एमसीसीविरुद्ध भोलि खुलामञ्चमा नेकपा महासचिव विप्लवको सम्बोधन

आन्दोलनरत ६ पार्टी र २ मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने तय हुँदै

एमसीसीविरुद्ध भोलि खुलामञ्चमा नेकपा महासचिव विप्लवको सम्बोधन

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध भोलि १५ गते आइतबार ६ दल र २ मोर्चाले काठमाडौँ खुलामञ्चमा सम्बोधन गर्ने भएका छन् । आन्दोलनरत सबै दलका शीर्ष नेताले एमसीसीविरुद्ध आयोजना हुने सभालाई सम्बोधन गर्ने विषय तय भएको, सबै नेताको नाउँ सार्वजनिक हुने क्रममा रहेको र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने विषय टुङ्गो लागिसकेको जानकारी आन्दोलनको नेतृत्व गरिरहेको एक दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले दिएको छ ।

प्राप्त जानकारीअनुसार सबै दल र मोर्चाका प्रमुखहरूले राष्ट्रघाती एमसीसी सम्झौता र यसले नेपाल, नेपाली जनता र यस क्षेत्रमा पार्ने नकारात्मक प्रभावका बारेमा विस्तृत व्यख्यासहित सरकारलाई खबरदारी गर्नेछन् । यसअघि जारी एमसीसीविरोधी सङ्घर्षमा काठमाडौँमा विभिन्न पार्टीका जनवर्गीय सङ्गठनका प्रमुख वा पार्टी केन्द्रीय सदस्यहरू र जिल्लाहरूमा जिल्लाका इन्चार्ज, सेक्रेटरीहरूले नेतृत्व र सम्बोधन गर्दै आएका थिए । संयुक्त रूपमा शीर्ष तहबाटै जनतालाई सम्बोधन गर्न र सरकारलाई खबरदारी गर्न लागिएको यो पहिलो कार्यक्रम हो ।

पाँचदलीय गठबन्धन सरकारले जबर्जस्ती एमसीसी सम्झौता संसद्‌मा टेबुल गरेर पारित गर्ने अन्तिम कसरत गरिरहेको र सडक आन्दोलनमा उत्रिएका आन्दोलनकारी दलका साथै देशभक्त जनतामाथि सरकारले बर्बर दमन गर्दा पनि आन्दोलनकारीहरू बलिदानको स्तरमा प्रतिरोध गर्दै अघि बढेपछि आन्दोलनलाई उत्कर्षमा पुर्याउने उद्देश्यका साथ शीर्ष नेताहरू नै सडकमा निस्किएको स्रोतहरूले उल्लेख गरेका छन् ।

६ दल र २ मोर्चाले साताव्यापी सडक सङ्घर्ष घोषणा गरी एमसीसीविरुद्ध काठमाडौँमा संसद् भवनअगाडि र देशभर प्रदर्शन, घेराउ र कोणसभा गर्दै आएका छन् । नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाको आह्वानमा राष्ट्रघाती एमसीसीविरुद्ध हिजो शुक्रबार पनि काठमाडौँमा प्रदर्शन र देशभर कोणसभा सम्पन्न भएको छ । आज पनि काठमाडौँमा माइतीघरमण्डलबाट नयाँबानेश्वरसम्म आन्दोलनकारी दलहरूको प्रदर्शन जारी रहने बताइएको छ ।

६ दल र दुई मोर्चाले यसअघि १६ गतेसम्म सांसदलाई अनुरोध गर्नेदेखि संसद् भवन घेराउसम्मका सडक सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका थिए । निर्णयअनुसार ११, १२ र १३ गतेका आन्दोलनका कार्यक्रमहरू भव्यतापूर्वक सम्पन्न भइसकेको जनाइएको छ । फागुन ११ गते उपत्यकामा सांस्कृतिक क्षेत्रलगायतको विरोध प्रदर्शन, फागुन ११ गते साँझ देशव्यापी मशाल जुलुस, १२ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय घेराउ, काठमाडौँ उपत्यकामा माइतीघरमण्डलबाट प्रदर्शनसहित संसद् भवन घेराउ र १३ गते काठमाडौँमा प्रदर्शन र देशभर कोणसभा सम्पन्न भइसकेको छ । संसद् भवन घेराउ कार्यक्रममा सरकारले आन्दोलनकारीमाथि राज्यसत्ताको अत्यधिक दुरुपयोग गरी क्रूरता प्रदर्शन गर्दै गोली, अश्रुग्याँस, पानीको फोहोरा, लाठी प्रहार गर्दै आएको छ । कयौँ प्रदर्शनकारी गिरफ्तार भएका छन् भने कयौँ गभ्मीर घाइते भएर उपचार गराइरहेका छन् । आन्दोलनकारीहरु विद्रोहको स्तरमा सक्रि हुँदै आएपछि गठबन्धन सरकार केही हच्किएको छ तर पनि नयाँनयाँ गठबन्धनहरू बनाएर एमसीसी पारित गरेरै छोड्ने ध्याउन्नमा लागेपछि आन्दोलनका कार्यक्रमहरु पनि उचाइबाटै आएन थालेका छन् ।

आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार नै १५ गते काठमाडौँमा विशाल विरोध प्रदर्शन एवम् बृहत् संयुक्त विरोधसभा आयोजना हुन लागेको हो । काठमाडौँलगायत देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ । १६ गते विशेष सङ्घर्षसहित सङ्घीय सांसदहरूलाई एमसीसीविरुद्ध खडा हुन पत्राचार गर्ने कार्यक्रम पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :