देउरालीका सहिद परिवारको सम्मान

रामेछाप  : नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा रामेछापको सालु–देउराली हत्याकाण्डका महान् सहिदहरूका परिवारहरूको अभिनन्दन गरेका छन् । सहिद सप्ताह कार्यक्रमअन्तर्गत फागुन १७ गते देउरालीमा आयोजित उक्त कार्यक्रममा सहिद परिवारका आफन्तहरूलाई ने.क.पा. रामेछापका इन्चार्ज जमिन र ने.क.पा. (क्रान्तिकारी माओवादी) का इन्चार्ज गगनले सम्मान तथा अभिनन्दनपत्र प्रदान गरी खादा र खास्टो ओढाउनु भएको थियो । दुवै पार्टीका इन्चार्जले सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँहरूले सबैलाई वैज्ञानिक समाजवादको दिशामा अघि बढौँ भन्ने आह्वान पनि गर्नुभयो । नेकपाका यमन बस्नेत ‘गुञ्जन’ को अध्यक्षता र नेकपाकै जीतमान घताने ‘विद्रोह’ को सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी) का लाङ्घालीले शुभकामना मन्तव्य गर्नुभएको थियो ।

स्मरणीय छ, वि.सं. २०५९ कात्तिक २७ गते तत्कालीन शाहीसेनाका जल्लादहरूले रामेछापको देउरालीमा नेत्रबहादुर कार्की, प्रकाश बस्नेत, रामजी श्रेष्ठ, टेकबहादुर बस्नेत, लोकबहादुर भुजेल र राजकुमार के.सी. को सामूहिक हत्या गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीले हरेक वर्ष सहिद सप्ताह (फागुन १४–२१) मा महान् जनयुद्धका सहिदहरूको स्मृति गर्दै सहिद परिवारहरूलाई सम्मान गर्ने गरेको छ ।

२०७४ फागुन १९ गते दिउँसो ३ : ५७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :