आगामी शिक्षक आन्दोलनबारे : लालबहादुर बिसी

नेपालका क्रान्तिकारी शिक्षकहरूको एक मात्र पेसागत संस्था अखिल नेपाल शिक्षक सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलन यही २०७४ साल फागुन ११ र १२ गते कैलालीमा हुँदैछ । यही सन्दर्भमा शिक्षक आन्दोलनलाई अब कसरी लिनु पर्दछ भन्ने विषयमा आलेखमार्फत प्रस्ट पार्न खोजिएको छ । शिक्षकको पेसागत हकहित र शैक्षिक सुधारका लागि मागहरू राखेर शिक्षक आन्दोलन हुँदै आएको छ । २०३६ सालमा भएको शिक्षक आन्दोलनले प्राप्त गरेका उपलब्धिबाहेक पछिल्लो चरणमा भएका शिक्षक आन्दोलनबाट शिक्षकहरूले केही पनि पाएका छैनन् । शिक्षकहरू पनि आस्थाका आधारमा दर्जनौँ शिक्षक सङ्गठनमा सङ्गठित भएका छन् । २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले गरेको आन्दोलनबाट सञ्चयकोष, स्थायी गर्ने प्रक्रिया, ग्रेडजस्ता उपलब्धि भएका थिए । त्यसपछिको समयमा शिक्षक आन्दोलनका क्रममा सरकारसँग पटकपटक सहमति भए तर कार्यान्वयन हुन सकेनन् । शिक्षकहरूका मागहरू विशुद्ध पेसागत मात्र छैनन् । मुलुक र जनताका पक्षमा हुने शिक्षाप्रणालीको निर्माण र सुशासनसँग जोडिएका छन् । २०४२ सालको काठमाडौँ जाऔँ आन्दोलन, २०६४ जेठमा नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले गरेको ११ दिने शैक्षिक संस्था बन्दको आन्दोलन र २०६८ पुसदेखि चैतसम्म भएको संयुक्त शैक्षिक आन्दोलन नेपालको इतिहासमा महत्वपूर्ण र स्मरणीय छन् । एकल आन्दोलन त दर्जनौँपटक भएका छन् । जबजब शिक्षक आन्दोलन उत्कर्षमा पुग्छ सरकार आन्दोलनकारी शिक्षकहरूसँग माग पूरा गर्ने सहमति गर्छ तर सहमति कार्यान्वयन कहिल्यै गर्दैन । यो विषयलाई आमशिक्षक–कर्मचारीहरूले गहिरोसँग बुझ्न जरुरी छ । शिक्षक–कर्मचारीका माग पूरा नहुने कारणहरू यसप्रकार छन्–
१. शिक्षक समुदाय श्रमिक वर्ग हो । श्रमिकको माग पूरा हुन श्रमिकका पक्षमा हुने राजनीतिक व्यवस्था चाहिन्छ । अहिलेको दलाल संसदीय व्यवस्थाले शिक्षक–कर्मचारीको माग पूरा गर्दैन । संसदीय पार्टीको गलत सोचाइ र चिन्तनले गर्दा श्रमिक पक्षीय ऐननियम बन्दैन ।
२. शिक्षामा विदेशी बजेट ससर्त ल्याउने गरिएको छ । त्यसैले हाम्रो शिक्षा नीति निर्माण विदेशीको स्वार्थमा बन्ने गर्दछ । हाम्रो देशको मौलिकता र आवश्यकतामा शिक्षा नीति नबन्ने भएकाले ।
३. नेपालमा राजनीतिक व्यवस्था फेरबदल भइरहेको छ । तर सत्ताको संरचना राणाकालीन आधारमा रहेको छ । कर्मचारीतन्त्रमा पुरानो सोचाइ र चिन्तन हावी छ । कर्मचारीतन्त्रले नयाँ परिवर्तनलाई आत्मसात गर्दैन । शिक्षक–कर्मचारीको माग पूरा हुन नदिन कर्मचारीतन्त्रले अनावश्यक बखेडा गर्छ । माग पूरा हुन दिँदैन । शिक्षा नीति सत्ता र संरचनामा कर्मचारीतन्त्र हावी छ जसका कारण श्रमिकका पक्षमा काम हुँदैन ।
४. पेसागत र शैक्षिक मुद्दामा शिक्षक– कर्मचारी एकताबद्ध हुन सकेका छैनन् । शिक्षकहरूको साझा संस्था नेपाल शिक्षक महासङ्घ बनाए पनि त्यो पुरानो आग्रह र पूर्वाग्रहबाट माथि उठ्न सकेको छैन । केही शिक्षकहरूका संस्थाहरू अहिले पनि शिक्षक महासङ्घमा आबद्ध छैनन् ।
५. शिक्षक–कर्मचारीले उठाएका शैक्षिक र पेसागत मुद्दाहरू जनताका बीचमा पु¥याउन सकिएको छैन । शिक्षकले उठाएका मुद्दाहरू पेसागत मात्र नभएर जनताको शिक्षामा पहुँच पु¥याउने र शैक्षिक गुणस्तरसँग जोडिएका छन् । यी विषय अभिभावकको बीचमा पु¥याउन नसक्दा जनताको साथ शिक्षकले पाउन सकेका छैनौँ । शिक्षकले आफू सरकारी विद्यालयमा पढाउने, आफ्ना सन्तान निजी स्कुलमा पढाउने र निजी बोर्डिङमा लगानी गर्ने गरिएकाले जनतामा शिक्षकहरूप्रति नकारात्मक दृष्टिकोण निर्माण भएको छ । शिक्षकको कक्षाकोठाप्रति उदासीनताले गर्दा शिक्षक र अभिभावकबीच सम्बन्ध राम्रो बन्न सकिराखेको छैन ।

हाम्रो देशको शिक्षक आन्दोलन घिसेपिटे प्रकारको छ । सहमति सम्झौतामा टुङ्गिन्छ, कार्यान्वयन हुँदैन । यसैले गर्दा शिक्षकका संस्था र यसको नेतृत्वमाथि आमशिक्षक–कर्मचारीको विश्वास छैन । आगामी दिनमा शिक्षक–कर्मचारीको बीचमा एकता गरी बदलिँदो परिस्थितिमा नयाँ आधारमा शिक्षक आन्दोलन उठाउनु पर्दछ । दलाल संसदीय पार्टी स्वदेशी÷विदेशी गैरसरकारी संस्थाको प्रभावबाट शिक्षक आन्दोलनलाई मुक्त गर्नुपर्दछ । अभिभावक र विद्यार्थीको सहयोग र समर्थन पाउने वातावरण निर्माण गर्नुपर्दछ । आन्दोलनलाई सम्झौतामा टुङ्ग्याउने संस्कार र संस्कृति अन्त्य गर्नुपर्दछ ।

शिक्षकको पेसागत हकहित प्राप्त गर्न शिक्षक– कर्मचारीलाई सङ्गठित गरी लक्षित उद्देश्य पूरा गर्न योजनाबद्ध ढङ्गले कार्यक्रम निर्माण गरी सम्बन्धित पक्षसँग आवाज पु¥याउने प्रक्रिया नै शिक्षक नेतृत्व हो । शिक्षक नेतृत्वमा सामाजिक संवाद र सौदाबाजी गर्ने सीप चाहिन्छ । पेसाप्रति जबाफदेही, उत्तरदायित्व लिनसक्ने, शैक्षिक बहस र पैरवी गर्नसक्ने र आवश्यकता अभियान सञ्चालन गर्नसक्ने क्षमता नेतृत्वमा हुनुपर्दछ । साथै शैक्षिक विचार दृष्टिकोण दिनसक्ने, उक्त विचारका आधारमा सदस्यहरूलाई सङ्गठित गर्नसक्ने क्षमता पनि नेतृत्वमा हुनुपर्दछ । शिक्षक नेतृत्वको मुख्य कार्यक्षेत्र, संवाद, सहकार्य, वृत्तिविकास, सङ्गठन निर्माण, कार्यसम्बन्ध विस्तार, मार्गचित्र निर्माण, दूरदृष्टि लक्ष्य निर्धारण, कार्यपत्र र प्रतिवेदन लेखन, सेमिनार तथा बैठक सञ्चालन र पक्षीकरण हुनुपर्दछ ।
हाम्रो देशका शिक्षकहरूको नेतृत्व शिक्षक– कर्मचारीबाट कति धेरै कटेको छ भने उनीहरूमाथि शिक्षक–कर्मचारीकै विश्वास छैन । जब आस्थाको सरकार बन्दछ, जिशिअ, विनि, आरपी र शिक्षकहरूको आर्थिक लेनदेनमा सरुवा गर्न व्यस्त हुने गर्दछ । शिक्षक नेतृत्व शैक्षिक गुणस्तरको कुरा गर्ने तर आफू विद्यालयमा कहिल्यै नजाने गर्दछ । आन्दोलनलाई सम्झौतामा टुङ्ग्याउन लाग्ने, आफू केन्द्रित माग राख्ने आत्मकेन्द्रित उत्तरआधुनिकतावादको प्रभावमा परेको छ । यस्तो चिन्तन र दृष्टिकोण भएको शिक्षकको नेतृत्व र संस्थाले शिक्षक–कर्मचारीको पेसागत सुरक्षा गर्न सक्दैन । शिक्षण नेतृत्व सही क्रान्तिकारी विचारबाट प्रशिक्षित, त्याग र बलिदान गर्ने हुनुपर्दछ । शिक्षक नेतृत्वको सक्षमता भनेकै शैक्षिक चिन्तन, दृष्टिकोण निर्माण, मानवस्रोत व्यवस्थापन क्षमता र कार्य व्यवस्थापन कला हुनुपर्दछ साथै जनताको सुख–दुःखसँग प्रत्यक्ष जोडिएको हुनुपर्दछ ।

हाम्रो देशमा भएका समाज रूपान्तरण र राजनीतिक परिवर्तनको आन्दोलनमा शिक्षक समुदायको महत्वपूर्ण योगदान रहेको छ । राजनीतिक परिवर्तनमा सक्रियतापूर्वक सहभागी शिक्षकहरू सत्ता र सरकार परिवर्तनपछि शासकहरूको उत्पीडनमा रहनु परेको छ । संसदीय पार्टीहरूले आन्दोलन र निर्वाचनको समयमा फुक्र्याएर शिक्षकहरूलाई परिचालन गर्ने, सरकारमा गएपछि शिक्षकहरूले राजनीति गर्नु हुँदैन भनेर कोकोहोलो मच्चाउने गर्दछन् । यसको प्रत्यक्ष उदाहरण शिक्षा ऐन २०२८ को आठौँ संशोधनमा शिक्षकले राजनीति गर्नु हुँदैन भन्ने कुरा संसदीय पार्टीहरूले सदनबाट पारित गरेका छन् । अहिले स्थानीय निकायका करप्टेड प्रतिनिधिहरूले शिक्षकहरूलाई सरुवाको धम्की दिइरहेका छन् । शिक्षा विभाग चुप बसेको छ । शिक्षा ऐन मात्र ७५३ वटा बन्ने भएका छन् । स्थानीय निकायका प्रतिनिधिहरूले शिक्षानीति निर्माणमा निजी स्कुलको प्रतिनिधि राखेर निजीकरणलाई प्रोत्साहन दिइरहेका छन् । श्रमऐन २०७४ लाई कार्यान्वयन गर्ने विषयमा स्थानीय निकाय मौन छ । शिक्षक व्यवस्थापनका विषयमा सरकारसँग कुनै योजना छैन ।
शिक्षक एउटा बौद्धिक श्रमिक समुदाय हो । आजको सूचनाप्रविधि र विज्ञानमा आएको परिवर्तनका कारण मजदुरको परिभाषा पनि परिवर्तन भएको छ । हस्तकृत श्रमको

ठाउँमा यन्त्रबाट काम हुन लाग्यो । त्यसैले श्रमिकको परिभाषामा पनि परिवर्तन आएको हो । शिक्षक मध्यम वर्ग हो तर यो समुदाय शासक वर्गबाट उत्पीडनमा रहँदै आएको छ । अहिले विश्वमा औद्योगिक सम्बन्ध कमजोर हुनुको कारण मजदुरको सङ्ख्या कम छ । पछिल्लो समयमा मध्यमवर्ग र निम्नमध्यमवर्गको विकास ठूलो सङ्ख्यामा हुँदैछ । तथ्याङ्कअनुसार नेपालमा यसको सङ्ख्या २४ प्रतिशत छ । यसको कारण पनि अरू केही नभएर नेपालको आर्थिक सम्बन्ध फरक हुनुले हो । नेपालको आर्थिक सम्बन्ध नोकरशाही अर्थसम्बन्धतिर जानु र बजार पुँजी बढ्नुले मध्यमवर्गको विकास हुन पुगेको छ । यो वर्गलाई सामान्यतः बढी ढुलमूले, अवसरवादी, अस्थिर, पुरानो सत्ताको सहयोगीका रूपमा बुझ्ने गरिन्छ । यसको स्वभाव ढुलमूले हुँदाहुँदै पनि परिवर्तनका पक्षमा रहेको देखिन्छ । अर्काेतिर यो वर्ग प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी चरित्रको छैन । यसले परिवर्तन र अग्रगमनलाई समर्थन गर्दै आएको छ भने अब पनि परिवर्तन र प्रगतिकै पक्षमा रहने देखिन्छ । नेपाली समाज रूपान्तरणमा शिक्षक समुदायलाई मुख्य आधार शक्तिका रूपमा मानिएकाले शिक्षकहरूले के कुरा बुझ्न जरुरी छ भने जनताको मुक्तिसँगै मर्यादित शिक्षण पेसाको सुनिश्चितताका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा हुने जनक्रान्तिमा सहभागी हनु पर्दछ । आफ्नो वर्गको राजनीतिक व्यवस्थाको स्थापनाबिना शिक्षण पेसाको ग्यारेन्टी नहुने भएकाले शिक्षकहरू दलाल संसदीय व्यवस्थाका विरुद्ध उभिनुपर्ने जरुरी छ ।

नेपाली शिक्षक आन्दोलन गोलचक्करमा फसेको छ । शिक्षक–कर्मचारीका पेसागत सङ्गठनहरू राजनीतिक पार्टीको निर्देशन र नियन्त्रणमा रहेका छन् । शिक्षक सङ्गठनको नेतृत्व ट्रेड युनियन अधिकारका लागि आन्दोलन गर्नेभन्दा पनि सङ्गठनको नेता हुनुको सट्टा आफ्नो समयअवधि जागिर पाएको जस्तो व्यवहार गरेको देखिन्छ । सरकारले दिने सामान्य सुविधाको पछि लागेर आफ्ना सदस्यहरूको पेसागत अधिकारप्रति आँखा चिम्लेको अवस्था छ । यद्यपि केही शिक्षकका संस्थाहरू शिक्षक–कर्मचारीका पेसागत हकहित र अधिकारका निम्ति निरन्तर आन्दोलनमा रहेको पाइन्छ । शिक्षक आन्दोलनलाई निरन्तरता दिएर शिक्षकको पेसागत सुरक्षाका लागि शिक्षक सङ्गठनहरू हरदम सचेत हुन जरुरी छ ।

विद्यालय मानव जनशक्ति उत्पादन गर्ने कारखाना हो । शिक्षक त्यस कारखानाका योग्यतम मेसिन हुन् । मेसिनमा गड्बडी आयो भने योग्य र दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन । उत्पादित भएको जनशक्ति पनि काम लाग्ने हुँदैन । शिक्षक भनेको बौद्धिक र शारीरिक श्रम गर्ने समुदाय हो । आज विश्वमा भएको सूचनाप्रविधिको विकास र विज्ञानले गरेको चमत्कारका कारण श्रमको स्थानान्तरण भएको छ । १९ औँ शताब्दीको जस्ता मजदुर आज छैनन् । मान्छेको हातले गर्ने श्रम यन्त्रले गर्दछ । त्यसैले आज पुँजीवादले श्रमिकको शोषण नयाँ तरिकाले गरेको छ । विश्वको अर्थतन्त्र, राजनीति, शिक्षालगायत सबै क्षेत्रमा निगम पुँजीले नियन्त्रण गरेको छ । श्रमिकको परिभाषा परिवर्तन भएको छ । शिक्षक मानसिक श्रम गर्ने श्रमिक हो । उसको शोषण दलाल संसदीय व्यवस्थाले गरेको छ । शिक्षक–कर्मचारीले न्यून तलबभत्तामा काम गर्नुपर्ने बाध्यता छ । दलाल संसदीय पुँजीवादी व्यवस्थाले श्रमिक वर्गको हित गर्दैन । श्रमिक वर्गको शोषण गर्दछ । श्रमिकको सम्मानजनक पेसाको सुनिश्चितताका लागि श्रमिक वर्गको व्यवस्था चाहिन्छ । शिक्षक समुदायले बुझ्नुपर्ने कुरा के छ भने दलाल संसदीय व्यवस्थाको अन्त्य गरी श्रमिक वर्गका पक्षमा हुने व्यवस्थाको स्थापनाबिना शिक्षक–कर्मचारीको शिक्षण पेसाको हित हुन सक्दैन । विगतमा भएको शिक्षक आन्दोलन र राज्यसँग भएका सहमति–सम्झौता अहिलेसम्म कार्यान्वयन नहुनुको मुख्य कारण शिक्षक–कर्मचारीका पक्षमा यो व्यवस्था छैन भन्ने कुरा बुझ्न जरुरी छ । शिक्षक–कर्मचारीका पक्षमा संसदीय पार्टी र सामाजिक दलालहरू छैनन् । उनीहरू सत्ताबाहिर हुँदा आफ्नो हितका लागि शिक्षकहरूलाई प्रयोग गर्छन्, सरकारमा भएपछि शिक्षक–कर्मचारीका पेसागत समस्या सुन्ने गर्दैनन् । विगतमा काङ्ग्रेस, एमाले, माओवादी केन्द्रलगायत पार्टीहरूले सरकारको नेतृत्व गरे । अहिले पनि वाम गठबन्धनका नाममा केपी ओलीको नेतृत्वमा सरकार बनेको छ । उनी पनि शिक्षक–कर्मचारीको पेसागत हित र सुरक्षाका पक्षमा छैनन् । सामाजिक दलालहरूले उत्पीडित शिक्षक–कर्मचारीको पेसागात माग पूरा गर्दैनन् । शिक्षक–कर्मचारीको मागका विरुद्ध बोल्दै हिँडेका छन् । अब आगामी शिक्षक आन्दोलन यसरी गर्नुपर्छ–
१. आगामी दिनमा शिक्षक आन्दोलनलाई राजनीतिक आन्दोलनसँग जोड्नु पर्दछ किनकि शिक्षक श्रमिक समुदाय भएकाले वर्तमान दलाल संसदीय व्यवस्थाले श्रमिकको पेसागत अधिकारको ग्यारेन्टी गर्दैन । श्रमिकपक्षीय राजनीतिक व्यवस्था चाहिन्छ । एकीकृत जनक्रान्तिको कार्यदिशासँग पेसागत आन्दोलनलाई एकाकार गर्नु पर्दछ । पुरानो सत्ताको विचार, दृष्टिकोण र बुर्जुवा सच्चाइको भण्डाफोर गरी जनताका पक्षमा हुने सच्चाइको व्यापक प्रचारप्रसार गरेर जनतामा जागरण फैलाउनु पर्दछ ।
२. शिक्षक आन्दोलन अभिभावक र विद्यार्थीबाट कटेको छ । त्यसैले हाम्रा पेसागत हकहित र ट्रेड युनियन अधिकारको कुरा उठाउँदा जनताको प्रत्यक्ष जीवन र जगत्सँग जोडिएको शैक्षिक एजेन्डालाई प्राथमिकतासाथ उठाउनुपर्छ । जनशिक्षाको मुद्दालाई जोडदार रूपमा उठाउनु पर्दछ ।
३. शिक्षकहरूले कक्षाकोठामा इमानदारीसाथ शिक्षण गर्नुपर्छ । कक्षाकोठासँगको सम्बन्ध भनेको जनतासँगको सम्बन्ध हो । कर्तव्यनिष्ठ शिक्षकलाई जनताको सहयोग र समर्थन रहन्छ । जनताको सहयोग र समर्थन लिन प्रभावकारी शिक्षणका लागि मेहनत गर्नुपर्छ ।
४. राजनीतिक आस्था फरक भएका पेसागत मुद्दामा सहमति भएका शिक्षकहरूको नेपाल शिक्षक महासङ्घ बनेको छ । यसको नेतृत्व अहिले घोर पुरातनवादी राजनीतिक विचार र दृष्टिकोणबाट निर्देशित छ । वर्तमान नेतृत्वबाट शिक्षक–कर्मचारीको पेसागत हकहितको ग्यारेन्टी हुन सक्दैन । त्यसैले पहिलो काम नेपाल शिक्षक महासङ्घमा परिवर्तनकारी चिन्तन र दृष्टिकोण राख्ने नेतृत्व लिन पहल गर्ने । यो काममा विजय हासिल गर्न नसकेमा विचार, दृष्टिकोण र शैक्षिक पेसागत मुद्दा मिल्नेहरूको नयाँ साझा मोर्चा निर्माण गरी आन्दोलन अगाडि बढाउने काममा लाग्नु पर्दछ ।
५. वर्तमान सरकार, शिक्षा मन्त्रालयसँग समन्वय र सम्झौताको सम्बन्ध गर्नु हुँदैन । योसँग सङ्घर्षको सम्बन्ध बनाउनु पर्दछ ।
६. शिक्षक–कर्मचारीका पक्षमा उठाइएका पेसागत र शैक्षिक मुद्दालाई आमशिक्षक–कर्मचारीका बीचमा प्रचारप्रसार गर्नुपर्दछ ।
७.हजारौँ शिक्षक–कर्मचारीलाई पुरानो सत्ताले विचार, दृष्टिकोण र राजनीतिक आधारमा भ्रम उत्पन्न गरेको छ । दलाल संसदीय राजनीतिक पार्टीले पारेको भ्रमलाई भन्डाफोर गर्दै वैज्ञानिक सच्चाइलाई स्थापित गर्न आमशिक्षक–कर्मचारीलाई सङ्गठित गर्नुपर्छ ।
८. हाम्रो शिक्षक आन्दोलन परम्परावादी छ । आन्दोलनको नयाँ सिर्जनात्मक स्वरूपको निर्माण गर्ने र शैक्षिक आन्दोलन वैधानिक घेराबाट माथि उठाएर आन्दोलनका सबै रूपको प्रयोग गर्नुपर्दछ ।

शिक्षक आन्दोलन राजनीतिक आन्दोलनसँग एकाकार गर्नुपर्दछ । शिक्षकहरूले पेसागत आन्दोलन गर्दा शिक्षामा आमूल परिवर्तन र शैक्षिक सुधारका एजेन्डालाई समेत उठाउनु पर्दछ । एकीकृत जनक्रान्तिको कार्यदिशासँग ट्रेड युनियन अधिकार र पेसागत हकहितको एजेन्डालाई जोडेर आमशिक्षक र विद्यालय कर्मचारी आन्दोलनमा सहभागी हुनुपर्छ । पुराना सोचाइ र दृष्टिकोणका विरुद्ध शिक्षक–कर्मचारीलाई एकताबद्ध गरी शैक्षिक परिवर्तन र शिक्षण पेसाको ग्यारेन्टीका लागि आन्दोलन गर्नु जरुरी छ । स्रोत : रातो खबर साप्ताहिक

२०७४ फागुन २२ गते बिहान ९: ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :