काठमाडौं / भदौ ४ : भूकम्पले क्षति पुर्याएका नेपालका पुरातात्विक महत्वका बसन्तपुर दरबार र नुवाकोट दरबार कसले पुनर्निर्माण गर्ने भन्नेमा चीन र भारत दुबैले आ–आफ्ना प्रभाव सुत्रहरु परिचालन गर्दै आएका थिए । काठमाडौंस्थित भारतीय दूतावासले नुवाकोटे कांग्रेसी नेता अर्जुन नरसिंह केसीलाई बोकेर धेरै नुवाकोट र प्राधिकरण धायो । त्यसैगरी अर्का नुवाकोटे एमाले नेता महेन्द्र पाण्डेलाई बोकेर चिनियाँ कुटनीतिज्ञहरु नधाएका होइनन् । नुवाकोट दरबार पुनर्निर्माणको बाजी कसले जित्ला भनेर नुवाकोट सदरमुकाम बिदुरमा ठूलै चर्चा थियो ।
अन्ततः मंगलबार चिनियाँ उपप्रधानमन्त्री वाङ याङले पुनर्निर्माणको सिलान्यास गरेपछि त्यो बहस सकिएको हो । साततले नुवाकोट दरबार र ९ तले बसन्तपुर दरबार पुनर्निर्माणको काम ५ वर्षभित्र सम्पन्न हुनेछ ।
नेपाल एकीकरणपछि वि.सं. १८२६ मा पृथ्वीनारायण शाहद्वारा निर्मित बसन्तपुर दरबार २०७२ बैशाख १२ को भूकम्पले क्ष्तिग्रस्त भएको हो । पुनर्निर्माणमा लाग्ने सम्पूर्ण खर्च चीनले अनुदान सहयोग गर्नेछ । आफूले इच्छाएको दुबै काम चीनको पोल्टामा गएपछि भारतीय पक्ष जिल्लिएको छ ।
२०७४ भदौ ४ गते ८ : १७ मा प्रकाशित