जनयुद्धको डायरी : एकराज भण्डारी, वरिष्ठ अधिवक्ता

२०६० साल भदौ १० गते बुधबार

२०५२ साल फागुन १ गते अर्थात् १३ फेब्रअरी १९९६ मङ्गलबार नेपालमा नेकपा (माओवादी) को नेतृत्वमा मालेमावादको आलोकमा नेपाली जनताले महान् जनयुद्धको थालनी गरेका हुन् । ‘प्रतिक्रियावादी राज्यसत्ता ध्वंस गराँँै, नयाँ जनवादी व्यवस्था स्थापना गरौँ’ भन्ने नाराका साथ नेपाली धर्तीमा सदियौँदेखि रहेको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक आधारमा वर्र्गीय, क्षेत्रीय, जातीय र लङ्ैगिक रूपमा रहेको विभेद, शोषण र उत्पीडन अन्त्य गर्दै नेपाली जनताको मुक्तिका लागि नयाँ नेपाल निर्माणका लागि र अन्ततः विश्व सर्वहारावर्गको सत्ता प्राप्तिका लागि सशस्त्र एवम् दीर्घकालीन जनयुद्धको जन्म भएको हो । जनयुद्ध यतिखेर आठौँ वर्षमा छ । संसारभरका मुक्तिकामी जनताद्वारा सबैखालका उत्पीडनका विरुद्ध आफ्नो मुक्तिका लागि लडिने जनयुद्धलाई सधैँ आतङ्कवाद देख्ने, यसलाई दबाउने नाममा विश्व साम्राज्यवाद एवम् विस्तारवादको इशारामा फौजीआतङ्क मच्चाउँदै आएको नेपालको प्रतिक्रियावादी राज्यसत्ता नेकपा (माओवादी) सँग २०५८ सालमा वार्तामा बस्न बाध्य भयो । तर माओवादीले अधिकतम लचक भएर राखेको संविधानसभाको एजेन्डा स्वीकार नगरेर सरकार आफँैले वार्ता भङ्ग ग¥यो । राज्य स्वयम् आतङ्कमा उत्रियो । पुनः २०५९ सालमा वार्तामा बस्यो । दोरम्बाजस्ता घृणित घटना घटाएर पुनः राज्य आफैँले वार्ता भङ्ग ग¥यो । नेपाली महान् छोराछोरीहरू थुपै्र सहिद भए, थुप्रै बेपत्ता पारिए, कैयन् घाइते बनाइए, कैयन घरवारविहीन भए । तर पनि जनयुद्ध अझै घनीभूत हुँदै गइरहेको छ । आज म अचम्मित छु– म पनि काठमाडौँबाट ओलप भएँ । अहिले रातिसम्म ठेगान छ तर भोलिको छैन । भोलिको ठेगान बिहानै हुनेछ । अब काठमाडौँ फर्कने–नफर्कने वा कहिले ? थाहा छैन । सबै कुरा शान्ता र सलोनीलाई भन्न पनि मिलेन । लखनउ अध्ययनका लागि जानेसम्म भनेँ । यसघि काठमाडौँमा पनि भूमिगत भएर बस्नु परेको थियो तर यस्तो अनुभूति भएको थिएन । तर आज अलि फरक अनुभूति भइरहेको छ । तर पनि मनमा कत्ति पनि भय छैन । बरु कौतुहल छ । मर्न डर छैन । लोभ पनि छैन । विपीन मनमा आउँछ, मन झन् दह्रो हुँदै जान्छ । मलाई अस्ति भर्खर सर्वोच्च अदालत बार प्राङ्गणमा एकजना सिनियर वकिल मित्रले ठट्टामा भनेको कुराले खुब छोयो । उहाँले आजभोलि प्रचण्ड–बाबुरामले मर्न आऊ भन्दा पनि मान्छेहरू लाम लाग्छन् तर गिरिजा र माधव नेपालले भोज खान आऊ भन्दा पनि आउँदैनन्, किन होला ? भन्नुभएको थियो ।

प्रतिक्रियावादीहरूको गठबन्धनको राजाको सरकार संविधानसभामार्फत नयाँ संविधान निर्माण गर्ने कुरामा सहमत भएन । आफूलाई प्रजातन्त्रवादी भनाउने सरकारले जनताको अभिमत लिएर जनताको चाहनाअनुसार संविधान बनाउन चाहेन । तानाशाही रूप सबैका सामु छर्लङ्ग भयो ।पार्टीको योजनाअनुसार म पनि हाम्रो आधारइलाकातिर जाँदैछु । खिमलाल देवकोटा र म सँगै छौँ । भित्रभित्रै आज म एकदमै खुसी छु ।आजदेखि म आफ्नो दैनिकी लेख्न थालेको छु । यतिखेर म बुटवलको एउटा सरकारी अड्डाको आवासको सुरक्षित कोठामा बसेर यो डायरी लेख्दैछु । भोलि बिहानै हामी गन्तव्य स्थानतिर लाग्दैछौँ ।

वार्ता त एक ढङ्गले पहिला नै सरकार पक्षले नै भङ्ग गरिसकेको थियो । तर हाम्रो पार्टीको आजको सार्वजनिक वक्तव्यले त्यसलाई औपचारिकता दिएको हो । प्रतिक्रियावादी सरकारले विदेशीको इशारामा देश र जनताको भविष्यसँग खेलबाड ग¥यो । उसको जनविरोधी र हत्यारो रूप जनतासामु उदाङ्गो भयो । देशका विभिन्न ग्रामीण क्षेत्रमा हत्यारो शाहीसेना पठाएर हत्या–आतङ्क मच्चाउन थाल्यो । नेकपा (माओवादी) का नेतृत्वप्रति गिद्देदृष्टि राखेको कुरा जनताले बेलैमा बुझे । फलस्वरूप वार्ता अगाडि बढ्न सकेन । वार्ता केका लागि ? प्रतिक्रियावादी सरकार नबुझेझैँ गर्न थाल्यो । वार्ता भङ्ग पनि स्वयम् सरकारले नै ग¥यो ।

विभिन्न क्षेत्रमा काम गर्ने बौद्धिक जमात, जसले जनताका पक्षमा, न्यायका पक्षमा, शोषण र उत्पीडनको विपक्षमा बहस गर्दै आइरहेका छन्, ती सबैलाई प्रतिक्रियावादी सरकारले स्वतन्त्र रूपमा पेसाव्यवसाय गर्न दिएन । आफैँले बनाएको संविधानमा उल्लिखित मौलिक हकको आफैँबाट ठाडो उल्लघन ग¥यो । विदेशीको इशारामा नाच्दै २१ औैँ शताब्दीको तानाशाह बन्ने दिवास्वप्न देखिरहेको राजाले मरिसकेको २०४७ को संविधानको धारा १२७ लाई टेकेर शासन गर्न थाल्यो । सर्वसाधारण जनतालाई ज्यान जोगाउन कठिन भएको छ । तर प्रतिक्रियावादी सरकारलाई यसको कुनै पर्वाह छैन । यसले के पुष्टि गर्छ भने तनाशाहको आयु छोटिँदैछ । तर जे होस्, दुस्मनसँग घनीभूत ढङ्गले लड्नु त छँदैछ ।

हामी साँझ ५ः३० बजेतिर भैरहवा एयरपोर्टमा उत्रियौँ । हामी जब एयरपोर्टको गेटबाट बाहिरिँदै थियौँ अचानक एउटा खाइलाग्दो मानिस आएर हामीलाई सोध्यो– खिमलाल देवकोटा को हुनुहुन्छ ? हामी त एकैचोटि छानाबाट खसेजस्तै खङ्रङ्गै भयौँ किनकि त्यो मानिस कुनै सुरक्षाकर्मीजस्तै देखिन्थ्यो । तर ती मानिस कुनै सरक्षाकर्मी नभई काठमाडौँबाट हाम्रा परिवारमध्ये कुनैले टेलिफोन गरी सोअनुसार बुटवलको कुनै कार्यालयबाट हामीलाई बुटवलसम्म गाडीमा ल्याउनका लागि पठाइएअनुसार आएका ड्राइभर पो रहेछन् । एकक्षण त हामी जिल्ल प¥यौँ । पछि उनीसँग कुरा भएपछि पो थाहा भयो, ती मानिसले हामीलाई सेनाको सुरक्षाको घेरामा पार्किङ गरी राखिएको जिपमा चढाए । सशस्त्र तैनाथ एकजना सेनाको सिपाही नजिकै आएर हामी चढेको गाडीको ड्राइभरलाई फौजी पाराले सोध्यो, ‘तपाईंको पाउना आउनुभो ?’ ड्राइभरले स्वीकारोक्तिमा टाउको हल्लाएर ‘हजुर…’ भन्ने जबाफ दिए । सेनाले पनि फौजी स्वरमा जानुस् भनेर ड्राइभरलाई जान आदेश दिए । हामीलाई गाडीले बुटवल बजारस्थित एउटा भव्य सरकारी आवासगृहमा पु¥यायो । आजको रात एउटा सुन्दर र सुरक्षित कोठामा बसेर म यो डायरी लेख्दैछु । भोलि बिहानै गन्तव्य स्थानतिर जानु छ । बाहिर केही तनाव पनि छ । यसबारे सोचविचार भोलि बिहानै गरौँला । अहिलेलाई यत्ति, गुड नाइट ।

२०६१ साल वैशाख २३ गते

भेरी–कर्णाली जनसैन्य मार्च कार्यक्रमको दौरानमा हाम्रो एउटा टिम कर्णालीका जुम्ला, हुम्ला, मुगु, कालीकोट जिल्लाहरूतर्फ जाँदैछौँ । टिममा क. राजीव र म्याडम, क. चन्द्रकान्त, म र सहयोगी कमरेडहरू क. विशिष्ठ, क. विमर्शसमेत चारजना गरी जम्मा आठजना छौँ । पार्टीको योजनामुताबिक हाम्रा आआपना जिम्मेवारीका कार्ययोजना पूरा गर्न हामी त्यसतर्पm जाँदैछौँ । क्षेत्रअन्तर्गत न्याय विभाग मेरो विशेष जिम्मेवारी हो । वर्तमान परिस्थितिमा हाम्रा आधारइलाकामा पुरानो सत्ता विस्थापित भएर जनताद्वारा नयाँ जनसत्ताहरू धमाधम स्थापित एवम् विकसित हँुदैछन् । यही सन्दर्भमा म पनि नयाँ जनसत्ता सञ्चालनार्थ आवश्यक जनन्यायिक पद्धति र कानुनका बारेमा जनतासँंग छलफल गर्ने, जनताबाट सिक्ने, जनतालाई सिकाउने, त्यसैगरी राजनीतिक र वैचारिक विषयमा पनि सिक्ने र सिकाउने साथै सामन्तवादी राज्यसत्ताको उत्पीडनमा परेका कर्णालीका जनता, भूगोल, इतिहास र संस्कृतिका बारेमा जान्ने मेरो उत्कट इच्छासमेत पूरा गर्ने उद्देश्यका साथ जाँदैछु ।

भरखरै मात्र संयुक्त क्रान्तिकारी जनपरिषद् भेरी–कर्णालीअन्तर्गत जाजरकोट जिल्ला जनसरकारको बैठक सम्पन्न भएको छ । हामी पनि जाजरकोटको रग्दामा सम्पन्न उक्त बैठकमा सहभागी भएर त्यहीँबाट जुम्लातिर प्रस्थान गर्दैछौँ । रग्दाबाट सेपुखोला बास बसेर हिजो सेपुखोलाबाट मूलसाम बास बस्न आइपुग्यौँ । जाजरकोटको यो मूलसामबाट जुम्ला टोप्ला पुग्न स्थानीय जनतालाई पैदल आधा दिन लाग्छ । तर हामी भने त्यति हिँड्न सक्दैनौँ । हिमचुली दिउँसो १२ बजेभन्दा पहिला नै पार गरिसक्नुपर्दाे रहेछ, नत्र हुरीले बाधा पु¥याउने रहेछ । त्यसैले हामी १२ बजेभन्दा पहिला हिमचुली पार गर्नका लागि मूलसामबाट हिँडेर बीच बाटोमा बास बस्नुपथ्र्याे । टोप्ला नपुगुन्जेल बाटोमा बास बस्नका लागि कुनै गाउँघर, गोठ, बस्ती थिएन । बास बस्नलाई चाहिने सामल–तामल बोकेर स्थानीय दुईजना जनतालाई बाटो चिनाउनका लागि साथै लिएर हामी १० जना मूलसामबाट बिहानको खाना खाएर ८ः०० बजेतिर बाटो लाग्यौँ । जाजरकोटको उत्तरतिरको अग्लो भागमा रहेको यो मूलसाम जुम्लासँंग जोडिएको गाजस हो । यहाँको उत्पादनले यहाँका जनतालाई मुस्किलले छ महिना खाना पुग्छ भनेर स्थानीय जनता बताउँछन् । केही युवकहरू भारततिर मजदुरी गर्न जान्छन् । गरिबी, रोग, भोक व्याप्त छ । तर राजनीतिक चेतना भने छ । राजा र राजाको सेना हाम्रो दुस्मन हो, माओवादी यसको विरुद्धमा लडिरहेको छ भन्ने कुरा यहाँका जोकोहीले बताउँछन् । गाउँको बीचमा, बाटो छेउमै घर भएकी आफ्नो नाम नबताउने बूढीआमै आफूले यस्ता धेरै कुरा माओवादीबाट सुनेको बताउँछिन् ।

हामी बिस्तारै हिँड्यौँ । बाटोमा जङ्गलको बीचमा एउटा ठूलो ओडार भेट्यौँ । यसलाई धौला ओडार भनिँदो रहेछ । हिँड्ने समय त अझै छ, दिन डुबेकै छैनन् तर अगाडि यस्तो ओत भएको ओडार छैन रे । त्यसैले आज हामी यहीँ बास बस्यौँ । वैशाख महिना भए पनि एकदमै चीसो छ यहाँ । हामीले पार गर्नुपर्ने मूलसामको लेकमा टनक्कै हिउँ छ रे । घोडा, भेडा, गाई, भैँसी लिएर जुम्ला जान हिँडेका गोठालाहरू बाक्लो हिउँ छिचोल्न नसकेर हिउँ पग्लेपछि जाने भनी पाल टाँगेर पर्खिबसेका छन् ।

हामी भोलि बिहानै ३ः०० बजे हिँड्नु छ । खाना चाँडै खायौँ । हिमचुली लेकमा हिँड्दा लेक लाग्छ रे, वाकवाकी लाग्ने, कम्मर दुख्ने, घुँडा दुख्ने, टाउको दुख्ने आदि हुन्छ रे । त्यसैले त्यसको औषधिका लागि भनेर बेलुकी नै रोटी, मकैको पिठो र महबाट बनाइएको कसार, नुन खुर्सानीको अचार, भोटेलसुन तयार पारी आआफ्नो झोलामा राख्यौँ । गोठालाहरू ओडारमा हिउँपानी पर्दा भेडा–बाख्राहरू राख्दा रहेछन् । बाक्लै बड्कौँला छन् । त्यसमै घाँस बिछ्याएर आफूसँग भएको केही कपडा प्रयोग गरेर सुत्यौँ । आजको बास काइदाको भयो । (क्रमशः)
स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन १३ गते दिउँसो ३ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :