एमाले–माके एकता एक भद्दा प्रहसन

काठमाडौं : गए राती अबेर गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र का बीचमा पार्टी एकता गर्ने ७ बुँदेमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा एमालेका तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र ईश्वर पोख्रेल तथा माओवादी केन्द्रका तर्फबाट पुष्पकमल दाहाल उर्फ प्रचण्ड, नारायणकाजी र रामबहादुर थापाले हस्ताक्षर गरेका थिए । उनीहरूले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद राख्ने निर्णय गरेका छन् । विगतमा क्रान्तिकारी छवि बोकेका, एकले अर्कालाई उग्रवाम र दक्षिपन्थीको आरोप लगाउँदै आएका यी दुई पार्टीहरू आफ्नो सैद्धान्तिक धरातललाई छाडेर पार्टी एकता गर्ने ठाउँमा उभिएका छन् ।

अहिलेको एमालेले २०२८ सालमा सीपी मैनाली, केपी ओलीको नेतृत्वमा वर्गशत्रु सफाया अभियान चलाएको थियो । उनीहरूले नयाँ जनवादी राज्यसत्ता स्थापना गर्दै समाजवादमा जाने लक्ष्य लिएका थिए । तर २०३८ सालदेखि नै संशोधनवादी लाइन समातेको उक्त समूहले राजतन्त्रात्मक संसदीय व्यवस्था अँगालेको थियो । २०४७ सालपछि संसदीय बहुदलीय व्यवस्थाको वकालत गर्दै आएको थियो । एमालेले २०५२ सालबाट सुरु भएको जनयुद्धको धुवाँधार विरोध मात्र गरेन, २०५८ साल मङ्सीरमा तत्कालीन माओवादीविरुद्ध लगाइएको सङ्कटकाललाई समर्थन पनि गरेको थियो । २०६३ सालमा गणतन्त्रको कुरा गर्दा केपी ओलीले बयल गाडामा चढेर वासिङ्गटन जानुसरह भएको प्रतिक्रिया दिएका थिए । ठीक यसैगरी प्रचण्ड नेतृत्वको माओवादीले ८ महिना अगाडिसम्म एमाले र केपी ओलीका विरुद्ध न्वारनदेखिको बल लगाउने गरेको थियो तर विगत असोज १७ गतेदेखि एकताको कुरा चल्यो । पाँच महिनाको दौरानमा यिनीहरूका बीचमा उतारचढाव चलिराखेको थियो । तर फागुन ७ गते मध्यरातमा एकताको आधारमा हस्ताक्षर भएको छ ।

यो एकतालाई सबैले निकै रहस्यमय रूपमा हेरेका छन् । यो एकता सरल, सहज र जैविक हैन भन्ने निकै तर्कहरू पेस गरिएका छन् । यो एकताका पछाडि नेपालको स्वतन्त्रता नचाहने, क्रान्तिकारी शक्तिलाई कमजोर बनाउने, राष्ट्रियता र जनतन्त्रलाई धरापमा पार्न चाहने शक्तिको हात रहेको भनिएको छ । पञ्चायत कालदेखि नै आईएनजीओको प्रभाव परेको एमालेमा मूल रूपमा युरोपियन युनियन र भारतीय खुफिया सङ्गठन ‘रअ’ को प्रभाव रहेको छ । यसैगरी माकेमा पनि भारतीय ‘रअ’ को प्रभाव रहेको सबैले भन्दै आएको हो । यसरी उनीहरूबीचको अजैविक एकतामा यिनै शक्तिहरूको प्रभाव परेको हुन सक्छ । स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन १२ गते बिहान ९ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :