जनयुद्धमा महत्वपूर्ण योगदान गर्ने, घाइते योद्धाहरुलाई नेकपाद्वारा भव्य सम्मान

रमाकान्त बास्तोला / पोखरा : २३ औं जनयुद्ध दिवस मनाईरहेको नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्यूरोले विगतको दशवर्षे जनयुद्धका क्रममा महत्वपूर्ण भूमिका खेल्ने, लामो समय सैनिक हिरासत एवं जेल जीवन बिताउने, जनयुद्धका क्रममा घाइते भएका योद्धाहरुलाई सम्मान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा २७ जना तात्कालीन माओवादीका नेता तथा कार्यकर्ताहरुलाई सम्मान गरेको हो । उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य वीरजंगले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसरी नेकपाले सम्मानित गरेका व्यक्तित्वहरुमा जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल, जनयुद्धका क्रममा शाहदत प्राप्त गर्ने उच्च नेता तात्कालीन माओवादीका बैकल्पिक पोलिटब्यूरो सदस्य सुरेश वाग्ले वासुका छोरा दीपक वाग्ले, लामो समय जेल जीवन बिताएका हाल माओवादी केन्द्रका नेता झलकपाणि तिवारी, बेपत्ता खोज अभियानकी अभियन्ता एवं बेपत्ता अखिल क्रान्तिकारीका तात्कालीन महासचिव पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल रहेका छन् । त्यस्तै जनयुद्धका क्रममा घाइते भई अपांग समेत बनेकी पत्रकार गोमा घिमिरे रुचि, जनयुद्धका क्रममा चार सन्तान गुमाएका होमनाथ अधिकारी, जनयुद्धको पहिलो बेपत्ता योद्धा फणिन्द्र सिंखडाकी जीवनसंगिनी राधिका सिंखडा, लामो समयदेखि वामपन्थी एवं माओवादी आन्दोलनमा सकृय नेता भक्तिप्रसाद लामिछाने, गम्भीर घाइते एवं जेल जीवन बिताएकी गोर्खाकी भीमकुमारी राना सपना, स्याङजा मनकामना लडाईंमा पार्टीलाई महत्वपूर्ण सहयोग गर्ने योद्धा खुमती तमुलाई पनि नेकपा गण्डक ब्यूरोले सम्मान गरेको छ ।
जनयुद्धलाई पहिलोपटक थ्रीनट थ्री राइफल उपहार दिने मनाङका गणेशबहादुर गुरुङ तथा लामो समयदेखि निरन्तर क्रान्तिमा सहभागी हुने स्वर्गीय भीमबहादुर चिलवाल, लामो समय जेल जीवन बिताउन कमलनाथ खनाल, युद्धका क्रममा घाइते भई मरेको भन्दै गाड्न तयारी गरिएको अवस्थामा जीवित भेटिएपछि फर्काएर उपचार गरिएका मेखबहादुर विक “पहाड”, गजुरी ब्यारेक ब्रेकका योद्धा राजु क्षेत्री, गोर्खा जेल ब्रेकका योद्धाहरु उमा भुजेल“ शिलु”, कमला नहर्की तथा सञ्जु अर्याल “निशा”लाई पनि सम्मान गर्ने घोषणा गरिएको थियो । त्यस्तै माओवादी केन्द्रकी प्रदेश सभा सदस्य आशा खनाल कोइराला, लामो जीवन बिताउने तनहुँका कृष्ण गुरुङ गोर्खाका रामभक्त पौडेल, स्याङजाका लक्ष्मी पौडेल र कल्पना अर्याल, अपांग कृष्णप्रसाद भट्टराई, शहीद प्रकाश रिजाल बसन्तकी पत्नी एवं घाइते गोर्खाकी सुनिता रेग्मी योजना, जनयुद्धमा महत्वपूर्ण भूमिका निभाउने पूर्णबहादुर तमु “डाँफे बा”लाई पनि सम्मानपत्र दिइने आयोजकले जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै नेकपाका पोलिटब्यूरो सदस्य वीरजंगले अब क्रान्ति कुनै पनि वहानामा नरोकिने, क्रान्ति पूरा गरेरै छाडिने प्रतिवद्धता व्यक्त गरे । उनले गरीब, किसान, मजदूर, सुकुम्बासी लगायत सर्वहारावर्गको पक्षमा नेपालमा चलिरहेको क्रान्तिमा आफू सक्दो सहयोग गर्न पनि सबैलाई आव्हान गरे ।
कार्यक्रममा सम्मानित अधिकाँशले नेपालमा जनवादी क्रान्ति पूरा नभएको कुरामा जोड दिंदै क्रान्तिकारी शक्तिहरु एकजुट भएर लड्नुको विकल्प नरहेको बताएका थिए । उनीहरुले दशवर्षे जनयुद्धकाकारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि जनयुद्धका क्रममा शशीद भएका परिवार तथा घाइतेहरुको उचित व्यवस्थापन हुन नसकेको, गरीब, किसान, मजदूर, सुकुम्बासी लगायत सर्वहारावर्गको पक्षमा कुनै काम हुन नसकेकोमा दुःख व्यक्त गरे । उनीहरुमध्ये केहीले अहिले मुलुकमा सरकार, सडक र सदन सबै ठाउँमा माओवादीहरु रहेको र सबैले समाजवाद ल्याउने भनेका कारण कुन माओवादीको कस्तो समाजवाद हो भन्ने बारेमा कार्यकर्ताहरु अलमलमा परेको गुनासो गरेका थिए ।

२०७४ फागुन ६ गते बिहान  ११ः ०५ मा प्रकाशित

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :