विप्लवको नवौँ महाधिवेशन विचार हैन, नेतृत्वमा बहस

विप्लवको नवौँ महाधिवेशन विचार हैन, नेतृत्वमा बहस

काठमाडौँ : विप्लवले नेतृत्व गरेको नेकपाको नवौँ महाधिवेशन असोज २५ गते उक्त पार्टीको केन्द्रीय कार्यालय शिवगढीको प्राङ्गणमा उद्घाटन गरिएको छ । गत असोज १ गते काठमाडौँको खुलामञ्चमा १५ हजारको जुलुससहित गर्ने भनिएको उक्त महाधिवेशन अन्तिम अवस्थामा स्थगित भएको थियो । त्यसको मुख्य कारण सरकारसँग भएको ३ बुँदे कार्यान्वयन नभएको भनिएको थियो । सरकारले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाले भदौ ३० गते प्रकाण्डका नाममा सरकारलाई धन्यवाद ज्ञापन गरिएको विज्ञप्ति सार्वजनिक गरिएको थियो । तर सरकारले अहिलेसम्म बन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने काम गरेको छैन । भदौ २७ गतेको मन्त्रिपरिषद्को बैठकले विगतमा सहमति गरिएका र विभिन्न फौजदारी मुद्दा लगाइएका काङ्ग्रेसका नेता अफ्ताव आलम, कैलालीका रेशम चौधरी, सीके राउत, तत्कालीन नेकपालगायतको मुद्दा कानुनी प्रक्रिया पूरा गरेर फिर्ता लिने निर्णय गरेको थियो । त्यसैले नेकपाको महाधिवेशन स्थगित हुनुमा विगतको सहमति कार्यान्वयन नहुनभन्दा पनि विप्लव र प्रकाण्डका बीचमा कुरा नमिलेकाले हो भनी उक्त पार्टीका नेताहरूले बताएका छन् ।

सबैलाई जानकारी नै छ, भदौ ७ नेकपासहितका ४ दलले नेपाल बन्द राखेकै बेला प्रकाण्ड ६ गते चीन भ्रमणमा गएका थिए । उनी १९ दिनसम्म चीनमा नै बसेका थिए र २५ गते मात्र स्वदेश फर्किएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा भनिए पनि एकजना पत्रकारको सम्पर्कमार्फत उनी चीन गएको बुझिन आएको छ । साथै उनी पार्टी काममा भन्दा पनि व्यापारिक सम्बन्ध बढाउन चीन गएको उनकै पार्टीका एकजना केन्द्रीय सदस्यले रातो खबरलाई जानकारी दिएका छन् । वास्तवमा विप्लव र प्रकाण्डका बीचमा निकै नै चर्काचर्की भएपछि महाधिवेशन धान्न नसकिने अवस्था भएकाले उनलाई चीन पठाइएको खुल्न आएको छ ।

उनीहरूबीचको सम्बन्धमा केही सुधार भएपछि बल्ल मङ्गलबारदेखि महाधिवेशन सुरु भएको छ । महाधिवेशनका लागि राजनीतिक प्रस्ताव यसअघि नै वितरण गरिएको थियो । उक्त प्रस्तावमा विगतमा उठेका वैचारिक, राजनीतिक, सङ्गठन र सङ्घर्षसम्बन्धी विवादहरूलाई समाधान गर्ने कुनै उपाय सुझाइएको छैन । प्रस्तावमाथिको छलफलभन्दा पनि स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा को–को र कसकसका मान्छे पार्ने भन्ने बहस सुरु भएको छ । यसअघिको सचिवालयको बैठकले ९९ सदस्यीय भन्दा ठूलो समिति नबनाउने भन्दाभन्दै अन्त्यमा सबैतिरको चापका कारण १५० सदस्यीय बन्ने सम्भावना छ ।

महाधिवेशनको उद्घाटन सत्रलाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति, नेकपा ऋषि कट्टेलका अध्यक्ष ऋषि कट्टेलले शुभकामना दिएका थिए । त्यसैगरी युवा स्वयम्सेवकले सलामी र मानवरहित सवारीसाधन (ड्रोन) प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :