शब्द र चित्रमा जनयुद्ध

दसबर्से जनयुद्धमा माओवादी जनमुक्ति सेनाले हजारौँ लडाइँहरू लडेको थियो । यसक्रममा बाह्रवटा फौजी योजनाअन्तर्गत लडिएका थिए । त्यसमध्ये अधिकांश लडाइँहरूमा जनमुक्ति सेनाले विजय हासिल गरेको थियो । नेपाली इतिहास र विश्व सर्वहारा आन्दोलनको इतिहासमा फौजी कार्यदिशाको यो पछिल्लो कार्यान्वयन कम कष्टकर पक्कै थिएन । त्यसका साथै यो कार्यान्वयन एक स्वाभाविक आवश्यकता र विकासको खुट्किलो पनि थियो । निकै ठूलो त्याग, समर्पण र बलिदानले भरिपूर्ण जनयुद्धको यो कार्यान्वयनमा फौजी कार्यदिशाको विकास तथा नवीन फौजी कार्यनीतिहरूको प्रमुख स्थान थियो ।

होलेरी, राडी र सिन्धुलीगढी प्रहरीचौकी आक्रमण

फागुन १ गते देशव्यापी मूलतः पर्चा छरेर, पोस्टर टाँसेर र भित्तेलेखन गरेर युद्ध घोषणाको सन्देश प्रवाह गरिएको थियो । त्यही दिन राती केही सशस्त्र हमलाहरू पनि गरिए । सशस्त्र हमलाको निशानामा रहेका थिए– ‘स्थानीय सुदखोर, जाली–फटाहाहरू’, सरकारी कार्यालय (फौजी र गैरफौजी) र बहुराष्ट्रिय कम्पनीहरू । रोल्पा जिल्लाको होलेरी, रुकुम जिल्लाको राडी र सिन्धुली जिल्लाको सिन्धुलीगढीस्थित प्रहरीचौकीहरूमा समेत आक्रमण गरियो । माओवादी पार्टीको तत्कालीन प्रारम्भिक सैन्यशक्ति ‘लडाकु दल’ को प्रमुख नेतृत्वमा ती कारबाहीहरू सम्पन्न भएका थिए । काभ्रे र जाजरकोटमा स्थानीय सुदखोरहरू दौलतविक्रम बिष्ट र दीपबहादुर सिंहमाथि उनीहरूको घरमा रहेका किसानका तमसुक च्यातेर कारबाही भएको थियो । गोरखामा साना किसान विकास बैङ्कमा आक्रमण गरियो । बैङ्कमा रहेका कागजपत्र जलाएर जनतालाई सरकारी कृषि ऋणबाट मुक्तिको घोषणा गरियो ।

प्रथम सफल कारबाही बेथान, रामेछाप

जनयुद्धको सुरुआत भएदेखि माओवादी लडाकु योद्धाहरूले प्रहरीको हतियार खोस्ने थुप्रै योजना बनाए तर ती कोही पनि सफल भइरहेका थिएनन् । युद्धको सुरुआत भएयता करिब ११ महिना यसरी नै बितिसकेका थिए । देशका तीनवटा कमान्डअन्तर्गत चौकी आक्रमणको केन्द्रीय योजना नबनेको पनि होइन । त्यसलाई कार्यान्वयन गर्न पश्चिम कमान्डको त्रिवेणी (रुकुम, जाजरकोट र डोल्पाको सिमाना– २०५३ मङ्सिर २८) मा गरिएको कारबाही असफल भइसकेको थियो । पश्चिम कमान्डकै प्युठानको लुङ प्रहरीचौकी (२०५३ पुस १) मा गरिएको कारबाही प्रहरीसँग हतियार नभएको कारण निर्धारित लक्ष्यमा सफल हुन सकेन । यसैक्रममा २०५३ पुस १९ गते पूर्वी कमान्डअन्तर्गत रामेछाप जिल्लाको बेथानमा अवस्थित प्रहरीचौकीमाथि आक्रमण भयो जुन कारबाही निर्धारित उद्देश्यमा सफल मात्र भएन, बरु जनयुद्धको इतिहासमै पहिलो सफल फौजी हमलामा दर्ज भयो ।

प्रथम सफल कमान्डो कालिकाटार, तनहुँ

२०५४ जेठ १२ गते तनहुँ जिल्लाको कालिकाटारमा सम्पन्न यो कारबाही ‘जनयुद्धको तेस्रो योजना’ सुरुआतीको एक उत्कृष्ट कारबाही थियो । कालिकाटारको उक्त कारबाहीबाट छापामारहरूले प्रहरीका सम्पूर्ण हतियार कब्जा गरेका थिए । तर आफ्नै क्रस–फायरका कारण छापामारतर्फ एकजनाको क्षति भएको थियो । भिडन्तमा प्रहरीतर्फ एकजनाको क्षति भएको थियो । बिहान करिब दस बजेतिर जनताको शैलीमा गएर गरिएको यो कारबाहीमा महिला छापामारहरूको भूमिका विशेष उल्लेखनीय रहेको थियो । अत्यन्त जोखिम मोलेर प्राप्त कालिकाटारको उक्त उपलब्धि बच्न भने सकेन । प्रहरीले तुरुन्त ‘काउन्टर अप्रेसन’ चलायो । कारबाहीबाट फर्किंदै गर्दा प्रहरीको घेरामा परी थप एकजना छापामारको नदीमा डुबेर क्षति भयो ।

प्रथम सफल एम्बुस क्युबाङ, रुकुम

क्युबाङ कारबाही जनयुद्धको इतिहासमै प्रथमपटक एम्बुसको तरिकाले हतियार कब्जाको कारबाही थियो । आक्रमणको सुरुमा प्रहरीको पैदल–गस्तीमाथि माइन विष्फोट गरियो । भरुवा बन्दुक र सुतली बमले आक्रमणलाई थप मद्दत गरी प्रहरीमाथि थप आक्रमण गरेर यो कारबाही सम्पन्न भएको थियो । यो गुञ्जायमान वातावरणमा लड्दै जाँदा साढे पाँचतिर १ राइफल र पचासौँ गोलीहरू हाम्रो कब्जामा पर्दछ । २०५४ माघ १६, रुकुमको क्युबाङमा भएको एम्बुसमा ३ प्रहरीको मृत्यु, ४ घाइते र एक थान राइफल प्राप्त भयो ।

अभियानात्मक कारबाहीअन्तर्गत उच्च केन्द्रीकृत आक्रमण लहँँ, जाजरकोट

२०५५ देखि देशव्यापी सञ्चालित प्रहरीको ‘किलो सेरा टु’ (राज्यद्वारा सञ्चालित किल एन्ड सर्च अप्रेसन) अप्रेसन जारी नै थियो । प्रहरीद्वारा हत्या, लुटपाट र बलात्कारका घटना व्यापक बढिरहेका थिए । लहँ पूर्वी जाजरकोटको एक निकै सामरिक स्थल थियो । त्यहाँ माओवादी प्रतिकारका लागि स्थानीय स्तरबाटै प्रहरीको बलमा ‘खुकुरी दल’ नामक भिजिलान्ते समूहको गठन गरिएको थियो । सोही अखडामा २०५६ जेठ ३१ गते विशेष कार्यदलका रूपमा सङ्गठित माओवादी छापामारहरूद्वारा भीषण हमला भयो । कारबाहीमा छापामारतर्फ कुनै मानवीय क्षति भएन । २५ जनाको सङ्ख्यामा रहेको दङ्गा प्रहरीतर्फ चारजनाको घटनास्थलमै मुत्यु भयो । बाँकीले आत्मसमर्पण गरेका थिए । छापामारहरूले प्रहरीका १८ थान राइफल, २ थान माउजर र १ थान रिभल्वर एवम् हजारौँ गोली कब्जा गरेका थिए ।

प्रतिरणनीतिक कारबाही महत, रुकुम

‘यता देशव्यापी कथित जङ्गल सर्च अभियानअन्तर्गत व्यापक अपे्रसन र हत्याको शृङ्खला थालियो । त्यस अप्रेसनको प्रतिरोध, हत्याको बदला र योजनाको प्रारम्भका रूपमा २०५६ असोज ५ गते फौजी, गैरफौजी कार्यक्रम सम्पन्न गरियो । यसमा उल्लेख्य घटनाका रूपमा रुकुमको स्ट्राइकिङ बेसक्याम्पमाथिको साहसिक हमला र डीएसपी ठूले राईको गिरफ्तारी रह्यो । डीएसपी ठूले राईलाई लिएर ३ महिनापछि आफन्तहरूलाई बुझाउने काम भयो । यस कारबाहीले कथित जङ्गल सर्च अभियानलाई काफी हदसम्म असफल तुल्यायो र क. वासु वाग्लेको हत्याको बदला लिने र देशव्यापी राज्यआतङ्क रोक्नलाई महत्वपूर्ण भूमिका खेल्यो ।’

महत कारबाहीमा माओवादी पार्टीले ‘दुस्मनका महत्वपूर्ण मान्छे कब्जा गरेर आफ्ना मान्छे छुटाउन या उनीहरूको जीवनरक्षाका लागि दबाब दिने’ नयाँ युद्ध कार्यनीतिको ढोका खोल्यो; जसको परिणाम माओवादी पार्टीका तत्कालीन केन्द्रीय सदस्य देव गुरुङलाई महतबाट कब्जा गरिएका डीएसपी ठूले राईसँग साटिएको थियो ।

पहिलो सदरमुकाम हमला दुनै, डोल्पा

सिङ्गो राज्यसत्तालाई तहसनहस र ठूलो झट्का दिने गरी यो कारबाही २०५७ असोज ८ गते राती बटालियनस्तरको शक्तिले सम्पन्न गरेको थियो । यस कारबाहीमा जिल्ला कारागार शाखा, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रहरी कार्यालयहरू पूर्ण रूपले ध्वंस गरियो । ४ घन्टासम्म चलेको उक्त कारबाही उच्च प्रकारको चलायमान मोर्चाबद्ध युद्धको पनि एउटा अभ्यास बन्यो । यो आक्रमण जनयुद्धको इतिहासमा ऐतिहासिक महत्वको कारबाही हो । कारबाहीबारे सुइँको पाएर राज्यद्वारा आधुनिक तालिमप्राप्त दङ्गा फोर्ससमेत थप्दा पनि प्रहरीको पराजय भयो । अत्यन्तै भीषण रूपले भएको यस लडाइँमा जनसेनातर्फ २ जनाको क्षति भएको थियो भने १७ जना घाइते भएका थिए । प्रहरीतर्फ दर्जनाँैको मृत्यु भएको थियो । यस कारबाहीबाट करिब ५ करोड नगदसहित ५० औँ थान प्रहरीका हतियार कब्जा गरियो ।

प्रहरी शक्तिमाथिको रणनीतिक हमला : रुकुमकोट र नौमुले

रुकुम जिल्लाको दोस्रो सदरमुकामका रूपमा अवस्थित रुकुमकोट एउटा सामरिक महत्वको ठाउँ थियो भने दैलेखको नौमुले पनि निकै व्यवस्थित प्रहरी क्याम्प थियो । दुवै ठाउँमा व्यवस्थित किल्लाबन्दी (तार–बार, ट्रेन्च, टनेल, बुबी ट्र्याप आदि) थियो । सयौँको सङ्ख्यामा रहेको प्रहरी शक्ति, उनीहरूसँग प्रशस्त राइफलहरू थिए । गोलीगट्ठाको अभाव थिएन तर पनि माओवादी पार्टीले ती दुई क्याम्पलाई नै आफ्नो निशाना बनाए र सफलतापूर्वक नियन्त्रणमा लिन सफल भयो । जनयुद्धको दोस्रो आधारका रूपमा विकसित भेरी–कर्णालीमा कार्यरत प्लाटुनहरूको सहभागितामा नौमुलेमा आक्रमण भएको थियो । दुवै कारबाहीहरूमा स्थानीय प्लाटुन र स्क्वायडहरूको पनि सहभागिता रहेको थियो । लडाइँमा दर्जनौँ प्रहरीको मृत्यु भयो । दुवै ठाउँमा प्रहरीतर्फ इन्स्पेक्टरसहित ३२÷३२ जनाको मृत्यु भयो । पचासाँैजना घाइते भए । जनसेनातर्फ रुकुमकोटमा ८ जना र नौमुलेमा ७ जनाको मानवीय क्षति भयो । छापामारतर्फ पनि उक्त क्षति त्यति बेलासम्मकै सबभन्दा ठूलो थियो । दुवै ठाउँको कारबाहीबाट साना–ठूला गरेर सयौँ थान प्रहरीका हतियार र हजारौँ राउन्ड गोलीहरू छापामारहरूले कब्जा गरे ।

पुरानो सत्ताभित्र अन्तर्विरोधको विस्फोट होलेरी आक्रमण, रोल्पा

२०५८ असार २८ गते रोल्पाको होलेरीमाथिको आक्रमणमा जनमुक्ति सेनाले आफ्नोतर्फ बिना कुनै मानवीय क्षति ७१ जना प्रहरीहरूलाई कब्जामा लिएको थियो । माओवादी आक्रमणको डरले रातभरि अन्तै कतै सुत्ने र बिहान मात्र क्याम्पमा आउने यति बेलाको प्रहरीको रक्षात्मक रणनीति थियो । फेरि पनि उनीहरू बच्न सकेनन् । यो कारबाहीपछि पुरानो सत्ताभित्र अन्तर्विरोध विस्फोटन हुन गयो । दरबार र सरकार (संसद्वादी शक्ति) बीच विवादले उत्कर्ष लिएको थियो । यो आक्रमणपछि पहिलोपटक शाही नेपाली सेनाको परिचालन गरिएको थियो । होलेरी कारबाहीमा सरकार फौजी रूपले होइन, त्योभन्दा धेरै नैतिक रूपले पराजय भयो ।

शाहीसेनामाथिको पहलकदमीपूर्ण हमला दाङ आक्रमण

जनयुद्ध थालनीको करिब पाँच वर्षपछि माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन (२०५७ माघ–फागुन) सम्पन्न भयो । यसै अवधिबीच २०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास हुने गरी नारायणहिटी दरबारमा नृशंस हत्याकाण्ड भयो । दरबार हत्याकाण्डले देशको राजनीतिक वातावरणमा निकै ठूलो हलचल ल्याइदियो । सुरुका केही दिनहरूमा उत्तेजक अभिव्यक्तिका बाबजुद माओवादी पार्टीले दरबारसँग सहकार्यको आफ्नो नीतिलाई निरन्तरता नै दियो । फलस्वरूप दरबार हत्याकाण्डपछि गठित सरकारसँग वार्ताको प्रक्रिया (२०५७ साउन) समेत सुरु भयो । तीन चरणसम्म जारी वार्ता भने निष्कर्षविहीन भयो ।

२०५८ मङ्सिर ८ गते धक्कापूर्ण हमलाको मिति तय भइसकेको थियो । देशभरि सानाठूला सयौँ कारबाहीको योजना बनेका थिए । मुख्य कारबाहीका रूपमा दाङको अञ्चल सदरमुकाम घोराही कब्जा रहेको थियो । उता मध्यकमान्डअन्तगर्तको स्याङ्जा र पूर्वी कमान्डअन्तर्गतको सोलु सदरमुकाम पनि आक्रमणको निशानामा थिए । दाङको हमला ऐतिहासिक र भव्य रूपले सफल भयो । स्याङ्जा मुकाम हमला पनि शानदार सफल भयो तर सोलुखुम्बुको सदरमुकाम सल्लेरी कारबाही भने निर्धारित समयमा हुन सकेन । दुई दिनपछि गरिएको सोलु–सल्लेरी कारबाही पनि सफल नै भयो तर त्यहाँ रहेको नेपाली सेनाको क्याम्प भने कब्जा हुन सकेन ।

लडाइँका क्रममा ७ जना प्रहरी र मेजरसहित १४ जना शाही नेपाली सैनिकको मृत्यु भयो । जनमुक्ति सेनातर्फ ७ जनाको क्षति भयो । शाहीसेनाका विरुद्ध पहिलो पहलकदमीपूर्ण यस आक्रमणमा सेनाका सयौँ अत्याधुनिक हतियारहरू कब्जा भए । ५ थान ८१ एमएम मोर्टार, ३ थान टुइन्च, ३ थान रकेट लन्चर, २ थान जीपीएमजी, २ थान वेस्ट स्नाइपर, १४ थान एलएमजी, ४८ थान एसएमजीसहित सयौँको सङ्ख्यामा एसएलआर तथा थ्री नट थ्री राइफल कब्जा गरिए । बम, गोलीहरूलगायत कैयौँ ट्रक युद्ध–सामग्रीसमेत कब्जा भयो । उता त्यही दिनमा गरिएको स्याङ्जा सदरमुकाम हमला जनसेनातर्फ बिनाकुनै क्षति सदरमुकाममाथिको ऐतिहासिक सफल हमला बन्यो । सल्लेरीको हमला भने त्यो दिन हुन सकेन । कारबाहीका लागि नजिकै पुगिसकेको बेला जनसेनाको एकजना सदस्यले ग्रिनेड विस्फोटको दुर्घटना गरिदिँदा निर्धारित योजना रद्द गरियो । दुई दिनपछि अर्थात् मङ्सिर १० गते गरिएको सल्लेरी हमलामा सेनाको ब्यारेकबाहेक सम्पूर्ण सदरमुकाम जनसेनाले कब्जा गर्न सफल भयो । कारबाहीमा १४ जना जनसेनाको क्षति भयो । विगतका सम्पूर्ण लडाइँहरूको संश्लेषणसहितको यी आक्रमणहरूमा जनमुक्ति सेनाद्वारा कुशल युद्धक्षमता प्रदर्शन गरियो । जनमुक्ति सेनाको यो एक व्यवस्थित र बृहत् हमला थियो । यी ठूला कारबाहीको मद्दतमा देशैभरि अन्य थुप्रै साना र प्रचारात्मक कारबाहीहरू भएका थिए ।

शाहीसेनामाथि ‘काउन्टर अप्रेसनल’ कारबाही लिस्ने–गाम भिडन्त, रोल्पा

माओवादी पार्टीले शाहीसेनामाथिको हमला सुरु गरिसकेपछि उसले यसलाई निरन्तर बढाउन चाहन्थ्यो । पुरानो सत्ताको विघटन वा कम्तीमा पनि उसलाई फौजी ढङ्गले समेत झुकाउन निरन्तर विजयको जरुरी थियो । दाङको केही समयपछि अछाम सदरमुकाम मङ्गलसेनको हमला र विजयले यो कुराको पुष्टि गर्दछ । त्यसको थप निरन्तरताका लागि दोस्रो धक्काको कार्यक्रम तय गर्यो ।

शाहीसेनाको अप्रेसन फोर्समाथि जनसेनाबाट गरिएको यो पहिलो हमला थियो । यो निकै शानदार सफल भयो । गाम सैन्य–बेसक्याम्पमाथि हमला प्रकारान्तरले अमेरिकी सैन्य रणनीतिका विरुद्धको हमला थियो । यो हमलामा शाहीसेनाको सर्मनाक पराजय भयो । जनाधार क्षेत्रलाई निशाना बनाएर सुरु गरिएको पुरानो सत्ताद्वारा सञ्चालित ‘सर्च एन्ड डिस्ट्रोय’ नामक घेरा हाल र सखाप पारको नीतिमा आधारित जनसंहारकारी अभियानमाथि समेत भयङ्कर हमला भयो । गाम हमलापछि रोल्पा, रुकुमका प्रायः सैनिक क्याम्पहरू उठाएर सदरमुकाम र केही निश्चित इलाकामा केन्द्रित गरिए । जनसेनाले यी दुवै कारबाहीमा अत्यन्त उच्च युद्धकौशल र साहस प्रदर्शन गरे । जनसेनातर्फ करिब ४० जनाको क्षति भएको यो कारबाहीमा सेना–प्रहरीतर्फ एक सयभन्दा बढीजनाको क्षति भयो । सेना–प्रहरीका सयौँ थान अत्याधुनिक हतियारहरू जनसेनाले कब्जा गर्न सफल भयो ।

व्यवस्थित किल्लाबन्दीविरुद्धको आक्रमण सन्धिखर्क, अर्घाखाँची

जब रोल्पाको गाममा रहेको शाही नेपाली सेनाको अप्रेसन बेसक्याम्प जनमुक्ति सेनाले ध्वस्त पारिदियो, तब त्यसको चोट नेपाली सेनालाई होइन, सीधै अमेरिकालाई पर्न गयो । त्यसपछि नेपाली सेनाले आफ्नो रणनीति बदल्यो । आफ्नो किल्लाबन्दीलाई बलिया बनाउने र रक्षात्मक पङ्क्तिको लडाइँ लड्ने उनीहरूको विशेष रणनीति बन्यो जुन कुरा जनमुक्ति सेनाका लागि नयाँ चुनौती बन्यो । यही कुरालाई ख्याल गरी माओवादी पार्टीले आफ्नो रणनीतिमा नेपाली सेनाको व्यवस्थित किल्लाबन्दीसमेत तोड्ने नयाँ योजना बनायो; जसअनुसार २०५९ भदौ २३ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमाथि आक्रमणको योजना तय भयो । यो आक्रमणमा भारी मात्रामा अत्याधुनिक हतियारहरू– एलएमजी, एसएमजी, एसएलआर, टुइन्च मोर्टार, राइफल, पेस्तोल, रिभल्वोर, म्यग्नम, हर्नेटजस्ता १७५ थान हतियार तथा ४ करोड ४५ लाख नगद, २० किलो सुन र जिन्सी गरेर थुप्रै युद्धसामग्री कब्जामा लियो ।

बाहिरी पङ्क्तिका उच्च प्रतिहमलाहरू पण्डौन, खैरीखोला, सिद्धधारा, कृष्णभीर र लेउतीखोला

मङ्सिर १ गते जनमुक्ति सेनाले काठमाडौँ–चितवन पृथ्वी राजमार्गको कृष्णभीरमा सडक जाम गरी शाहीसेनालाई योजनाबद्ध बोलाएर आक्रमण गर्यो । उक्त कारबाहीमा पहिला माइन विस्फोट गरी त्यसलगत्तै फायरबाट आक्रमण गरिएको थियो । सडक अवरोध हटाउन भनेर शाहीसेना गाडी र पैदल दुवै तरिकासहित आएको थियो । शाहीसेना जब आफ्नो निर्धारित ठाउँमा आइपुग्यो, तब जनसेनाले भीषण आक्रमण सुरु गर्यो । शाहीसेनाले सकेजतिको प्रतिरोध गर्यो तर टिक्न सकेन । केही मिनेटमै आफ्नो निर्धारित सफलता हासिल गरेर जनसेना आफ्नो बाटो लाग्यो । समग्र जनयुद्धको यो एक चर्चित कारबाही हो । यो कारबाहीमा शाहीसेनातर्फ ४ जनाको र जनसेनातर्फ २ जनाको मानवीय क्षति भएको थियो । कारबाहीबाट जनमुक्ति सेनाले १ थान टुइन्च मोर्टार, ६ थान इन्सास राइफल, २ थान एसएलआर, २ थान एसएमजीलगायत हतियार कब्जा गरेको थियो । बोलाएर आक्रमण गर्ने तरिकाअनुसार नै मङ्सिर १ र २ गते बाँकेको खैरीखोलामा जनमुक्ति सेनाको एउटा टुकडीले लगातार पुरानो सत्ताको सेना र सशस्त्र प्रहरीसँग भिडन्त गर्यो । उक्त भिडन्तमा आफ्नोतर्फ बिनामानवीय क्षति जनमुक्ति सेनाले सशस्त्र प्रहरीका ८ थान एसएलआर र एक थान ५१ एमएम मोर्टार कब्जा गर्न सफल भयो । जनसेनालाई लखेट्न भनेर अप्रेसनको व्यापक सरजामसहित गएको यो टुकडीलाई ‘एन्टी अप्रेसन प्लान’ मा जनसेनाले आक्रमण गरेको थियो । भिडन्तमा शाहीसेनातर्फ ९ जना र जनमुक्ति सेनातर्फ ११ जनाको क्षति भयो । यसक्रममा शाहीसेनाले भीषण हवाई हमलासमेत गरेको थियो । तर शाहीसेनाको केही जोर चलेन । उनीहरू पछाडि हटे । कारबाहीबाट जनमुक्ति सेनाले उनीहरूको साथमा रहेका अत्याधुनिक हतियारहरू १ थान एम १६ कोल्ट कमान्डो, १ थान ४० मिमी लन्चर सेट एम १६ तथा ४ थान एम १६ ए टु गरी कुल ६ थान एम १६ कब्जा गरेको थियो ।

मङ्सिर ३० गते अर्घाखाँचीको सिद्धधारा दोबाटोमा योजनाबद्ध फायर एम्बुसद्वारा गस्तीमा निस्केको शाहीसेनाको पैदल फोर्समाथि जनमुक्ति सेनाले अर्को हमला ग¥यो । पूर्व–पश्चिम राजमार्गमा गरिएको यो आक्रमणबाट जनसेनाले शाहीसेनाको साथमा रहेका १ थान एलएसडब्लू र ८ थान इन्सास राइफल कब्जा ग¥यो । यो हमलामा जनमुक्ति सेनातर्फ कुनै पनि मानवीय क्षति भएन । शाहीसेनातर्फ १९ जनाको घटनास्थलमै क्षति भयो ।

पुस १७ गते धनकुटाको लेउतीखोलामा जनमुक्ति सेनाले शाहीसेनाको एउटा टुकडीमाथि अर्को एउटा हमला गर्यो । फायर एम्बुसको तरिकाले गरिएको यो हमला सडकलाई अवरुद्ध बनाएर बोलाएर गरिएको थियो । शाहीसेनाको टुकडीलाई नजिकभन्दा नजिक आउन दिएर गरिएको यो आक्रमणमा दुवै पक्षबीच गुत्थमगुत्थाको लडाइँसमेत भएको थियो । शाहीसेनाले घटनास्थल आउनुपूर्व निकै ठूलो बमबार्ड गरी एरिया क्लियरको कारबाही गरेको थियो । त्यसका बाबजुद पनि जनसेनाले आफूलाई उद्देश्यमा अविचलित राखेर आक्रमणका लागि कुरेर बसेको थियो; जसको परिणाम नै लडाइँमा जनसेना शानदार विजयी भयो । यो लडाइँमा जनसेना शाहीसेनाका दर्जनाँै अत्याधुनिक हतियार खोस्न सफल भयो । शाहीसेना र प्रहरीतर्फ भने दर्जनौँको क्षति भयो ।

भारतीय प्रविधिविरुद्धको हमला पिली, कालीकोट

२०६२ साउन २३ गते पिलीमा रहेको शाहीसेनाको ब्यारेकमाथिको भीषण आक्रमण गरी अत्यन्त शानदार सफलता हासिल गरिएको थियो । पिली कारबाही एकातिर जनयुद्धको आन्तरिक जीवनका उपर्युक्त प्रश्नहरूको जबाफ थियो भने अर्कोतिर जनयुद्धको इतिहासमै सबैभन्दा धेरै स्वचालित हतियार कब्जाको कारबाही बन्न पुग्यो । जनसेनाद्वारा ‘दिउँसै जीपीएमजी र ८१ मिमी मोर्टारबाट आक्रमणको सुरुआत गरिएको थियो । त्यसपछि एसल्ट गु्रपहरू क्याम्पको तीनतिरबाट घेराबन्दी गर्दै (एक साइडमा भीर भएकाले) अघि बढेका थिए । लडाइँमा जनमुक्ति सेनातर्फ दुई दर्जनभन्दा बढी र शाहीसेनातर्फ १५९ जनाको मानवीय क्षति भयो । ६४ जना शाहीसेनालाई जनसेनाद्वारा बन्दी बनाइयो । उनीहरूलाई केही समयपछि ससम्मान छोडिएको थियो । कारबाहीबाट १ थान ८१ मिमी मोर्टार, १ थान जीपीएमजी, टुइन्च मोर्टार २ थान, एसएमजी २ थान, ब्राउनिङ २ थान, एसएलआर ८० थान, इन्सास ७० थान र एलएमजी २० थान कब्जा भएका थिए ।

शाही निरङ्कुशताविरुद्ध प्रतिरोधको सन्देश तानसेन आक्रमण, पाल्पा

चुनबाङ बैठकले ढाडमा टेकेर टाउकोमा हान्ने नीति पारित गर्यो । मध्यक्षेत्रले मुख्यतः राजधानी आसपास, पूर्व र पश्चिमले पूर्व–पश्चिम राजमार्गलाई युद्धक्षेत्र निर्धारण गरी सैन्य कारबाहीका स्थानहरूसमेत छनोट गरिए । यो परिभाषामा सिङ्गो योजनाको केन्द्रीय टाउको राजधानी थियो भने कमान्ड, क्षेत्र र जिल्लाका टाउकाहरू पनि सापेक्षित रूपमा निर्धारण गरिएका थिए । सामान्यतः सहर, सदरमुकाम र सडक टाउकाको परिभाषामा राखिएका थिए । त्यसअन्तर्गत पश्चिम कमान्डको गण्डककेन्द्रित जनमुक्ति सेनाले पाल्पाको सदरमुकाम आक्रमण गरेको थियो । यो आक्रमणपूर्व गण्डक केन्द्रित जनमुक्ति सेनालाई शाहीसेनाले निकै ठूलो घेराबन्दी गरिरहेको थियो । पैदल र हवाई हमलाहरू दिनहुँजसो भइरहेका थिए । त्यही आक्रमण र घेराबन्दीकै बीचबाट गरिएको यो आक्रमण भएको थियो । यो अवधिमा देशभरि अरू सयौँ सानाठूला कारबाहीहरू भएका थिए । राजधानीको थानकोट र दधिकोटमा तथा सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा गरिएका हमलाहरू पनि निकै उच्चस्तरका थिए । तर ती सबैको नेतृत्व तहमा भने पाल्पा आक्रमण नै रहन गएको थियो ।

(उदयबहादुर चलाउने ‘दीपक’ को ‘जनयुद्ध र जनमुक्ति सेना : सङ्क्षिप्त सिंहावलोकन’ र रातो खबर साप्ताहिक

२०७४ फागुन ५ गते दिउसो १ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :