नेकपाका नेता पक्राउ र प्रहरी हस्तक्षेपको चौतर्फी विरोध

अम्बिका चन्द / काठमाडौं : नेकपा निकट राष्ट्रिय जनस्वयंसेवकको सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेप र नेकपाका नेताकार्यकर्ताहरुलाई पक्राउ गरेको विषयलाई लिएर चौतर्फी विरोध भइरहेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले खुल्ला जनसभामा सरकारद्वारा गरिएको व्यापक धरपकडको निन्दा तथा भत्र्सना गर्दै पक्राउ परेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य पदमबहादुर राई ‘विकास’ लाई विनाशर्त र अविलम्ब रिहाइको माग गरेका छन् । सोमबार एक प्रेस वक्तव्य जारी गरी महासचिव किरणले सरकारको व्यवहारलाई फासीवादी हस्तक्षेपको संज्ञा दिँदै सरकारको कदमले वर्तमान संविधानले तोकेको मौलिक अधिकारको समेत हनन् भएको बताएका छन् ।

यस्तै केन्द्रीय जनपरिषद नेपालले नेकपाका नेताहरुलाई पक्राउ गरेको विषयलाई लिएर घोर भत्र्सना एवं आपत्ति जनाएको छ । जनपरिषद नेपालका संयोजक सन्तोष बुढामगरले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सामान्य लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाउँदै पूर्वघोषित तथा शान्तिपूर्ण कार्यक्रममाथि प्रशासनले दमन र पक्राउ गर्नु घोर निन्दनीय कार्य भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक गोपाल किरातीले पनि सोमबार नै एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारले विनाकारण पक्राउ गरिएका नेकपाका नेता कार्यकर्ताहरुलाई विनाशर्त रिहाईको माग गरेका छन् । किरातीले गणतन्त्रको रक्षाको लागि खड्क ओलीलाई दिएको समर्थन फिर्ता लिन प्रचण्डलाई आग्रह गरेका छन् । राज्य निकै फासिष्ट शैलीमा दमनमा उत्रिएको र यसबाट खड्क ओली सरकारको दिनगन्ती शुरुभएको किरातीको भनाई छ ।

यता जनअधिकार अभियान नेपालले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै नेताद्वयलाई विनाकारण पक्राउ गरिएको भन्दै आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनअधिकार नेपालका संयोजक एकराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण राजनीतिक कार्यक्रममा सरिक हुने, देशभर आवत–जावत गर्ने र व्यक्तिगत स्वतन्त्रता समेतका मौलिक हक लगायतका संवैधानिक, कानुनी एवं आधारभूत मानवअधिकार समेतको ठाडो उल्लंघन गरेको भन्दै जनअधिकार अभियान नेपालले आपत्ति जनाएको छ ।

नयुद्धकालको झल्को दिने गरी नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्ने र झुटा मुद्दा लगाउने सरकारको कार्यले मानवअधिकारको गम्भीर उलघङ्न भएको जनअधिकार अभियानले जनाएको छ । स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन ८ गते बेलुका १० : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :