अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सार्थकता महिला मुक्ति – सविता तामाङ

“पुँजीवादको ध्वंस र वैज्ञानिक समाजवादको स्थापनाले मात्र नारी जातिको मुक्ति सम्भव छ ।” – क्लारा जेट्किन

विषय प्रवेश

सन् १८५७ न्युयोर्क सहरको कपडा कारखानामा काम गर्ने हजाराँै श्रमिक महिलाहरूले १८ घन्टा कामको सट्टामा १० घन्टा हुनुपर्ने, समान कामको समान ज्याला पाउनुपर्नेलगायतका मागहरू राखी ठूलो आन्दोलन गरेका थिए । लामो आन्दोलनपछि श्रमिक महिलाहरूको उक्त मागलाई सम्बोधन गरिएकाले सन् १९१० मा अन्तर्राष्ट्रिय महिलाहरूको कोपनहेगनमा भएको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनमा महान् नेत्री क्लारा जेट्किनको प्रस्ताव पारित गर्दै, सन् १९११ देखि ८ मार्चलाई संसारभरि नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालिएको हो । जुन आजसम्म पनि विश्वभरिका श्रमिक महिलाहरूले ८ मार्चलाई आफ्नो संघर्षको जितको रूपमा मनाउँदै आइरहेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको वर्गीय पक्षधरता

सन् १९११ देखि नै संसारभरिका महिलाहरूले ८ मार्चलाई एउटा विजय र उत्सवको रूपमा मनाउँदै आइरहेका छन् । यसमा दुई भिन्न प्रकारका वर्गीय पक्षधरता छ ।

पहिलो : विश्वभरिका श्रमिक सर्वहारा महिलाहरूले यसलाई बुझ्ने, व्याख्या गर्ने र आत्मसात गर्ने विषय । ८ मार्चलाई संसारभरका उत्पीडित श्रमिक महिलाहरूले यो दिवसलाई आफ्नो मुक्तिको प्रश्नसँग जोडेर हेरेका हुन्छन् । उनीहरूले सर्वहारावर्गीय पक्षधरतालाई यो दिवससँग जोडेका हुन्छन् । उत्पीडितवर्गको मुक्ति र परिवर्तन तथा अधिकारको समानतासँग जोडेर हेरेका र बुझेका हुन्छन् । यसले महान् नेतृ क्लारा जेट्किनले भनेजस्तै पुँजीवादको ध्वंस र वैज्ञानिक समाजवादको स्थापना गरेर मात्र नारीजातिको मुक्ति सम्भव हुन्छ भन्ने मान्यताले सही दिशानिर्देश गरेको ठहर गर्दै श्रमिक र उत्पीडित महिलाहरूले आफ्नो भूमिका त्यही कुरामा केन्द्रीकरण गर्दै आइरहेका छन् । ८ मार्चलाई श्रमजीवी, मुक्तिकामी महिलाहरूले हर्ष र उत्सवको रूपमा भन्दा पनि श्रमिक महिला मुक्तिको पेरणा र श्रमिक महिला अधिकारको मुक्तिको सही दिशाबोध र खुट्किलोको रूपमा बुझ्नुपर्दछ । श्रमिक महिला दिवसको सन्दर्भ वैज्ञानिक समाजवाद स्थापनाको विषयसँग पनि जोडिने भएकाले अनिवार्य संसारभरका श्रमिक–उत्पीडित महिलाहरूले आफ्नो समान अधिकारका लागि पुँजीवादको अन्त्य वा ध्वंसको विषयसँग पनि जोडेर हेर्नु–बुझ्नु अनिवार्य हुन्छ । त्यसैले अखिल नेपाल महिला संघ क्रान्तिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई वैज्ञानिक समाजवादको विषयसँग जोडेर यो दिवसलाई मनाउँदै आइरहेको छ ।

दोश्रो : नारीवादी पुँजीवादी महिलाहरूले यसको महत्वलाई बुझ्ने र आत्मसात गर्ने विषय । उनीहरूको पक्षधरता पुँजीवादतर्फ नै केन्द्रीकरण भएकाले यसको महत्वलाई केवल एउटा तत्कालीन अवस्थाको सफलताको रूपमा मात्र हेर्ने गर्दछन् । उनीहरूले यो दिवसलाई पनि पैसासँग वा पुँजीसँग दाँजेर हेर्ने गरेका छन् । यिनीहरूले अन्तर्राष्ट्रिय श्रमिकहरूको मुक्तिसँग (८ मार्च) जोडेर हेर्न चाहँदैनन् । सम्पूर्ण खाले उत्पीडनको अन्त्यसँग यिनीहरूको कुनै सम्बन्ध रहँदैन । त्यसैले उनीहरू अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा हैन, केवल नारी दिवसको (केवल सानो विषयका) रूपमा मात्र मनाउँदै आएको पाइन्छ । यसले श्रमिक महिला तथा उत्पीडित जनतासँग जोडिने मुक्तिको सवाललाई बेवास्ता गरेको हुन्छ । यसको वर्गीय पक्षधरता भनेको पुँजीवाद वा साम्राज्यवाद वा उत्तर–साम्राज्यवादको पक्षपोषण र त्यसकै मलजल गर्ने भूमिकातर्फ नै जतिसक्दो केन्द्रित गरेका हुन्छन्, यो दृष्टिकोणको श्रमिक महिलाको उत्पीडनको अन्त्य गर्ने भूमिकासँग जोडिन सक्दैन र यो गलत छ ।

पुँजीवाद र महिला अधिकार

पुँजीवाद आज निगम पुँजीवादमा प्रवेश गरेको छ भने, साम्राज्यवाद उत्तर–साम्राज्यवादमा प्रवेश गरेको छ । श्रमिक÷उत्पीडित महिलाको अधिकारमा सबैभन्दा धेरै वाधक र अवरोधक यिनै निगम पुँजीवादीहरू र उत्तर–साम्राज्यवादीहरू नै छन् । निगम पुँजीवाद आज बहुराष्ट्रिय कम्पनीमार्फत जनतालाई उत्पीडन गर्न र आफूले सारा संसारको सम्पत्ति केन्द्रीकरण गर्न लागिपरेको छ । यो परिवेशमा महिलाहरूमाथि विभिन्न शोषण, उत्पीडन, असमानता, विभेद, यौन–शोषण र उपभोग्य वस्तुको रूपमा आजसम्म पनि पुँजीवादले प्रयोग गर्दै आइरहेको छ । हामीले सानो उदाहरण हेर्न सक्छौँ जस्तो कि अमेरिकी कम्पनी एप्पलको उत्कृष्ट उत्पादनहरू आईफोन, आईप्याड, ल्यापटपका ग्याजेटहरू अधिकांश चिनियाँ महिलाहरूले जडान गर्दछन् । ती जडान गरिएका सामानहरू ९९.९ प्रतिशत बढी मूल्यमा बिक्री गर्ने र ती जडान गर्ने महिलाहरूको ज्याला अत्यन्त न्यून स्तरको छ । उनीहरूलाई खान पुग्दैन र धेरै काम गर्नुपर्ने वाध्यता छ तर तिनै एप्पल कम्पनीका मालिक बिल गेट्स संसारकै धनीमध्येमा पर्दछन् । त्यस्तै, अन्य ठूला बहुराष्ट्रिय कम्पनीहरूमा पनि न्यूनस्तरका कामहरू गर्ने महिला नै छन् । उनीहरूलाई अत्यन्त न्यून ज्याला दिइन्छ । नेपालको सन्दर्भमा पनि गलैँचा बुन्ने, चाउचाउ प्याकेटिङ गर्ने, कपी किताब ब्यान्डिङ गर्ने, विभिन्न सिँगारका सामानहरूको मिलाउने, यहाँसम्म कि विभिन्न सहकारी/बैंक र वित्तीय संस्थाहरूसम्म अत्यधिक महिलाहरूलाई नै न्यून ज्यालामा आफ्नो पैसा संकलन गर्न राखिरहेका छन् ।

आजको २१ औं शताब्दीको युगमा पनि पुँजीवादले देहव्यापारका लागि कोठी संचालन गरेर महिलाहरूलाई देहव्यापार गर्न बाध्य पारिन्छ । यहँसम्म कि पुँजीवादले महिलाहरूको कोखलाई मेसिनको रूपमा प्रयोग गरेको छ । आफ्नो बच्चा अरूको पेटमा हुर्काइन्छ, जन्माइन्छ र लगिन्छ, यसप्रकारका काममा महिलाहरू किन तयार भए होलान् ? यो सोचनीय विषय छ । अवश्य यदि महिलाहरूलाई समान अधिकार, उचित रोजगारीको व्यवस्था र सुविधा राज्यले दिने हो भने यसप्रकारका निच काम गर्न महिलाहरू तयारी हुने थिएनन् । पुँजीवादले विभिन्न तहको सुन्दरी प्रतियोगिताको नाममा महिलाहरूलाई उपभोग्य वस्तुको रूपमा प्रयोग गरिएको छ । त्यसैले महिलाको अधिकारका लागि सबैभन्दा खतरनाक र घातक प्रवृत्ति भनेको पुँजीवादी प्रवृत्तिहरू नै हुन् । जसले महिलालाई केवल उपभोग्य वस्तुका रूपमा मात्र परिभाषित गरेको छ । पुँजीवादमा वा साम्राज्यावादमा वा उत्तर–साम्राज्यवादमा महिलाहरूको अधिकार सुनिश्चित हुनै सक्दैन । त्यसैले सम्पूर्ण महिला पुँजीवादको अन्त्यका लागि एकताबद्ध हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि संघर्षमा होमिनुपर्दछ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र वैज्ञानिक समाजवाद

“इतिहासको ज्ञान भएको जे कसैलाई पनि थाहा हुनुपर्दछ कि महान् सामाजिक परिवर्तनहरू महिला विद्रोहबिना असम्भव हुन्छ ।” विश्व सर्वहारावर्गका महान् नेता कार्ल माक्र्सले यो कुरा बताउनुभएको थियो । आजसम्मको संघर्षको इतिहासमा महिलाहरूको भूमिका चानचुनै छैन तर संसारभर महिलाहरू अपमानित, अपहेलित, अधिकारविहीन, समानताविहीन अवस्थामा छन । यसको लागि पुँजीवादी–साम्राज्यवादी र उत्तर–साम्राज्यवादीहरू नै अवरोधक छन् । उनीहरूलाई परास्त गरेर त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य हुन्छ । यो गौरवपूर्ण यात्रामा संसारभरिका उत्पीडित–श्रमजीवी महिलाहरू सामेल हुने वा बनाउने कुराले महिलाको अधिकारको सुनिश्चितता हुने कुरा स्वतः जोडिएको हुन्छ । त्यसैले नै पुँजीवादको ध्वंस र वैज्ञानिक समाजवादको स्थापनाको दिशानिर्देश महान् नेतृ क्लारा जेट्किन, रोजा लग्जेम्बर्ग, जेनी माक्र्स, इलेनर माक्र्स, एन क्रुप्स्काया, च्याङचिङ, अ कोलोन्ताईलगायतका महिला नेतृहरूले गरेका थिए र त्यसको सम्बन्ध अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) सँग जोडिएको छ ।

हामै्र देशको सन्दर्भमा पनि यो कुरा लागू हुने विषय हो । अहिले देशको राष्ट्रपति नै विद्यादेवी भण्डारी महिला छन् । ओनसरी घर्ती सभामुख बने । सुशीला कार्की प्रधान न्यायधिस बनिन् । पार्टीहरूमा थुपै्र महिला नेतृहरू केन्द्रीय स्तरमा नै देखिन्छन् तर किन महिलाको अधिकार सुनिश्चित हुन सकेन त ? मुख्य विषय यसैमा केन्द्रित छ । किनकि उनीहरू दलाल, सामाजिक दलाल पुँजीवादी प्रवृत्तिको प्रतिनिधित्व गर्थे । उनीहरूको वैचारिक पक्षधरता दलाल र सामाजिक दलाल पुँजीवादी थियो । दलाल तथा सामाजिक दलाल पुँजीवादीहरू जनविरोधी र महिला मुक्ति विरोधी भएका कारणले गर्दा उनीहरूले नेपालको महिलाका समस्यालाई समाधान गर्न सकेनन् । केवल पदमा बसे, सुविधाको भत्ता खाए तर महिला अधिकारका बारेमा कुनै पनि काम गरेको देखिएन । बरु बोक्सीको आरोपमा महिलाको हत्यासमेत भयो । दाइजोको नाममा छोरी–बुहारीको हत्यासम्म गरियो । त्यसैले यो दलाल संसद्वादी व्यवस्था रहेसम्म जो सुकै महिला ? जे सुकै पदमा आसिन बने पनि त्यसले महिलाको अधिकारलाई सुनिश्चित गर्न नसक्ने कुरा प्रस्टै छ ।

यही कुरा विश्वस्तरमा समेत देखिन्छ । भारतमा इन्द्रिरा गान्धी २४ जनवरी १९६६ देखि २४ अप्रिल १९७७ सम्म १० वर्ष र फेरि १५ जनवरी १९८० देखि ३१ अक्टुबर १९८४ सम्म ४ वर्ष गरेर झन्डै १५ वर्ष प्रधानमन्त्रीको कुर्सीमा आसिन बनिन् तर भारतमा महिलाहरूको उत्पीडनको अन्त्य हुन सकेन । त्यस्तै बंगलादेशमा खालिदा जिया, शेख हसिना प्रधानमन्त्री बनिन् तर बंगलादेशको महिलाको उत्पीडन अन्त्य हुन सकेन । श्री लंकामा चन्द्रिकाकुमारा तुङ्गा र सिरिमाभो बन्दरानाइके प्रधानमन्त्री बने तर त्यहाँ पनि महिलाहरूको उत्पीडन हल हुन सकेन । यस्ता विश्वमा प्रशस्त उदाहरण हेर्न सकिन्छ किनकि उनीहरू पुँजीवादी नै थिए, र उनीहरूले वैज्ञानिक समाजवादी विचार÷दर्शनलाई आत्मसात गरेका थिएनन् ।

अब हामी सबै उत्पीडित तथा श्रमिक महिलाहरू पुँजीवादी विचार दृष्टिकोणमा अलमलिएर बस्नुहँुदैन । उनीहरूको भ्रममा पर्नुहँुदैन । हाम्रो सही विचार दर्शन भनेको वैज्ञानिक सामाजवादी विचार दर्शन हो । यसैको आधारमा हामी सम्पूर्ण उत्पीडनको हल खोज्न सक्नेछाँै । महिला मुक्ति र उत्पीडनको समस्याबाट छुट्कारा पाउने सही बाटो वैज्ञानिक सामाजवादी व्यवस्थाले नै देखाउन सक्नेछ । यही गौरवपूर्ण अभियानमा महिलाहरू सामेल हुने कुराले नै सही ढंगले (८ माचर्¬) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सार्थकता प्राप्त हुनेछ र महिला मुक्तिको सवाल यसैसँग जोडिनेछ ।

२०७४ फागुन २२ गते अपरान्ह ५  : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :