रामेछाप जिल्लालाई तीन लालको जिल्ला भनिन्छ । राणा शासनविरुद्ध मकैको खेती पुस्तक लेखेर प्रथम साहित्यिक सहिद बनेका कृष्णलाल अधिकारी, राणाशासनविरुद्ध युवावस्थामै हाँसीहाँसी बलिदान गर्ने गंगालाल श्रेष्ठ र सबैखाले अन्याय, अत्याचार र विभेद समाप्त पारी नेपालबाट साम्यवाद स्थापनाको महाअभियान आरम्भ गर्ने उद्घोष गर्दै नेकपा स्थापना गर्ने संस्थापक महासचिव पुष्पलाल जन्मिएको जिल्ला भएकाले यस जिल्लालाई तीन लालको जिल्ला भनिएको हो । त्यसपछि महान् जनयुद्ध, त्यसअघि र पछिका विभिन्न जनआन्दोलन र जनविद्रोहहरूमा पनि यो जिल्लाले धेरै ठूलो लगानी गरेको छ । जनयुद्धको सबैभन्दा पहिलो सफल फौजी मोर्चा बेथान र बेथान पानीघाटमा उच्च बलिदान गरेर बलिदान र त्यागको बाटोमा हिँड्न सिकाउने तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जन यस जिल्लामा रगत बगाउने त्याग र शौर्यका प्रतिबिम्ब हुन् । त्यसैगरी यस जिल्लाका दोरम्बा, गज्र्याङ चुचुरे, सालुलगायत क्षेत्रले सामूहिक रूपमा क्रान्तिकारी योद्धाहरूको बलिदान स्वीकारेका छन् । त्यही त्याग, शौर्य र बलिदानको महान् गाथाले आजसम्म क्रान्तिकारी विचारको ऊर्जा कायम छ । यसै ऊर्जाको आधारसहित नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशा पूरा गर्ने योजनामा छ ।
रामेछाप जिल्लामा कम्युनिस्ट पार्टी स्थापना गर्न र कम्युनिस्ट जन्माउन सिन्धुली खुर्कोटमा जन्मिएका कमरेड ऋषि देवकोटा ‘आजाद’ को ठूलो भूमिका छ ।
२०२० सालको दशकदेखि नै उहाँले सिन्धुली र रामेछाप जिल्लामा कम्युनिस्टहरू उत्पादन गर्न ठूलो त्याग र समय खर्चिनुभएको छ । त्यसैगरी रामेछापमा क्रान्तिकारी कम्युनिस्ट पार्टी स्थापना गर्न क. ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ को अग्रणी भूमिका छ । उहाँले २०३० को दशकको मध्यमा रामेछापमा नेकपा चौम स्थापना गरेर छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकत्रित गर्नुभएको पाइन्छ । त्यसैगरी गौरीशङ्कर माविमा शिक्षकका रूपमा रहेर कम्युनिस्ट विचार फैलाउनेहरूमा सीपी गजुरेल ‘गौरव’, गोरेबहादुर खपाङ्गी, रामप्रसाद गजुरेलहरूको ठूलो भूमिका छ । त्यसपछि कमल चौलागाईं, रेशम चौलागाईं, चतुरमान सुनुवार, ज्ञानप्रसाद सुवेदी ‘शेषराज’, ग्याल्छेन लामा, पेमा लामा, हस्तबहादुर घिसिङ, नीरराज गिरी, युवराज पाख्रिन, नारायणबाबु श्रेष्ठसम्मको योगदान रहेको छ ।
रामेछाप जिल्ला नेपालका पुराना बस्तीहरूमध्ये पर्छ । तत्कालीन संरचनाअनुसार पूर्व २ नम्बर जिल्ला टुक्रिएर २०१८ सालपछि रामेछाप जिल्ला कायम भएको हो । अधिकांश भाग मध्यपहाडी क्षेत्रमा परे पनि उत्तरपूर्वी क्षेत्र भने हिमाली प्रदेशमा पर्दछ । यो जिल्लाको पूर्वमा ओखलढुङ्गा र सोलु, पश्चिममा काभ्रे, उत्तरमा दोलखा र दक्षिणमा सिन्धुली जिल्ला पर्दछ । यसको क्षेत्रफल १५४४ (१५४६ ?) वर्गकिलोमिटर छ भने यो जिल्ला २७०२८ देखि २७०५० सम्म उत्तरी अक्षांश र ८५०५० देखि ८६०३५ सम्म पूर्वी देशान्तरभित्र पर्दछ ।
केन्द्रीय प्रशासन काठमाडौँबाट रामेछाप सदरमुकामसम्मको सडक दूरी करिब एक सय पचास किलोमिटरसम्म रहेको छ । हवाईदूरी सरदर २० मिनेट रहेको यो मध्यपहाडी जिल्ला पश्चिममा गुन्सी, गौश्वारा र पूर्वउत्तरमा गुम्देलसम्मको आकार प्रचलित शैलीमा हलो आकारको रहेको छ भने यसलाई परिमार्जित परिभाषामा पेस्तोल आकारको पनि भन्न सकिन्छ ।
रामेछापमा प्राकृतिक–सांस्कृतिक रूपले शैलुङ पर्वत शृङ्खला, चुरे पर्वतशृङ्खला, चौँरीखोला, सुनकोसी, तामाकोसी, खिम्ती, लिखु, रनजोर, सुकाजोर, भटौलीलगायत दर्जनौँ नदी र खोला रहेका छन् । यस जिल्लामा बनजंगल, परम्परागत रूपमा विभिन्न धार्मिक, सांस्कृतिक स्थलहरू पनि रहेका छन् । त्यस्तै गुफा, झरना, पर्यटकीय स्थलका कारण यो जिल्ला रमणीय र दर्शनीय रहेको छ ।
लामो समयसम्म सामन्ती केन्द्रीय शासकहरूको दृष्टिबाट विकासमा ओझेलमा परेको, कोपभाजन र षड्यन्त्रको सिकार भएको, आफ्नो मुठीबाट बाहिर जनताको पहुँचमा प्राकृतिक सम्पदालाई पु¥याउन नदिने सामन्तवादी स«्कीर्ण सोचाइ भएका स्थानीय सामन्त र जालीफटाहाहरूले आधुनिक विकास, प्रगति र उन्नतिसहितको जनउपयोगी तथा आर्थिक वृद्धि गर्नेगराउने कार्यमा सबै प्रकारका बाधाहरू, विशेषगरी विकट भैगोल, केन्द्रमा कम प्रशासनिक पहँुच, पूर्वाधार निर्माण नहुनु, जिल्लाको प्रतिनिधित्व गर्ने नेताको गलत तथा सङ््कीर्णताका कारणले समेत यस जिल्लाको साढे दुई लाख (२०५८ सालको जनगणनाको परिमार्जित अनुमान) जनसङ्ख्याको मुख्य सहारा पुरानो खेतीपाती, पशुपन्छी पालन, ससाना व्यापारव्यवसाय, कम लागतका घरेलु उत्पादनमै हाल विकास भएको विकासे पूर्वाधारबाहेक अन्य आर्थिक पक्ष अझसम्म सीमान्तकृत अवस्थामा छ । कामको खोजीमा सहरतिर वा विदेशतिर पलायन हुनैपर्ने अवस्था, खाद्य आपूर्ति गर्न नसकेर बसाइँसराइ गर्नैपर्ने अवस्था, जटिल स्वास्थ्यउपचार, आधुनिक प्राविधिक शिक्षाका लागि अन्य जिल्ला र सहर तथा राजधानी धाउनैपर्ने परिस्थिति, केन्द्रीय स्तरका कार्ययोजनाहरूमा पनि अन्य जिलामा धाउनैपर्ने बाध्यताजस्ता आर्थिक, सामाजिक उत्पादन चरित्र बोकेको यस जिल्लाको चरित्र हो ।
जीविकोपार्जनको अवसरको खोजीमा युवाले गाउँबाट सदरमुकाम, सदरमुकामबाट राजधानी र राजधानीबाट अन्य मुलुकमा पुग्नैपर्ने अवस्थाका कारण युवा जनशक्ति र प्रतिभा पलायनको खतरा डरलाग्दो बनेको छ । राजधानी र अन्य सहरहरूमा रिक्सा कुदाइरहेका, ठेला ठेलिरहेका, ट्याक्सी चलाइरहेका र होटेल–पसलमा न्यून वेतनमा श्रमिकको काम गरिरहेका अधिकांश मानिस यसै भेगका पाइन्छन् । जिल्लादेखि राजधानी वा अन्य सहरसम्म जीवनसङ्घर्षले स्थापित हुँदै गएका केही निम्नमध्यम र मध्यमवर्गका मानिसको सङ्ख्या पनि वृद्धि भइरहेको छ । प्रायः श्रमिक, इमानदार, राष्ट्रिय स्वाधीनताका पक्षधर, देशभक्त, जनतन्त्रप्रेमी जनता भएको जिल्ला भएकाले एकीकृत जनक्रान्तिमा यो जिल्ला अग्रपङ्क्तिमा उभिनसक्ने देखिन्छ ।
राष्ट्रिय जनगणना २०५८ को तथ्याङ्कअनुसार यस जिल्लामा बसोबास गर्ने जातजातिहरूमा जिल्लाको कुल जनसङ्ख्यामा बाहुनक्षेत्री ३२ प्रतिशत, तामाङ २० प्रतिशत, नेवार १४ प्रतिशत, मगर ११ प्रतिशत, अल्पसङ्ख्यक दलित, सुनुवार, थामी, माझी, हायू, गुरुङ आदि ३३ प्रतिशत रहेको पाइन्छ । त्यस्तै हिन्दु ६८ प्रतिशत, बौद्ध २९ प्रतिशत, किराँत २ प्रतिशत, अन्य एक प्रतिशत धार्मिक समुदाय यस जिल्लामा रहेको तथ्याङ्क छ । भाषाभाषीका हिसाबले नेपाली ५७ प्रतिशत, तामाङ २० प्रतिशत, नेवार ८ प्रतिशत, मगर ७ प्रतिशत, सुनुवार ४ प्रतिशत, र अन्य÷विविध ४ प्रतिशत भाषाभाषी समूह रहेको जातजाति, भाषाभाषी र धार्मिक समुदायहरू यस जिलामा रहेका छन् । कथित माथिल्लो जातले तल्लो जातलाई, बहुसङ्ख्यकले अल्पसङ्ख्यकलाई, पुरुषले महिलालाई, धनीले गरिबलाई, सहरले गाउँलाई, बलियोले निर्धालाई थिचोमिचो गर्ने, भेदभाव र पक्षपात गर्ने, लैङ्गिक, जातीय, राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक एवम् आर्यखस अहंकारवादी राज्य उत्पीडन हुने तथा शोषण, दमनसहितको भौगोलिक उपेक्षा यस जिल्लाको स्थिति हो । तर यी सबै व्यवधान र प्रतिकूलतालाई चिर्दै इतिहासका हरेक चरणमा रामेछापेली जनता विद्रोह, क्रान्ति र युद्धमा अग्रमोर्चामा लामबद्ध छन् ।
राणाकालमा खोलिएको पहिलो माल अड्डा र सैनिक गौँडादेखि देशको राजनीतिक परिवर्तनका क्रममा २००७ सालदेखि २०७३ सालसम्म क्रमिक रूपमा जनविरोधी राज्यसत्ताले प्रशासनिक, न्यायिक, विकासे, रक्षा, सुरक्षाका, योजना परियोजना, स्वास्थ्य, सूचना, व्यापारलगायत ६० वटा मुख्य सरकारी कार्यालय, गैरसरकारी क्षेत्रका कार्यालय, शिक्षा, स्वास्थ्यलगायत इलाका, गाउँ हुँदै वडासम्मका संस्थाका संरचना कायमै छन् । यातायातमा एक किसिमको जागरण र विकासको पूर्वाधार निर्माण भइरहेको छ तापनि मानव बेचबिखन, कामका लागि विदेश र सहर पलायन, बसाइँसराइ, गरिबहरूको सङ्ख्या दिनानुदिन वृद्धि, परनिर्भर पुँजी, उत्पादन परनिर्भरता, राजनीतिक–आर्थिक–सांस्कृतिक रूपमा दलालहरूको वृद्धि, बेरोजगारी, जमिनको बाँझोपन र प्राकृतिक प्रकोपका कारण नाङ्गो र रूखोपना बढिरहेको छ । युवा पलायनले गाउँमा जन्तदेखि मलामीसम्म नपाइने अवस्था, शैक्षिक विकृति र विसङ्गतिले विद्यालयहरू गाभिनुपर्ने अवस्था, असमान विकास र वर्गीय असमानताको खाडल चरम रूपमा वृद्धि भइरहेका कारण जिल्लाको मानवसभ्यता सामन्ती–दलाल पुँजीपति अर्थात् कथित उपल्लो वर्गका लागि मात्र विकास भएको पाइन्छ । यस्तो अवस्थामा देश र जनताको चिन्ता गर्नेहरूले उत्पीडित वर्गलाई मुक्तिका लागि प्रेरित गर्ने, त्याग, शौर्य र बलिदान गर्ने सहिद, बेपत्ता र घाइते योद्धाका परिवारहरूसम्म पुगेर क्रान्तिको निरन्तरता जोगाइराख्ने र उत्पीडित वर्गलाई क्रान्तिमा लामबद्ध गराइराख्ने चुनौती र सम्भावना पनि उत्तिकै प्रबल रहेको छ ।
रामेछाप जिल्ला राजनीतिक रूपमा सधैँ अग्रपङ्क्तिमा रहेको विषय कृष्णलाल, गङ्गालाल र पुष्पलालको जन्मस्थलका कारण मात्र होइन, यस जिल्लाले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाका कारण पनि स्थापित र उल्लेखनीय छ । कृष्णलाल अधिकारीले विसं १९७० को दशकमै निरंकुश जहानिया राणाशासनका विरुद्ध मकैको खेतीजस्तो ऐतिहासिक र बिम्बात्मक साहित्यिक–कृषिप्रणालीसम्बन्धी पुस्तक लेखेर बलिदान गरेको इतिहास कसैबाट छिपेको छैन । त्यसैगरी रामेछाप जिल्लाको भँगेरीमा जन्मिएका युवा गंगालाल श्रेष्ठले जहानियाँ राणाशासनविरुद्ध फाँसीको तख्तामा झुन्डिएर पनि समाज रूपान्तरणका लागि प्रख्यात सहिदकाण्डमा निर्वाह गरेको ऐतिहासिक भूमिका स्मरणीय छ । गंगालालका भाइ पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेर साह्रा नेपालीलाई सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद र विस्तारवादविरुद्ध ललकार गर्दै नेपाली समाजमा उच्च क्रान्तिकारी चेतन जागृत गराएको र वर्गसङ्घर्ष उच्च बनाएको परिघटना पनि नेपालको राजनीतिक इतिहासमा गौरवपूर्ण रहेको छ ।
राणशासनविरुद्ध १९९३ सालमा टंकप्रसाद आचार्यको नेतृत्वमा गठित नेपाल प्रजापरिषद्, त्यसकै गर्भबाट २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काङ्ग्रेस र सोही पार्टीमा आबद्ध पुष्पलालले २००६ सालमा स्थापना गर्नुभएको कम्युनिस्ट पार्टीको व्यापक प्रभाव रामेछाप जिल्लामा पनि परेको छ । नेकपा २००६ सालमा स्थापित कम्युनिस्ट पार्टीकै एक परिष्कृत र विकसित स्वरूप हो । यो पार्टी चौथो महाधिवेशन, नेकपा मशाल, मसालबाट विद्रोह गरी क्रान्तियात्रामा केन्द्रीकरण भई महान् जनयुद्धको सुरुआत गर्दै हजारौँको बलिदानीपछि सामन्ती राजतन्त्र नष्ट गर्ने तत्कालीन नेकपा (माओवादी) को क्रान्तिकारी विरासत हो । यद्यपि सोही पार्टीबाट माओवादी नामका विभिन्न समूहहरू बनेका छन् । सोही पार्टीबाट स्थापित बनेका बाबुराम भट्टराईहरू वर्गसङ्घर्ष र कम्युनिस्ट आन्दोलन नै छाडेर एउटा बुर्जुवा समूहमा पतीत बनेको छ भने जनयुद्धको नेतृत्व गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रान्तिको बाटोबाट पलायन भएर एउटा दलाल संसद्वादी, नामधारी वामपन्थी समूहमा पतीत भएको छ । सोही पार्टी र आन्दोलनबाट आएका मोहन वैद्य ‘किरण’ हरू नयाँ कार्यदिशाको विकास गर्न नसक्दा टाक्सिएर न हाँस, न बकुल्लाको चालमा एउटा सानो, जड र रूढ समूहमा सीमित भएको छ । यिनै शृङ्खलाहरू पार गर्दै आज नेकपा एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशासहित नेपालको एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टीका रूपमा स्थापित बनेको छ ।
२०५० सालको दशक र विशेषगरी महान् जनयुद्ध आरम्भ भएपछि भने रामेछापमा कम्युनिस्ट नामका संशोधनवादीहरूको पतन र क्रान्तिकारी माओवादीहरूको विकास छलाङमय ढङ्गले भएको पाइन्छ । बेथान मोर्चाको विजय र बलिदानको जगमा देशैभर माओवादीको विकास भए पनि दोरम्बा, गज्र्याङ चुचुरे, सालु देउरालीलगायत सामूहिक र बर्बर हत्याकाण्डमा बलिदान गर्ने एक सय ६० भन्दा बढीको सहादतले रामेछापमा क्रान्तिकारी कम्युनिस्ट नेतृत्वमा भौतिक रूपमा आघात पुगे पनि जनयुद्धले एकभन्दा एक प्रतिभाहरू जन्माएको छ । यद्यपि रामेछापमा नेकपा (माओवादी) को नेतृत्व भने ललितपुरका हरि दाहाल ललित, सिन्धुलीका वसन्त माझी, सर्लाहीका कुमार पौडेल, दोलखाका जितवीर, सिन्धुलीकै राजन दाहाल, रामेछापका रेशम चौलागाईं, मैनकुमार मोक्तान मदन, इन्द्र श्रेष्ठ, तीर्थ कार्की, गुन्जन हुँदै नेकपाको नेतृत्व लमजुङका सन्तोष कोइराला, रामेछापकै कुलदीप मगर अभिलाशसम्म आइपुगेको छ । यस जिल्लामा वामपन्थी पार्टीहरूमा नेकपा (चौम, पछि एकताकेन्द्र हुँदै हाल माओवादी केन्द्र), नेकपा (माले), नेकपा (एमाले), नेकपा (मसाल) को पनि केही प्रभाव रहेको छ तर क्रान्तिकारी आन्दोलनको नेतृत्व भने नेकपाले नै गर्दै आएको छ । बेथान वीरता दिवस, दोरम्बा हत्याकाण्ड स्मृति दिवस, सालु देउराली स्मृति दिवस, गज्र्याङ चुचुरे स्मृति दिवस यस जिल्लामा महान् जनयुद्धले निर्माण गरेका दिवसहरु हुन् भने गङ्गालाल, पुष्पलाल, कृष्णलाल स्मृति दिवसहरु पनि यस जिल्लामा मनाउने गरिन्छ ।
प्रतिक्रियावादी शक्तिहरूमा हिजोका दरबारियाहरूको समूह राप्रपा, दलाल पुँजीपतिहरूको समूह नेपाली काङ्ग्रेस र केही जातिवादी समूहहरू पनि क्रियाशील छन् । प्रतिक्रियावादी विचार र चिन्तनका राप्रपा एवम् काङ्ग्रेससँग वर्गसङ्घर्ष तथा संसद्वादी समूह माओवादी केन्द्र (माके) र एमालेसँग वैचारिक सङ्घर्ष नै यतिबेला रामेछापका क्रान्तिकारी माओवादी अर्थात् नेकपाको चुनौती देखिएको छ । दलाल पुँजीपतिको रक्षा गर्ने संसदीय व्यवस्थामा माके र काङ्ग्रेसको प्रतिनिधित्व छ भने अन्य समूहहरूले पनि जनतालई दिग्भ्रमित पारिरहेका छन् । नेकपाको सिर्जनशील क्रान्तिकारी कार्यदिशा एकीकृत जनक्रान्तिमा लामबद्ध हुनेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ । माके, वैद्य समूह र मसाल समूहबाट पनि नेकपाप्रति आकर्षण अत्यधिक बढेको छ ।
नेकपाले हालै मात्र १५ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस सदरमुकाम मन्थलीमा भव्य रुपले सम्पन्न गरेर जनयुद्धको विरासत धान्ने पार्टी नेकपा नै को भन्ने सन्देश दिएको छ । नेकपा रामेछापका संस्थापकसमेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल असारे काकाले पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अवलम्बन गरेर अघि बढिसकेकाले क्रान्तिको प्रक्रिया तीव्रतामा अघि बढिरहेको बताउनुभएको थियो । रामेछापका सहिद परिवारलाई भेटेर उहाँले नेकपकले सहिदका सपना साकार पारेरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पार्टी पूर्वी ताम्सालिङ ब्युरोका इन्चार्ज बाबुराम गजमेर, रातो खबर साप्ताहिकका सम्पादक अशोक सुवेदी, नेकपा रामेछापका इन्चार्ज तीर्थ कार्की, पार्टी सचिव अभिलाश, पार्टी सचिवालय सदस्य हरिमाया तामाङ, नेकपा एमालेका उपसचिव झम्क कँडेल, माकेका उद्धव रम्तेल, संघीय समाजवादीका सोनाम तामाङ, देउराली समूहिक हत्याकाण्डका सहिद टेकबहादुर बस्नेतका छोरा केशव बस्नेत, नेकपा मालेका ओमबाबु पुरीलगायत वक्ताले बोल्नुभएको थियो ।
२०७४ भदौ १३ गते ५ : ५९ मा प्रकाशित