हाम्रो सम्मेलन निरन्तरतामा क्रमभङ्गता हुनेछ – पूर्णबहादुर सिंह, अध्यक्ष, अखिल (क्रान्तिकारी)

१. तपाईंहरूको राष्ट्रिय सम्मेलन आउँदैछ, कसरी गर्दै हुनुहुन्छ राष्ट्रिय सम्मेलन ?

क्रान्तिकारी विद्यार्थी आन्दोलनका ऐतिहासिक तथा युगीन कार्यभार पूरा गर्ने महान् लक्ष्यका साथ ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१ औँ राष्ट्रिय सम्मेलन’ भन्ने नयाँ उद्घोष गर्दै सम्मेलनमा जुटिरहेका छौँ । दशौँ हजार विद्यार्थी परिचालन गरेर यही फागुन २७ देखि ३० गतेसम्म दाङमा एउटा विशाल आन्दोलन एवम् अभियानको रूपमा सम्पन्न हुँदैछ ।

दलाल संसदीय व्यवस्थाको ध्वंस गरी त्यसको खरानीमा वैज्ञानिक समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी र दायित्वबोधसहित वैज्ञानिक समाजवादी सत्तामा मात्र वैज्ञानिक समाजवादी शिक्षा सम्भव छ भन्ने सार्वभौम सच्चाइलाई शीर्षस्थानमा राखेर अघि बढ्न जरुरी छ । नयाँ विचार, राजनीतिक कार्यदिशा एवम् क्रान्तिको नयाँ मोडलको प्रक्षेपण, प्रारम्भ र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका खातिर नयाँ अभियान (आन्दोलन), क्रान्तिकारी विद्यार्थी आन्दोलनस्वरूप मार्गचित्र निर्माण गर्ने र सङ्गठन एवम् सङ्घर्षलाई नयाँ उचाइ प्रदान गर्ने उद्देश्यका दृष्टिले यो सम्मेलन निरन्तरतामा क्रमभङ्गता हुनेछ ।

२. राष्ट्रिय सम्मेलनका मुख्य मुद्दाहरू के के छन् ?

क्रान्तिकारी विद्यार्थी आन्दोलनस्वरूपको मार्गचित्र निर्माण गर्ने र सङ्गठन एवम् सङ्घर्षलाई नयाँ उचाइ प्रदान गर्ने उद्देश्यका दृष्टिले यो सम्मेलन निरन्तरतामा क्रमभङ्गता हो । एकीकृत जनक्रान्ति नेपाली वर्गसङ्घर्षको नयाँ मोडल हो । यसले विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनका सकारात्मक तथा नकारात्मक विरासत र शिक्षाहरूको नयाँ संश्लेषण पनि गरेको छ । आजको भूमण्डलीकृत विश्व राजनीति र नेपालमा विकास भइरहेको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, उत्पादन सम्बन्धले पैदा हुन पुगेका मौलिक विशेषतामा आधारित रहेर गरिने समग्र क्रान्ति एकीकृत जनक्रान्ति हो । यो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण र मालेमावादी दर्शनका आधारमा दुनियाँ बुझ्ने र बदल्ने तथा सम्पूर्ण अन्तर्विरोधहरूको समग्रतामा हल खोज्ने नयाँ कार्यदिशा हो । नेपाली विशेषता र मौलिकता बोकेको कार्यदिशा एकीकृत जनक्रान्ति हो । यसले विश्व सर्वहारावर्गले संश्लेषण गरेका विश्वव्यापी महत्वका दुई कार्यदिशा ः रुसी सशस्त्र जनविद्रोह र चिनियाँ दीर्घकालीन जनयुद्ध तथा नेपालका सबै वर्गसङ्घर्षका अनुभवलाई नेपाली विशेषता र मौलिकतामा एकीकृत र विकसित ढङ्गले अघि बढाइरहेको छ ।

यो ती सबैबाट विकसित नयाँ सिद्धान्त र कार्यदिशा हो । यसले वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै विश्व साम्यवादमा पुग्ने रणनीतिक विचार बोकेको छ । २१ औँ शताब्दीको नयाँ विचार र क्रान्तिको नयाँ मोडल विश्व–साम्राज्यवाद र त्यसको पहिलो परिघटना संशोधनवादका लागि मृत्युघन्टी सावित हुने मालेमावादी अपराजेय हतियारयुक्त विश्वसर्वहारा वर्ग (श्रमजीवी) को मुक्तिमार्ग पनि हो । यसले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, सामन्तवादी, साम्राज्यवादी तथा उत्तर–साम्राज्यवादी शोषण–उत्पीडनबाट नेपाल र नेपाली जनतालाई वास्तविक र पूर्ण मुक्ति दिलाउने महान् उद्देश्य बोकेको छ । यो विचलन र प्रतिक्रान्तिका विरुद्ध निरन्तर क्रान्तिको मार्गदर्शन हो ।

विद्यार्थी शक्तिले पेसागत हकहित र अधिकारका लागि मात्र होइन, सबै राजनीतिक आन्दोलनमा महत्वपूर्ण तथा अविस्मरणीय भूमिका निर्वाह गरेको इतिहास सर्वविदितै छ । महान् जनयुद्धपूर्व र त्यसको थालनीपछि युवा विद्यार्थीले जनयुद्धका लागि देशव्यापी आधार तयार पार्ने र त्यसको सेवा गर्ने काम सामान्य समर्थन र सहयोगमा सीमित थिएन । आत्म–त्यागमय ढङ्गले क्रान्तिको सेवा आफ्नो निजी पढाइ–परीक्षा र स्वार्थको तिलाञ्जली दिएर गरेका थिए । महान् जनयुद्धमा भौतिक रूपले सशक्त र मानसिक रूपले सचेत युवा विद्यार्थीको प्रत्यक्ष भौतिक सहभागिता थियो । तमामखाले गलत प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्ने र शोषित–उत्पीडित बहुसङ्ख्यक जनताको हितका लागि समर्पित भएर मात्र ऐतिहासिक एवम् अग्रीम भूमिका निर्वाह गर्न सकिन्छ ।

वर्ग–समाज रहेसम्म त्यसको प्रभाव पार्टी र सङ्गठनहरूमा पनि रहिरहन्छ । वर्गसङ्घर्षसँगै अन्तर्सङ्घर्ष पनि जारी रहन्छ । यो क्रान्तिको सार्वभौम नियम पनि हो । त्यसैले क्रान्तिकारीहरूले खराब प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष जारी राख्नुपर्छ । यो वर्गसङ्घर्षको अनिवार्य सर्त हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनलाई व्यापक विद्यार्थी समुदायबीच फैलाएर, दलाल, राष्ट्रघाती र जनघाती सत्ताको दमनका विरुद्ध जुझारु र बृहत् आन्दोलन सङ्गठित गरेर, पुरानो शिक्षाप्रणाली ध्वस्त पार्न देशव्यापी आन्दोलन सञ्चालन गरेर, वैज्ञानिक दृष्टिकोण र नयाँ विचारको गहन अध्ययन र व्यापक प्रसार–प्रचार गरेर र प्रत्येक विद्यालय, क्याम्पस–कलेज र विश्वविद्यालयलाई विशिष्ट मोर्चामा बदलेर मात्र युवा विद्यार्थीले एकीकृत जनक्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्छन् । पार्टीकोे आठौँ महाधिवेशनले संश्लेषण गरेका महत्वपूर्ण सैद्धान्तिक विषयहरू दर्शन, उत्तर–साम्राज्यवाद, कार्यदिशा, कम्युनिस्ट सञ्चालनको विधि र दृष्टिकोण, कम्युनिस्ट आर्थिक प्रणाली, राजनीतिक कार्यक्रम, राष्ट्रिय (जातीय) मुक्तिको प्रश्नलगायत गम्भीर अध्ययन, विश्लेषण, सम्प्रेषण र दृढ कार्यान्वयनमा क्रान्तिकारी युवा विद्यार्थीहरूले अभियानात्मक रूपले गर्न जरुरी छ ।

३. अखिल क्रान्तिकारीको विगत कस्तो रह्यो ?

नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको विगत सङ्घर्ष, बलिदान र विजयको गौरवपूर्ण गाथाले भरिएको छ । नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहास समग्र विचार, राजनीति, दृष्टिकोण र वर्गीय पक्षधरताका आधारमा एकता, सङ्घर्ष, रूपान्तरण मात्र होइन, विभाजन र ध्रुवीकरणको आरोह–अवरोह तथा उत्तार–चढावबाट अघि बढिरहेको छ । यो आन्दोलन शैक्षिक हकहित र अधिकारको पेसागत चक्रब्यूहमा कहिल्यै सीमित भएन । यसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको संवद्र्धन गर्न अहोरात्र खबरदारी एवम् पहरेदारी गरिरहेको छ । प्रतिगामी, यथास्थितिवादी, प्रतिक्रियावादी, अवसरवादी र संशोधनवादी चिन्तन–प्रवृत्तिसँग सम्झौताहीन सङ्घर्षमा विजय हासिल गरेर अघि बढिरहेको छ । दलाल पुँजीवादी सत्ता र शिक्षाप्रणालीलाई अर्जुनदृष्टिका साथ राजनीतिक सत्तामा समग्र रूपान्तरण र शिक्षामा आमूल परिवर्तनको मूलदिशा यसले कहिल्यै छाडेको छैन । तसर्थ, यो आन्दोलनको मूलचरित्र पनि राजनीतिक रहेको छ । समग्र वर्गसङ्घर्ष र अन्तर्सङ्घर्षका हरेक अग्निपरीक्षा एवम् मोर्चामा विद्यार्थी आन्दोलन सही र गलत, क्रान्तिकारी र गैरक्रान्तिकारी चिन्तन–प्रवृत्तिबीच भीषण सङ्घर्षको इतिहास निर्माण गर्दै अघि बढिरहेको छ । आज दलाल पुँजीवादी र सामाजिक दलाल पुँजीवादी तत्वहरूले विद्यार्थी आन्दोलनको आयु तोक्ने, औचित्य नदेख्ने र आवश्यकता छैन भन्नेजस्ता विभ्रम फैलाइरहेका छन् । नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलन निरन्तर सङ्घर्षको इतिहास भएकाले जबसम्म समाजमा वर्ग रहन्छ, वर्गसङ्घर्ष अनिवार्य सर्त भएजस्तै दलाल संसदीय व्यवस्था र त्यसबाट निर्देशित एवम् सञ्चालित शिक्षाप्रणालीको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता र शिक्षाप्रणाली स्थापनाको खातिर क्रान्तिकारी विद्यार्थी आन्दोलनको ऐतिहासिक आवश्यकता र उत्प्रेरक बनिरहनेछ । विद्यार्थी रहँदासम्म विद्यार्थी सङ्गठन, सङ्घर्ष र आन्दोलन जारी रहनेछ भन्दा कुनै अत्युक्ति नहोला ।

४. नेपालका धेरै विद्यार्थी संगठनहरू छन् । त्यसमा पनि अखिल क्रान्तिकारी नामका अरू संगठनहरू पनि छन् ? तपाईंहरूको संगठन र अन्य संगठनमा के फरक छ ?

वामपन्थी आन्दोलनको प्रेरणा र प्रभावबाट सङ्गठित नेपालको विद्यार्थी आन्दोलन राजनीतिक चरित्र, वर्गीय पक्षधरता र उद्देश्यका आधारमा विभिन्न विद्यार्थी सङ्गठनहरूको निर्माण र विकास भएको छ । सङ्गठनात्मक अस्तित्व र हैसियत राख्ने नेपालका विभिन्न राजनीतिक दलहरूसँग सम्बद्ध विद्यार्थी सङ्गठनहरू कुनै न कुनै रूपमा अस्तित्वमा रहेका छन् । हामी मूलतः तीनखाले विद्यार्थी सङ्गठनहरू देख्न सक्छौँ । तिनीहरूमा दलाल पुँजीवादी विद्यार्थी सङ्गठन, सामाजिक दलाल पुँजीवादी विद्यार्थी सङ्गठन र अन्य रहेका छन् ।

५. वर्तमान शिक्षा नीतिलाई कसरी हेर्नुभएको छ ?

नेपालको दलाल पुँजीवादी राजनीतिक सत्ताद्वारा निर्देशित, नियन्त्रित र सञ्चालित शिक्षा प्रणाली नवऔपनिवेशिक, दलाल एवम् निगम पुँजीवादी नयाँ विशेषतामा पुगेको छ । आजको विश्व साम्राज्यवाद राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा नयाँ विशेषताहरूसहित उत्तर–साम्राज्यवादमा पुगेको छ । राजनीतिक सत्ताको मालिक दलाल पुँजीवादी भएकाले शिक्षा क्षेत्र त्यसको सेवामा समर्पित हुने, निर्देशनमा चल्ने र त्यस्तैअनुकूलको संस्कार बोकेको जनशक्ति उत्पादन गर्ने अखडा एवम् उद्योगमा परिणत भइरहेकोे छ । नवउदारवादले परिमार्जित गरी निगम पुँजीवादमा परिवर्तित विश्व परिवेशले नेपालको शिक्षा प्रणाली दलाल पुँजीवादको हस्तक्षेप र अतिक्रमणले आक्रान्त बनिरहेको छ । मुलुकको समग्र अर्थतन्त्र नै दातृमुलुक र वित्तीय संस्थाहरूको ऋण, अनुदान र सहयोगमा चल्ने दलाल एवम् निगम पुँजीवादी रहेको छ । आज विश्व निगमहरूको सङ्गठन ‘आर्थिक विकास र सहयोगका लागि सङ्गठन’ ले विश्व वित्तीय संस्थाहरू विश्व बैङ्क, विश्व व्यापार केन्द्र र अन्तर्राष्ट्रिय मुद्राकोषलाई नियन्त्रण गरिरहेको छ । नेपालको शिक्षा पनि दातृमुलुक र वित्तीय संस्थाहरूको लगानी र शर्तअनुकूल चलिरहेको छ । यसले नयाँ नेपाल बनाउने आवश्यक जनशक्ति उत्पादन गर्ने होइन, विश्वका कुन मुलुकमा कस्तो र कति जनशक्ति आवश्यक छ, त्यसको उत्पादन र पूर्ति गर्ने काम नेपालका स्कुल, कलेज र विश्वविद्यालयले गरिरहेका छन् । दलाल शासकहरूको परनिर्भरता र स्पष्ट रणनीतिको अभावमा शिक्षा क्षेत्र दिशाविहीन, अस्तव्यस्त, अव्यवस्थापन र गुणस्तरहीनताले आक्रान्त बनिरहेको छ ।

नेपालकोे शिक्षामा आज मात्रात्मक विकास देखिए पनि गुणात्मक परिवर्तन हुन सकेको छैन । शिक्षण संस्था र विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । त्यसले शैक्षिक बेरोजगार पैदा गरी पुँजी र प्रतिभा विदेश पलायन भइरहेकोे छ । शिक्षा असमान, जनविरोधी, अवैज्ञानिक र अव्यावहारिक छ । राज्यको कमजोर प्रशासन र व्यवस्थापनले शिक्षा उद्देश्य र आवश्यकता विरोधी बनिरहेको छ । शिक्षा मौलिक हक, आधारभूत शिक्षा अनिवार्य र निःशुल्क हास्यास्पद विषय बनिरहेको छ । सार्वजनिक शिक्षा सङ्कटपूर्ण अवस्थामा पुगेको छ । निजीकरण तथा व्यापारीकरणको महामारीले शिक्षा राज्यको दायित्व होइन, नागरिकको व्ययभारको वस्तु बनिरहेको छ । विधिगत र प्रणालीको समस्याले शिक्षा असफल भइरहेकोे छ । यो दलाल पुँजीवादी शिक्षा भएकाले राष्ट्रियता विरोधी छ ।

६. नेपाली विद्यार्थीहरूका शैक्षिक समस्या कस्ता छन् ?

कुनै पनि मुलुकको शिक्षाप्रणाली राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाअनुरूप हुन्छ । शिक्षाले युगीन राजनीतिक, आर्थिक र सामाजिक संरचनाअनुसार राज्य र समाजको साधनको काम गर्दछ । वर्तमान नेपालको राजनीतिक, आर्थिक र सामाजिक अवस्था दलाल पुँजीवादी तथा नवऔपनिवेशिक रहेको छ । शिक्षा पनि दलाल पुँजीवादी सत्ताको निर्देशन, नियन्त्रण र नेतृत्वमा सञ्चालित छ । वर्तमान शिक्षाप्रणाली दलाल पुँजीवादी नै हो । त्यसले आम–जनताको हित एवम् स्वार्थमा होइन, दलाल पुँजीवादीहरूको राजनीतिक सत्ताको आधारशिला निर्माण गर्ने, सेवा गर्ने र स्वार्थसिद्धबाहेक अरू केही गर्न सम्भव छैन । एक मुलुक दुई शिक्षाको नीति हाल आएर कथित सङ्घीयताले एक मुलुक अनेकौँ शिक्षा नीति र संरचनाको स्थिति सिर्जना गरेको छ । सामाजिक सेवा र आम नागरिकको नैसर्गिक अधिकारका रूपमा रहेका शिक्षा क्षेत्र दलाल र माफियाहरूको मुनाफा आर्जन गर्ने मुख्य व्यापारको वस्तु बनेको छ । दलाल राज्यले शिक्षाको दायित्व र व्ययभार जनतामाथि थुपारिरहेको छ । सरकारी शिक्षा चरम सङ्कटमा छ । निजीकरणले शिक्षालाई क्रमशः ढाक्दैछ । शिक्षा प्रतिभा र पुँजी विदेश पलायन गर्ने माध्यम भएको छ । राज्यसँग वैज्ञानिक नीति, योजना र कार्यान्वयनको समस्या छ । नेपाल विदेशीका लागि परीक्षण र असफलता भोग्ने प्रयोगशाला जस्तो बनिरहेको छ । सार्वजनिक शिक्षा आम–नागरिकलाई मूल्य–मान्यतामा आधारित जीवन दृष्टिकोण निर्माण गर्ने विषयमा नीतिविहीन र दिशाविहीन छ । शिक्षा नीति उपभोक्तावादी कर्पोरेट सञ्चालनमा रूपान्तरण भएको छ । दलाल सत्ताको दुईखाले शिक्षा नीतिले पद्धति, संरचना र स्वार्थमा मात्र भिन्नता होइन, विभेद÷विषमताको गहिरो खाडल खनिरहेको छ । निजीकरण र व्यापारीकरणले शिक्षा सम्भ्रान्तवर्गको पेवा बनिरहेको छ । यो सङ्कट एवम् समस्याको समाधान सबैका लागि सार्वजनिक समान र वैज्ञानिक समाजवादी शिक्षा नै हो ।

७. अहिलेको राज्यप्रणालीलाई कसरी हेर्नुभएको छ ?

मुलुकमा महान् जनयुद्धपछि एघार वर्षसम्म चलिरहेको शान्तिप्रक्रिया कथित प्रदेश र प्रतिनिधिसभाको चुनाव खारेजी अभियानसम्म आइपुग्दा पूर्ण रूपले असफल भएको छ । जनादेश तथा जनअपेक्षा विपरीत दलालहरूले दलाल संसदीय व्यवस्था बलपूर्वक जनतामा लादिरहेका छन् । क्रान्ति र प्रतिक्रान्ति तथा अग्रगमन र प्रतिगमनबीच केन्द्रीकृत टक्कर चलिरहेको छ । सारमा दलाल पुँजीवादी राज्य र आम–श्रमिक जनताबीच प्रधान अन्तर्विरोध रहे पनि रूपमा तत्कालीन दलाल शासकवर्ग र जनताबीच अन्तर्विरोध तीव्र बन्ने देखिन्छ । जनअपेक्षा र आवश्यकताविरुद्ध दलाल संसदीय व्यवस्था लादिएपछि सम्पूर्ण उत्पीडित जनता विरोध र प्रतिरोध सङ्घर्षमा समर्थन र सहयोग गर्दै सहभागी भइरहेका छन् । कथित लोकतन्त्र र वाम वा कम्युनिस्ट आवरणमा दलाल पुँजीवादी र सामाजिक दलाल पुँजीवादीहरूले क्रान्तिकारी विचार, नेतृत्व र आन्दोलनका विरुद्ध भ्रम छर्ने, षड्यन्त्र गर्ने, घेराबन्दी गर्ने र फासिस्ट दमन गर्ने चुनौती मुख्य रूपमा देखापरिरहेको छ । हाल सामाजिक दलाल पुँजीवादीहरूले दलाल संसदीय व्यवस्थाको नेतृत्व गरिरहेका छन् । सच्चा क्रान्तिकारीहरू सचेत ढङ्गले स्पातझैँ एकताबद्ध भएर अघि बढ्न आवश्यक छ । बलियो एकता, दृढ सङ्कल्प र निर्भिकताले मात्र दलाल पुँजीवादी, दक्षिणपन्थी संशोधनवादी र आत्मसमर्पणवादी प्रवृतिका विरुद्ध सङ्घर्ष र सच्चा क्रान्तिकारीहरूको विजय सम्भव हुनेछ ।

८. नेपालको शिक्षा प्रणालीमा देखिएका समस्याको समाधान के होला ? यी समस्याहरूलाई हल गर्न कस्तो खालको शिक्षा प्रणाली आवश्यक पर्दछ ?

वैज्ञानिक समाजवादी शिक्षाको नयाँ अभियान र आन्दोलन नै नेपालको शिक्षा प्रणालीमा देखिएका समस्याको समाधान हो । आज विश्वमा सन् १९८० को दशकपछि नवउदारवाद हाबी भइरहेकोे छ । यो निजीकरण, खुलाबजार अर्थतन्त्र र भूमण्डलीकरणका रूपमा विश्वव्यापीकरण भइरहेकोे छ । राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, प्राविधिकलगायत नयाँ विशेषतासहित उत्तर–साम्राज्यवाद आएको छ । नवउदारवाद र उत्तर–साम्राज्यवादको हस्तक्षेप र प्रभाव नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत सबै क्षेत्रहरूमा परिरहेको छ । कृषि, वन, जलस्रोत, खानीलगायत उत्पादनका क्षेत्रहरू भएको नेपालमा असीको दशकपछि आर्थिक नीतिमा, पेसागत संरचनामा, लगानीका क्षेत्रमा, पुँजीगत, श्रमको उत्पादनशीलता र परम्परागत उत्पादन प्रणालीमा परिवर्तन देखापरेको छ । मुलुकको हरेक क्षेत्रमा आज दलाल पुँजीवाद हाबी छ । माक्र्सले साम्यवादको पहिलो चरण नै समाजवाद बताउनुभयो । उत्तर–साम्राज्यवादको हल वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद आज रणनीति होइन, कार्यनीति बनेको छ । दलाल पुँजीवाद एवम् दलाल संसदीय व्यवस्थाको अन्त्यपछि स्थापना वा निर्माण गरिने समाज व्यवस्था वैज्ञानिक समाजवाद नै हो । वैज्ञानिक समाजवादी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत आधारमा वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको निर्माण, प्रयोग र विकास हुनेछ । विगतमा जनवादी शिक्षाको अवधारणा, उद्देश्य, आधार, अन्तर्वस्तु र विशेषताहरूसहितको सर्वोत्तम रूप र सार वैज्ञानिक शिक्षाप्रणालीमा अभिव्यक्त हुनेछ । एकीकृत जनक्रान्तिद्वारा दलाल संसदीय व्यवस्थाको अन्त्य र त्यसको खरानीमा वैज्ञानिक समाजवाद स्थापना र निर्माण हुनेछ । नयाँ अभियान तथा आन्दोलन वैज्ञानिक समाजवादी व्यवस्थाको महान् उद्देश्यसँग अविभाज्य जोडिएको छ । तसर्थ सांस्कृतिक–शैक्षिक क्रान्ति सबै वैज्ञानिक समाजवादी क्रान्तिको अनिवार्य र अभिन्न अङ्ग हुनेछ । वैज्ञानिक समाजवादी सत्तामा मात्र सबै नागरिकलाई शिक्षा हासिल गर्ने समान अधिकार सुनिश्चित हुनेछ । सबैका लागि समान शिक्षा प्रदान गर्ने दायित्व राज्यको हुनेछ । शिक्षा वैज्ञानिक, व्यावहारिक, अनिवार्य र सर्वसुलभ हुनेछ । अबको हाम्रो आन्दोलन र बहस वैज्ञानिक समाजवादी शिक्षाका लागि सञ्चालन गरिनेछ । आगामी अभियानमा वैज्ञानिक समाजवादी शिक्षाको अवधारणा, उद्देश्य, आधार, अन्तर्वस्तु र विशेषताबारेमा व्यापक छलफल गर्दै अघि बढ्नुपर्दछ । यसलाई रुस, चीन, क्युबा, जनगणतन्त्र कोरियालगायत समाजवादी मुलुकको अन्तर्राष्ट्रिय अनुभव र हाम्रो मुलुकको मौलिक विशेषतामा प्रयोग र विकास गरिनुपर्दछ ।

वैज्ञानिक समाजवादी शिक्षाको पहिलो र अन्तिम उद्देश्य वैज्ञानिक समाजवादको निर्माण र सेवा गर्नु हो । त्यसका लागि देश विकासको आधारशिला आवश्यक सक्षम जनशक्ति उत्पादन र नयाँ पूर्ण मानव निर्माण गर्ने हो । यो शिक्षाको मुट्ठीभर मान्छेमा सीमित नभएर सिङ्गो समाजलाई नयाँ एवम् पूर्ण मानव निर्माण गर्ने मूल उद्देश्य हो । त्यसमा सिङ्गो देश प्रयोगशाला र सम्पूर्ण समाजलाई ‘बृहत् विद्यालय’ मा परिणत गरिनुपर्दछ । आम जनतालाई वैज्ञानिक, जीवनोपयोगी, प्राविधिक, सुलभ र सरल रूपले शिक्षाको अधिकार तथा अवसर प्राप्त हुन्छ । यसले सम्पूर्ण जनतालाई वैज्ञानिक दृष्टिकोण एवम् चेतनाको विकास गर्न देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, भौगर्भिक अवस्थाबारे शिक्षित गर्दछ । प्रकृति, मानव समाज र राज्यसत्तासम्बन्धी वैज्ञानिक ज्ञान र सीप प्रदान गर्ने सम्पूर्ण विज्ञानले लैस गर्दछ । वैज्ञानिक समाजवादी शैक्षिक क्रान्ति एकीकृत जनक्रान्ति अनिवार्य र अभिन्न अङ्ग हो । यो शिक्षाले अधिभूतवादी र आदर्शवादी दर्शनका विरुद्ध द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई मुख्य आधार मान्दछ । ‘मानिसको चेतनाले उसको सत्तालाई निर्धारण गर्दैन, बरु त्यसको उल्टो उनीहरूको सामाजिक सत्ताले उनीहरूकोे चेतनालाई निर्धारित गर्छ’ भन्ने महान् माक्र्सको दर्शनलाई जीवन र व्यवहारमा लागू गरिन्छ । अन्तर्राष्ट्रिय रूपमा साम्राज्यवाद र राष्ट्रियस्तरमा दलाल पुँजीवादी सत्ताको दमन र हस्तक्षेपका विरुद्ध देशभक्तिपूर्ण आन्दोलनका पक्षमा सचेत, प्रशिक्षित र सङ्गठित गर्ने उद्देश्य हासिल गर्दछ । वैज्ञानिक समाजवादी शिक्षाले मानव समाज एवम् समृद्धि र सभ्य संस्कृतिको निर्माणमा जोड दिन्छ । यसले ज्ञान सिद्धान्तमा अभूतपूर्ण क्रान्ति ल्याउनेछ र शिक्षालाई जीवन–जगत् बुझ्ने र बदल्ने कार्यभारका रूपमा श्रम–शिक्षा र बहुप्राविधिक शिक्षाको सैद्धान्तिक आधारमा बौद्धिक, शारीरिक विकास र बहुप्राविधिकको अभिप्रायःलाई व्यवहारमा प्रयोग गर्नेछ । वैज्ञानिक सामाजवादी शिक्षामा नयाँ सङ्गठनात्मक संरचना, पाठ्यक्रम, पद्धति, शिक्षण मूल्याङ्कन, माध्यम भाषा र विभेदको अन्त्य हुन्छ । वैज्ञानिक ढङ्गले प्रकृति र मानव समाजको समग्र अनुसन्धान गरिने भएकाले वैज्ञानिक समाजवादी शिक्षा सर्वोत्तम छ ।

९. तपाईंहरूले माग गर्दै आएको शिक्षा प्रणाली कस्तो त्यसका विशेषताहरू बताइदिनुहोस् न ?

वैज्ञानिक समाजवाद आज रणनीति होइन, कार्यनीति बनेको छ । दलाल पुँजीवाद एवम् दलाल संसदीय व्यवस्थाको अन्त्यपछि स्थापना वा निर्माण गरिने समाज व्यवस्था वैज्ञानिक समाजवाद नै हो । वैज्ञानिक समाजवादी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत आधारमा वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको निर्माण, प्रयोग र विकास हुनेछ । विगतमा जनवादी शिक्षाको अवधारणा, उद्देश्य, आधार, अन्तर्वस्तु र विशेषताहरूसहित सर्वोत्तम रूप र सार वैज्ञानिक शिक्षाप्रणालीमा अभिव्यक्त हुनेछ । एकीकृत जनक्रान्तिद्वारा दलाल संसदीय व्यवस्थाको अन्त्य र त्यसको खरानीमा वैज्ञानिक समाजवाद स्थापना र निर्माण हुनेछ । नयाँ अभियान तथा आन्दोलन वैज्ञानिक समाजवादी व्यवस्थाको महान् उद्देश्यसँग अविभाज्य जोडिएको छ । तसर्थ, सांस्कृतिक–शैक्षिक क्रान्ति सबै वैज्ञानिक समाजवादी क्रान्तिको अनिवार्य र अभिन्न अङ्ग हुनेछ । वैज्ञानिक समाजवादी सत्तामा मात्र सबै नागरिकलाई शिक्षा हासिल गर्ने समान अधिकार सुनिश्चित हुनेछ । सबैका लागि समान शिक्षा प्रदान गर्ने दायित्व राज्यको हुनेछ । शिक्षा वैज्ञानिक, व्यावहारिक, अनिवार्य र सर्वसुलभ हुनेछ । अबको हाम्रो आन्दोलन र बहस वैज्ञानिक समाजवादी शिक्षाका लागि सञ्चालन गरिनेछ । आगामी अभियानमा वैज्ञानिक समाजवादी शिक्षाको अवधारणा, उद्देश्य, आधार, अन्तर्वस्तु र विशेषताबारेमा बहस गर्दै अघि बढ्नुपर्दछ । स्राेत : रातो खबर साप्ताहिक
२०७४ फागुन २५ गते दिउँसो २ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :