यसकारण सलमान आउन सकेनन्

अम्बिका चन्द / काठमाडौं : बलिउडका चर्चित स्टार सलमान खानको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा हुने भनिएको ‘दबङ्ग द टुर’ कार्यक्रम स्थगित भएको छ । आयोजक संस्था ओडिसी इन्टरटेनमेन्टले पूर्व निर्धारित मिति यही फागुन २६ गते कार्यक्रम नहुने बताइसकेको छ ।

नेपाली सेनाले सैनिक मञ्चमा नेपालका राजनीतिक दलहरूलाई कुनै खुला कार्यक्रम गर्न नदिएको त्यस्तो संवेदनशील ठाउँमा भारतीय कलाकारहरूलाई नचाउने कुरा कुनै पनि स्वाभिमानी नेपालीलाई पाच्य नहुने र त्यसले नेपाली राष्ट्रियतामा खलल पु¥याएको भन्दै नेकपानिकट अखिल नेपाल जनसांस्कृतिक महासंघले विरोध गरेको थियो । महासंघका महासचिव खेम थपलियाले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम नगर्न आयोजकलाई चेतावनी दिएका थिए । आयोजकले कार्यक्रमको मुख्य उद्देश्य विनासकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई कम गर्ने बताए पनि केही दलालहरूले भारतीय हिरो सलमानको आवरणमा नेपालमा सांस्कृतिक आबरणमा व्यापार गर्न खोजेको थपलियाले बताएका छन् । निकै महंगो रकम खर्च गरेर रक्सीको लोगो भएका टिसर्ट पहिरिन लगाई नेपालका युवाहरूलाई टुँडिखेलमा उफार्ने कार्यक्रम आपत्तिजनक भएको पनि उनले बताए ।

महासंघको यस्तो चेतावनीपछि भारतबाट प्रकाशित पत्रपत्रिकाले समेत नेपालमा विप्लव नेतृत्वको नेकपाबाट असुरक्षाको कारण देखाउँदै सलमानलाई नेपाल नजान सुझावसहितका समाचार छापेका थिए । सलमानको कार्यक्रम स्थगितसँगै नेपालका कलाकारहरू निकै खुसी देखिएका छन् । चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ ले आफ्नो फेसबुक–वालमा सीमाक्षेत्रमा भारतीय पक्षबाट नेपालीले व्यर्होनुपरेको सास्ती, भारतीय कलाकार नेपाल आउँदा नेपाली कलाकारलाई गरेको अपमान र आफूलाई दारी काटन दिएको दबाब उल्लेख गर्दै स्वदेशी कलाकारहरूलाई प्रोत्साहित गर्नुको साटो महंगो तिरेर विदेशी कलाकारलाई रक्सीको विज्ञापन गर्न बोलाउनु गलत भएको बताएका छन् । यस्तै सिनेक्षेत्रका र अन्य कलाकारहरूले पनि नेपालमा सलमान खानको कार्यक्रम स्थगित भएकोमा खुसी व्यक्त गर्दै सामाजिक संजालमा सशक्त प्रतिक्रियासमेत दिने गरेका छन् । मालेका पूर्व सभासद् तथा नामुद व्यापारी राजेन्द्र खेतानको शेयर भएको गोर्खा ब्रुअरीसमेत कार्यक्रमको प्रायोजन रहेको थियो । सलमानको कार्यक्रमको लागि भन्दै आयोजकसमेत रहेका सलमानका भाइ सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलनसमेत आयोजना गरेका थिए ।

सलमानलाई हेर्नका लागि ३ देखि २० हजारसम्मको निकै महंगो टिकट वितरणको तयारी भएको थियो भने काठमाडौंका करिब तीन दर्जन ठूला होटेलहरू बुक गरी बियर पठाउन सुरु गरिसकिएको थियो । नेकपाको चेतावनीपछि सलमानको कार्यक्रम स्थगित भएसँगै नेपाली कलाकारहरूमा खुसी भएका छन् भने भारतमा पनि यो विषयलाई लिएर ब्यापक चर्चा परिचर्चा भएको बताइन्छ । सलमान खानसँगै भारतीय चर्चित नायिका सोनाक्षी सिन्हालगायत दर्जन भारतीय कलाकारको लागि आयोजकले निकै ठूलो रकम छुट्याएको खबर सार्वजनिक भएको थियो । स्राेत  राताे खबर साप्ताहिक 

२०७४ फागुन २३ गते बिहान ११ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :