केपीको सामाजिक दलाल पुँजीवाद र दुईध्रुवीय अन्तर्विरोध  :  चिरन पुन                          

 विषय प्रवेश 

‘तीव्र गतिको क्रूरतामा सारा शक्ति लुकेको हुन्छ ।’ दोस्रो विश्वयुद्धको बेला तानाशाह हिटलरले यही नारासहित विश्व जित्न निस्केका थिए । हजार वर्षसम्म शासन गर्ने उनको कल्पना केवल २२ वर्षमै समाप्त हुन पुग्यो । आफूलाई कहिल्यै नहार्ने, कहिल्यै नझुक्ने र कहिल्यै नढल्ने कल्पना गरेका हिटलर सन् १९४५ अप्रिल ३० मा आत्महत्या गरेर मर्नुपर्ने अवस्था उत्पन्न भयो । यसले के कुरा पुष्टि गर्छ भने जहाँ अन्याय हुन्छ त्यहाँ विरोध हुन्छ । जहाँ विरोध हुन्छ त्यहाँ दमन हुन्छ । जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । यसरी जनताको प्रतिरोधले उत्पीडनकारी शासनसत्ता फालिदिन्छ र नयाँ शासन व्यवस्थाको सुरुआत गरिदिन्छ । यही प्रक्रियाले आजसम्म संसार अघि बढ्दै यहाँसम्म आइपुगेको छ । 

केपीको प्रारम्भिक यात्रा 

अहिले एमाले नेता केपी पुरानो सत्ताको प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेको १ साता पनि नपुग्दै नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनका क्रममा विराटनगरमा पार्टीका स्थायी समिति सदस्य कमरेड सुदर्शन र पीबीएम कमरेड विकासलाई गिरफ्तार गरेर आफ्नो प्रारम्भिक पहिचान दिलाएका मात्र छैनन्, शान्तिपूर्ण कार्यक्रम गर्न पाउने जनताको अधिकारमाथि धावा बोलेर कथित गणतन्त्रात्मक संविधानको धज्जी पनि उडाएका छन् । केपी सरकार प्रारम्भिक चरणमै नेकपाका नेता:कार्यकर्ता, समर्थक / शुुभचिन्तकलाई गिरफ्तार गर्ने, झुट्टा मुद्दामा फसाउने, जेल हाल्ने योजनामा लागिपरेको देखिन्छ । भारतीय साम्राज्यवादले दिनहुँ सीमा मिचिरहेको छ । भ्रष्टाचारले जनता आक्रान्त बनेको छ । मुलुक कालोबजारी:कमिसनखोर, तस्कर:बिचौलियाहरूको रजाइँस्थल बनेको छ । राष्ट्रघात र जनघातका कैयौँ समस्याहरू जकडिएर बसेका छन् । मूल्यवृद्धिले आकाश छोएको छ । दिनहुँ हजारौँ युवा बिदेसिने क्रम रोकिएको छैन । राजनीति ठेकेदार, व्यापारी र तस्करहरूको हातमा पुगेको छ । यी र यस्ता समस्याहरूतिर केपीको कुनै ध्यान छैन । तर नेकपाका नेता÷कार्यकर्ता खोज्न, गिरफ्तार गर्न, झुट्टा मुद्दामा फसाउन टुप्पीदेखिको बल लगाएर कस्सिएका छन् केपीमण्डलीहरू । 

केपीका विश्वासपात्र मानिएका कथित १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधनले त युवा सम्मेलनमा आएका सबैलाई गिरफ्तार गरेर मुद्दा लगाउनुपर्ने निर्देशन जारी गरेको कुरा बाहिरै आयो । कथित चुनावको बेला जनताले गरेको प्रतिकारबाट संयोगले जीवनदान पाएका शेरधनहरू र केपीहरूलाई सायद लागेकै होला– नेकपा गिरफ्तारीले झुक्छ ! झुट्टा मुद्दाले आत्तिन्छ ! जेल/नेल/हिरासतले तर्सिन्छ ! पुलिस/प्रशासनको रबैयाले थर्किन्छ ! यो केवल पुरानो संसद्वादी व्यवस्थाको बासी विचार/प्रवृत्ति र तरिका मात्र हो । यसले न नेपाल कम्युनिस्ट पार्टीको गौरवपूर्ण यात्रा रोकिन्छ, न त एकीकृत जनक्रान्तिको लहर जनतामा पुग्न छोड्छ । बरु क्रान्तिकारीहरूलाई ऊर्जा दिलाउनेछ, एकीकृत जनक्रान्तिलाई सान लगाउनेछ । नेता/कार्यकर्ता/समर्थक/शुभचिन्तक र आम क्रान्तिकारी जनसमुदायलाई झनै ज्वाला बनेर हुर्कन सिकाउनेछ । प्रतिबद्ध र जुझारु बनाउनेछ । चुस्तदुरुस्त बन्न भूमिका निर्वाह गर्नेछ । नेकपा बुझेरै यो दलाल संसद्वादी व्यवस्था फाल्न कस्सिएको हो । जानेरै यो दलाल व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन तम्सिएको हो ।

केपी गुटलाई हेक्का रहोस्, जर्मनमा एडोल्फ हिट्लर ढले, इटालीका तानाशाह बेनिटो मुसोलिनीलाई सन् १९४५ को अप्रिलमा मुक्तिसेनाको हातबाट गिरफ्तार भर्ई मिलानको चौबाटोमा फाँसी दिइयो । फ्रान्सिस्को बहमन्डे फ्रेङ्को कम्युनिस्टविरोधी (स्पेनी तानाशाह) उनको पनि अन्त्य भयो । तत्कालीन फासिवादका विश्वासपात्र बनेका बेलायती प्रधानमन्त्री नेविल चेम्बरलेन र विन्स्टन स्पेन्सर चर्चिलजस्ताको सत्ता बेलायतमा टिकेन । अजम्मरीको बुटी खाएको पञ्चायत ढल्यो । राजा ज्ञानेन्द्रको सत्ता पल्टियो । जनताको आवाजलाई दमन गरेर, प्रहरी लगाएर, मुद्दा हालेर एकीकृत जनक्रान्तिलाई रोक्न सकिन्छ भन्ने लागेको छ भने नेकपा त्यसको प्रतिकारमा तमतयार रहेकै विषय हुने नै भयो । 

सामाजिक दलाल पुँजीवाद 

माक्र्सले पेरिस कम्युन टिक्न नसक्नुमा मुख्य यी ४ कारणहरू रहेको बताउनुभएको छ– एक : बुर्जुवाहरूमाथि सर्वहारा अधिनायकत्व लागू गर्न नसक्नु, दुई : सेना निर्माण नगर्नु, तीन : बैङ्क तथा वित्तीय संस्थाहरू कब्जा गर्न नसक्नु, चार : बुर्जुवा वर्गले दिएको झुट्टो आश्वासनप्रति बढी विश्वास गर्नु । माक्र्सको यो भनाइ निकै सान्दर्भिक छ । पेरिस कम्युनमा यी विषयहरूलाई ध्यान दिइएको भए सायद पेरिस कम्युनको आयु लम्बिन सक्थ्यो होला । रसियामा मार्च १९१७ मा जारशाहीको अन्त्य, ७ नोभेम्बर १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न भयो । यो नै पहिलो वैज्ञानिक समाजवादी सत्ता थियो । रुसको सन्दर्भमा भन्नुपर्दा बोल्सेबिकहरू जनताको असली पात्र बन्न सफल बने र उनीहरूकै नेतृत्वमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सफल पनि भए तर मेन्सेबिकहरू दक्षिणपन्थी बाटो समात्दै पतनको बाटोमा लागे । यही सन्दर्भ नेपालमा पनि लागू हुने र देखिने विषय बन्यो । त्यही मेन्सेबिक र खुस्चेबी बाटोमा यहाँका केपी÷प्रचण्ड गुट लागे र सामाजिक दलाल पुँजीवादको खाल्डोमा भास्सिन पुगेका छन् । 

अहिले झापा विद्रोहबाट जन्मिएको एमाले/केपी तथा १० बर्से महान् जनयुद्धबाट उम्रिएका माके/प्रचण्डको नेतृत्वमा बनेको कथित वाम गठबन्धन पूरै सामाजिक दलाल पुँजीवादी गठबन्धनमा पतन भएको छ । यसको रूप पक्षलाई हेर्दा यो वाम खोलमा छ, कम्युनिस्ट झन्डामा छ । नामका अघि वा पछि कम्युनिस्ट शव्द झुन्ड्याएर पनि हिँड्ने गर्दछ । केही समृद्धि र समाजवादको कुरा पनि गर्दछ । केही विकास र समानताको नारा पनि लगाउँछ तर यसको सार पक्षलाई हेर्दा यो पूरै सामाजिक दलाल पुँजीवादमा पतन भएको छ । दर्शनमा विचलन, सिद्धान्तमा विचलन, राजनीतिमा विचलन, कम्युनिस्ट रणनीति र कार्यनीतिमा विचलन, नैतिकतामा विचलन हुँदै यो पूरै भ्रष्टीकरणमा पुगेको छ । उत्तरसाम्राज्यवादको दलाली र चाकडी यसको पर्यायवाची बनेको छ । निगम पुँजीलाई प्रोत्साहन दिने र बिचौलिया पुँजीबाट आफ्नो भुँडी भर्ने खेलोमेलो यसको दैनिकी बनेको छ । दलाल संसदीय व्यवस्थालाई अजम्मरीको बुटी मानेर संसद्वादमा चुर्लुम्मै डुबिसकेको छ । राष्ट्रघात, जनघात, जनहत्या, लुटपाट, तस्करी, कालोबजारी, ठेक्कापट्टा र कमिसनको चक्करमा देशलाई बन्धकी राख्नसमेत तयार बनेको एमाले÷माके गठबन्धन सामाजिक दलाल पुँजीवादमा पूरै पतन भैसकेको छ । त्यसैले यो प्रवृत्तिसँग जनताले मित्रशक्तिको भूमिकाले हैन, पूरै दुस्मन शक्तिको व्यवहार सम्पूर्ण ढङ्गले बदलिनुपर्ने आवश्यकता बनेको छ । एकातिर क्रान्तिकारी शक्ति वा जनताको बलियो एकता, अर्कोतिर दलाल संसद्वादी सत्ता, दलाल तथा सामाजिक दलाल पुँजीवादी शक्ति र प्रवृत्तिका बीच हुने लडाइँ÷द्वन्द्व वा अन्तर्विरोधले वैज्ञानिक समाजवादको जन्म दिनेछ । एकीकृत जनक्रान्तिको माध्यमबाट हामी वैज्ञानिक समाजवादी व्यवस्थाको सङ्घारमा प्रवेश गर्नेछौँ । 

अक्टोबर क्रान्तिले क्रान्तिकारीका लागि महान् योगदानहरू दिएको सन्दर्भ हाम्राअगाडि जगजाहेर छ । पहिलो वैज्ञानिक समाजवादी सत्ता स्थापना, सर्वहारावर्गीय अधिनायकत्व लागू, माक्र्सवादका आधारमा पार्टी सङ्गठन निर्माण, कम्युनिस्ट पार्टीको सङ्गठनात्मक पद्धतिको विकास, तेस्रो अन्तर्राष्ट्रिय स्थापना र विकास, समाजवादलाई विश्वभर फैलाउनु, माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमा विकास गर्नु र सोभियत मजदुर, किसान र सेनासहित स्थापना गर्नु रहेका छन् । यो वैचारिक परिवेशको बाटोमा हिँड्नुको साटो पूरै विचलन र पदभ्रष्ट हुँदै दलाल पुँजीवादी प्रवृत्तिजस्तै सामाजिक दलाल पुँजीवादी प्रवृत्ति पनि जनविरोधी तत्वमा परिणत बनेका छन् । 

सोभियत सङ्घमा कमरेड स्टालिनको मृत्युपछि निकिता ख्रुस्चेबको आगमनले जसरी ५ सिद्धान्त– एक : शान्तिपूर्ण सहअस्तित्व, दुई : शान्तिपूर्ण सङ्क्रमण, तीन : शान्तिपूर्ण प्रतिस्पर्धा (आर्थिक), चार : सम्पूर्ण जनताको राज्यसत्ता, पाँच : सम्पूर्ण जनताको पार्टीका नाममा ख्रुस्चेबी संशोधनवाद लागू ग¥यो । त्यसैगरी केपी:एमाले र प्रचण्ड:माके पनि पूरै क्रान्तिकारी भूमिकाबाट च्यूत बन्दै सामाजिक दलाल पुँजीवादमा भासिएका छन् । जनताका निम्ति दलाल पुँजीवादजस्तै खतरनाक भूमिकामा सामाजिक दलाल पुँजीवाद पनि क्रियाशील छ । यो शक्ति पूरै जनविरोधी र राष्ट्रविरोधी कित्तामा पुगिसकेको छ । दलाल संसद्वादी सत्ताको असली मतियार बनेर साम्राज्यवादको सेवामा लम्पसार परी संसद्वादको सेवामा लागेका शक्ति सामाजिक दलाल पुँजीवादीहरू हुन् । एमाले:माके गठबन्धनले लिएको सामाजिक दलाल पुँजीवादी बाटो जनहित र राष्ट्रहितविपरीत छ । त्यसैले यसका विरुद्ध सबै क्रान्तिकारीहरू गोलबन्द र एकताबद्ध हुनु आवश्यकता छ ।

आजको दुईध्रुवीय अन्तर्विरोध र हाम्रो पक्षधरता

पुँजीवादी:साम्राज्यवादी:उत्तरसाम्राज्यवादी अन्तर्विरोध दुई धु्रवमा वा बहुधु्रवमा केन्द्रीकरण हुँदै गैरहेको छ । विश्व अर्थतन्त्र निगम पुँजीको हातमा प्रवेश गर्दै त्यहाँ पनि बहुध्रुवीय अन्तर्विरोध खडा भएको छ । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा रुस र चीन अमेरिकाका प्रतिद्वन्द्वी रहेको र रुस र चीनसँग रणनीतिक प्रतिस्पर्धा गर्नुपर्ने प्रस्ताव गरेर आफ्नो अलग धु्रवको पहिचान विश्वसामु प्रस्ट्याए । अमेरिका र उत्तरकोरियाबीच बढेको तनाव, आणविक होडबाजी, तत्काल रुसले त्यसका विरुद्ध गरेको प्रतिवाद, चीनले गरेको भत्र्सना मननयोग्य बनेको छ । दक्षिणएसियामा चीन र भारतको दोक्लाममा भएको विवाददेखि गत डिसेम्बरमा भारतीय जासुसी ड्रोनलाई चीनले खसालेका सन्दर्भहरूले एसियामा समेत यो धु्रव देखापर्दै गैरहेको छ । पाकिस्तान र भारतको निरन्तर विवाद, रणनीतिक साझेदार देश अमेरिका पाकिस्तानलाई छोडेर भारततर्फ मोडिएको छ । पाकिस्तान खुलेआम चीनसँगको गठबन्धनमा पुग्नुले दक्षिणएसियामा समेत अन्तरविरोधले चुली चुम्दै गैरहेको अवस्था बनेको छ । कहाँसम्म भने विज्ञ र जानकारहरूले फेरि तेस्रो विश्वयुद्ध र शीतयुद्धको प्रक्रियामा प्रवेश गरेको कुरा बारम्बार बताइरहेका छन् । 

यसै सन्दर्भमा नेपालको राजनीतिमा पनि दुईध्रुवीय अन्तर्विरोध देखापरेको छ । विश्वस्तरमा मुलुकहरूका बीच अन्तर्विरोध छ भने हाम्रो देशमा भिन्न प्रवृत्तिहरूमा दुईधु्रवीय द्वन्द्व उत्पन्न भएको छ– एकातिर दलाल पँुजीवादी धार, सामाजिक दलाल पुँजीवादी धार, राजावादी संसदीय पुँजीवादी धार र मधेसवादीसहितको दलाल संसदीय व्यवस्थालाई मान्ने प्रवृत्तिहरू क्रियाशील छन् भने अर्कोतिर, क्रान्तिकारी दर्शन, सिद्धान्त र राजनीतिक धारको वरिपरि किसान, मजदुर, श्रमजीवी मध्यमवर्ग, देशभक्त, राष्ट्रवादीलगायत क्रान्तिकारी शक्तिहरू क्रियाशील बनेका छन् । यी शक्तिहरूबीचको द्वन्द्व र अन्तर्विरोधले निर्णायक क्रान्तितर्फ मुलुकलाई जबर्जस्ती धकेलिरहेको परिवेश बन्दै गैरहेको छ । यसले एकातिर दलाल संसद्वादीहरूको गठजोडलाई बढाउँदै लगेको छ भने अर्कोतिर देशभक्त तथा राष्ट्रभक्त शक्तिहरूको बलियो एकता, मजदुर, किसान, मध्यमवर्ग (नयाँ श्रमिक वर्ग), युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, शिक्षक, कर्मचारी, देशभक्त, राष्ट्रभक्तलगायत क्रान्तिकारी जनसमुदायहरूको धु्रवीकरण र एकतालाई बलियो बनाउने दिशातर्फ केन्द्रीकरण बन्दै गएको छ । अहिलेको सन्दर्भमा देखापरेको यही अन्तर्विरोधले पुरानो दलाल संसदीय सत्तालाई अन्त्य गर्ने एकीकृत जनक्रान्तिको बीजारोपण भएको छ । वैज्ञानिक समाजवादको ढोका खोल्ने आधार सिर्जना भएको छ । नेपाल कम्युनिस्ट पार्टी यो अभियानमा लागेको छ । कमरेड विप्लवको नेतृत्वमा क्रियाशील यो पार्टी नै क्रान्तिकारी जनताको साथ र समर्थनमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनार्थ लामबद्ध बनेको छ । आवश्यक जेल÷नेल÷हिरासत, आवश्यक बलिदान र आवश्यक प्रतिवादयुक्त एकीकृत जनक्रान्तिको सुन्दर मार्गमा लागेको छ । यही पक्षधरता क्रान्तिकारीहरूको सही पक्षधरता बनेको छ । गिरफ्तार कामरेडहरू रिहा गर ! केपी÷प्रचण्डको सामाजिक दलाल पुँजीवाद मुर्दावाद ! एकीकृत जनक्रान्ति— जिन्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद ! स्रोत : रातो खबर साप्ताहिक

२०७४ फागुन २१९ गते दिउँसो २ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :