अखिल नेपाल शिक्षक संगठन दैलेखको दोस्रो पूर्ण बैठक आज दैलेख बजारमा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि अखिल नेपाल शिक्षक संगठनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष लक्षीराम ढकालले शिक्षक संगठनको राष्ट्रिय सम्मेलन सफल बनाउन सम्पूर्ण शिक्षकहरु आ-आफ्नो ठाँउमा सक्रिय भएर लाग्नु पर्ने र सदस्यता नविकरण, संगठन विस्तारमा जोड दिनुपर्ने बताए । कार्यक्रमका विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी दिपेन्द्रले संसदीय व्यवस्था र संसदीय पार्टीहरु असफल भएको उल्लेख गर्दै देशको वर्तमान राजनीतिक संकटको समाधानको लागि संयुक्त प्रगतिशील सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादको पक्षमा मंसिर ८ गते काठमाडौँमा हुने विशाल जनप्रदर्शनमा सहभागी हुन र सहभागिता गराउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।
अखिल नेपाल शिक्षक संगठन दैलेखका अध्यक्ष चन्द्र गुरुङको अध्यक्षतामा भएको बैठकमा अखिल (क्रान्तिकारी) का केन्द्रीय समिति सदस्य उदयराम विश्वकर्माको पनि आतिथ्यता थियो । बैठकले पौष महिनामा शिक्षक संगठनको जिल्ला सम्मेलन गर्ने गरि १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गर्नुका साथै आयोजक समितिको कार्यविभाजन सम्बन्धि निर्णय गरेको छ ।