नेकपाले गरेको बन्दको प्रभाव देशैभरी / बन्दकर्ताद्वारा दजनौं सवारीसाधनमा तोडफोड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले मंगलवार आह्वान गरेको बन्दको प्रभाव देशभरी नै परेको छ । देशको पुर्वीभागमा यसको प्रभाव अत्याधिक परेको छ । बन्दको कारण मोरङको विराटनगर, झापाको झापावजार, दमक, सुनसरीको इटहरी लगायतका ठूलाबजारहरु पूर्णरुपमा ठप्प रहेका छन् । नेकपाले आफनो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्यूरो सदस्य पदमराई‘विकास’लगायतका नेता कार्यकर्ताकहरुलाई पक्राउ गरेको र फागुन ६ गते विराटनगरमा आयोजना गरिएको राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको विरोधमा एक दिने बन्दको आह्वान गरेको हो । बन्दको प्रभाव पोखरा बुटवल कन्चनपुर लगायतका ठूला शहरहरुमा पनि परेको छ । उपत्यकामा भने यसको प्रभाव कम देखिएको छ ।  बन्दको अबज्ञा गरेको भन्दै बन्दकर्ताहरुले देशका विभिन्न ठाउँहरुमा दर्जनौं गाडिहरुमा तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् । बन्दको प्रभाव देशै भरी परेको छ भने झापामा विहान खोलिएका विद्यालयहरु धमाधम बन्द गरिएका छन् । मोरङमा आज हुने भनिएको विज्ञान विषयको परिक्षासमेत स्थगीत भएको छ ।बन्दकर्ताले बन्दको अबज्ञा गरेको भन्दै मोरङ सुनसरी झापाको विभिन्न स्थानमा करिब दुई दर्जन बढि सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् । बन्दकर्ताहरुले विहान ४ बजेनै विराटनगरको सलकपुर र ढाडमा २ वटा मालबहाक ट्रक जलाईदिएका थिए । जिल्लाको सुरुङगा, विर्तामोड, केर्खा, चारपाने, मेचीनगर, काकँडभित्ता, झापा बजारलगायतका ठाउँमा बन्दकर्ताहरुले आफ्ना पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको आक्रोसमा तोडफोड र आगजनीलाई तीव्र पारेका छन् । यता काठमाडौंको बानेश्वरमा पनि बन्दको अबज्ञा गरेको भन्दै वा १ ज ६५०५ नम्वरको माइक्रो बस र अन्य दुईवटा सवारीसाधनमा बन्दकर्ताले तोडफोड गरेको समाचार छ । तोडफोडबाट ट्याक्सी र माइक्रो बसमा क्षति पुगेको हाम्रा काठमाडौं संवाददाताले बताएका छन् । कतिपय ठाउँमा प्रहरीले नेकपा सम्बद्ध कार्यकर्ताहरुलाई पक्राउ समेत गरेको छ । 

२०७४ फागुन ८ गते बिहान ९ :२६ मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :