शहीद सप्ताह र क्रान्तिकारीहरुको दायित्व


नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले सशस्त्र संघर्षमा लामबद्ध हुने क्रममा उच्च शहादात प्राप्त गर्ने झापा विद्रोह र महान् जनयुद्धका शहीदहरुको सम्मानमा प्रत्येक वर्ष फागुन १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह मनाइन्छ । प्रत्येक वर्ष आफूलाई माओवादी भन्न रुचाउने शक्तिहरुले यो शहीद सप्ताहमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन् ।

झापा विद्रोहको नेतृत्व गर्ने अहिलेको एमाले र त्यसका अध्यक्ष केपी ओली सरकारको प्रधानमन्त्री बनेका छन् । त्यसैगरी जनयुद्धको नेतृत्व गरेका प्रचण्डको पार्टी उक्त सरकारमा सामेल भएको छ । सबैलाई थाहा छ वर्तमान राज्य व्यवस्था नयाँ जनवादी होइन, बरु दलाल संसदीय व्यवस्था हो । नयाँ जनवादी व्यवस्था स्थापनाको अभिष्ट बोकेर गरिएका झापा विद्रोह र दश वर्षे जनयुद्धका मुख्य नेताहरुले नै वर्गघात गर्दै देशीवदेशी प्रतिक्रियावादका सामू आत्मासमर्पण गरी पुरानै राज्यव्यवस्थामा समाहित हुन पुगेका छन् । वर्गीय स्वार्थ पूर्णरुपले छाडि व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुवेका यी महाशयहरुले यसै व्यवस्थामा समाजवाद लागू गर्ने भ्रम छरिरहेका छन् ।

शहीद सप्ताहको दिन पारेर माओवादी केन्द्रका नेता तथा जनयुद्धका एक जना योजनाकार रामबहादुर थापा(बादल) यही व्यवस्था अन्तर्गतको सरकारका गृहमन्त्रीको सपथ खान पुगेका छन् । उनले गृहमन्त्री हुने बित्तिक्कै देशमा शान्ति सुरक्षा कायम गर्न सबै काम गर्ने भनेका छन् । यसरी हिजोको क्रान्तिकारी पार्टी मुख्य नेताहरु प्रचण्ड, बाबुराम र बादलहरुले यही संसदीय व्यवस्थालाई स्वीकार गरेका मात्र होइनन् कि यसको रक्षा गर्ने प्रतिबद्धता जारी गरेका छन् । उनीहरुको यो प्रक्रियाले एकातिर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा नै ठूलो गद्दारी गरेका छन् भनें, अहिले आएर क्रान्तिकारी शक्तिहरुमाथि दमन गर्न थालेका छन् ।

त्यसैले अहिले नेपालका सच्चा क्रान्तिकारीहरुका सामु चुनौतिहरु खडा भएका छन् । हिजोका आफ्नै नेताहरु जो पुरानो राज्य प्रणालीको रक्षक बन्न पुगेका छन् उनीहरुका सबैखाल तिकडमबाजीहरुलाई चिर्नु पर्ने भएको छ । उनीहरुले फैलाएका सबैखाले भ्रमहरुको पर्दाफास गर्नु पर्ने भएको छ । उनीहरुले थापर्दै गएका दमनहरुलाई तोड्नु पर्नेछ ।

नेपाली जनवादी क्रान्तिले नेपालको राजतन्त्रको अन्त त ग¥यो । तर जनताको राज्य व्यवस्था स्थापना हुन सकेको छैन । जनयुद्धकालमा शहादात प्राप्त गर्ने सबै शहीदहरुले देखेको सपना नेपालमा जनवाद स्थापना गर्दै समाजवाद हुँदै साम्यावाद हो । विगत १२ वर्षदेखि नेपालको क्रान्तिमा रोकावट आएको छ । त्यो क्रान्तिलाई पुनः शुरु गर्दै सफलतासम्म पु¥याउनु पर्दछ । नेपालको सन्दर्भमा नेपालको क्रान्तिलाई एकीकृत जनक्रान्तिका माध्यमबाट पूरा गर्नु पर्दछ । त्यसैले अहिले नेपाली सच्चा क्रान्तिकारीहरुका सामू नवसंशोधनवादीहरुका भ्रमलाई चिरी क्रान्तिलाई पूरा गर्ने दायित्व रहेको छ । सम्पादकीय
२०७४ फागुन १६ गते अपरान्ह ३ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :