देशभर जनयुद्ध दिवस मनाइयो

काठमाडौं : नेकपाले देशभर २३ औँ जनयुद्ध दिवस सम्पन्न गरेको छ । दाङ संवाददाता जानकी दहितका अनुसार जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका विभिन्न ठाउँमा दीप प्रज्वलन तथा कोणसभा सम्पन्न गरेको छ । फागुन १ गते महान् जनयुद्ध दिवसको पूर्वसन्ध्यामा साँझ जिल्लाका १० ठाउँमा एकैसाथ सहिदहरूको सम्झनास्वरूप दिप प्रज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको हो । दाङका तुलसीपुर, घोराही, लमही, भालुबाङलगायत ठाउँहरूमा जनयुद्ध सुरुआतको दिनलाई सम्झना गर्दै बाँकी कार्यभार पूरा गर्ने उद्कोषका साथ दीपावली तथा कोणसभा कार्यक्रम गरिएको नेकपा दाङले जनाएको छ । नेकपा तुलसीपुर नगर कमिटीको आयोजनामा तुलसीपुको वीरेन्द्रचोकमा दीप प्रज्वलनपछि तुलसीपुरका इन्चार्ज किरण डाँगीले सम्बोधन गर्नुभएको छ । कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य विकास वलीले गर्नुभएको थियो ।

यसैबीच घोराहीमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीको संयुक्त आयोजनामा दीप प्रज्वलन तथा कोणसभामा नेकपाका घोराही इन्चार्ज बिहानी थारू र नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी चौधरीले सम्बोधन गर्नुभएको थियो । नेकपा दाङका सेक्रेटरी विक्रमले २३ औँ जनयुद्ध दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश वाचन गरिएको थियो । कार्यक्रमको सञ्चालन घोराही सेक्रेटरी जनक विकले गर्नुभएको थियो । त्यस्तै लमही भालुबाङमा पनि दीप प्रज्वलन गरिएको थियो ।

बुटवल  शिव डुम्रेका अनुसार बुटवलमा २३ वटा मैनबत्ती प्रज्वलित थिए, जिल्लाभरका विभिन्न पार्टी, संस्था, सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति, सयौँ कार्यकर्ताहरूको माझमा अबिरको रातो टीका लगाएर औपचारिक कार्यक्रम गरी नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले मङ्गलबार जनयुद्ध दिवसको स्मरण गरेको छ । सँगै जनयुद्ध लडेका कतिपय सारथीहरू फरक ठाँटबाँटमा देखिन्थे भने कतिपय उस्तै थिए । जनयुद्धमा लडेका घाइतेदेखि सहिदका परिवारसम्मको उपस्थिति रहेको कार्यक्रममा धेरैजसो वक्ताले जनयुद्धले जति उपलब्धि प्राप्त गर्नुपर्ने थियो त्यो नगरेको बताएका थिए ।

कार्यक्रम आयोजक नेकपाका लुम्बिनी ब्युरो सदस्यसमेत रहेका रूपन्देही जिल्ला इन्चार्ज शरद वलीले भने जनयुद्धलाई धनयुद्धमा परिणत गर्नेहरूले जनयुद्ध बिर्से पनि आफूहरूले जनयुद्धको उपलब्धि, जनताको मर्म र भावनालाई एकीकृत गरेर एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य टङ्कमणि शर्मा, एमालेका पुरुषोत्तम घिमिरे, काङ्ग्रेसका हरिबहादुर आचार्य, राष्ट्रिय जनमोर्चा रूपन्देही अध्यक्ष दीपक पौडेल, नयाँ शक्तिका यज्ञ पोख्रेल, नेकपा (क्रान्तिकारी माओवादी) का केजी कुमार पौडेल, फोरमका अशोक बर्मा, साहित्यकार तथा वाम बुद्धिजीवी दिल सहानी, माक्र्सवादी विचार सङ्घका मीनबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष यानेन्द्र जीसी, अग्रज पत्रकार बालकृष्ण चापागाईंलगायतले जनयुद्धको २३ औँ वर्ष प्रवेशका अवसरमा शुभकामना व्यक्त गरेका थिए । नेकपाका जिल्ला सचिवालय सदस्य नवीन थारूले स्वागत र कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी अमर रोक्काले गरेका थिए ।

२३ औँ जनयुद्ध दिवस चितवनको माडी नगरपालिकाको बगौडामा भव्य रूपमा मनाइएको जानकारी चितवन संवाददाताले दिएका छन् । यसैबीच मेची ब्युरोअन्तर्गत झापा जिल्लाको केर्खामा रहेको प्रथम डिभिजनको सहिद स्मारक गेटमा २३ औं जनयुद्ध दिवस मनाइएको छ । २३ वटा झन्डा र जनयुद्धको झल्कोे दिने गरी २३ वटा पटका पट्काउँदै दिवस मनाइएको हो । उक्त कार्यक्रममा नेकपाका पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा ‘विरही’, केन्द्रीय सदस्य निर्मलले शुभकामना राखेका थिए । कार्यक्रममा मेची ब्युरोका सदस्य शर्व श्रेष्ठ, ब्युरो सदस्य दर्शन, उमेश, राजुको उपस्थिति रहेको थियो भने झापा जनसरकार प्रमुख सुमनसिंहले कार्यक्रम सञ्चालन गरेका थिए । सभाध्यक्ष झापा जिल्ला सेक्रेटरी सौगातले गरेका थिए । यसैबीच २०० जनाको उपस्थितिमा सर्लाही जिल्ला बागमती नपा ५ शंखरपुर गाउँमा २३ औँ जनयुद्ध दिवस मनाइएको छ । नेकपा केन्द्रीय सदस्य सन्देश पौडेलले सङ्घर्षमा नआत्तिईकन लाग्न जनतालाई अपिल गर्नुभयो । सभाध्यक्ष कुमार पौडेलले गर्नुभएको थियो । यसैगरी २३ औं जनयुद्ध दिवस पूर्वी तामसालिङ ब्युरो अन्तगर्तको काभ्रेको पाँचखाल लामेडाँडामा एकीकृत जनजागरण अभियान उद्घाटन गर्दै मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एवं पूर्वी तामसालिङ ब्युरो इन्चार्ज जगतले गर्नुभएको थियो । उक्त कार्यक्रमको सभाध्यक्ष्य जिल्ला इन्चार्ज सरद रसाइली, सञ्चालन जिल्ला सेक्रेटरी अग्रीमले गरेका थिए ।

 

स्राेत : राताे खबर साप्तािहक

२०७४ फागुन २ गते दिउँसो २ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :