जनयुद्धको २३ औँ वार्षिकोत्सव–जिन्दावाद ! : सन्तोष बुढामगर ‘विषम’

१. जनयुद्धको स्मरण

नेपालको इतिहासमा जनयुद्ध एउटा स्वर्णिम इतिहास बनेर अङ्कित भएको छ । तत्कालीन परिवेशमा विद्यमान राजतन्त्रात्मक संसदीय व्यवस्था अन्त्य गरी नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने ७ बुँदे प्रतिबद्धतासहित क्रान्तिको शङ्खघोष गरिएको दिन थियो २०५२ फागुन १ गते । यसले २२ वर्ष पूरा गरेर २३ औँ वर्षमा प्रवेश गरेको छ । तर अहिले जनयुद्धले रूप बदलेको छ । कसैको दिलदिमागमा जनयुद्ध म¥यो वा मारियो । उनीहरूको नजरमा जनयुद्ध अब छैन, तिनको दिलदिमागमा जनयुद्ध ‘भूत’ बनेर आतङ्कको विषय बनेको छ । अध्यात्मवादीहरू मरेर पनि तर्साउने अदृश्य वस्तुलाई ‘भूत’ भन्दछन् । उनीहरूको भनाइमा मान्छे मर्छ तर उसको आत्मा मर्दैन बरु अर्कोमा रूपान्तरण हुन्छ । कम्युनिस्टले यो त मान्दैन तर यसरी अथ्र्याउने हो भने पनि ‘जनयुद्धको आत्मा मरेको छैन, त्यो अर्कोमा रूपान्तरण भइसकेको छ अर्थात् अर्को वस्तुमा विकास भएको छ ।’ भौतिकवादीहरूको भनाइमा ‘जनयुद्धको अस्तित्व अझै छ । यसको सारतत्व मरेको छैन, बरु अर्को भौतिक वस्तुमा बदलिएको छ ।’ अर्थात् हाम्रो अर्थमा ‘जनयुद्ध एकीकृत जनक्रान्तिमा विकास भएको छ । एकीकृत जनक्रान्ति जनयुद्धको विकास हो ।’ त्यसैले जनयुद्धको घाँटी रेट्ने र रेट्न खोज्नेहरूलाई आज जनयुद्धको ‘भूत’ ले सताइरहेको छ, पछ्याइरहेको छ र तर्साइरहेको छ । उनीहरूको सपना–विपना सबैतिर जनयुद्धको भूत आतङ्कको रूपमा छ । एक दिन त्यो दिन पनि आउने छ, जनयुद्ध अर्को रूपमा वर्तमान बनेर झुल्किनेछ । उनीहरूको मृत्यु वा अवसानको कारण पनि त्यही ‘जनयुद्ध’ नै हुनेछ ।

यो सत्य हो, जनयुद्ध नेपालको तत्कालीन सामाजिक अन्तरविरोधहरूको हल गर्न सुरु गरिएको भीषण वर्गसङ्घर्ष थियो । यसको उत्कर्षको अवधि १० वर्ष रह्यो । यसपछि जनयुद्धलाई तत्कालीन नेतृत्वले जानीजानी ‘कोमा’ मा हाल्यो । जनयुद्ध अदृश्य भयो । दस वर्षको शान्तिकालीन भीषण अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्षको शल्यक्रियापछि यसको एउटा नक्कली रूप जनयुद्धको कचेराका रूपमा एकीकृत माओवादी बनेर संसद्वादी धारामा देखा प¥यो भने अर्को सक्कली रूप र सारतत्व नेकपा माओवादी हुँदै आठौँ महाधिवेशनबाट ‘नेपाल कम्युनिस्ट पार्टी’ भएर क्रान्तिकारी धारमा देखा प¥यो । संसदीय धारका रूपमा देखा परेको माओवादी धार दलाल र आत्मसमर्पणवादी, पलायनवादी, विसर्जनवादी, विचलनवादमा गएर वैचारिक राजनीतिक हिसाबले एमालेमा मिल्न गएको छ, साङ्गठनिक रूपले औपचारिकता दिन मात्रै बाँकी छ । यो अरू केही नभएर क्रान्तिको दौरानमा अनिवार्य रूपमा देखा पर्ने ‘जनयुद्धको कचेरा (द्यथउचयमगअत)’ थियो, न कि माओवादी पार्टी फुटेको । जुन कुरा भर्खरै सम्पन्न पहिलो र दोस्रोपटकका चुनावले पुष्टि गरेको छ । जति दिन बित्दै गएको छ जनयुद्धको औचित्य र आवश्यकता पुष्टि हुँदै गएको छ । खैर जनयुद्ध अहिले पुरानै रूपमा छैन । यसले जनताको जनगणतन्त्र चुम्ने महान् लक्ष्य बोकेको थियो । यसका लागि करिब ९ हजार सहिद र एक हजारको हाराहारीमा बेपत्ता योद्धाहरूले ज्यान गुमाएका छन् । हजारौँ घाइते–अपाङ्ग योद्धाहरू अहिले पनि क्रान्तिको आशामा बाँचिरहेका छन् । जनयुद्धको एक पहलकर्ता र यसलाई निरन्तर अगाडि बढाइरहेको एक इमानदार सिपाहीको हैसियतले म ती वीर सहिद र बेपत्ता योद्धा तथा घाइते–अपाङ्ग भई फेरि क्रान्तिकै पर्खाइमा तड्पिरहेका योद्धाहरूलाई जनयुद्धको २३ औँ वार्षिक उत्सवका अवसरमा लालसलाम टक्र्याउन चाहन्छु र सम्मानभाव अर्पण गर्दछु । यससँगै विचलित र धोखेबाज, आत्मसमर्पणवादी दलाल नेताहरूले बीच बाटामा अलपत्र छाडेको अधुरो क्रान्तिको यात्रालाई क. विप्लवले साहस र बुद्धिमताका साथ पूर्णता दिने अभियानको नेतृत्व गरिरहनुभएको छ । यो अन्तिम एउटा अभियानमा सहभागी बन्न र साथ दिन आम न्यायपे्रमी, देशप्रेमी र क्रान्तिप्रेमी मुक्तिकामी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।

२) जनयुद्धको औचित्य र आवश्यकता

जति दिन बित्दै जाँदो छ जनयुद्धको आवश्यकता भएको पुष्टि हुँदै गएको छ तर जनयुद्धविरोधी दलालहरूले यसलाई औचित्यहीन साबित गर्न अहिले जरादेखि टुुप्पीसम्मको बल गरेर लागिपरेका छन् । यसमा पहिलोमा नेपाली काङ्ग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा प्रचण्ड नेतृत्वको माके, चौथोमा जनयुद्धबाट विचलित र पलायन भएकाहरू लागिपरेका छन् । तिनीहरूमध्ये एकथरीले जनयुद्धको हिजो पनि औचित्य थिएन, आज पनि छैन भन्ने पुष्टि गर्न खोजिरहेका छन् । दोस्रोथरी हिजो आवश्यक थियो तर अब यसको औचित्य सकियो भन्नेमा छन् । दुवैथरी जसरी हुन्छ यो संसदीय व्यवस्थालाई संस्थागत गर्नुपर्छ भन्नेमा छन् । यो नयाँ र पुराना दुवैथरी दलालहरूको कार्यदिसा हो । यसले जनताको अधिकार अझ कुण्ठित बनाइदिएको छ । देश अझ दलाली र राष्ट्रघातको दिसातिर तीव्रत्तर रूपमा अगाडि जाँदैछ । भ्रष्टाचार संस्थागत र व्याप्त बन्दैछ । तस्करी, कमिसन, घूस, महँगी, राष्ट्रघात, बाह्य हस्तक्षेप, राजनीतिक र सामाजिक–सांस्कृतिक विकृति र विसङ्गति कति बढेर गएको छ भने जनताले फेरि जनयुद्धको स्मरण गरिरहेका छन् । त्यसैले जनयुद्धको औचित्य र आवश्यकता अझ बढेर गएको छ ।

३) जनयुद्धको ऐतिहासिकता र महानता

जनयुद्ध नेपालको इतिहासमा दुई पक्षबाट महान् र ऐतिहासिक छ ः पहिलो, नेपालको समग्र इतिहासको निरन्तरतालाई ब्रेक गरेको छ र जनताको चेतना पक्षलाई एक कदम माथि उठाइदिएको छ । जनतालाई कम्तीमा दास मानसिकताबाट विद्रोहको मानसिकतामा उठाएको छ । बोल्न नसक्ने मान्छेलाई बोल्न सक्ने बनाएको छ । दोस्रो, कम्युनिस्ट आन्दोलनमा रहेको संशोधनवादलाई जबरजस्ती तोडेको छ । पहिलो ऐतिहासिक ब्रेकले राजतन्त्रको अन्त्य गरेर दलाल पुँजीवादलाई सतहमा ल्याइदिएको छ । नेपालमा दलाल पुँजीवादको आगमनको एक मात्र कारण जनयुद्धले पूर्णता प्राप्त नगर्नु र नेतृत्वले बीचमै आत्मसमर्पण गर्नु, साम्राज्यवादका सामु लम्पसार परेर पद र स्वार्थमा पुँजीवादसँग सम्झौता गर्नु हो । त्यसैले ऐतिहासिक दृष्टिले अबको एउटा मात्र नेपाली जनताको विकास र समृद्धिको चुनौती दलाल पुँजीवादको अन्त्य गर्नु हो । दोस्रो महत्वपूर्ण कुरा नेपालमा सामाजिक दलाल पुँजीवादको पनि आगमन भएको छ । यो भनेको कम्युनिस्ट आन्दोलनमा अहिलेको उत्तरसाम्राज्यवादले पठाएको राजनीतिक भाइरस हो । क्रान्तिलाई डिस्टर्भ गर्न वा यसलाई सिध्याउन सामाजिक दलाल पुँजीवाद नामको खतरनाक भाइरस नेपाली कम्युनिस्ट आन्दोलनमा आएको छ । यसको पहिचान नेकपाले गरेको छ र यसलाई स्क्यान गर्न सक्ने एन्टीभाइरस ‘एकीकृत जनक्रान्ति’ पनि नेकपाले तयार पारेको छ । यो जनयुद्धको विकाससँगै निर्माण गरिएको नयाँ प्रविधि (त्भअजलययिनथ) हो । यो प्रविधिबाट कम्युनिस्ट आन्दोलन र जनताको दिलदिमागमा संशोधनवाद र नवसंशोधनवादले पारेको जबरजस्त प्रभावलाई स्क्यान गरेर मात्र नेपालमा वैज्ञानिक समाजवादका पक्षमा आम जनतालाई आकर्षित गर्न सकिनेछ । नेपालमा कम्युनिस्ट आन्दोलनको लक्ष्य सफल हुनेछ । यसको प्रस्थानबिन्दु जनयुद्ध थियो र एकीकृत जनक्रान्ति यसको निरन्तरता हो । यस अर्थमा जनयुद्धको ऐतिहासिकता र महानता रहेको छ । यो युगयुग बाँचिरहनेछ ।

४) जनयुद्ध घुम्तीमा

क्रान्ति सोझो र सपाट हुँदैन । यो बाङ्गोटिङ्गो बाटोबाट अघि बढ्छ । क. माओले क्रान्तिलाई ‘भोजभतेर खाएजस्तो हुँदैन’ भन्नुभएको छ । हरेक क्रान्तिहरू समुद्रको छाल र लहरजस्तो भएर अघि बढ्ने गर्दछन् । नेपाली क्रान्ति पनि त्यही नियमको अपवाद रहेन । दस वर्षसम्म सञ्चालित जनयुद्ध दस वर्ष घुम्तीमा फस्यो । संसदीय दलदलमा भासियो । यसलाई दलदलबाट उम्काउनुको साटो ड्राइभर भागेर पर उभिएको अर्को संसदीय गाडी चढेर टाप कस्यो । त्यसपछि क. विप्लवले यसलाई उद्धार मात्र गर्नुभएन, बडो मेहनतका साथ यसलाई नयाँ मोडेलको गाडीमा परिणत गरेर अब कहिल्यै त्यो दलदलमा नफस्ने गरी लक्ष्यतिर कुदाउने हिम्मत गर्नुभएको छ । अरू क्रान्तिले जस्तै नेपाली क्रान्ति अर्थात् नेपालको जनयुद्धले पनि हन्डर र ठक्कर खाँदै अगाडि बढेको छ । अब यसले एउटै चुनौती पार गर्नु पर्नेछ । त्यो भनेको नेपाली जनताको विकास, प्रगति र समृद्धिको बाधक बनेर आएको दलाल पुँजीवाद र सामाजिक दलाल पुँजीवादको चुनौती । तर यो धेरै दिन टिक्नेछैन । किन अब नेपाली जनताका अगाडि चिरपरिचित संसदीय नेताहरू मिति सकिएको औषधि (म्बतभ क्उबष्चभम ःभमष्अष्लभ) जस्तो कामै नलाग्ने भैसकेका छन् । यिनलाई नेपाली जनताले तह नलागाउँदासम्म यी गनाइरहनेछन् । नेपाली राजनीतिको भाइरस भएर हैरान परेसान गरिरहनेछन् । त्यसैले यिनलाई डम्पिङसाइटमा लगेर दफनाउनुपर्छ अनि मात्र नेपालमा नेपाली जनताको परिवर्तनको आकाङ्क्षा पूरा हुनेछ ।

५) दस वर्षको शान्तिप्रक्रिया

दस वर्षको शान्तिप्रक्रिया असलीमा माओवादी आन्दोलनलाई तह लगाउन साम्राज्यवादीहरूले लिएको समय हो । जसरी खेलमा कुनै एक पक्षका खेलाडीहरूले सल्लाहका लागि समय माग्छन्, ठीक त्यसरी नै दस वर्षको जनयुद्धमा हार्दै गएका पछि पुँजीवादका छाउराहरूले समय मागे । यो एउटा गम्भीर षड्यन्त्र थियो । नेपाली फुटबल खेलाडीहरूले पैसा खाएर खेलमा हारेजस्तै जनयुद्धका क्याप्टेनलाई नै किनिएपछि जित्ने खेल पनि हारे । यो प्रचण्ड–बाबुरामको करामत थियो । शान्तिप्रक्रिया यसरी नै गुज्र्यो । यो नकारात्मक पाटो थियो । यसैबेला प्रचण्ड–बाबुरामको करामत पनि उजागर भयो । यही मौकामा क्रान्तिकारीहरूले पनि क्रान्तिकारीहरूलाई सङ्गठित र सचेत बनाउने अवसर पाए । पार्टीभित्रका लुकेका अवसरवादलाई नाङ्गेझार पार्ने अवसर पनि क्रान्तिकारीहरूलाई प्राप्त भयो । यो शान्तिप्रक्रियाको महत्वपूर्ण अवसर थियो । यो एक प्रकारको पार्टीको शुद्धीकरणप्रक्रियाको सुरुआत र एउटा महान् टेस्ट पनि थियो । यो टेस्टमा प्रचण्डहरू फेल भए । त्यसपछि दोस्रो शुद्धीकरणको अवधि अढाइ वर्ष रह्यो । यसमा क. किरणहरू पनि फेल भए । त्यसपछि जब २०७१ मङ्सिर ८ आउँछ यो जनयुद्धले उद्धार पाएको र लामो सास फेरेको दिन थियो । सायद इतिहासमा यो दिन पनि अमर बनेर रहनेछ । यो शान्तिप्रक्रियाका महत्वपूर्ण उपलब्धि थियो ।

७) क्रान्तिको सफलताका आधारहरू

नेपालमा चारथरी मान्छे छन्– पहिलो केही नबुझेका, दोस्रो जनयुद्ध बुझेका, तेस्रो जनयुद्ध बुझेका तर एकीकृत जनक्रान्ति नबुझेका, चौथो बुझेर पनि बुझ पचाएका (प्रतिक्रान्तिकारी÷क्रान्तिविरोधी तत्वहरू) । यी चारथरी मान्छेहरूमध्ये सबभन्दा खराब को होला ? भनेर प्रश्न गर्ने हो भने धेरैले हतारमा जबाफ दिन सक्छन्– केही नबुझेका मान्छे । तर कुरा त्यसो होइन । सबभन्दा खराब मान्छे बुझेर पनि बुझ पचाउने मान्छे हो । सबभन्दा नबुझेको मान्छे कुरा बुझ्यो भने सबभन्दा अब्बल दर्जाको बुझेको मान्छे पनि बन्न सक्छ । क. माओले भन्नुभएको छ– ‘कम्युनिस्ट बिग्रियो भने कुहेको अन्डाजस्तो कामै नलाग्ने हुन्छ ।’ हिजो कम्युनिस्ट बिग्रियो भने दरबार पस्छ भन्थे आज दिल्ली दरबार र ह्वाइटहाउस पस्ने भए । सबैभन्दा बढी दलालीको खरानी तिनैले घस्ने भए । कम्युनिस्ट क्रान्तिकारी दबाउन तिनै आउने भए । सबैभन्दा उदेकको कुरा त प्रचण्ड प्रधानमन्त्री हुने बेला नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई सामान्य वाल पेन्टिङसम्म गर्न दिइएन । शान्तिपूर्ण सभा, जुलुससम्म गर्न दिइएन । योभन्दा अरू खरानी के घस्ने ? अब गेरु वस्त्र पहिरेर कृष्ण पहाडी बनेर गए भयो । यी नै कुहेको अन्डाजस्तै सबभन्दा खराब मान्छे हुन् जो स्वार्थका लागि जे पनि गर्न तयार हुन्छन् ।

जहाँसम्म चार प्रकारका मान्छेको कुरो छ– नबुझेको मान्छे सबभन्दा धेरै सङ्ख्यामा छ । बुझेको मान्छे पनि थोरै छ । बुझ पचाएर क्रान्तिका विरुद्ध लाग्ने मान्छे पनि थोरै छन् । अहिले हिजो जनयुद्धमा लागेका, क्रान्ति हुनुपर्छ भन्ने, जनयुद्धको घुम्तीमा पछारिएर बेहोस भएर ब्युँतिन नपाएका र एकीकृत जनक्रान्तिलाई नबुझेका वा बुझ्न नपाएकाहरूको सङ्ख्या पनि केही छ । जनयुद्ध बुझेकाहरूले एकीकृत जनक्रान्ति बुझ्ने प्रयास गर्नु पर्दछ । नबुझेका ठूलो सङ्ख्यालााई बुझाउने प्रयास गर्नु पर्दछ र बुझ्नै पर्दछ । बुझेकाहरू बुझेका भैहाल्यो । यति कुरा पूरा भयो भने बुझेर पनि बुझ पचाउने मुट्ठीभरहरू मात्र दलाल पुँजीवादका छाउराका रूपमा रहनेछन् । ती जनताका शत्रु हुन् । तिनलाई तह लगाउन धेरै समय लाग्ने छैन । अनि नेपालमा वैज्ञानिक समाजवाद छिट्टै आउनेछ । यो नै हाम्रो विजयको आधार हो । यो नै वास्तवमा जनयुद्धको विजय वा सफलता पनि हो किनकि क्रान्ति रोकिएको छैन । दस वर्षको जनयुद्ध र दस वर्षको शान्तिप्रक्रियामा भएको निरन्तर अन्तरसङ्घर्ष र भीषण दुई लाइन सङ्घर्ष, अढाइ वर्षको छद्म नवसंशोधनवाद र अकर्मण्यतावादका विरुद्ध सङ्घर्ष र यो ३८ महिनाको एकीकृत जनक्रान्तिको विकासको आलोकमा भएका प्रगति एकअर्का जोडिएका छन् । यी सब कडीहरूलाई जोडेर हेर्ने हो भने हामी निरन्तर क्रान्तिमा छौँ । यस अर्थमा एकीकृत जनक्रान्तिको सफलता जनयुद्धकै सफलता हुनेछ किनकि यससँग वैज्ञानिक विचार, नेतृत्व र सही कार्यदिशा छ । जनताको समर्थन छ । यही नै क्रान्तिको सफलताको आधार हो ।

८) जनयुद्धको विकास एकीकृत जनक्रान्तिमा

जनयुद्ध र एकीकृत जनक्रान्ति फरक पनि छन् र अन्तरनिहित पनि छन् । जसरी जनविद्रोह जनयुद्धविरोधी होइन तर यसको विकास हो, त्यसरी नै एकीकृत जनक्रान्ति जनयुद्धको विरोधी होइन । बरु एकीकृत जनक्रान्तिमा जनयुद्ध र जनविद्रोह पनि अन्तरनिहित छन् भन्नु उपयुक्त हुन्छ । अर्थात् यो जनयुद्ध र जनविद्रोहको विकास वा रूपान्तरित रूप हो । जसरी एउटा मकैको गेडो रोपेपछि मकैको बिरुवा भएर उम्रिन्छ र लहलह हुन्छ । त्यस बेला यसको जरामा मकैको गेडा खोजियो भने भेटिँदैन किनकि त्यो बिरुवामा विकास भइसकेको हुन्छ । त्यसरी नै जनयुद्ध वा जनविद्रोह पनि एकीकृत जनक्रान्तिमा विकास भएको छ । यस अर्थमा यी फरक पनि हुन् र एउटै पनि हो भनिएको हो । यसरी बुझ्न नसक्नु पछि परेको सोचाइ हो । यसलाई बुझ्न अलि माथि उठ्न पर्नेछ ।

९) अन्त्यमा

जनयुद्ध नेपाली जनताको त्याग, बलिदान र वीरताको इतिहास हो । एकीकृत जनक्रान्ति त्यसको निरन्तरता हो । यसलाई सफल बनाउन सबै क्रान्तिकारी र देशभक्तहरू एकजुट बनौँ । जनयुद्धको यो २३ औँ वार्षिकोत्सवका अवसरमा म आमनेपाली जनतामा एकीकृत जनक्रान्तिको विजय अभियानमा सहभागी बन्न आह्वान गर्दै एक्ता र सफलताको शुभकामना दिन चाहन्छु । स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन ३ गते साँझ ६ : ५५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :