भ्रष्टाचारीमाथि जनकारबाही / देशैभर कारबाहीको लहर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि कारबाही गरेको छ । नेकपाको आह्वानमा सयौँको सङ्ख्यामा नाराजुलुस गर्दै गएका जनताले बूढानीलकण्ठस्थित चपलीहाइटमा रहेको शर्माको घरमा कालोझन्डा गाड्नुका साथै तोडफोड पनि गरेका छन् ।

शर्मा पदमा बस्दा नेपालका दलाल उद्योगपतिहरूको कर मिनाहा गर्ने, कर छल्ने, लुकाउन सहयोग गरेर अर्बौं रकम हिनामिना गरेका थिए । तर उनलाई सर्वोच्च अदालतले भ्रष्टाचारीलाई शून्य धरौटीमा छाडेको थियो । उनलाई १० अर्ब २ करोड रुपैयाँबराबरको भ्रष्टाचार गरेको आरोप छ । आरोप पुष्टि हुँदा पनि सरकार मूकदर्शक मात्र भएको छैन, उनलाई निर्दोष करार गर्ने कसरतमा लागेको छ । त्यसलै भ्रष्टाचारी शर्मालाई कारबाही गर्नुपरेको नेकपाले जनाएको छ । नेकपाले आफ्नो केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारी, कालोबजारी र राष्ट्रघातीलाई कारबाही गर्ने निर्णय गरेको जनाएको थियो ।

नेपालको प्रशासनले भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो शर्मालाई कारबाही गरेको भन्दै सडकमा हिँडिरहेका पचासौँ जनतालाई गिरफ्तार गरेको छ भने ३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । नेकपाले काठमाडौँमा मात्र होइन, जनतालाई आह्वान गर्दै देशैभर भ्रष्टाचारीमाथि कारबाही गरिरहेको छ ।

यसैगरी कालीकोटमा शुक्रबार अपराह्न जिल्लाको रासकोट आरसीपी बजारमा अस्पतालका प्रमुख डा. कौशल अलीमाथि कालोमोसो दलेका छन् ।

अलीले सर्वसाधारण सेवाग्राहीलाई अस्पतालमा स्वास्थ्य सेवा प्रदान नगरेर आफ्नो निजी क्लिनिकमा बोलाउने, अस्पतालका लागि आएका औषधिलगायत विभिन्न शीर्षकमा आएका आर्थिक तथा भौतिक सरकारी सहयोग, औषधि, निजी मेडिकल, डिस्पेन्सी र अन्य संस्थालाई दिने गरेको आरोप छ । नेकपा कालीकोटले पार्टीले सञ्चालन गरिराखेको भ्रष्टाचारविरोधी अभियानमा सामेल हुन सबै युवाहरूलाई आह्वानसमेत गरेको छ ।

यसैगरी चितवनमा पनि भ्रष्ट प्रधानाध्यापकमाथि कारबाही गरिएको समाचार प्राप्त भएको छ । क्रान्तिकारी विद्यार्थीहरूको सङ्गठन अखिल (क्रान्तिकारी) चितवनले नारायणगढमा रहेको बालकुमारी उच्च माध्यमिक विद्यालयका प्रध्यानाध्यापकलाई कालोमोसो दलेको छ । भ्रष्टाचारविरोधी अभियानअन्तर्गत सोमबार दिउँसो उक्त विद्यालयका प्रध्यानाध्यापक नारायणबहादुर थापालाई क्रान्तिकारीले कालोमोसो दलेको हो । विभिन्न बहानामा विद्यार्थीसँग चर्को शुल्क लिएको, भौतिक निर्माणमा चरम लापरबाही र आर्थिक घोटाला गरेको, कर्मचारी–शिक्षक नियुक्त गर्दा आर्थिक चलखेल गर्नुका साथै राजनीतिक भेदभावलगायत गरेको आरोप लगाउँदै उनलाई कालोमोसो दलेको हाम्रा चितवन संवाददाता सुशान क्षेत्रीले बताएका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही सिमेन्ट उद्योगमाथि कारबाही गरेको छ । नेकपा दाङका सेक्रेटरी विक्रमले मंगलबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार उद्योग प्रभावित जनतासँग गरिएका पुराना सम्झौता कार्यान्वयन नगरि वातावरणीय स्वच्छता र मानवीय स्वास्थ्यलाई प्रतिकुल हुने गरि त्यसमा पनि जनतालाई झुक्याएर आफ्नो दोब्बर उत्पादन बढाउन जडान गर्न लागिएको प्लान्ट स्थापना बन्द लेखिएको कालो ब्यानर टाँगेर टाँसेको बताएका छन् । स्रोत : रातो खबर साप्ताहिक, अङ्क ३४, पूर्णाङ्क १२९

२०७४ माघ २४ गते दिउँसो ३ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :