जनपत्रकार संगठन नेपाल मकवानपुरद्वारा पत्रकार महासंघलाई ८ बुँदे ज्ञापनपत्र

जनपत्रकार संगठन नेपाल मकवानपुरद्वारा पत्रकार महासंघलाई ८ बुँदे ज्ञापनपत्र

मकवानपुर: जनपत्रकार संगठन नेपाल मकवानपुरले आज नेपाल पत्रकार महासंघ मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ । श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारका विविध विषयहरू समाहित गरिएको ८ बुँदे ज्ञापनपत्र सोमबार बिहान महासंघलाई बुझाएको हो ।

उक्त ज्ञापनपत्र जनपत्रकार संगठन नेपाल मकवानपुरका संयोजक सुर्य बहादुर गोलेको नेतृत्वमा सदस्य प्रल्हाद गौतमसहितको टोलीले नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई हस्तान्तरण गरेको हो । संयोजक सुर्य बहादुर गोलेको हस्ताक्षरित ज्ञापनपत्रमा देहाय बमोजिमका विषय वस्तुहरू समावेश गरिएको छ ।

१) श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चाली कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनर्स्थापना, राहत र स्वास्थ्य उपचारका लागि पहल गरिनुपर्ने ।

२) नेपाल सरकारबाट विमाङक रकम हाल्ने गरी श्रमजीवी पत्रकारहरुको निस्शुल्क ५ लाख बराबरको स्वास्थ्य विमा गर्न सम्बन्धित ठाउँमा पहल गरियोस् र त्यस्तो विमा गर्दा सहज र सजिलो प्रक्रियाबाट हुनेगरी सबै पत्रकारहरुमा पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्ने ।

३) महासंघको सदस्यहरूको सुद्धिकरण गर्दै सबै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवार हुँदै पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने वातावरण सुनिश्चित गरिनुपर्ने ।

४) नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोवार पारदर्शी गरिनुपर्ने ।

५) केन्द्र, प्रदेश र स्थानीय सरकारबाट प्राप्त हुने विज्ञापनहरू महासंघमार्फत समानुपातिक प्रणालीबाट सबै मिडियाहरुले पाउने वातावरण गरिनुपर्ने ।

६) पत्रकारहरुको क्षमता वृद्धि विकास गर्न विभिन्न तालिम र प्रशिक्षणको व्यवस्था गरिनुपर्ने ।

७) पत्रकारहरुमाथि हुने विभिन्न किसिमका दुर्व्यवहार अन्त्य गर्न उचित पहल गरिनुपर्ने ।

८) परिचयपत्र भएका क्रियाशील पत्रकारहरु साझा यातायातमा निशुल्क यात्रा गर्न पाउने वातावरण बनाउन पहल गरिनुपर्ने । 

ज्ञापनपत्र बुझिलिँदै अध्यक्ष मणिराज गौतमले श्रमजीवी पत्रकारहरुको हितमा लिखित उपर्युक्त विषयहरू नेपाल पत्रकार महासंघद्वारा कार्यान्वयन गराउनका लागि आवश्यक सबै कदम चाल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :