यो सरकारलाई कर नतिर्न जनसरकारको अपिल

thumbnail of Prees Realise (1) Magaratकाठमाडौं : मगरात स्वायत्त प्रादेशिक जनपरिषद् नेपालका प्रमुख नन्दबहादुर बुढामगरले नेपालमा समानान्तर सरकार सञ्चालनन भइरहेको भन्दै वर्तमान सरकारलाई कर नतिर्न आह्वान गर्नुभएको छ । उहाँले बिहीबार विज्ञप्ति जारी गर्दै दलाल पुँजीवादी संसदीय व्यवस्थाले चुनाव गरेलगत्तै सिंहदरवारको भ्रष्टाचार गाउँसम्म पुगेको, सिंहदरबारको भ्रष्टाचारले सबैखाले करवृद्धि गरी जनताको ढाड सेकेको र नेपाली जनताका लागि आकासिएको करवृद्धि थेग्नै नसक्ने बोझ बनेकाले यी बोझबाट मुक्त हुन दलाल पुँजीवादी व्यवस्थालाई कुनै पनि कर नतिर्न अपिल गर्नुभएको हो ।

देशमा जनताका उपभोग्य वस्तुहरुमाथि गरिएको मूल्यवृद्धिले जनतालाई दैनिक जीविका चलाउन कठिन भएको, शिक्षामा भएको व्यापारीकरण र दलालीकरणले गरिबका छोराछोरी शिक्षा र प्राविधिक शिक्षा पढ्नबाट वञ्चित हुँदै आएकाले भने यो मुठीभर दलालहरुको एकलौटी पेवा बनिरहेको बुढामगरले विज्ञप्तिमार्फत जनाउनुभएको छ । माथिल्लो कर्णाली, अरुण तीन, उच्च कोशी बाँधजस्ता राष्ट्रघाती सम्झौता दलाल पुँजीवादी वर्गका लागि सत्ता र कुर्सी टिकाउने साधन बनेकाले दलाल पुँजीवादी तथा सामाजिक दलाल पुँजीवादी वर्ग सयौं वर्ष स्थायी सरकार बनाएर सत्तासीन भए पनि जनघात र राष्ट्रघातको शृङ्खला नरोकिने जनसरकारको निष्कर्ष छ ।

जनपरिषद्ले अन्तिममा भनेको छ, ‘अब एउटा मात्र विकल्प क्रान्ति हो । शान्ति, समृद्धि, स्वाधीनता र समानताका लागि वैज्ञानिक समाजवादले नै समस्याको हल गर्नेछ । हामी वैज्ञानिक समाजवाद स्थापनाका लागि तीनै तहमा जनपरिषद् नेपालको झन्डामुनि गोलबन्द हुन यसै प्रेसविज्ञप्तिमार्फत हार्दिक आह्वान गर्दछौँ । बाटो चुनौतीपूर्ण छ । तर भविष्य उज्ज्वल छ ।’

२०७४ फागुन ३ गते ६ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :