जनपत्रकार संगठन नेपाल बाँकेको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा कमल निर्वाचित

जनपत्रकार संगठन नेपाल बाँकेको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा कमल निर्वाचित

बाँकेः जनपत्रकार संगठन नेपाल जिल्ला समिति बाँकेको प्रथम जिल्ला भेला शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ ।
“प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादको लागि जनपत्रकारिता” भन्ने मूल नाराका साथ प्रथम भेला सम्पन्न भएको हो ।

भेलाले कमल अधिकारीको अध्यक्षतामा एक सदस्य पछि थप्ने गरि ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
जसमा सदस्यहरुमा दिनेश न्यौपाने, यमु कँडेल, किशोर शाही, सरद वली, तनुजा थापा, विकास विक, सुवाना तिरुवा, सुरेश वैद्य र जानु खड्का निर्वाचित भएका छन् । भेलाले सदस्यहरु निर्वाचित गरे पनि पदाधिकारी चयन र अन्य कार्यविभाजन अर्को बैठकबाट गर्ने निर्णय गरेको छ ।

भेलाका प्रमुख अतिथि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया जिल्ला इन्चार्ज दिपकले सम्बोधन गर्दै जनताको पक्षमा र सर्वहारा वर्गको पक्षमा कलम चलाउन जनपत्रकार संगठनलाई आग्रह गरे ।
उनले मानवअधिकारका लागि गासँ, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार अनिर्वाय भएकाले राज्यले त्यो प्रत्याभूति हुने गरि काम गर्न नसकेको टिप्पणी गरे ।


केन्द्रीय सदस्य दिपकले सरकार यस विषयमा चुकेको र व्यवस्थाकै असफलता भएको भन्दै अब नेपालमा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार रक्षाका लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको दावी गरे ।
उनले वैज्ञानिक समाजवादका लागि नेपालमा जनमतसंग्रह गर्नुपर्ने पनि बताए ।
भेलाका विशेष अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका अध्यक्ष वसन्त विकले पत्रकारिता भनेको वर्गीय पक्षधरतामा आधारित हुने हुदा समाजवादी व्यवस्थामा समाजलाई लिने गरि पत्रकारिता गर्नु पर्ने बताए ।
उनले पत्रकारिता पनि दलालीकरण भएको भन्दै दलाल व्यवस्थाको रक्षा गर्ने वा जनताको वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने कुन विषयमा कलम चलाउने भन्ने विषयमा अहिले गम्भीर प्रश्न उठेको बताए ।
जनताको समाजवादी व्यवस्था ल्याउने हो भने जनमसंग्रहको बारे जनतालाई जागृत गर्ने पत्रकारिता गर्न पनि उनले सहभागीहरुलाई आग्रह गरे ।
भेलामा नेकपा जिल्ला सदस्य तथा कोहलपुर नगर इन्चार्ज कृष्ण शाही, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य कल्पना, अनेरास्वयुवि क्रान्तिकारी का केन्द्रीय सदस्य अमृता घर्ति, युवा संगठन नेपालका केन्द्रीय सदस्य दिपक बुढा, थारु मुक्ति मोर्चाका बाँके अध्यक्ष फेरन थारु, रेडियो कोहलपुरका वैकुण्ठ अधिकारी, नेपाल जनजाति आदिवासी पत्रकार संघका जिल्ला कोषाध्यक्ष दिपक राई लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्दै पत्रकारिता निष्पक्ष, स्वतन्त्र नभएको भन्दै जनताको मुक्ति र हितमा केन्द्रीत पत्रकारिता गर्नु पर्ने सुभाव दिएका थिए ।
भेलामा जिल्लाका विभिन्न क्षेत्रबाट आएका पत्रकार तथा व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कमल अधिकारीको अध्यक्षमा सम्पन्न भेलाको संचालन दिनेश न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :