ट्र, सभ्यता र संस्कृतिलाई माया गर्दै स्वाभिमानी र स्वावलम्बी भएर देश हाँक्न काँध थाप्नुपर्छ, जनएकता राष्ट्रको सबैभन्दा ठूला शक्ति हो, सङ्गच्छध्वं संवदध्वं … जस्ता कुरा सिकाउनाको सट्टा आफ्ना कार्यकर्ता मात्र बनाइराख्ने र आपूm सधैँ दोस्रो राजा बनिरहने जालमा मात्र फसाइराखे । ‘फुटाऊ र राज गर’ को नीति दासयुगको अवशेष हो । त्यसले जातीय अस्तित्व र राष्ट्रिय अखण्डतालाई नष्ट पार्छ भन्ने कुरा राजा त के प्रजातन्त्रका मसिहा भनिनेहरूले समेत बुझ्न सकेका छैनन् । अतः उपेक्षित जातजाति, वर्ग, लिङ्ग र क्षेत्रका जनताले जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय नारा बोकेर जनआन्दोलन २ मा आ–आफ्नो सहभागिता जनाएका थिए । आ–आफ्नो भूगोल, क्षेत्रीयता र सिङ्गो राष्ट्रकै रक्षा गर्ने जनता नै हुन् । अहिले नपाली समाज विखण्डनको सङ्घारमा उभिएको छ । छिटै कुनै विवेकशील देशभक्त महारथि खडा भएन भने नचिताएको विनास हुने निश्चित छ । राजधानी र सदरमुकामका ब्यारेकमा बस्ने नेपाली सेनाले मात्र राष्ट्रको भू–भागको रक्षा गर्न सक्दैन । राष्ट्रवाद र जनवादमा भेद गरिएकाले यस्तो विनासको बाटो खुलेको हो । नेताको बोली विदेशका लोलीसँग मिल्ने गरेको इतिहास लामो भइसकेको छ । देशका सच्चा पहरेदार नेपाली जनता नै हुन् । जनतालाई सार्वभौम शक्तिसम्पन्न बनाउँदा आफ्नो कद घट्ने डरले नेताहरूको टाउको खाएको छ । सच्चा नेता हुन् जनताको सम्मान गर्न सिक्नैपर्छ । विदेशीको इसारामा भन्दा नेताले जनताका चाहनामा नाच्न जान्नुपर्छ । इमानदार बनेर मुलुकको नयाँ इतिहास निर्माण गर्ने अवसर वर्तमान नेताहरूलाई समयले दिएको छ । विघ्नले निरन्तर प्रहार गरे पनि उत्तम व्यक्तिले लक्ष्यबाट विरत हुनुहुँदैन भन्ने नीतिवचन अवलम्बन गर्दै नयाँ नेपालको जनअवधारणालाई व्यवहारमा उतार्न समर्पित भएर लाग्नुको विकल्प नेताहरूसँग छैन । नत्र प्रत्येक दसकमा एउटा सङ्घर्षको उठान गर्दै आएका जनताले अर्काे विकल्पलाई पच्छ्याउने दिन नजिकिंदैछन् भन्ने बुझे हुन्छ । हो, राष्ट्रलाई टुक्य्राउने प्रयास जघन्य अपराध हो । तराईका वास्तविक जनताको माग त्यो होइन । देशका हरेक भू–भागमा आ–आफ्नै विशेषता र सम्भावनाहरू छन् । तिनलाई स्थानीय जनताकै हितमा उपयोग्य हुनेगरी अर्थनीति बनाएर अंशबाट समग्रताको निर्माण गर्ने चिन्तन लिएर अबको राजनीति सञ्चालन भएमा देशले केही दशकभित्रै नयाँ काँचुला फेर्ने निश्चित छ । युवाहरू विदेशीको सेवामा रमाउँदैनन् । थोरै खाएरै भए पनि आफ्नै देशमा रमाउन चाहन्छन् तर त्यस अवसरबाट उनीहरू बञ्चित छन् । उनका मनमा विद्रोहका ज्वाला बल्नाको कारण त्यही हो । केही क्षीण मानसिकताका मानिसहरू तेरा बाजेले मेरा बाजेको ऋण खाएर मरे तैंले मेरो घोंडा बनेर त्यो ऋण तिर्नपर्छ भन्ने धारणा पनि राख्छन् तर त्यो त तेरा बाजे–बराजु जहाँबाट आएका थिए तँ त्यहीँ जा अथवा पोहोर मरिन् सासू अहिले आए आँसु भनेजस्तै हो । चाहे गोरो होस् वा कालो, चाहे चुच्चे नाक वा थेप्चे नाक भएको, बाटुलो वा लाम्चो अनुहार भएको किन नहोस्, नेपालमा जन्मेको र नेपाललाई असाध्यै माया गर्ने नेपाली हो । किनेका नागरिकताले मुटुमा माया उम्रिंदैन त्यो त सहजात र स्वाभाविक हुन्छ । त्यो त भर्खरै पनि केही व्यक्तिका व्यवहारमा देखिएकै छ ।

चेपुवामा परेको देश भन्दैमा लड्न सक्दैन, सेना राख्नुपर्दैन भन्नुभन्दा आफ्ना थैलाको मुख राम्रोसँग बाँध्नुपर्छ । क्षेत्रीय साम्राज्यवादबाट देशको रक्षा गर्न प्रत्येक नागरिकलाई आत्म–रक्षार्थ र देशको सीमा रक्षार्थ सैनिक तालिम अनिवार्य गरिनु उचित हुन्छ । मालिदिभ्समा भएको घटना यहाँ पनि नघट्ला भन्न सकिंदैन । भोका पेटमा भजन कसैले गर्दैन कि स्वाभिमान कि बलिदान दुईमा एक रोज्छ मानिसले । समतामूलक समृृद्ध समाजको निर्माण आजको आवश्यकता हो । स्थानीय जनप्रतिनिधि त्यसतर्फ लागेको सङ्केतसम्म पाइएको छैन । पाँच ज (जल, जवान, जमिन, जडीबुटी र जङ्गल) हाम्रा अर्थतन्त्रको मूलधार हो । देशको विकास पाँच जलाई शारीरिक र मानसिक श्रमको केन्द्रबिन्दु बनाएर मात्र सम्भव छ । अब छिट्टै सङ्क्रमणकालको अन्त्य गर्दै विदेशी आपराधिक तत्त्वलाई औँला छिराउने अवसरबाट बञ्चित गरेर एकढिक्का भएर अघि बढेमा असम्भव भन्ने कुनै चीज छैन तर त्यो क्षमता अहिलेका हाम्रा नेतामा छ ? जनयुद्धका असफलताले विखण्डनवादी विदेशी दलालको आत्मबल बढेको छ । त्यसलाई निरस्त गर्न जनतालाई वैचारिक र भावनात्मक रूपले एक बनाउँदै इमानदारीपूर्वक एकीकृत जनक्रान्तिका दिशामा अघि बढ्नु आजको आवश्यकता हो । स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन २७ गते बिहान १० : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :