संस्थाको सम्पत्ति निजी नबनाऊ

अम्बिका चन्द / काठमाडौं :  पोखरा विश्वविद्यालबाट सम्बन्धनप्राप्त नेपाल इन्जिनियरिङ कलेज, भक्तपुरका संचालक प्रा.डा. दिपक भट्टराईले कलेज र विद्यार्थीको भविष्यमा खेलवाड हुने गतिविधि नगर्न सरोकारवालाहरूलाई सचेत गराएका छन् । कलेजका कार्यवाहक अध्यक्ष सूर्यबहादुर केसीका नाउँमा सार्वजनिक सूचना प्रकाशित गर्दै प्रा.डा. भट्टराईले केसीलगायतको संलग्नतामा सार्वजनिक सम्पत्ति हडप्ने मनसायले कलेजलाई निजी प्रा.लि. बनाउन यही फागुन ११ गते अन्नपूर्ण पोष्ट दैनिकमा भ्रामक सूचना प्रकाशन गरेकोप्रति गम्भीर आपत्तिसमेत जनाएका छन् । गत बुधबारको रातोखबर साप्ताहिकमा सूचना प्रकाशित गर्दै भट्टराईले भनेका छन् ‘कानुनअनुसार २०७४।०५।०४ मा भक्तपुर जिल्ला प्रशासनमा दर्ता भएको विधानमा ११ जनाको संचालक समिति गठन भएको हो तर कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको नाममा निजी कम्पनी बनाउने र पछि सम्पत्ति बाँडफाँड गर्ने समूहमा संलग्न तपाईं सूर्यबहादुर केसीलगायतको हस्ताक्षरबाट ७ जनाको मात्र संचालक समिति रहेको भन्ने ११ फागुनमा अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भ्रमपूर्ण सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रा.डा. भट्टराईले यसअघि २०७४ वैशाख २४ गते कलेजलाई प्रा.लि. मा दर्ता गराई सार्वजनिक सम्पत्तिलाई निजी बनाउन खोज्ने प्रयास विद्यार्थी, स्थानीय जनता, शिक्षक, कर्मचारी र आफूहरूको पहलमा असफल भएको पनि सूचनामा उल्लेख गरेका छन् । आफू २०७४।०५।२६ को संचालक समितिको विशेष बैठकबाट विधानअनुसार अभिभावकको तर्फबाट नियुक्त भएको बताउँदै भट्टराईले भोटाधिकाररहित र आमन्त्रित सदस्यको रूपमा आफ्नो नियुक्त नभएको स्पष्ट पारेका छन् । संस्थाको सम्पत्ति हडप्ने उद्देश्यले सांसद्समेत रहेका केसीको मिलिभगतमा संस्थाको हितविपरीत भ्रामक सूचना सम्प्रेषण गरिएको पनि भट्टराईको आरोप छ ।

२०७४ फागुन २३ गते बिहान ९ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :