किन गरे पाकिस्तानी प्रमले नेपाल भ्रमण

अम्बिका चन्द / काठमाडौं : कुनै पूर्व–निर्धारित तालिकाबिना नै सोमबार दुईदिने नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी मंगलबार स्वदेश फर्किएका छन् । तर उनको भ्रमणपछि राजनीतिकवृत्तमा नयाँ बहसको सिर्जना भएको छ । दुई ठूला छिमेकी देश चीन र भारतबीचको सम्बन्धमा खटपट बढिरहेको सन्दर्भमा अब्बासीको यो भ्रमण अर्थपूर्ण मानिएको छ । केही राजनीतिक विश्लेषकहरूले अब्बासी भारतलाई च्यालेन्ज दिनका लागि चीनको सल्लाहमै नेपाल आएको विश्लेषण पनि गरेका छन् । अहिले भारत पाकिस्तानको सम्बन्ध राम्रो नभएको र चीन पाकिस्तानको सम्बन्ध राम्रो भइरहेको विश्लेषणबीच पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपालमा ओली सरकारले लिने कुटनीतिक नीतिमा केही असर पर्नेसमेत बताइन्छ । अहिलेसम्मको परम्पराअनुसार नेपालका नयाँ प्रधानमन्त्रीले आफ्नो पहिलो विदेश भ्रमणका लागि भारतमा जाने गर्दछन् । भारतका कुटनीतिक अधिकारीहरू पनि नेपालका कुनै पनि राजनीतिक घटनाक्रम पहिले नै भेटघाट र पहलकदमीको नाममा हस्तक्षेप गर्दछन् तर नेपालमा केपी ओलीको सत्तारोहणलगत्तै पाकिस्तानी प्रधानमन्त्री नेपाल आएका हुन् । अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाललगायतलाई भेट गरे । उनलाई टुँडिखेलमा ‘गार्ड अफ अनर’ समेत दिइएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले अब्बासीलाई रात्रीभोजसमेत दिए । भारतीय विदेशमन्त्री नेपाल आउँदासमेत नेपालका उच्चपदस्थहरू लर्को लागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा हुने गर्दछन् । तर आफ्ना समकक्षीको स्वागत र बिदाइमा समेत केपी ओलीले विमानस्थलमा अर्थमन्त्री युवराज खतिवडालाई पठाए । यस घटनाले पनि नेपालका नेताहरू भारतको कति चाकडी गर्दछन् भन्ने प्रमाणित गरेको छ । स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन २२ गते साँझ ७ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :