खोइ तिम्राे बन्दुक ?

खोइ तिम्रो बन्दुक खिया लागेको छ ?
होइन, दिमाग नै बन्दुक बनेर पड्किसकेको छैन
दिमाग भुत्ते भएपछि
बन्दुकहरुमा खिया लाग्छन्
थोत्रिएर चोइटिन्छन्
तर दिमागमा बर्सौंदेखिका प्रताडना
हाजिर भई परेड खेल्न सुरु गरेपछि
मनहरु आनन्दले निदाउन नपाएपछि
एक आङ लुगाका निम्ति
एक सिता अन्नका निम्ति
आकाश ओढेर धर्ती बिछ्याउनेहरुको
कथा सुनेपछि
जब मनमस्तिष्कमा आगोको रापको शूल चढ्छ
अनि दिमागले विद्रोह खोज्छ
हजार पर्खालहरु नाघ्दै
अजङ्गका पहाड ढाल्दै
बन्दुकले अड्याएको तिम्रो सत्ता ढाल्न
बन्दुक लिएर ऊ आउँछ
त्यतिबेला उसको बन्दुक खिया लागेको हुँदैन
चाँदमारीमा ऊ चुक्दैन
त्यति बेला सोध्ने छैनौ
खोइ तिम्रो बन्दुक खिया लागेको छ ?

२०७४ भदौ १९ गते ७ : १३ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :