किसान नेता एकदेव आले

किसान नेताका रूपमा स्थापित जनयोद्धा एकदेव आले मगरबारे नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको एक लेखमा चर्चा गरेका छन् । एकदेव नेपालका एक इमानदार राजनीतिकर्मी हुन् । त्याग र समर्पणका उदाहरणीय व्यक्तित्व एकदेव आले मगरको चर्चा गर्नुअघि छोटोमा मगर समुदायको चर्चा गरौँ ।

जनसंख्याको हिराबले नेपालको तेस्रो ठूलो श्रेणीमा पर्ने मगर समुदाय नेपाली आदिवासी जनजातिको हकमा भने प्रथम श्रेणीमा पर्दछ । मगरहरू विशेष गरी पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यानतिर बसोबास गरेको पाइन्छ । यसबाहेक अर्घाखाँची, रूपन्देही, काठमाडौं, रामेछाप, म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुरतिर पनि मगरहरूको बसोबास रहेको देखापर्दछ । धेर–थोर रूपमा छरिएर रहेका मगरहरूको पुख्र्यौली थलोलाई मगराँत भनिन्छ । आज मगरहरूको पुख्र्यौली भूमि गण्डक र कर्णाली क्षेत्र रहेको बताइन्छ । मगरहरूको आफ्नै भाषा छ, जुन भोट–बर्मेली भाषा–परिवारअन्तर्गत पर्दछ । आफ्नै पहिरन, संस्कृति र परम्पराले पनि मगरहरूलाई विशेष पहिचान दिलाएको छ । नेपालको इतिहासको पानाहरू पल्टाएर हेर्ने हो भने मगराँतअन्तर्गत धेरै रोचक अनि गौरवमय तथ्यहरू भेट्न सकिन्छ । मगरहरू यो देशका शासकवर्ग पनि हुन् तर समयको कालखण्डसँगै मगरहरूको अस्तित्व हाल आएर उत्पीडितवर्गमा परिणत हुन पुगेको छ ।

मगर समुदायको छोटो सन्दर्भपछि एकदेव आलेको चर्चा गर्नु उपयुक्त हुन्छ । एकदेव आले मगरको जन्म साधारण कृषक परिवारमा १९८० सालमा तनहुँ जिल्लाको सदरमुकाम दमौली बजारको मादी नदी पारिपट्टीको मान्हुंग डाँडा, अर्चलथोकमा भएको थियो । उनी १४ वर्षको उमेरमा नै भारतीय सेनामा भर्ती भएका थिए । तर, अंग्रेजविरुद्ध सुभाषचन्द्र बोसले भारत स्वतन्त्रताका निम्ति गठन गरेका आजाद हिन्दफौजको कार्यक्रमबाट प्रभावित भई उनी सन् १९४१ मा आजाद हिन्द फौजमा सामेल भए । सन् १९४७ मा भारत स्वतन्त्र भयो । भारतमा अंग्रेजहरू पराजित भए । त्यसपछि उनी नेपाल फर्केर आए । त्यसबेला नेपालमा पनि राणा विरोधी आन्दोलन तीब्र गतिमा अघि बढिरहेको थियो । त्यसपछि उनी राणाविरुद्ध गठन गरिएको रक्षादलमा सामेल भए । २००७ सालमा वीरगञ्ज र बन्दीपुर सदरमुकाम कब्जा गर्दा ती दुबै अभियानहरूमा आलेले नै नेतृत्व गरेका थिए ।

उनी कम्युनिस्ट विचारबाट प्रभावित थिए । जसका कारण उनको व्यक्तित्व दर्विलो नेताका रूपमा चित्रित भएको पाइन्छ । नेपालको कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलालले पनि उनको अत्यन्त उच्च मूल्यांकन गरेका छन् ।

एकदेव आले किसान क्रान्तिकारी नेता थिए । राणा शासनको अन्त्य गर्न सुरु भएको २००७ सालको सशस्त्र आन्दोलनलाई सहयोग पुर्‍याउन आलेले आफ्नै पहलमा मुक्तिसेना गठन गरेर भिडेका थिए । मुक्तिसेनाका कतिपय योद्धाहरूले दिल्ली सम्झौताको विरोध गरेर सम्झौतापछि पनि हतियार नबिसाएकोले उनीहरूलाई पक्राउ गरी थुनामा राखिएको थियो । जेलमा थुनिएपछि त्यहाँ कम्युनिस्टहरूको सम्पर्क र विश्व कम्युनिस्ट आन्दोलनका रचनाहरूको अध्ययनबाट प्रभावित भएर आले नेपाली कम्युनिस्ट आन्दोलनमा लागे र आजीवन निष्ठा र सक्रियताका साथ क्रियाशील रहे ।

उनले नेपालका किसानका हक–अधिकारको सम्बन्धमा अत्यन्त सशक्त आन्दोलनको नेतृत्व गरेका थिए । गण्डकी क्षेत्रका किसानहरूको हकहितका सवालमा अत्यन्त प्रभावशाली आन्दोलन चलाइरहेको अवस्थामा २०१७ साल पुस १ गते पञ्चायत व्यवस्था लादिएपछि उनी भूमिगत भए तर भूमिगत रहेकै अवस्थामा पक्राउ परे । उनलाई पाल्पा र स्याङ्जाका जेलहरू सार्दै–सार्दै राखिएको थियो । २०१८ सालको माघ महिनामा अन्य सयौं बन्दीहरूसहित जेल फोडेर रातारात कपिलवस्तुको गोरुसिंगेको जंगल हुँदै उनी भारत पुगे । भारत पुगेपछि उनी नेपाल कम्युनिस्ट पार्टीको काममा लागे र २०१९ साल वैशाख ४–१० गतेसम्म बनारसमा भएको तेश्रो महाधिवेशनले उनलाई पनि पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गर्‍यो ।

त्यसपछि पश्चिम नेपालको इन्चार्ज भई भारतमा नै भूमिगत रूपमा काम गर्दागर्दै २०२५ साल माघ १२ गते पेटको क्यान्सरको दरभंगा लहरियाशरण मेडिकल कलेजमा उपचार हुँदाहुँदै उनको निधन भयो । उनले आफ्नो उपचारमा संलग्न डा. भीएन सिंहलाई भनेका थिए, “डा. साहेब मलाई अस्पतालमा मर्नु नपरोस्, म आफ्नै देशको माटोमा लड्दै मर्न चाहन्छु ।”

(‘संक्षिप्त मगर इतिहास’ मा आधारित) 

२०७४ माघ ८ दिउँसो ३ः२० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :