ओली सरकारको प्रतिक्रान्ति

काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र का संगठन विभागका प्रमुख रामबहादुर थापा ‘ बादल’ केपी ओली सरकारको गृहमन्त्री भएको तेस्रो दिनमा नेकपाका महासचिव विप्लवलाई पक्राउ गर्ने पुर्जी उहाँको दाजु चन्द्रबहादुर चन्दको कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ स्थित घरमा टाँसियो । २०५२ सालमा तत्कालीन सामन्तवादी राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त गरी नयाँ जनवाद स्थापना गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उद्देश्यसहित सुरु गरिएको जनयुद्धका प्रचण्ड–बादलहरू मुख्य योजनाकारका रूपमा थिए । जनयुद्धको दुःखद् अन्त गरेर अहिले प्रचण्ड र बादलहरू पुरानै संसदीय व्यवस्थामा फर्किएपछि विप्लवहरूले क्रान्ति पूरा गर्ने उद्देश्यले एकीकृत जनक्रान्तिको बाटोमा लागेका छन् ।

अहिले झापा विद्रोहको एक योद्धा केपी ओली र जनयुद्धका मुख्य नेता प्रचण्डको वाम–गठबन्धनको सरकार बनेपछि नेकपाका मुख्य नेताहरू विप्लव र धर्मेन्द्र बास्तोलाको घरमा पुर्जी टाँसिएको छ । दर्जनौँ नेता– कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर गिरफ्तार गरिएको छ । केपी ओलीको सरकार बनेको तेस्रो दिन नै नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिटब्युरो सदस्य पद्म राईलाई युवक संगठनको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाँदा विराटनगरबाट गिरफ्तार गरियो ।

यसरी नक्कली वाम–गठबन्धन सरकारले सक्कली कम्युनिस्टका नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, घर खानतलासी गर्ने, झुट्टा मुद्दा लगाउने काम भइराखेको छ । यसै विषयलाई लिएर नेकपाका प्रवक्ता एवं स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले वक्तव्य निकाल्नुभएको छ । नेकपाका महासचिव विप्लवले ‘केपी ओली सरकारको प्रतिक्रान्तिकारी हर्कत’ विषयक लेख रातो खबरलाई प्राप्त भएको छ । उक्त लेख समय सान्दर्भिक लागेर हामीले यसैलाई मुख्य समाचार बनाएका छौँ– सम्पादक । केपी ओलीको प्रतिक्रान्तिकारी हर्कत : विप्लव
केपी ओलीको सरकार बनिसकेपछि प्रतिक्रान्ति खहरे जस्तो भएर बौलाएको छ । गद्दारीको आहालमा सुँगुर जस्तो डुबेको प्रचण्डको उक्साहटमा केपी सरकारले यो हर्कत गरेको हो । सबै नागरिक विशेषतः क्रान्तिमा सहभागी जनतालाई थाहा छ, शान्तिप्रक्रिया सुरु भएपछि महान् जनयुद्धका विरुद्ध प्रतिक्रान्ति विभिन्न रूपरङमा देखियो । पार्टीभित्रको आत्मसमर्पणवादी, विसर्जनवादी गद्दारी र पार्टीबाहिरको दलाल पुँजीवादी संसद्वादी बेइमानहरूको गठजोडमा नेपाली जनतालाई पुँजीवादी दलाल संसदीय व्यवस्थाको गुलाम बनाउने प्रतिक्रान्तिकारी षड्यन्त्र रचियो । हामीले यो बुझिसकेपछि त्यसका विरुद्ध निर्मम संघर्ष सञ्चालन गर्दै प्रतिक्रान्तिकारी सोच र क्रियाकलापलाई खारेज गरियो ।

हामीले २०६९ साल असारमा प्रचण्डविरुद्ध विद्रोह ग¥यौँ । र, संसद्वादका सामु लत्रिन अस्वीकार ग¥यौँ । यो विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा दूरगामी प्रभाव छोड्ने निर्णय थियो । यो आत्मसमर्पणवादविरुद्धको विद्रोह र क्रान्ति थियो । हामीले २०७२ सालको प्रतिक्रान्तिकारी संविधान र संसदीय व्यवस्थाको पुनस्र्थापनालाई अस्वीकार ग¥यौँ । र त्यसका विरुद्ध जनगणतन्त्रको संविधान घोषणा ग¥यौँ । साथै, जनप्रतिनिधिसभा र जनपरिषद निर्माण ग¥यौँ । त्यो संसदीय व्यवस्था र प्रतिmक्रान्तिका विरुद्ध गरेको दोस्रो विद्रोह र क्रान्ति थियो । २०७४ सालमा संसद्वादी दलालहरूले कथित स्थानीय र केन्द्रीय संसद्को चुनाव गरे । हामीले त्यसलाई सम्पूर्ण रूपले खारेज ग¥यौँ ।

नेपालमा मर्न थालेको संसदीय व्यवस्थालाई पुनर्जीवित गर्ने षड्यन्त्रलाई नाङ्गेझार पा¥यौँ । त्यसका विरुद्ध विद्रोहग¥यौँ र एकखालको क्रान्ति ग¥यौँ । चिहानघाटमा पुगेको संसदीय व्यवस्थालाई फर्काउन पाएको भ्रममा संसद्वादी दलाल पुँजीवादी तत्वहरूले संसदीय व्यवस्थाको संविधान कार्यान्वयन भएको र अब व्यवस्था स्थिर बन्ने राग अलापिरहेका छन् । यो उनीहरूको फगत आत्म–सन्तुष्टिको रोइकराइ मात्र हो ।

यहाँ क्रान्ति उठेको छ । क्रान्ति सलबलाउँदै छ । प्रतिक्रान्ति र क्रान्ति आमने–सामने छन् । प्रतिक्रान्तिकारी दमन र क्रान्तिकारी विद्रोह चलिरहेको छ । केपीको पागलपन यसैको उदाहरण हो । प्रचण्ड र केपी मिलेर नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने, छापा मार्ने, मुद्दा लगाउने, यतिसम्म कि सर्वस्वहरणसम्म गर्ने धम्की दिइरहेका छन् । उनको अदालतमा हाजिर हुने या गिरफ्तार गर्ने धम्की दिइरहेका छन् । धमास छोडिरहेका छन् । हुन सक्छ, केही समयभित्र खुलामखुल्ला रूपले मार्ने घोषणा पनि गर्लान् । यो सबै घोर प्रतिक्रान्तिकारी हर्कत हो । परन्तु यसलाई कुनै अनौठो, आश्चर्य र त्रासको विषय मानिएको छैन र मान्ने कुरा पनि भएन । यो त क्रान्तिका विरुद्ध प्रतिक्रान्तिकारी सत्ताले अपनाउने र प्रयोग गर्ने रवैया हो । उसको यही चरित्रले जनतामा समाप्त भएर जान्छ । केपी प्रधानमन्त्री भएपछि दिग्विजय भएको जस्तो भ्रम परेको होला । तर यो … को न्यानो मात्र हो भन्ने कुरा बुझे हुन्छ । यो राज्यलाई क्रान्तिलाई दमन गर्ने साधन बनाएको अवस्था छ । अदालत, प्रहरी, कानुन सबैलाई जबर्जस्त क्रान्तिको घाँटी निमोट्ने मेसिन बनाउन थालेको देखिन्छ । त्यो प्रयोग हुन पनि सक्ला । यो त हामीले र उनीहरूले प्रस्ट बुझेको विषय हो कि क्रान्ति सबै यातना, दमन, विपत्ति झेलेर नै अगाडि जाने हो । हामीले क्रान्तिमा चुनौती मोल्ने भनेका थियौँ । बुझेर नै मोलेको कुरा हो । नेकपाका नेता–कार्यकर्ता त्यसका लागि तयार नै छौँ । बरु सत्य कुरा यो कि केपी यो राज्यक्रान्तिबाट त्रसित भयभित भएको छ । उनीहरू लुटको स्वर्गमा आरामले निदाउन पाएका छैनन् । बल्ल–तल्ल पाएको गद्दी जोगाउन महामारी परेको छ । त्यही भएर बिना–हिसाब बौलाहाले कुकुरको जस्तो क्रान्तिकारीहरूलाई झम्टिन थालेका छन् । परन्तु क्रान्तिकारीलाई थाहा छ कि बौलाहा कुकुरलाई कसरी कटबाँसको लठ्ठीले ठटाउनुपर्छ र पानीमा चोबल्नुपर्दछ भन्ने ।

हाम्रो स्पष्ट दृष्टिकोण छ, महान् जनयुद्धमा रगतद्वारा उठेका र स्थापित भएका जनताका प्रस्तावहरू (किसान, मजदुर, जनजाति, मधेसी, महिला) लाई इमानदारीपूर्वक पूरा गर्नुपर्छ । राष्ट्रघाती सन्धि, सम्झौता खारेज गर्नुपर्छ । नेपाललाई दलाल संसदीय व्यवस्थाबाट वैज्ञानिक समाजवादमा पु¥याई छाड्नुपर्दछ । यो लक्ष्य प्रतिक्रान्तिबाट होइन, क्रान्तिबाट मात्र सम्भव छ । यो क्रान्तिका लागि नेकपा पूर्णरूपले प्रतिबद्ध छ । केपी र पिकेले बुझेकै जस्तो लाग्छ, दमनबाट क्रान्ति सकिँदैन, आतंक र त्रास देखाएर क्रान्ति राकिँदैन । क्रान्ति त वस्तुगत आवश्यकता र सचेत पहलकदमीको यस्तो परिणाम हो, जसलाई कुनै पनि तागतले रोक्न र समाप्त पार्न सक्दैन ।

नेपालमा संसद्वादी दलालहरूबाट धोका भएको छ । माओवादीभित्रका आत्मसमर्पणवादी तत्वहरूबाट धोका भएको छ । जनता अधिकारसम्पन्न भएका छैनन् । देश मुक्त भएको छैन । क्रान्ति पुनः भर्भराउँदै उदाउँदैछ । क्रान्ति उठ्नेछ । क्रान्ति ज्वालामुखी बनेर दन्किनेछ । प्रतिक्रान्तिले जतिसुकै षड्यन्त्र गरे पनि क्रान्ति त्यसमाथि चढेर समाप्त त्यसलाई समाप्त पार्नेछ । स्रोत  : रातो खबर साप्ताहिक 
२०७४ फागुन २४ गते बिहान ९ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :