नेता पक्राउको विषयलाई लिएर अधिकारकर्मीको ध्यानाकर्षण

काठमाडौं : जनअधिकार अभियान नेपालले नेकपाका नेता हेमन्त प्रकाश ओली‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदम राई ‘विकास’सहितका नेताकार्यकर्तालाई प्रहरीले आइतबार गिरफ्तार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शान्तिपूर्ण राजनीतिक कार्यक्रममा सरिक हुने, देशभर आवत जावत गर्ने र व्यक्तिगत स्वतन्त्रता समेतका मौलिक हक लगायतका संवैधानिक, कानुनी एवं आधारभुत मानवअधिकार समेतको ठाडो उल्लंघन गरेको भन्दै जनअधिकार अभियान नेपालले आपत्ति जनाएको छ । उक्त संगठनका अध्यक्ष एकराज भण्डारीले आइतबार बेलुका एक प्रेस विज्ञप्ति जारी गर्दै  गिरफ्तारीमा परेका नेता तथा कार्यकर्तालाई तत्काल बिनाशर्त रिहाईको लागि सरकारसँग जोडदार मागसमेत गरेका छन् । अध्यक्ष भण्डारीले जारी गरेकोे विज्ञप्तिमा भनिएको छ ‘राजनीतिक विचार वा आस्थाकै आधारमा देशका विभिन्न जिल्लाबाट सरकारद्वारा युद्धकालमा जस्तै बिनाकारण थुप्रै व्यक्तिहरुलाई पक्राउ गरी थुनामा राखी झूट्टा तथा बनावटी तथ्य बनाई केहीलाई मुद्दा चलाउने र धरौटी राखी तारिखमा छुटेकालाई समेत पुनः पक्राउ गरी केही समय बेपत्ता पारी पुनः झूट्टा मुद्दा लगाई थुनामा राख्ने गरेको जस्ता सरकारका कार्यहरुले मानवअधिकार तथा मौलिक हकको गम्भीर उल्लंघन भएको छ ।’ साथै ‘आफ्ना जायज मागहरु सहित राजनीति गर्न पाउनु समेत नागरिकको मौलिक हक एवं अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकार समेत भएकोले नागरिकको मौलिक हक, अधिकार र मानवअधिकारको प्रत्याभूति तथा सम्मान गर्न, राजनीतिक आस्था र विचारको आधारमा पक्राउ नगर्न, मुद्दा नलगाउन, थुनछेक नगर्न, यातना नदिन, थुनामा परेको व्यक्तिलाई कानून व्यवसायीसँग भेट र सल्लाह लिन दिनसमेत जनअधिकार अभियान नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ’ विज्ञप्तीमा उल्लेख छ । साथै, सबै राजनीतिक दल एवं राजनीतिक शक्तिहरुबाट समेत मानवअधिकारका आधारभूत सिद्धान्तहरुको पालना र संरक्षण, सम्मान गरियोस् भनी सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ  । जनअधिकार अभियान नेपालले आधारभूत मानवअधिकार तथा मौलिक हकसँग सम्बन्धित गम्भीर विषयप्रति राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संघ, संगठन तथा व्यक्तिहरु समेतको गम्भीर ध्यानाकर्षण गराएको छ । आइतवार नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयं सेवकको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न विराटनगर जाँदै गर्दा प्रहरीले नेता सुदर्शन र विकासलगायतलाई पक्राउ गरेको थियो ।

 २०७४ फागुन ७ सोमवार बिहान ११ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :