२३ औँ जनयुद्ध दिवसका सन्दर्भमा : बन्धु चन्द

२०५२ साल फागुन १ गते आजकै दिन नेपाली शोषित उत्पीडित जनता र सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै तत्कालीन नेकपा (माओवादी) ले विद्यमान राज्यसत्ताविरुद्धमा विद्रोहको शङ्खघोष ग¥यो । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै जनयुद्धको बाटोमा अघि बढौँ । विद्रोह जनताको अधिकार हो’ भन्ने मूल नाराका साथ विद्रोहको विगुल फुकियो । फागुन १ को मध्यरात सामन्त, दलाल, नोकरशाही पुँजीपति वर्ग र तिनीहरूलाई संरक्षण गर्ने संसदीय राज्यसत्तामाथि प्रतीकात्मक रूपमा देशैभरि कारबाहीहरू सम्पन्न भए । त्यो दिन मेरो मानसपटलमा अभैm पनि ताजै छ । नयाँ कौतुहल, नयाँ जिज्ञासा, धेरै उत्साह, अब के हुन्छ भन्ने थोरै डरका साथ हामी त्यो विद्रोहमा एउटा लयका साथ सामेल भएका थियौँ । रातभर भूमिगत शैलीमा हाम्रा जिम्मेवारीहरू पूरा गरेर हामी बिहानीको प्रतीक्षामा थियौँ । बिहान ७ बजेको रेडियो नेपालको समाचारले देशैभरि सनसनी पैmलियो । देशभर ३ वटा प्रहरी चौकीमा आक्रमण भयो रे ! कसले ग¥यो, थाहा भएन । नेकपा (माओवादी) – जिन्दावाद ! भन्ने नारा लगाए रे । यस्तै खासखुस चल्न थाल्यो गाउँगाउँमा । त्यतिबेलासम्म जनमानसमा नेकपा (माओवादी) छ भन्ने थाहा थिएन । जनमोर्चा भनेपछि सबैले चिन्थे । कसले ग¥यो यो काम ? जनमोर्चाले कि माओवादीले ? सर्वसाधारण रनभुल्लमा थिए । थालनी र निरन्तरताको योजनाअनुरूप देशैभरि जालीफटाहा, सुदखोरमाथि कारबाही गर्दै गए ।

नेकपा (माओवादी) ले उक्त घटनाहरूको जिम्मेवारी लिँदै फागुन ४ गते वक्तव्य निकाल्यो । डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त जनमोर्चा नेपालले फागुन ५ गते उक्त विद्रोहलाई समर्थन गरेको विज्ञप्ति निकाल्यो । त्यसपछि संसदीय सत्ताले चारैतिर बहुला कुकुरले झम्टेजस्तै जनतामाथि दमनको प्रक्रिया सुरु ग¥यो । फागुन १४ गते गोरखाका विद्यार्थी दिलबहादुर रम्तेल (जो शिक्षकलाई विद्यालयबाटै प्रहरीले गिरफ्तार गर्न लाग्दा प्रतिवादमा उत्रिएका थिए) हत्या गरियो । फागुन १५ गते रुकुमको पीपलमा ६ जना खत्री बन्धुको सामूहिक हत्या गरियो । यसरी जनयुद्धको इतिहासलाई रगतले लेख्ने क्रमको सुरुआत भएको थियो । उत्पीडितहरूको मुक्तिका लागि थालिएको त्यो महान् अभियानमा हजारौँ वीर योद्धाहरूले सचेततापूर्वक बलिदान गरे । आफ्नो वर्गको मुक्तिका लागि सर्वसाधारण जनताले पनि आफ्नो भागमा परेको बलिदानको कोटा चुक्ता गरे । कतिले निर्मम यातना पाएर, कतिले जेलनेल भोगेर, कति बेपत्ता भएर, कतिले बलात्कार सहेर त कतिले गोली खाएर । उत्सर्गको त्यो महान् यात्रा साँच्चीकै संसारको इतिहासमा नमुना नै बनेको छ ।

आज त्यो दिन सुरु भएको २२ वर्ष पूरा भएर २३ औँ वर्षमा प्रवेश गरेको छ । यसबीचमा नेपालका नदीनालामा धेरै पानी बगिसकेको छ । युद्धकालीन १० वर्ष र शान्तिकालीन १२ वर्ष हामीले गुजारेका छौँ । भनिएको उपलब्धिका रूपमा हामीले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समानुपातिक समावेशी प्रतिनिधित्व पाएका छौँ तर राज्यसत्ताको स्वरूप भने संसदीय नै छ । जनयुद्धका एकथरी सहयात्रीहरू यसलाई महान् उपलब्धि ठान्दै संसदीय व्यवस्थामै रमाइरहेका छन् भने एकथरीले आफ्नो लक्ष्य पूरा नभएको भन्दै निरन्तर सङ्घर्षमा जुटिरहेका छन् । व्याख्या गर्ने र बुझ्नेबुझाउने कोण आआफ्नै होलान् तर फागुन १ ले एउटा प्रश्न सबैलाई सोधेको छ– के राज्यसत्ताका उपरिसंरचनाका केही शब्दको हेरफेरका लागि त्यति ठूलो विद्रोहको सुरुआत भएको थियो ?

यो प्रश्नले मनलाई सोध्नासाथ म फागुन १ को नारा र प्रतिबद्धता सम्झन पुग्छु । के प्रतिक्रियावादी राज्यसत्ता परिवर्तन भएको हो ? के नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको हो ? के जनयुद्धले उठाएका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरू समाधान भएका हुन् ? अहँ, त्यस्तो कहीँ कतै देखिएको छैन । मेरो मनले यो प्रश्नको उत्तर दिन सकेको छैन । बरु हजार प्रश्नहरू चाङ लागेर आउँछन् । देशमा गणतन्त्र आयो भनिन्छ तर सामन्ती संरचना र संस्कृति झन् जोडतोडले मौलाउँदैछ । गणतन्त्र त एउटा राजालाई फालेर धेरै राजा जन्माउने थलो पो बन्न पुगेको छ । धर्मनिरपेक्षता जनयुद्धको कुनै नारा र एजेन्डा नै होइन । यसले अनावश्यक रूपमा वर्गीय मुद्दालाई विषयान्तर गर्न मात्र खोजेको छ । सङ्घीयता रूप र सारबिनाको बुख्याँचाका रूपमा उभ्याइएको छ जुन राजधानी र भूगोलको खिचातानीमा विवादित बनिरहेको छ । समानुपातिक समावेशी केही टाठाबाठा र पारिवारिक बनिरहेको छ । भनिएको उपलब्धिको त यो हालत छ भने जनयुद्धले उठाएका मुद्दा त झन् ज्यँुका त्यूँ छन् । नेपालको सन्दर्भमा राष्ट्रियता दलालीकरणको सिकार भएको छ । जनताले वास्तविक जनतन्त्रको अभ्यास गर्न पाएकै छैनन् । लोकतन्त्रको अभ्यास भनिएको चुनाव पैसाको खोलो बगाएर किनबेचमा परिणत भएको छ । सर्वाधिक समस्या त जीविकाको पाटोमा छ । महँगी, भ्रष्टाचार, मानव किनबेच, श्रमशक्तिको पलायन, हत्या, बलात्कार, बेरोजगारी, लुटतन्त्र आदि कुराले जनताको जीवनस्तर कष्टकर बनिरहेको छ ।

यहीँनेर प्रश्न उठ्छ, देशको हालत यस्तो छ भने के जनयुद्ध पूरा भयो ? केही नेताले जनयुद्ध सिद्धियो भनेर हस्ताक्षर गर्दैमा त्यसको औचित्य पुष्टि हुन्छ ? हुँदैन । जनयुद्ध त्यस्तो प्रक्रिया हो जहिलेसम्म जनताले आफ्नो लक्ष्य, उद्देश्य र अधिकार प्राप्त गर्न सक्तैनन् त्यतिबेलासम्म निरन्तर जारी रहन्छ । भलै समय र परिस्थितिअनुसार त्यसका रूपहरू परिवर्तन हुन सक्छन् । यसलाई अगाडि बढाउने विधि, प्रक्रिया र कार्यदिशा नयाँ हुन सक्छन् । फरक त्यत्ति हो । यही कुरालाई आत्मसात गर्दै क्रान्तिकारीहरू आफ्नो लक्ष्य चुम्ने साहसका साथ फेरि गोलबन्द हुँदै अगाडि बढिरहेको हो । त्यसैले जनयुद्धको सान्दर्भिकता आजको दिनमा झनै बढेर गएको छ ।

२३ औँ जनयुद्ध दिवसको यस अवसरमा सम्पूर्ण सहिदहरू, बेपत्ता योद्धाहरू, घाइते योद्धाहरू विशेष स्मरण र सम्मान गर्दै कर्मक्षेत्रमा कुद्ने क्रान्तिकारी योद्धाहरू, सहिद परिवार, बेपत्ता योद्धा परिवारलगायत सम्पूर्ण श्रमजीवी तथा उत्पीडित जनसमुदायमा लक्ष्य प्राप्त गर्ने यात्रामा निरन्तर अगाडि बढौँ, हार्दिक शुभकामना ! स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन ६ गते मध्यान्न १२ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :