विप्लवले पार्टी फुटाउने उद्देश्यले कञ्चन र सुदर्शनलाई कारबाही गरे, निर्णय फिर्ता नलिइए विद्रोह : नेकपा स्याङ्जा

काठमाडौँ : नेकपा स्याङ्जाले पार्टी महासचिव विप्लवले पार्टी फुटाउने उद्देश्यले नेताहरू कञ्चन र सुदर्शनलाई कारबाही गरेको भन्दै उक्त निर्णय फिर्ता लिएर नसच्चिए विद्रोहको झन्डा उचाल्ने चेतावनी दिएको छ । नेकपा स्याङ्जाका सेक्रेटरी सुजनले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी फुटाउन उद्यत भई महासचिव विप्लवद्वारा पार्टीका सचिवालय सदस्य कञ्चन र सुदर्शनमाथि गरिएको कथित जिम्मेवारीमुक्तको अन्यायपूर्ण र पूर्वाग्रही कारबाहीले पार्टी स्तब्ध भएको र उक्त कदम फिर्ता लिएर सैद्धान्तिक, वैचारिक र राजनीतिक छलफल र बहसका लागि तयार भई पार्टी एकताबद्ध बनाउने प्रक्रिया अगाडि बढाउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

पार्टी जिल्ला सेक्रेटरी सुजनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय पुँजीवादी व्यवस्थालाई फाल्नका निम्ति दलाल सत्ताले लगाएको राजनीतिक प्रतिबन्धलाई सङ्घर्षको मैदानबाट परास्त गर्दै नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने अभियान आज पनि जीवितै छ । राष्ट्रियता, जनजीविका, जनतन्त्रका सवाल र हालै दलाल सत्ताले पारित गरेको एमसीसी सम्झौताका विरुद्ध निरन्तर सङ्घर्षरत छौँ । सहिदहरूले देखाएको मार्ग पछ्याउँदै वैज्ञानिक समाजवादको सपनामा निरन्तर यात्रामा लामबद्ध हुँदै क्रान्तिप्रति प्रतिबद्ध रहँदै आएका छौँ । विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेका समस्याहरू आज पनि ताजा बनेर हाम्रो अगाडि आइपुगेका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दार्शनिक रूपमा सारसङ्ग्रहवाद, राजनीतिक रूपमा संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी तथा विसर्जनवाद, वर्गसङ्घर्षको दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिकोणले जुझारु अर्थवादका विरुद्ध निरन्तर कम्युनिस्ट क्रान्तिकारीहरू निरन्तर लडिरहेका छन् । आज पनि कम्युनिस्ट क्रान्तिकारी आन्दोलनले जहिले पनि धोकाधडी र घात हुँदै आएको कुराबारे हामी सबै जानकार नै छौँ । हालै सम्पन्न पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकले लिएका निर्णय आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी एवम् राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिएको थियो तर त्यो निर्णयको कालोमसी नसुक्दै स्थानीय चुनावमा पार्टी केन्द्रीय सदस्य र पार्टी जिल्ला सदस्यलाई सूर्य चिह्न र कुनै ठाउँहरूमा त हलो चिह्नमा उठाउने हास्यास्पद काम भयो । यो दृष्टिकोण र विचारले पार्टीको १२ औँ केन्द्रीय समितिको गर्विलो निर्णय पार्टी महासचिव क. विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड नै यो निर्णयका विरुद्ध उभिनुभयो । यो विचारले त राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा टाट पल्टिनुबाहेक अरू केही हुन सक्दैन । हाम्रो पार्टी स्याङ्जा जिल्लाले संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णयलाई आमपार्टी पङ्क्तिमा कार्यान्वयन गर्न र गराउनुपर्ने सैद्धान्तिक मान्यतालाई सही तरिकाले आत्मसाथ गर्दै स्थानीय चुनावमा भाग नलिने पहल नै निर्णयको प्रधान पहलु हो र देशभक्त तथा जनपक्षीय उम्मेदवारलाई समर्थन गर्न सकिने पहलु गौण हो तर यहाँ नेतृत्व स्वयम्ले गौण पहलुलाई प्रधान बनाएको अनुभूति हामी आम क्रान्तिकारी नेता, कार्यकर्ताहरू, क्रान्तिकारी जनताले गहिरो गरी वैज्ञानिक समाजवादको सपनामाथि तुसारापात भएको महसुस गरेका छौँ ।’

सुजनले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘महान् सहिदका सपना पूरा गर्न र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न बाँकी नै भएका बेला एकीकृत जनक्रान्ति र वर्गसङ्घर्ष, क्रान्तिकारी, देशभक्त आन्दोलनभन्दा दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनमा पार्टी निर्णयविपरीत समर्पित हुँदै केही केन्द्रीय सदस्य र केही जिल्ला सदस्यहरूले संशोधनवादी कित्तामा आफूलाई समर्पित गर्न सफल भएका छन् । पार्टी फुटाउन उद्यत भई महासचिव क. विप्लवद्वारा पार्टीका सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ माथि गरिएको कथित जिम्मेवारीमुक्तको अन्यायपूर्ण र पूर्वाग्रही कारबाहीले हाम्रो गौरवशाली नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा स्तब्ध भएको छ । उक्त कदम फिर्ता लिई सैद्धान्तिक, वैचारिक र राजनीतिक छलफल र बहसका लागि तयार भई पार्टी एकताबद्ध बनाउने प्रक्रिया अगाडि बढाउन पार्टी नेतृत्वलाई आग्रह गर्दछौँ । अन्ततः पार्टी नेतृत्वको क्रान्तिकारी रूपान्तरणसहित सम्पूर्ण पार्टीलाई एकताबद्ध बनाउँदै पार्टी नेतृत्व रूपान्तरण भएर निर्मम र गम्भीर आत्मसमीक्षा गर्न तयार भएन भने निराशा र धोकाधडीका बीचबाट फेरि पनि चुनौती मोल्दै क्रान्तिको लालझन्डा बोकेर वैज्ञानिक समाजवादी व्यवस्थाका लागि सङ्घर्षको नयाँ प्रक्रियामा अगाडि बढ्ने र क्रान्तिकारी लालझन्डामुनि गोलबद्ध हुने घोषणा गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :