एमालेबाट विद्रोहदेखि चुनाव खारेजसम्म – केदार राई


२०६४ सालको संविधानसभाको निर्वाचनपछि नेकपा माओवादी र एमाले पार्टीको साझा सहमतिमा वामपन्थी सरकार बनेको थियो । जनताको ठूलो पंक्तिले त्यसलाई कम्युनिस्ट सरकार ठानेको थियो । तर शाहीसेनाको प्रमुख रुक्माङ्गत कटुवालले साम्राज्यवादको उक्साहटमा सरकारको विरुद्ध खुलेआम गतिविधि गरेको थियो । रक्षामन्त्री रामबहादुर थापालाई आफ्नै मन्त्रालयअन्तर्गतको ब्यारेक अवलोकन गर्नसमेत उसले अवरोध ग¥यो । कटवालकै कारण सरकार उसलाई कारबाही गर्न बाध्य भयो । सरकारले कटवाललाई कारबाहीको प्रक्रियास्वरूप स्पष्टीकरण लिने निर्णय ग¥यो । कटवालले सरकारले आफूलाई कारबाही गर्न नसक्ने दाबी गर्दै झनै उग्रता, अराजकता प्रकट ग¥यो । सरकारको एउटा मन्त्रालयको कर्मचारीको हैसियतमा रहेको कटवाललाई सरकारले कारबाही गर्न नसक्ने कुरै भएन । त्यो बहसको विषय पनि थिएन । एमालेले सुरुमा भ्रष्ट र दलाल कटवाललाई कारबाही गर्न सरकारलाई ‘हरियो बत्ती’ बालेकै थियो । जब कारबाही प्रक्रियामा सहभागी नहुन एमालेलाई दिल्ली र वासिङ्टनको दबाब बढ्दै गयो, एमाले नेतृत्वले गोडा कमाउँदै, गल्दै गयो । एमाले पार्टीभित्र कटवाललाई कारबाही गर्न हुन्छ कि हुन्न ? एमालेको निर्णय विपरीत सरकारले कटवाललाई कारबाही ग¥यो भने विश्वासको मत कायम राख्ने कि फिर्ता लिने ? बहस चर्किंदै गयो । अधिकांश नेता–कार्यकर्ता कटवाललाई कारबाही गर्नुपर्छ भन्नेमा थिए ।

उदयपुर पार्टी पनि कटवाललाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा उभिएको थियो । माओवादी कारबाही गर्ने पक्षमा र एमाले विपक्षमा उभियो । भारतीय राजदूतले नेताहरूलाई खुलेआम धम्क्याउँदै थियो बहस चलिरहेको बेला मैले पार्टी उपाध्यक्ष अशोक राई र केन्द्रीय सदस्य जगन्नाथ खतिवडालाई फोन गरेर ‘कटवाललाई कारबाही गर्नुपर्छ, गोडा नकमाउनुस् है !’ भनेको थिएँ । खतिवडा केही बोलेनन् तर राईले ‘तपाईंको कुरा ठीकै हो, पार्टीमा राख्छु’ भनेका थिए । पार्टी केन्द्रीय समितिले कटवालको पक्षमा उभिने निर्णय गरेको तेस्रो दिन मसहित केही साथीहरूले एमाले पार्टी परित्याग गरेको विज्ञप्ति जारी गरेका थियौँ । मैले त्यसबेला अशोक राईलाई सिरहाका हाम्रा लोकप्रिय नेता, पूर्व सांसद् हेमनारायण यादवलाई पार्टीको बैठक सकेर भटभटेमा घरतिर जाँदै गर्दा ज्ञानेन्द्रकालमा अपहरण गरेर अकारण हत्या गरेको प्रसङ्ग पनि स्मरण गराएको थिएँ । मिर्चैयानेरको चोहर्वा ब्यारेकले अपहरणपछि हत्या गरेर खोलामा फालेको थियो । शाहीसेनाको इतिहास यस्तै यस्तै अपराधले भरिएको छ । मैले अशोक राईलाई रूपन्देहीमा माओवादीले आफ्नै युवा कार्यकर्ता प्रचण्ड थैवलाई मार्दा राजिनामा दिएन । तपाईंलाई प्रचण्ड थैवभन्दा कटवाल प्रिय रहेछ । तपाईंलाई कटवाल भए पुग्दो रहेछ । हामी किन चाहियो र ? भनेको थिएँ । आफूले लगानी गरेको पार्टी र नेताहरूको वर्गीय पक्षधरता देखेर म पीडित र निराश थिएँ । अशोक राईले ‘भेटेर कुरा गरौँला, म गाईघाट आउँछु । थप कदम केही नचाल्नुस् है’ भनेका थिए तर कसैसँग भेटघाट गरिनँ । केही समयपछि म भारी मन बनाएर माओवादी पार्टीमा संलग्न भएँ । प्रचण्ड–किरण विभाजन हुँदा किरणतिर लागियो । क्रान्ति र परिवर्तनको अपेक्षामा माओवादीतिर लागेको म पछिल्लो अवधिमा विप्लव नेतृत्वको नेकपामा संगठित क्रियाशील भएँ ।

प्रदेशसभा र केन्द्रीय सभाको चुनाव नजिकिंदै थियो । विराटनगरमा केन्द्रीय सदस्य सुमनलाई अस्पतालबाटै गिरफ्तार गरिसकेका थिए । त्यस्तो बेला म कानको शल्यक्रिया गरेर बसेको थिएँ । घरमा नबस्ने सल्ला केन्द्रीय सदस्य क. रवि र मेरो भइसकेको थियो । म लुगा लिन र अराइपराइ गर्न केहीबेरका लागि घर गएको थिएँ । निस्कन खोज्दै थिएँ । भटभटेमा चढेका दुईजना सादा पोशाक लगाएर टुप्लुक्क आइपुगे । असई इन्द्रनारायण श्रेष्ठले अँगालो मार्दै ‘दाइ हजुरलाई एसपी सापले बोलाउनुभएको छ, जानुप¥यो’ ऋण माग्न आएको आसामीले झैँ हात मोल्दै असई भन्दै थियो । छिनभरमै सई लिम्बुको नेतृत्वमा प्रहरी बल वाहनमा आइपुग्यो । हतियार तयार गरे । लाग्थ्यो, उनीहरू सशस्त्र भिडन्तमा यतैकतै उत्रिँदै छन् । आफू गिरफ्तार भएको जानकारी क. रविलाई दिएर हतार–हतार फोन बन्द गरेँ । आपतकालीन अरू केही काम क्षणभरमा गरेँ । मैले आफ्नो उपचारको कागज सईलाई दिएर एसपीसँग कुरा गर्न दिनुस् भनेँ । उसले एसपीसमक्ष जाहेर ग¥यो । मैले भनेँ “एसपी साप, मेरो भर्खरै कानको शल्यक्रिया भएको छ । जचाउन जानुपर्नेछ । हिरासतमा बस्दा मेरो कान सधँैलाई जान्छ । बरु घरमै नजरबन्दमा राख्नुस् । म पूर्व गाविस अध्यक्ष पनि हो । मानवताको आधारमा यति निवेदन गरेँ ।” त्यसपछि तुरुन्तै प्रहरीहरू फर्के । म ठूलै लडाइँ जितेझैँ कान्लैकान्ला दगुर्दै कमरेड रविको सम्पर्कमा गएँ । त्यसपछि हामी पूर्ण मनोबलसहित चुनाव खारेज अभियानमा लाग्यौँ ।

कात्तिक १३ गते हामी प्रहरीको खेदाइमा प¥यौँ । भित्री मधेसको साइखोला क्षेत्रको राजाबासमा थियौँ । ७ जनाको टोली थियो । हामीले आफ्नो भटभटेलाई अर्जुन कार्कीको घरमा छोडेका थियौँ । हामी जनताको घरमा बास बसेका हुन्थ्यौँ । गाउँलेहरू हामीलाई चिन्थे । धान भित्र्याउने समय थियो । गाउँमा हाम्रो उपस्थिति कौतुहलको विषय बन्यो । देशभरि कारबाहीका घटना बढ्दै थिए । सायद गाउँलेहरू हाम्रो आँखामा बमका धमाका र आगोको मुस्लो देख्दा हुन् । क. रविले हामी चलायमान हुनुपर्छ भनेपछि आवश्यक जाँचपड्ताल गरेर हामीहरू चुरेक्षेत्र छोडेर महाभारततर्फ लाग्यौँ । दुई घन्टा उकालो चढेर एकरात त्यही गाउँमा बितायौँ । बिहान गाउँमा प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोली आउने हल्ला सुनियो । त्यसपछि हामी त्यहाँबाट पनि हिंड्यौँ ।

राती साईपाखामा पुगेर बास बस्यौँ । साथमा खाने कुरा केही थिएन । गाउँलेलाई दुःख दिन मन पनि लागेन । त्यसदिन भोकै सुत्यौँ । अर्को दिन कांग्रेस उम्मेद्वार हिमाल कार्कीलाई चेतावनी कारबाही भएको थियो । अलि पर गएर खाना खायौँ । त्यही गाउँबाट भरत कार्कीलाई घरैबाट गिरफ्तार गरेको सूचना आयो । राती ११ बजे उनलाई पक्रिएका थिए । कमरेड किरणसँग विद्रोह गरेपछि भएको पहिलो ऐतिहासिक भेला त्यही घरमा भएको थियो । त्यसकारण प्रहरीको आँखामा उनी परेका थिए । अन्धो प्रहरीलाई साईखोलामा कति पानी बग्यो, के थाहा र ! हाम्रो टोली त्यही घरमा होला भन्ने ठानेका हुँदा हुन् ।

हामी कहाँ छौँ भन्ने कुरा भरत कार्की थाहा थियो । त्यसकारण राती १ बजे बास छोडेर हिंड्यौँ । राती २ बजे जुन अस्तायो । निष्पट्ट अँध्यारो थियो । बाटो बिराइएछ । एकापट्टि दम्स्याइलो, दुईतिर छङ्छुर भीर, जाने बाटै छैन । घ्यारीडाँडामा बिजोक भयो । बिहान ४ बजेदेखि ६ बजेसम्म त्यही तारेभीरमा बितायौँ । उज्यालो भएपछि एकजना दाइलाई फोन गरेर सोध्यौँ । दाइले बाटो भनेअनुसार केहीबेरमै गन्तव्य भेटियो । ती दाइले मेरै घरमा अउनुस् भन्दै थिए । सानो घर, बाटैको छेउ भएकोले गएनौँ । पोखरी हुँदै दिउँसो लाफागाउँ पुग्यौँ । लाफा मेरो गाउँ थियो, जहाँ मैले ५ वर्ष गाविस अध्यक्ष चलाएको थिएँ । जुन गाउँमा ३० प्रतिशत मात्र मतदान भयो । लाफाको अर्थ मगर भाषामा ‘साथी’ हुन्छ । त्यहाँ मगरका तीन घर मात्र छन् । रायोको एउटा जातलाई पनि यतातिर लाफा भनिन्छ । गाउँको नाम कसरी रहेको होला ? थाहा छैन ।

त्यही दिन बिहान १०ः३० मा उदयपुर गढीमाई नपा ६, दनुवारबेसीको नेपालटारमा पूर्व सांसद् नारायणबहादुर कार्कीलगायतको चुनाव प्रचार टोली कारबाही परेको थियो । त्यो घटनापछि प्रहरी बल बौलायो । कसैलाई पक्रन सकेन । प्रजिअ र प्रहरीलाई जागिर बचाउन गाह्रो भयो । एसपीले पटक–पटक मानवताको आधारमा केदारलाई छोडेर मलाई ठूलो घात भयो भन्दो रहेछ । जागिर बचाउन कसैलाई समात्नै प¥यो । उदयपुर गढीमाई नपा ७ का पराजित वडाध्यक्ष बलबहादुर पुलामीलाई पक्रेर ज्यानमुद्दामा हालेको छ । जो कांग्रेसको कार्यकर्ता हुन् । त्यसबाहेक अरू १० जनालाई ज्यानमुद्दा लगाएको छ । जसमध्ये पार्टी सचिव बाबुराम सुवेदी (बेलका नपा ५) शिखरमाडी निवासी हुनुहुन्छ । त्यसैगरी ज्यानमुद्दा लगाइएका मध्येमा जितबहादुर पुलामी (उदयपुर गढीमाई नपा ५), तिलक तामाङ ‘आक्रोश’ (रौतामाई गापा ९), भरतबहादुर बस्नेत (त्रियुगा नपा १६), केदार राई (साविक लाफा गापा) रौतामाई गापा ३, कर्णबहादुर थापा मगर ‘राजन’ (उदयपुर गढीमाई ६) जसलाई कसैले चिनेको छैन र पक्रनुको कारण पनि रहस्यमय छ । त्यसैगरी सुरेन्द्र थापा (कटारी नपा ४), पूर्णबहादुर तामाङ (बेलका नपा), दुर्गा तामाङ (रौतामाई गापा २) र निर्मल रेग्मी (त्रियुगा नपा १३) छन् ।
स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन २६ गते दिउँसो २ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :