एमसीसीका विरुद्ध सिंहदरबार अगाडि विरोध प्रदर्शन, देशलाई साम्राज्यवादीहरुको कब्जामा पर्न नदिने चार कम्युनिस्ट पार्टीको उद्घोष

एमसीसीका विरुद्ध सिंहदरबार अगाडि विरोध प्रदर्शन, देशलाई साम्राज्यवादीहरुको कब्जामा पर्न नदिने चार कम्युनिस्ट पार्टीको उद्घोष

काठमाडौँ : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त आहुती नेतृत्वको वैज्ञानिक कम्युनिस्ट पार्टी, नेपालको संयुक्त आयोजनामा एमसीसी सम्झौता कार्यान्वयनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।

माइतीघरबाट जुलुससहित प्रदर्शनमा उत्रिएका उनीहरु सिंहदरबारको दक्षिणी ढोकातर्फ अगाडि बढ्दा प्रहरीले रोकेपछि बबरमहलमा विरोधसभा समेत सम्पन्न गरेका छन् । विरोधसभालाई नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चन, नेकपा (ऋषि कट्टेल) का अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक कम्युनिस्ट पार्टीका गोकुल राई, नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्नेत, भूपु सैनिक महासंघका प्रवक्ता हेमशंकर गिरी लगायतका वक्ताहरुले एमसीसी सम्झौताको चर्को विरोध गरेका थिए ।

नेकपा (विप्लव) का नेता माइला लामाले सञ्चालन गरेको विरोध सभामा विप्लवले भन्नुभयो, ‘नेपाललाई युक्रेनमा धकेल्ने ध्वंश बनाएर नेपालको प्राकृतिक सम्पदालाई कब्जा गर्ने षड्यन्त्र हुँदैछ । त्यसैले हामी सबैले हेक्का राख्नुपर्छ । अहिले कुनै पार्टी, जातीमाथि उठेर सोच्नुपर्ने बेला आइसकेको छ। योे अभियान रोकिँदैन ।’ उहाँले देशलाई साम्राज्यवादीहरुको कब्जामा पर्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, हामी लडिरहेका छौं । तर, ठूला भनिएका विग मिडियाहरु एमसिसीको घुस खाएर मुखमा बुझो लाएर बसेका छन् । हामी देख्दैनौं । किन बोल्दैनन् तिनीहरु ? देशको लागि बोल्दैनन् भने के हुन् ती मिडियाहरु ? दलालका अनुशरणमा जस्तोसुकै लेख ।’

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता कञ्चनले एमसीसी सम्झौता कार्यान्वयन हुन नदिन अब देशव्यापी रुपमा संघर्ष चर्काउनु पर्ने धारणा राख्नुभएको थियो । उहाँले नेपाललाई साम्राज्यवादी युद्धको अखडा हुनबाट रोक्न अब सच्चा देशभक्त र कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेला आएको विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि एमसीसी सम्झौता कार्यान्वयन हुन नदिन अब आन्दोलनलाई थप सशक्त बनाएर अगाडि लैजानुपर्ने विचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :