दलालका विरुद्ध निर्णायक सङ्घर्ष गर्छौं : बाबुराम राई ‘विवश’ संयोजकराष्ट्रिय युवा जनस्वयम्सेवक

»» तपाईंहरूको सङ्गठन अहिले के गरिराखेको छ ?

हाम्रो सङ्गठन राष्ट्रिय युवा जनस्वयम्सेवक हाल पार्टीको ३ महिने एकीकृत जनजागरण अभियानलाई सहयोग गर्दै यही फागुन ६ र ७ गते विराटनगरमा सम्पन्न हुन गइरहेको सङ्गठनको तेस्रो राष्ट्रिय सम्मलनको तयारीमा जुटेको छ  ।

»» तपाईंहरूको सङ्गठनका मुख्य उद्देश्यहरू केके हुन् ?

हाम्रो सङ्गठनको मुख्य उद्देश्य भनेको क्रान्तिको आशालाई जगाउँदै आजको विज्ञान र प्रविधिमा टेकेर समाजमा भएका सबैखाले राजनीतिक, सामाजिक, सांस्कृतिक, विकृतिको अन्त्य गर्नु हो ।

»» नेपाली युवाहरूको अहिलेको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

नेपालका युवाहरू आज राजनीतिक हिसाबले कसै न कसैको हातबाट दुरुपयोग हुने अवस्थामा रहेको छ । कुनै पनि  कोणबाट ऊ स्वतन्त्र र आत्मनिर्भर छैन । विभिन्न मनोविज्ञानबाट प्रभावित बन्दै कुनै पार्टी, संस्था र व्यक्तिविशेषको रहस्यमा चल्दिनुपर्ने बाध्यतामा रहेको छ । आफूलाई आजको युग र प्रविधिबाट लैस गराउने उत्कट अभिलाषा हुँदाहुँदै देशमा रोजगारी र क्षमताको उचित कदर नहुँदा सङ्कट व्यवस्थापनका नाममा आधुनिक दास बनेर विदेश जानुपर्ने र लास बनेर फर्कनुपर्ने अत्यन्तै पीडादायी अवस्थामा रहेको पाउन सकिन्छ । यसरी युवाहरू विभिन्न क्षेत्रमा भौँतारिन बाध्य भएका छन् ।

»» नेपालका युवाहरू अधिकांश बेरोजगार छन् । रोजगारी पाए पनि न्यून तलबी छन् । कैयौँ युवाहरू समस्याहरूले ग्रसित छन् । यस्तो अवस्थामा तपाईंहरूले कस्तो कार्यक्रम ल्याइरहनुभएको छ ?

यो बेरोजगारीको समस्या भनको राज्यसत्ताको नीतिमा आएको समस्या हो जसका निम्ति बेरोजगारीको हल गर भनेर राज्यलाई दबाब दिएर पुग्दैन । जहाँसम्म न्यून तलबी कुरा छ, त्यो हल भनेको देशमा विकास हुनुप¥यो । नेपाल आफैँमा प्राकृतिक र भौगोलिक हिसाबले वैभवशाली मुलुक भएको हुनाले प्रशस्त मात्रामा विकासका सम्भावना छन् । तसर्थ बेरोजगारी हल गर्न विकासको अनिवार्यता हुन्छ । उद्योगधन्दा, कलकारखाना, खानी सञ्चालनका निम्ति राज्यलाई वैधानिक ढङ्गले लैजान र नेपालमा रहेको उद्योगधन्दालाई सञ्चालन गर्न सङ्घर्षको कार्यक्रम ल्याउँदैछौँ । विभिन्न कालखण्डमा गरिएका असमान सन्धि समझौताद्वारा उपनिवेश लादिएका कारण नेपाल परनिर्भर भएको छ । यी सबै बाधाअड्चनका विरुद्धमा सङ्घर्ष गर्दै रोजगारी, विकास र राष्ट्रियतासम्बन्धी कार्यक्रमहरू ल्याउँछौँ ।

»» नेपालको राष्ट्रियता इतिहासमै सबैभन्दा जोखिममा छ । राष्ट्रियताका मुद्दालाई लिएर तपाईंहरूको सङ्गठनले के गरिराखेको छ ?

हो, आजको एउटा मुख्य समस्या भनेको राष्ट्रियता हो । नेपालका संसदीय राजनीतिज्ञहरूमा देखिएको आत्मसमर्पणवादी प्रवृत्तिका कारण राष्ट्रियता सङ्कटमा परिरहेको छ । यही आत्मसमर्पणवादी, घुँडाटेकुवा प्रवृत्तिका कारण मुलुक स्वाधीन बन्न सकिरहेको छैन । बिनास्वाधीनता, बिनाविकास देशमा रोजगारीको कुनै सम्भावना हुँदैन । तसर्थ यो सङ्कटलाई क्रान्तिमा बदल्न हामी सशक्त युवा अभियानको तयारीमा छौँ । निकट भविष्यमा नै विराटनगरमा सम्पन्न हुँदै गरेको सङ्गठनको तेस्रो राष्ट्रिय सम्मेलनले नीति तथा कार्यक्रम ठोस गरेर अगाडि बढ्नेछ जसअनुसार सीमा बचाउ अभियानदेखि लिएर विभिन्न कालखण्डमा भएका राष्ट्रियताविरोधी असमान सन्धिसम्झौता खारेजी, राजनीतिक, सांस्कृतिक, भौगोलिक हस्तक्षेपका विरुद्ध सशक्त युवा आन्दोलनको तयारी गरिनेछ । 

»» राष्ट्रिय सम्मेलनमा कस्ता नीति तथा कार्यक्रमहरू पारित गर्दै हुनुहुन्छ ?

आगामी नीति तथा कार्यक्रम विगतको जस्तो मातृसङ्गठनको निश्चित मार्गदर्शक सिद्धान्तलाई मात्र अङ्गीकार गर्ने नभई आम युवाहरूलाई राष्ट्रियताका पक्षमा गोलबन्द गर्ने, भ्रष्टाचारको विरुद्धमा सङ्गठित गर्ने, रोजगारी सिर्जनाका लागि पहलकदमी लिने, समाजमा हुने खराबीका विरुद्धमा सङ्घर्ष गर्ने, सामाजिक दलाल तथा राष्ट्रिय दलालका विरुद्ध निर्ममतापूर्वक आन्दोलन सञ्चालन गर्ने नै हुनेछ । विशेषगरी पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशामुताबिक सङ्गठित नभएका युवाहरूलाई सन्दर्भअनुसार अल्पकालीन र दीर्घकालीन ढङ्गले सङ्गठित गर्दै सङ्गठन विस्तार गर्ने विषयमा नै केन्द्रित हुनेछौँ । त्यसमा पनि राष्ट्रियताका पक्षमा र भ्रष्टचारविरुद्ध विशेष योजना बनाउनेछौँ ।

»» देशको राष्ट्रियता, जनतन्त्र, जनजीविका जोखिममा परिराखेको छ । तर नेपालका युवाहरू रोजगारीका लागि अरबको खाडीमा जान अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँको सङ्ख्यामा लामबद्ध भैराखेका छन् । यी युवाहरूलाई देश र जनताका पक्षमा आन्दोलनमा लाग्नका लागि कस्ता मुद्दाहरू तय गर्दै हुनुहुन्छ ?

इतिहासमा जेजति सङ्घर्षहरू भएका छन् ती सबै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा भएका भएका छन् । यद्यपि निश्चित कालखण्डपछि पार्टी र संस्थाविशेषको नीतिमा व्यक्तिवाद हावी भएकाले (पछिल्लो चरणमा नेतृत्व विशेषको रुचि) युवा आन्दोलनले सही मोड लिन सकेन । बीचैमा तुहिने र आन्दोलन धराशायी हुने अवस्था भयो । यो ऐतिहासिक तीतो सत्यलाई हामीले आजको अवस्थामा नयाँ र बृहत् रूप दिन जरुरी भएको निष्कर्ष निकालेका छौँ । अबको आम युवा आन्दोलनलाई कुनै पार्टीविशेष, संस्थाविशेष नभई राष्ट्रियता र रोजगारीसँग जोड्न जरुरी छ ।  भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासनका पक्षमा सम्पूर्ण युवाशक्तिलाई सडकमा उतार्नु नै हाम्रो मुख्य अभिभारा भएको हुनाले देशको सम्भावित विकासे कार्यक्रममा युवाहरूलाई जोड्न जरुरी ठानेका छौँ । देशमा स्वरोजगारी सिर्जना गरी सबै युवाहरूलाई रोजगार दिनु पर्दछ किनकि कुनै पनि देशको भविष्य कस्तो हुने भन्ने कुरा युवाहरूको श्रम र सिर्जनामा भर पर्दछ । जबसम्म राजनीतिमा भ्रष्टाचारको अन्त्य हुँदैन तबसम्म रोजगारीको सिर्जना गर्न कठिन हुन्छ । यो नियतिलाई सदाका निम्ति अन्त्य गर्ने आम युवा नीति हामीलाई जरुरी भएको हुँदा रोजगारी र राष्ट्रियताका पक्षमा, भ्रष्टाचारका विरुद्ध र वैदेशिक हस्तक्षेपका विरुद्ध अभियान सञ्चालन गर्ने मुद्दाहरू तय गर्दैछौँ ।

»» नेपालमा विभिन्न राजनीतिक पार्टीका युवक सङ्गठनहरू छन् । तिनीहरूभन्दा तपाईंहरू के कुरामा फरक हुनुहुन्छ ?

नेपालमा विभिन्न राजनीतिक पार्टीका युवा सङ्गठनहरू छन् तर सम्बन्धित राजनीतिक पार्टीका युवक सङ्गठनहरू आजका आम युवकयुवती तथा तत्कालीन मनोविज्ञानसँग सम्बन्धित छन् कि छैनन्, आम युवाहरूप्रति उत्तरदायी छन् कि छैनन् भन्ने कुरा मुख्य हो । हाम्रो युवा सङ्गठन राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा निरन्तर सङ्घर्ष गर्दै देशमा कसरी विकास, शान्ति र समृद्धि कायम गर्ने भन्ने विषयमा चिन्तनमनन गर्ने वैचारिक सङ्गठनका रूपमा अगाडि बढेको सङ्गठन हो । यसले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद प्राप्त गरी आम युवाको रोजगारीको ग्यारेन्टी स्वदेशमा नै हुनुपर्ने मान्यता राख्छ । जसले कुनै संस्था पार्टीविशेष नभई राष्ट्र, राष्ट्रियता र रोजगारीका पक्षमा भ्रष्टाचारी, कालोबजारी र कमिसनखोरको विरुद्धमा वकालत गर्दछ । राष्ट्रियताको रक्षा स्वयम्सेवकको भूमिकामा आफूलाई अब्बल तुल्याउन सदैव अग्रसर रहन्छ । आजको ‘सामाजिक दलाल पुँजीवाद’ लाई परास्त गर्ने वैचारिक अडान कायम राख्छ । भ्रष्टाचार, राष्ट्रघात, जनघात र फासिवादका विरुद्ध आफूलाई खरो उतार्न प्रतिबद्ध रहँदै मालेमावादको विकाससहित रक्षका निम्ति आफूलाई साँघुरो घेराबाट बाहिर ल्याउन सदैव प्रयत्नरत रहन्छ । तर अन्य राजनीतिक पार्टीका युवा सङ्गठनहरू प्रतिगामी राज्यसत्ताको पक्षपोषण गर्दै वर्तमान दलाल राज्यव्यवस्थाको साँघुरो घेरामा रहेको पाइन्छ । यो मानेमा हाम्रो सङ्गठन अन्य राजनीतिक पार्टीका युवा सङ्गठनहरूभन्दा फरक छ । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३, अंक १३४, पूर्णाङ्क १२९

२०७४ माघ २७ गते दिउँसो १ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :