जनपरिषदद्वारा प्रहरी हस्तक्षेपको विरोध


काठमाडौं : केन्द्रीय जनपरिषद नेपालले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पोलिट ब्युरो सदस्य पदमबहादुर राई ‘विकास’ लगायतलाई प्रहरीले गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गरेको छ । जनपरिषदद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘बोल्न पाउने, संगठन गर्न पाउने, भेला–सम्मेलन गर्न पाउने र लेख्न पाउने सामान्य लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाउँदै पूर्वघोषित तथा शान्तिपूर्ण कार्यक्रममाथि पुलिस प्रशासन लगाएर नेता तथा कार्यकर्ताहरुलाई बिनाकारण लाठीचार्ज र गिरफ्तार गर्नु घोर निन्दनीय कार्य हो।’ केन्द्रीय जनपरिषद नेपालका प्रमुख सन्तोष बुढामगरद्वारा सोमबार साँझ जारी प्रेस वक्तव्यमा नेकपाले फागुन ८ गते आह्वान गरेको नेपाल बन्दलाई न्यायिक र जायज ठान्दै बन्दको पूर्ण समर्थन गरीएको छ । साथै बुढामगरले बन्द सफल पार्न केन्द्र, प्रदेश र स्थानीय तहका जनसत्ताका सम्पूर्ण तह र निकायलाई नेपाल बन्द हरतरहले सफल पार्न पनि निर्देशन गर्दै प्रहरीद्वारा विनाकारण पक्राउ गरिएकाहरुलाई बिना सर्त तुरुन्त रिहाईको माग पनि गरेको छन् । विज्ञप्तिको पूर्णपाठ– 

आदरर्णीय जनसमुदाय, भर्खरै गठित केपी ओली नेतृत्वको सामाजिक दलाल पुँजीवादीहरुको कथित वाम गठबन्धनको सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई पनि रछ्यानमा मिल्काउँदै आफ्नो सामाजिक फाँसीवादी चरित्रलाई उडाङ्गो पारेको छ । यसको उदाहरण हिजो मात्रै नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो राष्ट्रिय भेलाको उद्घाटनमा विराटनगरमा भएको गिरफ्तारी र धरपकडले स्पष्ट पारेको छ ।  हिजो मात्रै बिराटनगरमा भएको राष्ट्रिय युवा जनसेवकको तेस्रो राष्ट्रिय भेलाको उद्घाटन समारोहको उद्घाटन र सम्बोधन गर्न गइरहनु भएका नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य क. सुदर्शन र केन्द्रीय जन परिषद् नेपालका उप–प्रमुख पार्टी पोलिट ब्युरो सदस्य पदमबहादुर राई लगायतका युवाहरुलाई बाटैबाट गिरफ्तार गरी उद्घाटन कार्यक्रममै सरकारी सुरक्षाकर्मीहरुको हस्तक्षेप भएको खबरले हामीलाई अचम्मित बनाएको छ । बोल्न पाउने, संगठन गर्ने, भेला–सम्मेलन गर्न पाउने, लेख्न पाउने सामान्य लोकतान्त्रिक मूल्य मान्यताको पनि धज्जी उडाउँदै एउटा पूर्वघोषित तथा शान्तिपूर्ण कार्यक्रममाथि पुलिस प्रशासन लगाएर नेता तथा कार्यकर्ताहरुलाई बिना कारण लाठीचार्ज र धरपकड गर्नु घोर निन्दनीय कार्य हो । यो कथित कम्युनिस्ट नामधारी सरकारले कम्युनिस्टहरुको बदनाम गर्ने निहित उद्देश्यले गरेको नियोजित कार्य हो । हाम्रो केन्द्रीय जनपरिषद् नेपाल कथित कम्युस्टि सरकारको यो अलोकतान्त्रिक र सामाजिक फाँसीवादी चरित्र र कार्यको घोर निन्दा र भत्र्सना गर्दछ । आज दुई दिन हुँदा पनि गिरफ्तार भएका हाम्रा केन्द्रीय जनपरिषद् नेपालका उप–प्रमुख पदमबहादुर राई र नेकपाको स्थायी समिति सदस्य क. सुदर्शन लगायत तीन जनालाई पुलिस हिरासतमा मानसिक यातना दिदै थुनामा राखिएको छ । हामी उहाँहरुको बिनासर्त तुरुन्त सर्त रिहाई गर्न आग्रह गर्दछौं । सर्बबिदित छ कि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयबाट हिजो मात्र प्रसित प्रेस विज्ञप्तिमार्फत सबै बिषयहरु बारे जानकारी सार्बजनिक भैसकेको छ र गिरफ्तार साथीहरुको रिहाईको माग गर्दै भोली फागुन ८ गते नेपाल बन्दको आह्वान गरिएको छ । केन्द्रीय जनपरिषद नेपालले यसलाई न्यायिक र जायज ठान्दै बन्दको पूर्ण समर्थन गर्दछ र बन्द सफल पार्न केन्द्र, प्रदेश र स्थानीय तहका जनसत्ताका सम्पूर्ण तह र निकायलाई पार्टीद्वारा आह्वान गरिएको भोलीको नेपाल बन्दलाई हरतरहले सफल पार्न पनि निर्देशन गर्दछ । यसका साथै यातायात, शिक्षण संस्था, बजार, कलकारखाना, कार्यालयहरु बन्द गरी सहयोग गरिदिन पनि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ । साथै सुरक्षाकर्मी मित्रहरु, विभिन्न राजनीतिक दल र कार्यालयका कर्मचारी तथा पेशाकर्मी मित्रहरु, पत्रकार मानव अधिकारकर्मीलगायतका सबै राष्ट्रवादी, देशभक्त शक्तिहरु र आम जनसमुदायमा बन्द सफल पार्न सहयोगको लागि हार्दिक अनुरोध छ ।  

२०७४ फागुन ७ गते साेमवार बेलुका १० : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :