जनसत्ताले राजीनामा माग्दै


अम्बिका चन्द / काठमाडौं : संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी सत्ताको अभ्यासमा रहेको नेकपाको जनपरिषद्ले देशका विभिन्न ठाउँमा भ्रष्टाचार, कमिसन र तस्कर गरेको भन्दै स्थानीय निकायका प्रतिनिधिहरूको राजीनामा माग गरेको छ । जनपरिषद्ले उपत्यकाको ललितपुरमा रहेका जनप्रतिनिहरूको राजीनामा माग गरेपछि जनप्रतिनिधिहरूमा भित्रीरूपमा खैलाबैला मच्चिएको छ । ललितपुरका एकजना वडा सदस्यले महानगरका मेयर–उपमेयर भएका र नेतासँग पहुँच भएकाहरूले मनपरी तरिकाले काम गर्दा आफूहरू हेरेको–हे¥यै भएको बताए । एमालेको तर्फबाट वडा सदस्य बनेका उनले आफ्नो नाम उल्लेख नगर्नू भन्दै नेकपाले जनप्रतिनिधिको राजीनामा मागेको विषयमा स्थानीय निकायका प्रतिनिधिहरूबीच आन्तरिक रूपमा निकै तहल्का मच्चिएको बताउँदै कतिपयलाई कार्बाही गर्नुपर्नेसमेत बताए । उता जिल्ला जनपरिषद् मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामाको माग गरेको छ । आइतबार नेकपाका मकवानपुर इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ मार्फत जनपरिषद् नेपालले मेयर महतलाई राजीनामा माग गरेको पत्र पठाएको छ । महतले हेटौँडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएर आएदेखि नै भ्रष्टाचार, कमिसनखोर र दलालहरूको संरक्षण गरेकोले उनको राजीनामा माग गरिएको जनपरिषद्ले जनाएको छ । यस्तै, ओखलढुंगामा पनि स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा माग गर्दै पत्र बुझाइएको छ । स्थानीय निकायका जनप्रतिनिधिहरूले जनतालाई विभिन्न नाममा कर लगाएको सार्वजनिक सम्पत्तिमाथि चलखेल गरेको भन्दै उनीहरूको राजीनामा मागिएको जनपरिषद् ओखलढुंगाले जनाएको छ । जनपरिषद्ले सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखहरूलाई पत्र बुझाएको हो । स्थानीय निकाय गठन भएदेखि नै विभिन्न वहानामा जनतालाई चर्को कर लगाएको र विभिन्न आर्थिक चलखेलका रिपोर्टहरू आफूकहाँ आउने गरेको पनि जनसत्ताका प्रतिनिधिहरूले बताउने गरेका छन् । स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन २५ गते अपरान्ह ५ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :