वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया – खेम थपलिया


यतिखेर उत्तर कोरिया चर्चामा छ । मूलतः अमेरिकी साम्राज्यवादका विरुद्ध आफ्ना अस्त्रशस्त्रको प्रदर्शन, परमाणु बमको प्रदर्शन र परीक्षणले शक्तिशाली भनिएका देशका लागि उत्तर कोरिया एउटा चुनौतीपूर्ण देशको रूपमा उभिएको छ । यसले विश्वको शक्ति सन्तुलनमा फेरबदल ल्याइदिएको छ । यसले पम्परागत कैयौं चिन्तनधारालाई पनि पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । यसै र यस्तै यस्तै सन्दर्भमा अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले उत्तर कोरियाको भ्रमण गर्नुभयो । सोही भ्रमणका क्रममा प्राप्त भएका अनुभवहरूलाई समेत सँगालेर एउटा पुस्तक तयार पार्नुभएको छ, ‘वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया (२०७४) ।’ यहाँ सोही पुस्तक ‘वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया’ बारेमा छोटोमा समीक्षात्मक टिप्पणी गर्ने प्रयत्न गरिएको छ ।

युवा लेखक पूर्णबहादुर सिंहद्वारा लिखित ‘वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया’ मूलतः यात्रा डायरी हो । यसका साथै, यहाँ लेखादि पनि रहेका छन् । यसको विधागत मान्यता र शिल्पसिद्धान्तको बारेमा अर्को छुट्टै शीर्षकमा विशद् छलफल गरौँला । त्यो बेग्लै कुरा हो तर पनि सिंहको प्रस्तुत कृति ‘वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया’ पढिसकेपछि मस्तिष्कमा एउटा बिम्ब तयार हुन्छ, एउटा अनुभूति र साहस जन्मिन्छ । त्यसकारण पनि भन्न सकिन्छ कि यो पुस्तक पठनीय र सङ्ग्रहणीय छ । कोही कोही मानिसलाई पुस्तक लेख्ने काम सामान्य लाग्ला तर यो गलत हो । हुन त समकालीन नेपाली समाजमा गम्भीर चिन्तनधारा बोकेका मानिस पाउन प्रायः कठीन हुँदै गएको बेला वैचारिक पुस्तक–लेखन गम्भीर र जिम्मेवारीपूर्ण काम हो । यो बौद्धिक–प्राज्ञिक काम पनि हो तर यसका निमित्त विश्वविद्यालयको प्रमाणपत्रको कुनै आवश्यकता पर्दैन । विश्व–इतिहासमा विश्वविद्यालय नै नदेखेका मानिसहरू विख्यात लेखक–साहित्यकार बनेका उदाहरण अनगिन्ती छन् । यद्यपि पुस्तक लेख्ने काम अनुभव, दक्षता र दिशानिर्देशनको दस्तावेजीकरणको दायित्वपूर्ण काम पनि हो । प्रस्तुत पुस्तका माध्यमबाट लेखक सिंहले यहाँ त्यही दायित्वपूर्ण काम गर्नुभएको छ । यो पुस्तक आजको अमेरिकी साम्राज्यवादसित सिधाका सिधा हुँकार गर्ने उत्तर कोरियालाई बुझ्नका लागि विशेष सहयोगीका रूपमा उपस्थित भएको छ । यो साम्राज्यवादविरुद्ध सङ्घर्षरत जनसमुदायका निमित्त सुखद् सन्दर्भ हो ।

प्रस्तुत पुस्तकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दिनुभएको शुभकामना मन्तव्य विशेष वैचारिक सामग्रीको रूपमा रहेको छ । उहाँले भन्नुभएको छ, “हामी नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने अभियानमा डटिरहेका छौँ । आफ्नै सापेक्षतामा नेपाल पनि पुँजीवादी एवम् साम्राज्यवादी–उत्तरसाम्राज्यवादी उत्पीडनभित्र छ । हाम्रो देश, हाम्रा जनता र क्रान्तिका विरुद्ध अनेकौँ घेराबन्दी गरिएका छन् । परन्तु हामीले ती घेराबन्दीलाई नाघेर आफूलाई मुक्त र स्वाधीन बनाउनु छ । त्यो सफलता केवल वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाद्वारा मात्र सम्भव छ । नेपाली युवाहरूले अनेकौँ चुनौतीका बाबजुद नेपाललाई वैज्ञानिक समाजवादमा लैजान एकपटक साहसका साथ क्रान्तिमा हामफाल्न जरुरी छ । के विश्वास छ भने पूर्णको यो पुस्तकले नेपाली युवाहरूलाई एक स्वाधीन, मुक्त र समृद्ध नेपाल निर्माण गर्नका लागि वैज्ञानिक समाजवादी क्रान्तिमा सहभागी बन्न केही न केही उत्प्रेरित गर्नेछ”, (पृ. ६) ।

प्रस्तुतिमा विविधता र विषयतगत एकरूपता रहेको सिंहकृत प्रस्तुत पुस्तकमा कोरियाली समाजवादको चर्चा गरिएको छ । आज संसारभर समाजवादको चर्चा छ । कस्तो समाजवादी ? किन समाजवाद ? कसरी समाजवाद ? प्रश्नहरू यत्रतत्र रहेका छन् । राज्यनियन्त्रित समाजवाद वास्तविक समाजवाद हो कि होइन ? के आ–आफ्नो सापेक्षता घोषणा गरिएका समाजवादहरूले वैज्ञानिक समाजवादसित के कसरी तादात्म्यता राख्ने हुन् ? अनगिन्ती प्रश्नहरू छन् । समाजवादबारे बहसहरू भइरहेका छन् तर पनि आज संसारमा समाजवाद केन्द्रीय प्रश्न बन्दै गइरहेको कुराचाहिँ साँचो हो । गज्जबको कुरा त के छ भने आज साम्राज्यवादीहरूले पनि समाजवाद भनिरहेका छन् । केही वर्षअघि पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा दक्षिण अफ्रिकाको भ्रमण गर्नेक्रममा उनले सम्बोधन गर्दै मध्यमवर्ग र समाजवादको चर्चा गरेका थिए । विश्व राजनीतिमा उनको सो भाषण सामान्य भाषण थिएन, त्यो त साम्राज्यवादी शक्तिहरूको रणनीतिक कुरा थियो । यतिबेला कोरियाले आणविक शक्तिमा उत्साहजनक विकास गरेको छ । उसको हाइड्रोजन बमले खुनी सत्तासीनहरूको होसहवास उडाएको छ । प्रस्तुत पुस्तकमा उत्तर कोरियाको शक्ति के हो र ऊ केमा टिकेको छ भन्ने कुराको चर्चा गरिएको छ । एउटा कुरा सही हो कि आज उत्तर कोरियाप्रति साम्राज्यवादी शक्तिहरूले जुन अफवाह फैलाइरहेका छन्, त्यसलाई केही हदसम्म भए पनि यो पुस्तकले चिर्ने प्रयास गरेको छ ।


विश्वको दुईतिहाइ भू–भागमा लपेट्दै लगेको समाजवादी आन्दोलन, समाजवादी राज्यव्यवस्था किन रक्षात्मक बन्ने स्थितिमा पुग्यो ? विश्वका क्रान्तिकारीहरू, राष्ट्रवादीहरू, देशप्रमीहरू संघर्ष गर्दछन्, परिवर्तन पनि गर्दछन् तर त्यो परिवर्तन गरिएको व्यवस्था वा संरचनालाई जोगाउन किन सकिरहेका छैनन् । यो कुरा पनि आज बहसको केन्द्रमा रहेको छ । माक्र्सले भनुभएझैँ संसारलाई बुझ्ने कुरा मात्र ठूलो होइन कि बदल्ने कुरा महत्वपूर्ण हो । त्योभन्दा अघि बढेर नेपाल कम्युनिस्ट पार्टीको थबाङ महाधिवेशनले अब बदलेको कुराको रक्षाको प्रश्न पनि महत्वपूर्ण हो भन्ने गरेको संश्लेषण निकै महत्वपूर्ण रहेको छ । समाजवाद कसका लागि ? समाजवाद कति समयका लागि ? समाजवादबाट साम्यवादसम्म पुग्न कति टाढा वा नजिकको यात्रा गर्न आवश्यक छ आदि कुरामा बहस सुरु हुन थालेका छन् । युरोपका कम्युनिस्टहरू आज किन र के–का लागि साम्यवादको बहस चलाइरहेका छन् भन्ने कुरा पनि अहम् छ । सिंह आफ्नो पुस्तकमा लेखकीयका रूपमा आफ्नो धारणा यसरी राख्नुहुन्छ, “‘आजका लागि मात्रै होइन, भोलिका लागि पनि बाँचौँ’ भनेर समाजवादको भविष्य बोकेका युवा पुस्ताप्रतिको आफ्नो एकीकृत दृष्टिकोण किम जोङ इलले अभिव्यक्त गर्नुभएको थियो । उहाँले कठिनाइलाई एकातिर पन्छाउँदै र आफ्ना इच्छालाई फलीभूत पार्दै भविष्यका लागि आफ्नो देशभक्तिपूर्ण पसिना र रगत दिन युवालाई प्रेरित गर्नुभएको थियो । एउटा रूख रोप्दा हामीले सच्चा देशभक्तिको प्रदर्शन गरिरहेका हुन्छौँ र निर्माणस्थलमा एक कोदालो माटो खन्दा पनि देशभक्तिपूर्ण पसिना बगाइरहेका हुन्छौँ भन्ने महान् भावना कोरियाली जनता र युवा पुस्ताबाट पनि सिकौँ । किम जोङ इलले ‘बल हुनेले बल देऊ, ज्ञान हुनेले ज्ञान देऊ र पैसा हुनेले पैसा देऊ’ भनेझैँ हाम्रो एकीकृत जनक्रान्तिले गाउँसहर, मजदुर, किसान, मध्यमवर्ग, सच्चा देशभक्त, आम जनता, युवालगायतलाई अपिल गरिरहेको छ । ‘संसारमा सर्वशक्तिमान भन्ने केही छ भने आम जनता नै हो । जनताको इच्छा भएमा म आकाशको तारा टिप्नेछु र चट्टानमा पनि फूल फुलाउनेछु’ भनेर किम जोङ इलले भनेझैँ हाम्रो नेतृत्वले क्रान्ति सम्भव छ भन्ने आशा र विश्वास दिइरहेको छ । ‘जहाँसम्म समाजवाद निर्माणसम्बन्धी निश्चित विधिको कुरा छ एउटा मुलुकको तरिकालाई अपरिवर्तनीय उदाहरणका रूपमा लिनु असम्भव छ किनभने मुलुकहरूको आकारमा र तिनीहरूको विकासको स्तरमा भिन्नता हुनुका साथै, एउटा मुलुक अर्कोबाट भिन्न हुन्छ । प्रत्येक मुलुकले आफ्नै परिस्थिति सुहाउँदो समाजवाद निर्माण गर्ने बाटो खोज्नुपर्दछ’, किम इल सुङले भनेझैँ हाम्रो नेतृत्वले गरेको विचार, कार्यदिशाको विकास, संश्लेषण र वैज्ञानिक समाजवाद तथा साम्यवादको सपनालाई हिमाल, पहाड, तराई, गाउँ र सहर सबैतिर आमजनताको बीचमा सम्प्रेषण र लागू गरौँ । जीवनमा दर्शक होइन, सबैले जिन्दगीमा समर्थन, सहयोग र सहभागिता हासिल गरौँ । सङ्घर्ष र बलिदानको गौरवशाली इतिहासबाट सिकेर वर्तमानका ऐतिहासिक कार्यभारहरू पूरा गरौँ । यो महान् सम्भावनालाई जीवन व्यवहारबाट वास्तविकतामा बदलौँ । क्रान्तिद्वारा विश्व, राष्ट्र, जनताको जीवन बदल्ने, त्यसको रक्षा र विकास गर्ने विचारलाई आत्मसात् गरौँ । क्रान्ति र विजय अवश्यम्भावी छ”, (पृ. २७) ।

संस्मरण÷डायरी÷लेखका रूपमा रहेको प्रस्तुत पुस्तकमा ‘जनगणतन्त्र कोरियामा आठ दिन’, ‘शब्दचित्रमा जनगणतन्त्र कोरिया’, ‘उत्तरसाम्राज्यवाद, समाजवाद र जनगणतन्त्र कोरिया’, ‘जनगणतन्त्र कोरियाको यात्रा’, ‘माओको मुलुकमा पहिलो यात्रा’ जस्ता शीर्षकहरू रहेका छन् । पुस्तकको ‘जनगणतन्त्र कोरियामा आठ दिन’ मा सबै दिनको दैनिकी रहेका छन् । यहाँ लेखकले आफूलाई उदात्त भावनाका साथ आफूलाई प्रस्तुत गर्नुभएको छ । ‘कोरियाली भूमि छोड्दा’ उपशीर्षक रहेको आठौँ दिनको दैनिकीको एक अंश हेरौँ, “‘मिलन हर्षविभोर र बिछोडले भावविह्वल बनाउँछ’ कमरेड माओको भनाइझैँ आजै समाजवादी मुलुक र कोरियाली कमरेडहरूसँग बिछोड हँुदैछौँ । आठ दिन बितेको पत्तो भएन । बिहानै उठेर नित्यकर्म सकियो । लगेजहरू एक नं. तलामा झारियो । चियानास्तापछि हामीलाई हाम्रो राहदानी र जहाजको टिकट दिइयो । बिहानको १० बज्यो । हामी गाडी चढेर कोरियो विमानस्थलतर्फ प्रस्थान ग¥यौँ । त्यहाँ पुगेर विमानस्थलको प्रक्रिया पूरा भइरहेको छ । मिस जिनले कोरियाको बसाइ कस्तो रह्यो भनेर अनुभूति सोधिन् । मैले धेरै राम्रो, रमाइलो र गौरवपूर्ण क्षण रह्यो भनेर जबाफ दिएँ । साँच्चिकै यो यात्रा अविस्मरणीय छ । एयरपोर्टसम्म हामीलाई पु¥याउन कासका एसिया इन्चार्ज किम चोल हो पनि पुग्नुभएको थियो । … विमानस्थलसम्म पुग्दा मेरो मानसपटलमा प्योङयाङका सबै कार्यक्रमहरू र ती अविस्मरणीय क्षणको सम्झना आइरह्यो”, (पृ. ५९–६०) ।

‘शब्दचित्रमा जनगणतन्त्र कोरिया’ शीर्षकमा कोरियाको ऐतिहासिक पृष्ठभूमि, राजनीतिक प्रणाली, किम इल सुङको सङ्क्षिप्त जीवनी, मार्गदर्शक विचारधारा, सङ्गुन राजनीति, कोरियाली वर्कर्स पार्टी, आर्थिक–सामाजिक प्रणाली जनआधारित स्वास्थ्यप्रणाली, कोरियाको आधुनिक इतिहास, कोरिया पुनः एकीकरणका नीतिहरू, राष्ट्रिय पुनः एकीकरणका तीनवटा सिद्धान्त, कोरियामा जनगणतन्त्र स्थापनाको योजना, समुद्रपार रहेका कोरियाली नागरिकका सन्दर्भमा, विदेश सम्बन्ध, राजधानी प्योङयाङ, जनगणतन्त्र कोरियामा शिक्षा आदिका विाष्यमा चर्चा गरिएको छ । त्यसैगरी, ‘उत्तरसाम्राज्यवाद, समाजवाद र जनगणतन्त्र कोरिया’ शीर्षकमा समाजवाद स्थापनामा कोरिया, समाजवादमा प्रतिक्रान्ति किन हुन्छ !, कोरियाली समाजवाद र जुछे विचारधारा, समाजवादी सपनामा युवा उत्प्रेरणा, सङ्गुन राजनीति र किम जोङ इलका योगदान, सङ्गुन राजनीतिको मार्गदर्शन, आस्था र भरोसाका नयाँ शृङ्खला मार्सल किम जोङ उन आदि उपशीर्षकमा लेखकले यथेष्ट चर्चा गर्नुभएको छ । यी शीर्षकमा कतै विवरणात्मकता, कतै रागात्मकता, कतै निजात्मकता र कतै भावुकता अनि कतै अठोटका भावहरू पाउन सकिन्छ ।

लेखक सिंह प्रस्तुत पुस्तकको ‘माओको मुलुकमा पहिलो यात्रा’ शीर्षकमा लेख्नुहुन्छ, “पूर्वी एसियामा अवस्थित करिब ९६ लाख वर्गकिलोमिटर भूमि क्षेत्र भएको पश्चिममा रात र पूर्वमा बिहानको सूर्य चम्किरहने विश्वमा (रुस र क्यानाडाबाहेक) तेस्रो ठूलो, जनसङ्ख्यामा पहिलो (करिब एक अर्ब तीस करोड) र चार मानवसभ्यतामा मिश्र, मेसोपोटामिया, सिन्धु र प्राचीन चीन एउटा केन्द्र रहेको जनगणतान्त्रिक मुलुक हो । ५ हजार वर्षको विकासक्रममा चीनले मानव सभ्यताको प्रगतिमा विशिष्ट योगदान पु¥याएको छ । ८९ प्रतिशत हान र ५५ वटा अल्पसङ्ख्यक जातजातिको मानव सङ्ग्रहालय मानिने चीन भौगोलिक रूपले अग्ला पर्वतहरू, विभिन्न किसिमका घाँटीहरू, नागबेली उच्च पहाडहरू र समतल उब्जनीयोग्य मैदानहरूको विविधताले भरिएको मुलुक हो । दीर्घकालीन जनयद्धको सङ्घर्ष, बलिदान र विजयमा कमरेड माओले निर्माण गरेको जगमा आज चीन मौलिक समाजवादको अभियानमा अघि बढिरहेको छ । यो मुलुक सबैका लागि कुनै रहस्यको विषय छैन । खुल्ला किताबजस्तै सबैले सजिलैसँग अध्ययन गर्न र बुझ्न सक्छन् । जनगणतन्त्र कोरियाको यात्रा गर्ने क्रममा यो मुलुकमा पहिलो यात्रा गर्ने अवसर मिल्यो”, (पृ. १४४) ।
नेपाल–कोरिया लेखक÷पत्रकार मञ्च प्रकाशक रहेको प्रस्तुत पुस्तकको विधागत अवस्थितिको विषयमा यथेष्ट बहस गर्ने ठाउँ छ । दैनिकी, नियात्रा, लेखादि रहेको प्रस्तुत पुस्तकमा साहित्यिक प्रवाहभन्दा राजनीतिक तथा वैचारिक प्रवाह नै वेगिलो बनेको छ । धेरै कुरा एकै ठाउँमा राख्दा र एउटै कुरालाई धेरै ठाउँमा प्रस्तुत गर्दा जे समस्या पैदा हुन्छ, त्यही समस्या नै प्रस्तुत पुस्तकको मूल सीमा हो । अन्तमा, पूर्णबहादुर सिंहलाई लेखादि क्षेत्रमा निरन्तर प्रगतिको अशेष शुभकामना !
स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन २६ गते बिहान ११ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :