नेकपा प्रवक्ता प्रकाण्ड र सरकारी निकायबीच छलफल : तीन बुँदे सहमति अनुसार छिट्टै मुद्दा खारेज र बन्दी रिहा हुने जानकारी

नेकपा प्रवक्ता प्रकाण्ड र सरकारी निकायबीच छलफल : तीन बुँदे सहमति अनुसार छिट्टै मुद्दा खारेज र बन्दी रिहा हुने जानकारी

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधीवक्ता खम्बहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटाबीच तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।

शनिबार गृह मन्त्रालयमा भएको उक्त बैठकमा सरकारको तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा भएको काम र प्रगति विवरण प्रस्तुत भएको थियो ।जसमा मुद्दाको विवरण प्रस्तुत हुँदा अदालतमा चलिरहेका १५९, जिल्ला प्रशासन कार्यालयमा २९७, प्रहरी अनुसन्धानमा ९ वटा मुद्दा रहेको विवरण प्राप्त भएको र यो बीचमा नेकपा र सरकारबीच भएका वार्ता र सहमतिअनुसार मुद्दा खारेज गर्ने र बन्दी रिहा गर्ने सम्बन्धमा ३५ वटा मुद्दा समाधान भइसकेको महान्यायाधिवक्ता कार्यालयले जनाएको विवरण प्रस्तुत भएको थियो ।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले तीन बुँदे सहमति लागू गर्ने सवालमा नेकपाका प्रवक्ता प्रकाण्ड र सरकारका प्रतिनिधिबीच भएको सहमतिप्रति सरकार दृढ भएको भन्दै कार्यप्रगति भइरहेको बताएका थिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले पनि तीन बुँदे सहमति कार्यान्वयन गरौँ र त्यसका निम्ति कार्यलाई पूर्णता दिऔँ भन्ने सरकारको स्पष्ट धारणा रहेको बताएका थिए ।

उक्त बैठकमा नेकपाका प्रवक्ता प्रकाण्डले यो बीचमा पार्टी र सरकारबीच भएका वार्ता र तीन बुँदे सहमति कार्यान्वयनको सवालमा मुद्दा खारेजी र बन्दीलाई रिहाइ गर्ने कार्यमा भएको ढिलाइले जनतामा अक्रोश र नेकपामा आशंका पैदा गरेको बताउँदै सहमति र कार्यान्वयनको डरलाग्दो खाडल पर्न थालेको र यसले राष्ट्रिय राजनीतिमा नकारात्मक असर पारेको बताए । उनले तीन बुँदे सहमति कार्यान्वयन नगरी सरकारले स्थानीय चुनाव घोषणा गर्नुले शान्तिपूर्ण राजनीतिको प्रक्रियालाई गम्भीर चुनौती दिएको धारणा राख्दै सरकारले तुरुन्तै राजनीतिक निर्णय गरेर मुद्दा खारेजी र बन्दी रिहा गर्नुपर्ने बताएका थिए ।

उक्त बैठकमा आगामी दुई–तीन हप्ताभित्र परिणाममा आउने गरी बाँकी कार्यसम्पन्न गर्ने निर्णय भएको बताइएको छ । यसका निम्ति सरकारले आगामी मन्त्रिपरिषद्को बैठकबाट मुद्दा खारेजी र बन्दी रिहाइको विषयमा राजनीतिक निर्णय गरेर आफ्ना सम्बद्ध निकायहरुलाई निर्देशन गरी कार्य सम्पन्न गर्ने निर्णय समेत भएको बताइएको छ ।

उक्त बैठकपछि नेकपाका प्रवक्ता प्रकाण्डले आजको वार्ता र बैठक सकारात्मक र थप उपलब्धिमूलक भएको बताए छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :